Skip to content

दुनिया हेर्न खोजेको थियो ऊ


दुनिया हेर्न खोजेको थियो ऊ
फराकिलो दुनिया
सयौं भारी लोडले थाम्न नसकेर
पन्चर भएको टायर जस्तो
या त भनौ
पैसा रित्तिएको जुवाडेको खल्ती जस्तो
एक अर्को बाजी थाप्नलाई
सयौ पल्ट खल्ती छाम्नुपर्ने होस्
अनि
एउटा ठुलो परिवार निदाउनको लागि
टाउको ठोकाएर पस्नु पर्ने होस्
ऊ फराकिलो चाहन्छ
कस्तो-कस्तो
बेग गतिमा दौडिएको गाडीको झ्यालबाट
झुक्किएर देखिएका बाहिरको दृश्यजस्तो
या त भनौ
खेल्दा खेल्दै भेट्टाएको चारा
टप्प टिपेर
दुइ चुचोले अडाएर
खुल्ला आकासमा कावा खाँदै
एउटा उत्साह बोकेर
भुर्र भुर्र रुखका हागहरू हल्लाउदै
आफ्नो गुडमा बच्चा लाई चारा खुवाउने
सपना देखिरहेको
पिंजडाको सुगा जस्तो

न सपनामा निदाउँछ
न सपनामा बिउँझन्छ
मात्र दुनिया हेर्न खोजेको थियो ऊ
ऊ सपनामा थियो
चिसो-चिसो बरफको परबाह नगरी जीवनको एउटा शासलाई
एउटा बिन्दुमा अड्याएर
हिउँको पहिरोमा भासिँदै
सूर्यको किरणलाई साथी बनाएर
आफ्नो सेतो पहिरन सिंगारिरहेको
सगरमाथाको शिखर चुमेर चारैतिरबाट
दुनिया हेर्न खोजेको थियो ऊ

आज ऊ सपनामा थिएन
साँच्चिक्कै सपनामा थिएन
उसले अनुभव गरिरहेको थियो
उसको शरीरबाट पसिना बगिरहेको
चारैतिरका मेसिनरी सामानले उसलाई
हेरिरहेका थिए
हो त
उ दुनिया हेर्न कति तछाड-मछाड
गरिरहेको थियो
हवाईजहाजको झ्यालबाट
सेतो बादलले छेकिदिदा
कहीं-कतै देखिएका सहरहरू हेर्ने रहर
गरेको थियो
आँखाबाट ठुला-ठुला ढिका
हर्षका आँशु बगाउने रहर गरेको थियो
रहरहरू बन्दकी राखेर ब्याज कुहिएका याद आउँछन
चिसो सिरेटोले पीपलुको पातलाई हल्लाउँदा
जानेबेला आफुले हल्लाएका हातहरू
देउरालीको चौतरिमा
कोइलीले गीज्याउदा
सिमलीको हाँगा भाँचेर हिर्काएको त्यो दिन
अनि उकलीको फेदीमा बर्षातको झरीले लागेको
हरियो लेउमा लर्कीएकी उनि
त्यतिबेला ऊ मरी-मरी हाँसेको थियो

ऊ बिउझन्छ सधै जस्तै सपनाबाट
तर
यो सधै जस्तो सपना भन्दा बेग्लै थियो
सपना थियो रमिरहेको उनीसँगको
अर्को तर्फ
विउँझिदा भित्रको सपना
जुन
हिड्दा- हिड्दै पनि देख्न सकिन्छ
रुदा रुँदै पनि देख्न सकिन्छ, कोलाहलमा पनि देख्न सकिन्छ
तर ऊ
शान्त कोठामा छ
उ सगरमाथा चड्ने प्रयास गर्दै छ
न त
प्रसान्त महासागरको यात्रा
उ सानो कोठा भित्रै बाट ठुलो दुनिया देखिसकेको छ
मधुर-मधुर प्रकाशमा
धुमिल-धुमिल धब्बाभित्र
सरर-सरर माउसले देखाएका गिन्दिहरू
त्यही
एउटा सफ्टवेरमा
कुन्नि के को आँसु मिसिएको थियो
हर्षको या दुखको
जे को होस्
नजिकैको कम्पुटर स्क्रिनमा
भाइरसले ह्याँग भएको जस्तो
धर्मराउदो देखिएको थियो
***स्पन्दन ***

syanghasahitaya.wordpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *