प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

  • by

त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही 30-को थियो। 30 वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नु पर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। 17 वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा 17 वटी भित्र्याए छ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन… परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो।

लाक्पाले तीन महीनाको लामो यात्रापछि सात डाँड़ा पारी गएर भाउजू लिएर आएको छ। नथुला भञ्ज्याङ पारीको देश ल्हासाबाट उसले डोमालाई बिहे गरेर ल्यायो। डोमा गुम्बाकी पुजारी झैं स्वच्छ देखिन्छे। हिमालको चमक झैं कान्तियुक्त उसको रूप छ। कति सुन्दर छ डोमा, डोल्मा झैं। सुनाखरी फूलको सुन्दरता छ उसको रूपमा। आफ्नो लोग्नेभन्दा 13 वर्ष कान्छी। डोमा 17 की हो। लाक्पा 30-को। बाबु-आमाले सात हिमाल पारीको लोग्नेलाई दिएर पठाएपछि ल्हासाको सुन र सुन्दरता लिएर उ आएकी हो।
लाक्पाको शरीरलाई छ्याङले गलाइसकेको छ। बिहानदेखि नै छ्याङ लिने लाक्पाको बानी त्यही 13-14 –देखि नै बसेको हो। भैंसीको जत्रा ठूल्ठूला उसका आँखा सधैं मातेको हुन्छ। उसको अनुहार सनै सनै डढ़न थालेको छ। यात्रामा उ थाक्छ। उसको स्वरमा एक प्रकारको रूखोपन छ। उसको बोलीमा निराशा झल्कन्छ। यो मान्छेको शरीरमा कुनै ताकत छ के… डोमालाई बाटोमा नै शंका लागेको थियो। तर के गर्ने जीवन नै उसँग बिताउनु छ। बाबु-आमाले दिए। आखिर सात गाउँको काजीको छोरो हो लाक्पा।
डोमाले लाक्पाको घरमा आएपछि देखी उसले सातजनासित जीवन बिताउनु रहेछ। लाक्पाका भाइहरू सेराप, छिरिङ, गिर्मी, नाम्गेल, टाशी र क्रर्मा। कर्मा त्यही आठ-नाैको रहेछ। अरू पाँचको उमेर बिहेको लायक भइसकेको रहेछ। टाशीको उमेर त 18 रहेछ। जेठीका सन्तान सात भाइ। 17 वटी मध्ये पाँच वटी मरिसकेछन्। जेठी पनि मरिछ। मरेकाहरूमा तीनवटीका सन्तान थिएनन्। साैताहरू धेर भएर 5 वटी त एक-दुइ महीना बिताएर काजी लेण्डुपलाई छाड़ेर पोइल गइसकेका छन्। रहल सासूका कुल 25 जना सन्तान छन् 14 छोरी, 11 छोरा। तर धर्म अनुसार डोमाले सात भाइसित जीवन बिताउनु पर्ने छ। परम्परा के छ भने जेठोले बिहे गरेर ल्याएकी स्वास्नी सबै भाइहरूकी स्वास्नी हुन्छे। पहिलो सन्तान जेठोको, देस्रो माइलोको, तेस्रो साइलोको….। यही क्रम चलिरहन्छ। फेरि माइलोले बिहे गरेर ल्याएकी स्वास्नीचाहिँ जेठाकी स्वास्नी हुन्न तर उ मुनीका अरू भाइकी स्वास्नी हुन्छे। डोमाले पनि परम्पराको पालन गर्नुपर्ने छ। उसले पनि आफ्ना देवरहरूको बिस्तर तताउनु पर्नेछ।
