प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि ऊ केही ढुक्क भयो । आश्वस्त भयो । अब त बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा ।

ऊ जुम्ली । जुम्ला उसको घर । तर अब जुम्लामा उसको घर छैन । अवशेष मात्र छ घरको । अहँ, घरको केही पनि स्याहार्न पाएन उसले । एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके । त्यसपछि ज्यान जोगाएर भाग्नुपर्‍यो उसले । जुम्ला छाड्नुपर्‍यो उसले । फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा । त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको । ऊ त बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले ।

**
जहान उसकी पाँच वर्षअघि नै खसेकी । दोस्रो बच्चा जन्माउन नसकेर । त्यतिबेला जुम्लाको हेल्थपोस्टमा न डाक्टर, न हेल्थ असिस्टेन्ट । हुन त बाँकी नेपालको लागि जुम्लामा स्याउबाहेक के छ र ? लाग्छ नेपालको मानचित्रमा भए पनि नेपालदेखि निकै टाढा छ जुम्ला ।

त्यसपछि छोरालाई सुरक्षाफौजले घरबाटै बेपत्ता पार्‍यो । कति खोज्दा पनि उसको छोरो फेला परेन । एकमात्र सन्तान पनि खोसिएपछि ऊ दिक्दार भयो । निकैपछि मात्र एउटा पत्रकारले “तिम्रो छोरो सुरक्षाफौजसँगको भिडन्तमा मारियो” भन्ने खबर ल्यायो । त्यसपछि उसले छोराको लासैबिना काजक्रिया गर्‍यो ।

एक रात उसले छोरोलाई भैँसीले लखेटेको सपना देखेको थियो । छोरालाई सपनाको बारेमा भन्दा छोराले हाँसोमा उडाएको थियो । “जुम्लामा म भक्त सैजुवाललाई लखेट्ने ? त्यो पनि भैँसीले ?” उसले घमण्ड र आत्मविश्वाससाथ भनेको थियो । त्यतिबेला ऊ छोराबाट दिक्दार भएको थियो । बेकारमा छोरालाई पढाएँछु भन्ने सोचेको थियो । “आठ कक्षामा फिस तिर्न नसकेको बेलामै रोक्नुपर्ने रैछ । बेकारमा एसएलसी पास गराएँ ।” ऊ आज पनि यसमा पछुतो मान्छ ।

छोरोले एसएलसी पास नगरेको भए ऊ त्यति चलाख हुने थिएन । जुम्ली न हो, मैजस्तो हुन्थ्यो, सोझो, गोज्याङ्ग्रो । आफूमाथि अन्याय भएको बुझ्ने पनि थिएन । नाहकमा ज्यान गुमाउने थिएन । यस्तो सोच्छ उसले, आज पनि ।
**
छोरो मारिएपछिका दिन उसका लागि भयानक कष्टकर र पीडादायक भए । ऊ घरमा एक्लो भयो । छरछिमेकीहरू कि शहर भाग्न थाले कि धमाधम जंगल पस्न थाले । ऊ भने घरमै बस्यो । छोरोलाई सम्झँदै । उसको आक्रोश, उसको जोश र उसको चेतनालाई सम्झँदै । छोरोले राम्रो नराम्रो के गर्‍यो उसले बुझेको छैन । तर जेजस्तो भए पनि छोरो नै हो । माया लागिहाल्दो रै’छ । आज पनि ऊ त्यो माया, त्यो मोहबाट कहाँ उम्कन सकेको छ र ?

भक्तेको काजक्रिया सिद्धिएको केही दिनपछि एक हूल सुरक्षाफौजहरू उसको घरमा आए । “भक्तेको बाउ तैँ होस् ?” सोधे । उसले “हुँ” भन्यो । त्यसपछि फौजले उसलाई पनि मजाले कुटपिट गरे । “भक्तेको घर” भन्दै घर जलाइदिए । त्यसपछि ऊ घरवारविहीन भयो । जग्गाजमिन यसै पनि छँदै थिएन ऊसित ।

त्यसपछि जुम्लामा ऊ के गरी बस्ने – त्यसैले ऊ नेपालगन्ज आयो । भएको नगद प्लेनको टिकटमै सिद्धियो । जीवन गुजाराका लागि उसले आफूसित केही शिलाजित र जिम्मु ल्याएको छ । शिलाजित र जिम्मु बेचियो भने आठ-दस हजार आउँछ । त्यस पैसाले काठमाडौँ गएर उसले गलैँचा बेच्ने काम सुरु गर्ने विचार गरेको छ । उसका केही साथीहरूले पनि काठमाडौँमा त्यही गर्छन् । साथीहरूको भनाइअनुसार त्यसको लागि साहुकहाँ केही पैसा जमानी राख्‍नुपर्छ । शिलाजित र जिम्मु बेचेको पैसाले ऊ त्यही गर्नेछ । जमानी राख्नेछ ।
**
नेपालगन्जको बजारमा आइपुग्यो ऊ । र सबैभन्दा पहिला बागेश्वरी मन्दिरको दर्शन गर्‍यो । आशीर्वाद माग्यो र मन्दिरकै बाहिर सडकमा शिलाजित र जिम्मुको पोको खोलेर बस्यो । पसल थाप्यो । एकदुईजना ग्राहक आए । किने । केही पैसा भयो ऊसित । जीवनप्रति उत्साह पलायो ऊभित्र । आँट पलायो । आत्मविश्वास जाग्यो ।

“साँझसम्म आज यसैगरी बस्छु” उसले निश्चय गर्‍यो । उसलाई लाग्यो शिलाजित र जिम्मु यसै गरी बिक्री भएमा दुईचार दिनमै ऊ काठमाडौँ जान सक्छ । बाँकी जिम्मु र शिलाजित काठमाडौँतिरै पनि बेच्न सकिन्छ । यो उसको अनुमान थियो । सुखद अनुमान । र यो दिन उसको सुखद बित्यो । राति बागेश्वरी मन्दिरभित्रको सत्तलमा सुत्यो । पुजारीसित अनुनयविनय गरेपछि र पुजारीलाई अलिकति शिलाजित दिएपछि उसले त्यहाँ सुत्‍ने अनुमति पायो ।

राति उसलाई लामखुट्टेले खुबै टोके । उसले आपत्ति जनाएन । “टोक्, जति टोक्न मन लाग्छ टोक् । जति सक्छस् चुस् रगत । हामी मुला रगत चुसाउनकै लागि त जन्मेका । ” उसले लामखुट्टेका अगाडि आत्मसमर्पण गर्‍यो र निदायो ।
**
राति उसले अनौठो सपना देख्यो । नराम्रो सपना । बागेश्वरी मन्दिरको हातामै एकजना सिपाहीलाई मारेको सपना । ऊ सपनापछि झल्याँस्स ब्यूँझियो । पसिनाले निथ्रुक्क भयो । टोपीले जति पसिना पुछ्दा पनि पसिना रोकिएन । उसलाई लाग्यो, उसको जीवनमा ठूलै अपसगुन हुनेवाला छ । उसलाई सपनामाथि विश्वास छ । छोरो बेपत्ता हुँदा पनि उसले यसरी नै नराम्रो सपना देखेको थियो । ऊ दिक्दार भयो । सिपाही नै भए पनि आखिर उसले मान्छे पो मार्‍यो त । ऊजस्तै मान्छे । साँच्चिकै मान्छे मारेको जस्तो अपराधबोधले ग्रस्त भयो ऊ ।
**
बिहानै बागेश्वरीको दर्शन गर्‍यो । सपनामा गरेको हत्याको लागि क्षमा माग्यो । मनभित्र ग्लानि त कम भएको थिएन। तर पनि जीवन चलाउनु नै थियो । त्यसैले ग्लानिबाट मुक्त हुने निकै प्रयास गर्‍यो । सकेन ।

अनि झल्याँस्स उसले जुम्लामा वर्षौँअघि आएका एकजना बाबाजीले भनेको सम्झियो । खराब सपना ग्रहदशा खराब भएपछि नै देखिन्छ । त्यसैले त्यस्तो ग्रहदशा कटाउनुपर्छ ।
“कसरी कटाउने बाबाजी ?” उसले हिम्मत गरेर सोधेको थियो ।
“यदि तिमीले सपनामा कुनै वस्तु चोरी गरेको देख्यौ भने त्यस्तै वस्तु दान गर्नुपर्छ ।” बाबाजीले भनेका थिए ।

तर उसले त हत्या गरेको सपना पो देखेको छ । यसमा के दान दिने ? आत्महत्या गर्ने, अहँ, कुरा मिलेन । आत्महत्या त झन् महापाप हो ।
**
अचानक उसको मथिङ्गलमा एउटा उपाय आयो । बिजुली चम्केजस्तै । र अनि ऊ आइपुग्यो, वडा प्रहरी कार्यालय । त्यतिबेला त्यहाँ एकजना इन्सपेक्टरमात्र थियो । त्यो पनि उँघिरहेको । अरू पुलिसहरू कता गएका थिए, त्यो उसले बुझ्ने कुरा भएन ।
उसले सरासर गएर इन्स्पेक्टरको पाउ समात्यो र भन्यो -” हजुर ग्रह कटाइपाम् । ”

इन्स्पेक्टर झस्कियो । जिल्ल पनि पर्‍यो । हकार्‍यो जुम्लीलाई । तर जुम्लीले आफ्नो हठ त्यागेन । भनिरह्यो र ग्रह कटाइपाउने याचना गरिरह्यो ।

“कसरी कटाउने तेरो ग्रह ?” अन्ततः आजित भएर इन्स्पेक्टरले सोध्यो । अनि उसले आफूले सपना देखेको कुरा सविस्तार वर्णन गर्‍यो । र भन्यो- “हजुर, मलाई एक घण्टालाई भए पनि थुनिदिनुपर्‍यो । प्रायश्चित हुन्छ । पाप कट्छ।”

इन्स्पेक्टरलाई सुरुमा हाँसो उठेको थियो । जीवनमा पहिलोपल्ट उसले यस्तो कुरा सुन्दै छ, कसैले आफैँ आएर आफूलाई थुन्नुपर्‍यो भन्दै छ । सुरुमा त इन्स्पेक्टरले जुम्लीलाई हकारेर पठाउन खोज्यो । तर जुम्लीले ज्यान गए पनि मानेन । उसको खुट्टा ढोग्याढोग्यै गर्न थाल्यो ।

अन्ततः इन्स्पेक्टर राजी भयो । उसले आफ्नै प्रहरी कार्यालयको एउटा सानो खोरमा लगेर उसलाई थुनिदियो । जुम्ली ढुक्क भयो । यसवापत इन्स्पेक्टरले ऊबाट निकै धेरै मात्रामा शिलाजित र जिम्मु लियो । तैपनि यसमा जुम्लीलाई कुनै चित्तदुखाइ थिएन ।

इन्स्पेक्टर बाहिर आयो । नजिकैको पसलबाट फ्रीमा ताजा दूध मगायो र एक मात्रा शिलाजित खायो । एकैछिनमा आफूभित्र पुनः जवानी फर्केको अनुभव भयो उसलाई । दुईचारजनालाई ढाल्न सक्छु भन्ने आत्मविश्वास जाग्यो उसभित्र ।

ठीक त्यतिबेलै चौकिल्लानेर बम पड्‌किएको सूचना आएपछि ऊ अत्ताल्लियो । हतारहतार आफूपछि पालो पर्ने इन्स्पेक्टरलाई फोन गरेर ड्युटीमा बोलायो र आफू फटाफट हिँडिहाल्यो, घटनास्थलतिर । यस क्रममा उसले आफूले जुम्लीलाई थुनेको कुरा भन्न भुसुक्क बिर्सियो । वा बिर्सेको जेस्तो गर्‍यो ।
**
एक घण्टा बित्यो । खोरको ढोका खुलेन । अनि जुम्ली चिच्यायो- “हजुर, अब ढोका खोलिबक्स्योस् ।”

उसको चिच्याइ सुनेर अर्को इन्स्पेक्टर आयो । खोरमा जुम्लीलाई देखेर जिल्ल पर्‍यो । उसलाई खोरमा मान्छे रै’छ भन्ने बल्ल थाहा भयो ।
“ए जुम्ली, तँ किन यहाँ ?”
अनि जुम्लीले सबै कुरा बेलिबिस्तार लगाउँदै आफू ग्रह कटाउन एक घण्टाको लागि थुनामा बसेको भन्यो ।

जुम्लीको कुरा सुनेर इन्स्पेक्टर हाँस्यो र भन्यो – “साले, म मूर्ख हुँ ? तेरो कुरा पत्याउँछु ? पक्कै कुनै गोलमाल गरेको छस् । नत्र तँलाई कसैले त्यसै खोरमा राख्छ ?”

जुम्ली छाँगाबाट खसेजस्तो भयो । तैपनि हिम्मत हारेन । “मैले झूठो बोलेको हैन हजुर । नपत्याए अर्को सा’बलाई सोधिबक्स्योस् । ”

“ठीक छ । ऊ आएपछि सोधौँला ।” इन्स्पेक्टरले जबाफ दियो ।

जुम्ली खोरभित्रै रह्यो । र आफूलाई खोरभित्र राखिदिने इन्स्पेक्टरको प्रतीक्षा गर्न थाल्यो ।

प्रतीक्षाको घडी बढ्दै गयो । एक, दुई, तीन, चार, पाँच घण्टा ।

त्यो इन्स्पेक्टर फर्किएन । पछि उसले सुन्यो, त्यो इन्स्पेक्टर मारियो । हिँड्दाहिँड्दै मोटरसाइकलमा आएका दुई युवकले उसलाई गोली हानेछन् र बेपत्ता भएछन् ।

उसको मथिँगलमा भुइँचालो गयो । ऊ खोरमा बसेर रुन कराउन थाल्यो । मलाई खोरबाट मुक्ति दिनुपर्‍यो भन्न थाल्यो ।

तर उसको कुरो कसैले सुनेन । सबैले शङ्का गरे, यो कुनै ठूलै केसमा समातिएको हुनुपर्छ । के थाहा, इन्स्पेक्टरको हत्या यसैका साथीहरूले गरेका पो हुन् कि ! अनि त्यसपछि उसको केरकार सुरु भयो ।

केरकारपछि पुलिसहरूले थाहा पाए कि यो जुम्लीको छोरो सुरक्षाफौजको कार्बाहीमा मारिएको थियो । त्यसपछि शङ्का झन्‌झन् बढ्यो । उनीहरूले ठाने, छोराको मृत्युको बदला लिन र कुनै ठूलै योजनाको कार्यान्वयनको सिलसिलामा यो नेपालगन्ज आइपुगेको हो।

त्यसपछि जुम्लीसित कडा केरकार सुरु भयो ।
– भन्, कस कसलाई मारिस् ?
– भन्, तेरो कमान्डर को हो ?
– भन्, कहाँ आक्रमणको तयारी हुँदै छ ?
– तँसितको हतियार कता छ ? केके हतियार चलाउन जानेको छस् ?
– तँ कुन तहको कार्यकर्ता होस् ? आदि-इत्यादि ।

उसले सबैकुरा इमान्दारीसाथ भन्यो । आफ्ना सारा दुखेसो भन्यो । तर अहँ, उसको कुरा पत्याइएन । अन्ततः उनीहरूले निष्कर्ष निकाले, यो मान्छे आतङ्कवादी हो, त्यस सङ्गठनको सक्रिय कार्यकर्ता हो । प्लाटुन कमान्डर पनि हुनसक्छ । सेक्सन कमान्डर पनि हुनसक्छ । जे होस्, मिलिसिया त अवश्य हो ।
**
ऊ रुन थाल्यो । तर उसको आर्तनाद सुनिएन । जुम्लामा जस्तै यहाँ पनि उसको याचना सुनिएन । त्यहाँ पनि ऊ यसै गरी रोएको थियो । यहाँ पनि त्यसैगरी रुँदै छ ।
**
ऊ रोइरह्यो । जुम्ली रोइरह्यो ।
रुँदारुँदै गोली चल्यो । ड्याम्म ।
जुम्ली एकछिन छट्पटायो । अनि मर्‍यो ।
**
शिलाजित मृत जुम्लीसितै थियो । सबैले बाँडेर लिए ।
र अनि हतारहतार जुम्लीको मृत्युको खबर पनि बाँडियो ।
त्यही बाँडिएकै समाचार छापियो । जस्ताको तस्तै । हुबहु । भोलिपल्ट । सबै दैनिकहरूमा । आतङ्ककारीको मृत्यु- भिडन्तमा । मृतकको नाम जगतबहादुर सैजुवाल अर्थात् सङ्ग्राम ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *