गाउँको स्वच्छ हराभरा वातावरणमा हृष्टपुष्टसँग बसिरहनुभएको राजुको हजुरवुवा राजुलाई भेट्न पहिलोपटक शहरमा आउनुहुन्छ । शहरको धुवाँ, धुलो, फोहोरले गर्दा राजुको हजुरवुवाको फूर्ती सबै दुर्गन्धित वातावरणले गर्दा खत्तम हुन्छ । यस्तो वातावरणले राजुको हजुरवुवालाई अक्रान्त नै बनाउँछ ।
गाउँमा हजुरवुवाले रेडियोमा मानवअधिकार आयोग र यसले गरेका मानवअधिकार संरक्षणका उल्लेखनीय कार्यबारे सुन्नु भएको हुन्छ । त्यसैले यसरी अरुको मानवअधिकार हनन गरी अक्रान्त पार्नेहरुलाई ठीक पार्नु पर्यो भनेर जङ्गिएर हजुरवुवा मानवअधिकार आयोगको कार्यालयमा जानुहुन्छ । हजुरवुवालेले मानबअधिकारको कार्यालयमा आफूलाई घटेका कुराहरुको सबै बेलिविस्तार लाइसकेपछि मानवअधिकार आयोगको सुट बुट लगाएको कर्मचारीले धेरै सोचेर एउटा राम्रो बट्टाबाट धेरै मोल जाने चुरोट खुइय्य तान्दै हजू्वुवा तिरै फुक्दै शानसँग भन्न थाल्छ ।
कहिल्यै चुरोट नखाने हजुरवुवा त्यहाँ चुरोटको गन्धले दिक्क भएर यहाँ पनि यसले मेरो मानव अधिकार संरक्षण गरेन भन्दै निराश भएर फर्कनुहुन्छ । अनि अझै झोक्किँदै हजुरवुवाले रेडियोमा लागू पदार्थको नियन्त्रणकोकार्यालयले लागूपदार्थ बिरुद्ध गरेका कार्यहरु सम्झेर लागूपदार्थ नियन्त्रणको कार्यालयको अस्पतालमा भर्ना हुने भनेर जानुहुन्छ ।
हुन पनि शहरको दुषित वातावरणले हजुरवुवालाई गाल्नसम्म गालिसकेको थियो । अनि त्यहाँ अस्पतालमा भर्ना हुन पर्यो भनेर हजुरवुवाले अस्पतालको कर्मचारीलाई सोध्नुहुन्छ । त्यहाँको कर्मचारीले हजुरवुवालाई सम्झाउने प्रयास गर्दै भन्छ -“नमस्कार हजुरवुवा । यो सँस्था तपाइँ जस्तै लागू पदार्थको लत लागेकाहरुलाई लतबाट छुटाउने सँस्था हो । यहाँ सबैजनाले लागू पदार्थ खाइरहेको देखेर तपाइँ आर्श्चर्यमा पर्नुभयो होला । तर यस्तो के भने नि हजुरवुवा लागू पदार्थ धेरै खानेहरुलाई एकै पटक लागूपदार्थ छुटाइदियो भने उनीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले यहाँ विस्तारै-विस्तारै लागू पदार्थ घटाउँदै लगेर अन्त्यमा लागू पदार्थको नशाबाट छुटकारा दिलाउने सँस्था हो यो । यस सँस्थाले यसरी धेरैलाई लागू पदार्थको नशाबाट छुटकारा दिलाइसकेको छ । हजुरलाई पनि यही प्रक्रियाद्वारा छुटकारा दिलाइने प्रयास गरिनेछ ।”
हजुरवुवाले अनुमान गर्नुभएको शहरमा स्वच्छ वातावरण हुने एकमात्र ठाउँ लागू पदार्थ नियन्त्रणको कार्यालयको अस्पतालमा त झन् कतै पनि चुरोटको धुवाँ बेगरको ठाउँ नदेखेपछि शहरदेखि अत्यन्तै निराश हुँदै आफू ज्यादै रिसाएर नाति राजुलाई लिएर सदाका लागि गाउँमा नै फर्कनुहुन्छ ।
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@hotmail.com