वर्ष दिनपछि डोमाको एउटा छोरो जन्मियो। परम्परा अनुसार छोरो बाबु लाक्पा भएको थियो। तर नवजात शिशुको बाबु को हो डोमालाई पनि थाह थिएन। प्रत्येक रात उसले लोग्ने फेरेकी थिई। तर योचाहिँ पक्का थाह थियो नवजात शिशु लाक्पाको विर्यको फल थिएन। किनभने लाक्पामा पाैरूष्य क्षमता नै थिएन। उ शिथिल थियो। नामकी स्वास्नी थिई डोमा उसकी। लाक्पालाई पनि छोरो आफ्नो विर्यको होइन भन्ने कुराको राम्रोसित ज्ञान थियो। धर्म र परम्परालो छोरो उसलाई दिएको थियो। यस एक वर्षको अन्तरालमा डोमा अब बिस्तारै सबैकी भाउजू भइसकेकी थिई किनभने सेराप, छिरिङ, गिर्मी, नाम्गेल र टाशीले पनि बिहे गरिसकेका थिए। अब उ नितान्त लाक्पाकी स्वास्नी भएकी छ। अब उसले रात-बिरात आेछ्यान साट्नु पर्दैन। उ लाक्पाकी प्यारी स्वास्नी भएकी छ। शिथिल लाक्पालाई उसले छोरो दिएर ठूलो गुण लगाएकी छ। कर्मा अझै सानो छ। डोमाले दिनदिनै छोरोको लालन पोषण गर्न थाली। कान्छो देवरको पनि उ खुब ख्याल गर्छे। आफ्नो छोरोको भन्दा धेर याद गर्ने गरेकी छ। समयमा खान-पान सबै उसले हेरिरहेकी छ। आमाले गर्नुपर्ने सबै काम उ गरिरहेकी छ। कर्मा पनि भाउजु भनेपछि हुरूक्क हुन्छ। डोमाबिना खाना खाँदैन, कर्मा। सुत्न पनि डोमा नै चाहिन्छ। बीस वर्षकी डोमालाई आफ्नो लोग्ने लाक्पासित सुत्नुभन्दा किशोर कर्मासित सुत्न आनन्द लाग्छ।
दिन बित्तै गए। डोमाको छोरा काटुक पनि ठूलो हुँदै गयो भनो काका कर्मा पनि दिनदिनै जवान भइरहेको छ। कर्माको पुष्ट हुँदै आएका पासुला सुम्सुमाउन पाउँदा डोमालाई जुन आनन्द लाग्छ त्यो कहाँ लाक्पाबाट हुन्छ र। आफ्नो छोरो काटुकलाई भन्दा बढ़्ता माया गर्छे डोमा, कर्मालाई। कर्मासितको सआनन्दले डोमा दिन दिनै हँसिलो बन्दै आएकी छ। वास्तवमा डोमालाई कर्माको असाध्य माया लाग्न थालेको छ। उ कर्मालाई जिस्काउँछे। म्वाई खान्छे। कर्मा पनि भाउजू भनेपछि हुरूक्क हुन्छ। भाउजू बिना रहँदैन।
बिस्तारै कर्मा पनि 16 वर्षको भयो। उसको हृष्टपुष्ट शरीरमा डोमा पुरुष देख्न थालेकी छ। आफ्नो लोग्ने लाक्पासित उसले छटपटाएर रात बिताएकी छ। लोग्नेबाट प्रत्येक रात उ तिरस्कृत छ। उसलाई लाग्छ लोग्नेका कसिला पाखुराले उसलाई प्रत्येक रात कुज्याएर राखोस्् तर लाक्पामा यो सामर्थ कहाँ छ र। यो सामर्थ त कर्मामा छ। कर्माको पाखुरालो उसलाई कज्याउन सक्छ। चरम सुख दिनसक्छ। आखिर परम्पराले कर्मा पनि उसको लोग्ने हो।
कर्मा पनि अब ठूलो भयो भनेर काजी बूढ़ोले एक दिन उसलाई पनि सात हिमाल पारी ल्हासा व्यापार गर्न पठाउँछ। कर्माले ल्हासा जान अघि डोमासित बिदा माग्छ अनि डोमाले गहभरि आसु पार्छे। उसले कर्मालाई कहिले फर्किने हो भनेर सोध्न पनि सकिन। कर्मा चाैरीमा चढ़ेर टाड़ा ल्हासाका लागि प्रस्थान गर्छ। धेरै परसम्म डोमाले हात हल्लाएर कर्मालाई बिदा दिने प्रयत्न गर्छे तर सकिन। उ रोई। चिच्याई। कराई। मनमनमा।
कर्मा हिँड़ेपछि डोमाको रातको निद्रा पनि हराएको छ। उसका आँखाले सधैं नथुलातिर दृष्टि गाड़ेको हुन्छ। सपनामा उ कर्मालाई देख्छे। ल्हासाको दरबारमा कर्मा र उ ड्डलेको, साथै चाैरीमा चड़ेर हिमाल डुलेको। जङ्गलभित्र हिँउ चितुवा र भालुसित कर्माले सहजजासित लड़ाई गरेर दुवैलाई मारेको। कर्मा कहिले आउँछ… मनभित्र बारम्बार यही प्रश्न छ – उसको मनमा। कर्मालाई किन टाड़ा पठाए ससुराले, मनमनमा ससुरालाई उ पापी भन्छे।
ल्हासाबाट फर्केर आउने प्रत्येक कामदारलाई उ कर्माबारे सोध्छे। कर्मालाई ल्हासा जानेका हातमा खबर पठाउँछे। कर्माको खबर पाएको दिन डोमा आनन्दको चिर निद्रामा पर्छे। कर्माले ल्हासाबाट आएर सोझै उसको गालामा म्वाई खाएको सपना उसले देख्ने गरेकी छ।
कर्मा ल्हासा गएको पनि चार वर्ष बितेछ। यी चार वर्ष बिताउन डोमालाई चार जूनी बिताए झैं लाग्यो। एक दिन लाक्पालाई काजीले कर्मा आउने कुरो गरिरहेको डोमाले सुनी। डोमाको मन तोरीको फूल फुले झैं फुल्यो। हिमालमा लाली गुराँस डकमक्क भए झैं उसको जीवन फुलेको उसले अनुभव गरी। उसले प्रत्येक कुरामा कर्माको दिप्तियुक्त अनुहार देखेकी थिई।
कर्मा आउँने दिन उ बिहानै धारामा गएर सफा भई यतिका वर्ष प्रतीक्षा गरेको व्यक्ति उ सामु आइरहेको थियो। आज उ हर्षित छ। उसको मन प्रफुल्ल छ। सात डाँड़ा पारीबाट उसको सुख आइरहेको थियो। तर भाग्यले डोमा माथि उल्टो खेल खेलिदियो। कर्मा त आइपुग्यो तर उसको कर्मा त आएन छ। कर्माले ल्हासाबाट नै बिहे गरेर आएछ। साथमा छोरी पनि।
डोमाले दश-दश वर्ष जस्तो प्रतीक्षा गरी, जसको तपस्या गरी आज उसैले उसको तपस्यामा पानीपानी बनाइ दियो। कर्मा उदेखि टाड़ा भइसकेका थियो। आफ्नो लोग्नेलाई भन्दा बढ़ी माया गरेकी थिई। कर्मा ल्हासा गएदेखि डोमाले प्रत्येक पल उसको सम्झनामा बिताएकी थिई। तर पनि कर्माले उसको प्रेम बुझ्न सकेन। लोग्नेसित सुतेर पनि उसले कर्मालाई सम्झेकी थिई। लोग्नेको कमजोरीलाई पनि उसले कर्मालाई सम्झेर सहेकी थिई। दश वर्षसम्म उ बाँझो बसेकी थिई कर्मालाई सम्झेर। तर कर्माले त डोमालाई विदेश गएर रत्ति भर पनि सम्झिएनछ। डोमाले गहभरि आँशु पारेर यी सबै कुरा सम्झी। उसको छात्ती पोलेर आयो। उसले देखि उसको जीवनको घाम अस्ताएछ। उसले लाक्पालाई सम्झी। आफैंमा घिन लागेर आयो। लाक्पाको काही परेको शरीर र वासना शून्य जीवनदेखि उसलाई दिक्क लागेर आयो। अब उसले त्यही छ्याङले डढ़ेको लाक्पासित नै जीवन बिताउनु छ। उसले सोची म किन यस्ति। काजी बूढ़ोले 17-17 वटी बिहे गर्यो। म पनि यस्तै हुन्छ भनेर जानेकी भए पहिले नै हिँड़्ने थिए। खान लाउनले मात्र मान्छेलाई कहाँ हुँदो रहेछ र। मान्छेलाई मान्छेकै उपस्थित चाहिन्दो रहेछ। उसलाई लाग्यो बिस्तारै उसको जमिन भसिरहेछ। उसको मुख सुकिरहेछ। उसका आँखाबाट आउँदै गरेका आँशु पनि रोकिए। मन रोए पनि उसको आँशु आएन। छोरोले ल्हासाबाट बुहारी लिएर आएको खुशीयाली घरमा भए पनि डोमाको जीवनका सबै सुखहाँसो सिधियो, आज।
दश वर्ष जसको आशामा उसले जीवन बिताई आज उसले उसको ख्याल नै नगरी बिहे गर्यो। लाक्पासित सुत्न उसलाई मन लागेन। लाक्पासित सुत्न उसलाई घिन लागेर आयो। घिन किन नलागोस पनि वासनाको ठाउँमा छ्याङको गन्ध आउँछ भने। डोमा उठी बाहिर गई। लाक्पा घोर निद्रामा पर्यो केही बेर मै।
भोलिपल्ट बिहान कसैले लाक्पालाई आएर भन्यो डोमाले घाँटीमा पासो लगाइछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *