बेलायती प्रसारण संस्था बीबीसीका नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रले २०५७-५९ मा आफ्नै नामबाट र २०६४-६६ मा मनुज चौधरीको छद्म नाममा नेपाल साप्ताहिकमा छपाएका ६८ वटा स्तम्भलेख तथा दुई प्रत्युत्तरको सङ्कलन हो― भूमध्यरेखा। बीबीसीमा कडा अन्तर्वार्ता लिने पत्रकारका रूपमा चिनिएका मिश्रले रेडियो पत्रकारिताले मात्रै धीत नमरेर लेखेका स्तम्भलेखहरू पनि चोटिलै छन्।

मावादी जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेशी आन्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको बिदाइ, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको घोषणा तथा भारतसँगको सम्बन्धका वरिपरि रहेर लेखिएका लेखहरूमा लेखकले सोझो-घुमाउरो किसिमले यी विषयवस्तुसँग जोडिन आउने सबै नेता, दल, संस्था, विदेशी शक्ति, विचार र प्रवृत्तिमाथि लुकेर/खुलेर प्रहार गरेका छन्। नेताहरूलाई लेख्दा उनी कत्तिको मर्यादित हुनसकेका छन् भन्ने चाहिँ बेग्लै कुरो हो, छद्म नाममा लेखेको एउटा लेखमा उनले भन्न र सुन्न नमीठो र अशोभनीय भन्दै काङ्ग्रेसलाई सुधार्न गिरिजाप्रसाद कोइरालाको देहावसान नभई सम्भव छैन भन्नेसम्म लेखेका छन्।

स्तम्भकारले विभिन्न पक्षबाट विभिन्न समयमा आफूमाथि काङ्ग्रेसी, एमाले, मावादी, वा राजावादी जस्ता बिल्ला लाग्ने गरेको उल्लेख गर्दै यसलाई एउटा वस्तुवादी विश्लेषक-पत्रकारको रूपमा आफ्नो पेशागत इमानदारीको कसी ठानेका छन्। किताबमा आफूलाई नेपाली, राष्ट्रवादी र भूमध्यरेखावादी अर्थात् तत्कालीन परिस्थितिमा ब्रह्मले जे ठीक देख्यो त्यही लेख्ने भनेर चिनाउन खोजेका मिश्रका सबै लेख पढ्दा उनी राजा र नेपाली सेनाप्रति बढी आश्वस्त देखिन्छन्। शान्तिको राजनीतिमा आए पनि हिंसात्मक विद्रोहको सपना देख्न नछोडेका मावादीसँग सन्तुलन राख्न दलहरूले राजालाई समर्थन गर्नुपर्थ्यो भन्ने उनको आशय झ्ल्किन्छ। नेपालको राजनीतिमा भारतको दवदवा अनि भारतका सामु नेपाली नेताहरूको समर्पणका सम्बन्धमा पनि धेरै शब्दहरू लेखिएका छन्। भारतलाई बढी चिढाएकाले नै राजाको यो हाल भएको र चीनले पनि राजालाई बचाउन सहयोग नपुर्‍याएको प्रसङ्ग पनि भेटिन्छ।

गणतन्त्रमा जाने निर्णय लिन लागेको काङ्ग्रेस महासमितिको बैठकअघिसम्म अल्पमतको कदर गरौं, राजतन्त्रलाई बलिको बोको नबनाऔं भन्ने गरेेका उनले त्यसपछिका लेखमा सेनाप्रति बढी भरोसा देखाएका छन्। गणतन्त्र घोषणा हुँदा जनता खुशी मनाउन र दीपावली गर्न नउत्रिएका, गणतन्त्रको निर्णयलाई राजाले स्वीकार्ने सम्भावना कम भएको, राजा चुपचाप र सेना टुलुटुलु हेरेर नबस्ने जस्ता छद्म नाममै आएका अभिव्यक्तिले पनि त्यस्तै भाव झ्ल्काउँछन्। धेरै लेखमा कुनै न कुनै हिसाबले राजा र राजसंस्थाको चर्चा गरेका लेखकले किन हो दरबार हत्याकाण्डको विषयमा भने कलम चलाएको पाइएन।

मिश्रले नेपालमा अस्थिर, अन्योलपूर्ण, उपलब्धिहीन र सम्भवतः विखण्डनकारी प्रजातन्त्र तथा एक वा अर्को ढङ्गको अधिनायकवादमध्ये दोस्रो परिस्थितिको बचाउ गर्ने आधार निर्माण भएको विश्लेषणसँगै प्रजातान्त्रिक भन्दा अधिनायकवादी देशको गार्हस्थ उत्पादन बढी भएको, गरीब देशहरूमा प्रजातन्त्र विफल भएको र सम्पन्न राष्ट्रमा जस्तो युद्ध, दङ्गा, विविध किसिमका काण्ड र आर्थिक सङ्कटको सफलतापूर्वक सामना गर्न नसकेको दृष्टान्तहरू दिँदै अधिनायकवादको वस्तुपरक बचाउ शीर्षकको लेखमा भनेका छन्― “अधिनायकवाद भन्दैमा आत्तिहाल्नुपर्दैन। …अधिनायकवादले नागरिकका कैयौं अधिकार खोसे पनि राष्ट्र र बहुसङ्ख्यक जनताको हित गरेका कैयौं उदाहरण छन्। …हामी जस्ता एक-दुई प्रतिशत शब्दाडम्बरीहरूको कलममा बिर्को लागेर रोल्पा र रुकुमले राहत पाउँछन् भने प्रजातन्त्रको प्राण गयो भनेर कसैले आँशु नझ्ारे हुन्छ। …कसैको पनि हित नगर्ने प्रजातन्त्र भन्दा बहुसङ्ख्यक जनताको भलो गर्ने अधिनायकवाद नै बेस।”

केही खास राजनीतिक मुद्दामा लेखकका आफ्नै किसिमको अडान भए पनि समग्रमा तत्कालीन नेपालको राजनीति, यसको भावी विकासक्रम र राजनीतिक खेलाडीहरूका राम्रा-नराम्रा कदमबारे सजग गराउन उनी धेरै हदसम्म सफल छन्। पहिले नै लेखिए पनि उनले उठाएका शान्ति प्रक्रिया, राज्य पुनर्संरचना, संविधान लेखन, राष्ट्रियता सम्बर्द्धन, आर्थिक-सामाजिक विकासका थुप्रै कुराको सान्दर्भिकता बाँकी नै रहेकाले अहिले पनि नयाँ झ्ैं लाग्छन्। सङ्ग्रहमा प्रतिभाशालीहरू राजनीतिमा आउनुपर्ने, पैसा हुनेहरू सामाजिक कल्याणमा लाग्नुपर्ने, आफ्नो भाषा शुद्ध बोल्नुपर्ने जस्ता कोरा राजनीति भन्दा अलि बाहिर बसेर लेखिएका लेखहरू थोरै भए पनि घतलाग्दा छन्।

बद्री पौड्याल

वर्ष २१, अङ्क ०५
पूर्णाङ्क २८९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *