Skip to content


आज मन वास्तवमै रमाएको छ । उनको निकै लामो समयपछिको मेरो जीवनसँगको आगमनले निम्त्याएको हर्ष म शब्दमा व्यक्त गर्न सकिरहेको छैन । अदृश्य छन् यी खुशीहरू तर म महशुस गरिरहेछु आफैभित्र । लाग्छ यी खुशीहरू प्रत्यक नलीनलीमा रक्तसँगै बगिरहेका छन्, अनि हृदय भरिएको छ सारा आत्मसन्तुष्टिका तत्वले तर पनि मन चञ्चल छ साहृै हलुका । लाग्छ म जमिनमा छैन यसबेला, कुनै स्वतन्त्र पन्छिझै खुला आकाशमा शयर गर्दैछु टाढा धेरै टाढासम्म । त्यत्रो खुशी भरिएर पनि म हलुका आभाष गर्दैछु, कति आनन्ददायक छन् यी खुशीहरू तौलविहिन भएपनि । अभौतिक भएपनि ।

हो, अहिले उनी म सँगै छिन अप्रत्याशित रुपले अनायासको आगमनले । वर्षौपछिको हाम्रो मिलनमा…म विश्वास र अविश्वासको बिचमा छु, अनिर्णयको बन्दि भएर । के उनी साच्चै फर्किएकी हुन् त ? आफैसँग अनभिज्ञता जाहेर गर्छु म तर वास्तविकता यही हो उनी अहिले मेरै साथमा छिन् । त्यही शरीर त्यही भाव अनि त्यस्तै समर्पणको मुद्रामा प्रस्तुत । म साच्चै अचम्मित छु उनी यसरी मेरो सामु उभिदा मधुर मुस्कान सहित । म केहि बोल्न सकिरहेको छैन, मन भरिका खुशीले शब्द व्यक्त गर्न दिएका छैनन् । मेरो मनमा अनेक प्रश्नहरू थिए तर चेतना शून्यमा अडिएको छ । लाग्छ मैले संसार बिर्सिए, आँखा अगाडि केवल उनी छिन् अरु केहि छैन । संसार रिक्त छ अनि मेरो मन पनि खालि छ खुशी आनन्द शिवाय ।

अघिदेखिको मेरो स्थिरावस्था र मौनतालाई भंग गर्ने प्रयासस्वरुप उनको मधुर बोली गुञ्जियो…“ किन केहि बोल्दैनौ ? अघिदेखि मौन छौ त …..”
“हो…..ई……न…..त्यस्तो केहि पनि । ”बडो मुश्किलले निस्कियो यति चार शब्द । निकै संघर्ष पश्चात निस्केका यी बोलीले मेरो स्थिर रहेको शरीर कमाउन थाल्यो । म कापिरहे…..खै किन ? कसका लागि ? थाहा भएन ।

“जाऊ न कही बसेर गफ गरौ । हुन्न ?”

मैले स्विकारोक्तिस्वरुप टाउको हल्लाए हुन्छको भावले । हामी एउटा रेष्टुरामा गई बस्यौ एकदम समीप। अब कुनै खाले दुरी रहेन यहाँ, उनी र म तथा मेरो असहजपूर्ण रहेको शरीर ।

“के गर्दैछौ आजकल ?”

आफुलाई केहि सहज रुपमा ल्याउदै मैले भने, “खासै केहि छैन, सानो जागिर गर्दैछु । अनि तिम्रो भन न धेरै वर्ष हरायौ कुनै खबरबिना…।”

“हेर न त्यस्तै पर्यो । तिमीलाई धेरै खबर गर्ने प्रयास गरे तर सकिन । खै केले अड्कायो थाहाँ भएन, म असफल भए तिमीलाई भेट्न । त्यस्तै कुनै बाध्यता पर्यो भन्ने सम्झ न । मैले चाहेर त्यसरी हराएकी होईन, विवशतामा बाधिएकी थिए । सधै तिमीसँगको प्रेममय साथको कल्पनामा डुब्थे ।”

उनको जवाफले मलाई गहिराइमा पुर्यायो । शायद हर्षको गहिराईभित्र । छ्या ! मैले उनलाई अर्कै सोचेको थिए । तर आज उनलाई त्यहि पहिलेको अवस्थामा पाउँदा मेरो मनले आफैलाई धिक्कार्न थाल्यो त्यस्तो उनीप्रति नचाहिदो सोचेकोमा ।

हामीले निकैबेर एकअर्कालाई हेरिरह्यौ, टेबुलमा रहेको कफी सेलाएको पत्तो भएन अनि कतिखेरदेखि मेरो हात उनको कोमल हातको स्पर्शमा रमाईरहेको छ त्यो पनि होश भएन । मात्र म उनलाई हेरिरहे र उनी पनि आफ्नो सुन्दर नयन मेरै दृष्टिमा अड्याइरहेकी थिईन् । त्यहाबाट उठेर हामी हिड्यौ अनिश्चित पाईला लिएर, गन्तव्यविहिन यात्रामा ……..मन्द गति । उनको सुकोमल हात अझै मेरो हातको प्रेममय बन्धनमा छ । न उनले सोधिन कहाँ जाने भनेर न मलाई नै यसको जवाफ थाहाँ थियो । हाम्रा पाईला चलेका थिए एकदम सुक्ष्म गतिमा । एकअर्कासँग नबोलेपनि प्रेम साटासाट भइरहेछ, यसको प्रमाण उनको मुहारमा पाए मैले । उनको मुहार तेजमय भएको छ प्रेमको ज्योतिले अनि म सजिलै पहिल्याउन सक्छु खुशीका रेखाहरू, समर्पणका भावहरू उनको मुहारभरि असीमित रुपमा । म यसै आनन्दित छु अन्तरात्मादेखि नै । हामी निरन्तर हिड्दै छौ, कहाँबाट कहाँ पुग्यौ थाहाँ छैन तर सूर्य क्षितिजपारी डुब्दै गरेको देख्दा लाग्यो हामी धेरै हिडेछौ । थकानको आभाष अलिकता पनि छैन न उनले नै अभिव्यक्त गरिन् । साझ छिप्पिदै छ र मैले नै हाम्रो चार घण्टे लामो शब्दविहिन यात्राको मौनतालाई तोड्दै भने, “यसरी नै हिँडिरहने कि कतै जाने ?”

उनी मौन नै रहिन् निर्जवाफ तर उनको मौनतासँगै देखिएको मुस्कानले मैले बुझे उनी पूर्णरुपले सहमत छिन् म प्रति । मेरो इच्छामा उनको खुशी छ भन्ने भाव व्यक्त छ सो शालीन मुस्कानमा ।

मैले दोहोर्याएर कुनै प्रश्न गरिन र हामी फेरी हिँडिरह्यौ शून्य रातको ताराले भरिएको विशाल आकाशमुनिको तुच्छ धर्तीमा । केहि बेरको हिडाईपश्चात हामी मेरो सानो कोठामा पुग्यौ जसको भित्ताभरि केवल उनकै तस्विर टाँगिएका थिए । उनी हेरेको हेर्यै भईन् र केहि लज्जा उनको अनुहारमा दौडियो ।

“यतिका वर्षसम्म पनि मलाई बिर्सिएको रहेनछौ तिमीले ।” उनको आँखाबाट आँशु बग्न थाले ।

म प्रतिक्रियारहित भए, लाचार बने, प्रत्युत्तर दिन असक्षम थिए अनि खोई किन हो उनको अमुल्य आँशु पुछ्ने साहस ममा आएन । बग्न दिए उनका निर्दोष नयनबाट आशुका थोपाहरू । मन भारी भयो मेरो पनि तर उनीप्रति सहानुभुतिका शब्द निस्केन मेरो मुखबाट । चाहना त थियो केहि भन्ने तर कण्ठभरि श्वास गुम्सिएर रहेकोले कुनै पनि शब्दले त्यसलाई चिरेर आवाज लिन सकेनन् । केहि बेरपछि आँशु पुछ्दै उनले भनिन्, “यत्रो वर्षसम्म किन अविवाहित रह्यौ ? मलाई भेट्ने आशा थियो मनमा ? म प्रति विश्वास थियो ? मलाई भुल्न सकेनौ या चाहेनौ ? उनका सारा प्रश्नहरू मेरो कानमा नगुञ्जिएर सोझै हृदयमा रोपिएझै लाग्यो तिखो काढासरी । तर म फेरी जवाफ दिन असमर्थ भए । उनको सामु गए अनि उनको काखमा शीर राखे घोप्टो पारेर, भारी मन केही हलुका पार्ने उद्धेश्यले । मन लाग्यो उनको जस्तै आँशु बगाउन तर ममा पुरुषार्थ थियो क्यार त्यसैले चाहेर पनि आँशु बगेन । यो मेरो कायरता या वीरता के थियो मैले बुझ्न सकिन । पुरुष भएर आँशु बगाउन चाहनु कायरता हुन सक्ला तर मन शान्त पार्न उनको जस्तै गरी आँशु बगाउने अनुमति स्वयम् आफैले आफैलाई दिदा पनि आँशु खस्न नसक्नु शायद वीरता पनि थिएन । हुन सक्छ मैले आफ्नो पुरुषार्थ गुमाउन सकिन या चाहिन । तर मलाई मन थियो केहि थोपा आँशु खसाल्न । चाहनालाई कुन्नि केले दबायो मेरो आँखा रसाउन सकेन, म आफैसँग हारे ।

उनले मेरो कपाल सुम्सुम्याईदिइन् र शीर उठाउँदै भनिन्, “धत् ! तिमी त केटी मान्छेजस्तो के घोप्टिएर बसिरहेको ? उठ अब, खाना खानु पर्दैन ? म बनाउछु है ।”

उनको काखमा एकछिन विश्राम गर्दा लाग्यो मन धेरै हल्का भयो, म क्रमश सामान्य बन्दै गए । दुवै मिलेर खाना बनायौ, खायौ । राति अबेरसम्म अतितका रमाईला क्षणहरूको कुरा गर्यौ तर भविष्यमा के गर्ने, सँगै रहने, बिछोडिने……जस्ता केहि पनि कुरै भएन । तर पनि लाग्यो अब हामी कहिल्यै टाढिदैनौ । समयले दिएको चुनौतिको प्रतिकार गरि हामीले समयलाई पनि पराजित गरिसक्यौ । यस्ता कुराहरू बुझ्न भाषा नचाहिदो रहेछ । एकअर्काको मुखभावबाट हामीले बुझ्यौ यावत् कुराहरू र एक अर्काप्रति सन्तुष्ट हुन शुरु गर्यौ….दुनिया भुल्यौ…।

म सबै बिर्सेर उनीमा समाहित हुदै गए, उनलाई थकाउँदै गए……स्वयम् आफु पनि थाक्दै गए आनन्दले क्षीण हुदै । पल–पल म क्षीण हुदै गए साहसिक र संघर्षशील आनन्दको भोगाईमा । उनी पनि निस्तेज भईन्…। अवाक्, तर पूर्ण सहयोग पाए उनीबाट । भौतिक शरीरको सहयोग, प्रेममय भावनाको प्राप्ती उनी म सँग साटासाट गर्दै थिईन् ।

यस्तैमा केही अवरोधमय ध्वनि मेरो कानमा गुञ्जियो विकराल रुपमा । कुनै घण्टिको तरङ्ग कानदेखि हुदै शरीरभरी फैलिएजस्तो निरन्तर ।

अनायासै म झस्किए, आँखा उघ्रियो अनि ती एकजोर नयनको दृष्टि सँगै टेबुलमा रही एकनास बजिरहेको मोबाईल फोनमा गएर अडियो । आँखा त्यही गएर अडिए तर केही देख्न नसक्ने अन्धोझै भएर । आँखा अझै स्थिर छ त्यही बज्दै गरेको मोबाईलसँगै र मानसपटल शून्य छ, रिक्त अनि विवेकशून्य । धेरैबेरको दृष्टि स्थिरतापछि शून्य रहेको मनले धेरै विचारहरूको भारी बोक्न थाल्यो । लाग्यो यो मोबाईल फोन मेरो जीवनकै सबभन्दा ठुलो शत्रु रहेछ जसले मलाई नजानिदो पाराले पराजित गर्यो । मेरो खुशीलाई विक्षिप्त पारेर स्वयम् मलाई पनि मृतसरह बनाईदियो । उनीसँग यथार्थमा भेट नभएपनि कल्पनामा या भनौ सपनामा हाम्रो मिलन भएको थियो । मिलन आँखाको….., प्रेमको, उनी र म बिच आएको दुरीको, भावनाको, शरीरको, समीप्यताको……आनन्दको…।

तर यो शत्रुले त्यो पुरा हुन दिएन, लाग्यो यसलाई पछार्दिउ अनि जोडले पछारिदिए तर पनि रिस मरेन। मनको आगो निभेन र मेरो अर्धमृत शरीर साधारण अवस्थामा आउन सकेन । केवल म मरिरहे, पल–पल मरिरहे । यस्तो मृत्यु जसलाई म भोगिरहेको छु साथमा मेरो आंशिक चेतना पनि म सँगै छ, आत्म पनि साथै छ । हेर्दा जीवित देख्छु तर पनि म मरिसकेको आभाष म आफै गर्दैछु र आफ्नो यो अवस्थालाई मृत्युसँग परिभाषित गरि क्रमशः विचित्रको मृत्युलाई अँगाल्दै हिँडिरहेछु….मृतयात्रा…।

1 thought on “मृतयात्रा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *