“ओहो कालेलाई ज्वरोको औषधि किन्नुपर्ने पैसा पनि पो छैन त । के गर्ने होला ? विचरालाई ज्वरोले सिध्याउन लागिसक्यो ।”
रामे यस्तै चिन्तामा छ तनावग्रस्त र सोचमग्न । ति असफल मूल्यवान सोचाइले धेरै गहिराइमा पुर्याइरहेछ उसलाई । केही निर्णय लिन सकिरहेको छैन रामे । अब कहाँ जाने सही गन्तव्य पहिल्याउन असमर्थ छ । जे भएपनि छोराको पीडा त सहन सकिदैन भन्ने ठानेर उसले एउटा निर्णय गर्छ आफैसँग र गन्तव्यहिन पाइलालाई एउटा बाटो दिन्छ, अधेरो गल्लीतर्फको साँघुरो बाटो । ऊ लम्कन्छ एउटा अन्धकार गल्लीबिच रहि मधुर प्रकाशमा सजिएको पुरानो भट्टीतर्फ जहा धेरै मानिसहरू दिनभर ज्याला मजदुरी गरी पसिना चुहाएर कमाएको पैसाको सम्झौता गन्हाउने झोलसँग गर्छन् । उसलाई केही आशा छ जँड्याहा साथीहरूको, त्यसैले ऊ फटाफट सन्तुष्टिका पाइला चाल्दै छ । रामे त्यस्तो मान्छेसँग पैसा माग्ने विचारमा छ जो सँग उसको परिचय भट्टीमा नै भएको थियो र त्यो संकुचित क्षेत्रभन्दा बाहिर उनीहरूसँग उसको भेट कहिल्यै हुन सकेन । आशा नगर्नुको अन्य कुनै विकल्प पनि त छैन । ऊ मनमा अनेक कुरा खेलाउदै हिड्दैछ……….“मेरा त्यत्रा साथीहरू छन् जाबो २० रुपैया त कसै न कसैले दिइहाल्छन् नि । पैसा लिएर हिडिहाल्छु घर । औषधि त समयमै खुवाउनुपर्यो नि छोरालाई अनि यो कुकुरको मुत कहिल्यै खान्न, साच्चै अब त छुदा पनि छुन्न । यो रगतमा मैले कति पैसा फाले तर आज औषधि किन्न २० रुपैया पनि छैन गोजीमा । यसमा फाल्ने पैसा र समय स्वास्नी, छोराछोरी……परिवारमा खर्चिएको भए सबैलाई कति धेरै आत्मसन्तुष्टि हुने थियो । छ्या ! मलाई त आफैसँग लाज लागिरहेछ । जे होस यो नरकमा छिर्ने आज अन्तिम दिन हो त्यो पनि बाध्यताले, भोलिदेखि त फर्केर पनि हेर्दिन यो गल्लीलाई । ”
सोच्दा सोच्दै उसको प्रवेश हुन्छ अध्यारो भट्टीमा जहाँ सिद्धान्तवादीहरू र मै हुँ भन्नेहरू खादै पिउदै रम्दै छन्….माहोल तताउँदै छन्, होहल्ला गर्दै । रामेले २/४ जना परिचित मुहार देख्छ र सन्तुष्टिको श्वास फेर्छ । जँड्याहाहरूले आफ्नै पाराले उसको स्वागत गर्छन । छुट्टै अस्तित्व बोकेका अनि बाह्य स्वच्छ समाजले नकमाएको ईज्जत भट्टी परिपाटीमा कमाएकाहरूमाझ रामेले बस्ने ठाउँ पाउँछ । उसलाई भन्न असहज लागिरहेछ तर त्यो असहजतामाथि बाध्यताको भारी छ, ज्यादै गहृौ । ऊ आफ्नो दुखेसो पोख्छ मित्रजनहरूमाझ, उसको अनुनय विनयसँगै एउटा कृत्रिम हासो फैलन्छ वृहत आवाजमा, एकिकृत हासो । त्यो कुन नियतिको हासो थियो रामे बुझ्न सक्दैन तर वास्तवमा त्यो ऊ प्रति गरिएको उपेक्षित हासो थियो, निर्लज्ज….। मित्रहरूको लट्ठिएको आवाजमा उसले आश्वासनको, अपेक्षित स्वर सुन्दछ र फेरी पनि केही सन्तुष्टिको महशुस गर्छ । रामे दोहोर्याएर त्यो एउटै ‘२० रुपैया सापटि’ शब्द अभिव्यक्त गर्न चाहदैन । ऊ मौन छ तर उसको सम्पूर्ण मनोविज्ञान त्यहि २० रुपैयाको आशामा जेलिएको छ । ऊ त्यसै त्यसै त्यहाँको माहोलबाट हराइरहेको छ, आफ्नै आशातित मनमा पलाएका सोचाइमा डुब्दैछ ।
एकजना अर्धपरिचित झोले मित्रले उसलाई अलिकति लिऊ न सर भनि आग्रह गरे । उफ् ! सर शब्द सुनेरै विरक्त लाग्ने । कस्तो अवस्था अनि माहोलमा जीवन व्यतित गर्ने मान्छेलाई ‘सर’ सम्बोधन गर्ने केही थाहाँ नभएको सर भनाउदाले आफूलाई पनि सर भनेर एक गिलास लिउ न भनि गरेको आग्रहलाई रामे नकार्न सक्दैन । उसले पनि शुरु गर्यो पिउनलाई । उसको शरीर झोलमा रमेपनि उसको आत्माले सन्तोष मानेको छैन । बाध्यात्मक परिस्थिति सिर्जित भएकोले मात्र उसले कृत्रिम भावले स्विकारोक्ति जनाएको हो । उसको पेट पोलिरहेछ…रक्सिले होईन चिन्ता र डाहले । कालेलाई कस्तो भइरहेको होला? बस् यही चिन्तामा ऊ घोरिएको छ । मात चढ्दै गएपछि लाज क्रमशः घट्दै गयो । अब ऊ आफ्नो दुखेसो, विवशता निर्धक्क भई साथीभाईमाझ पोख्दैछ साथै मित्रहरूबाट ‘भैहाल्छ नि, जाबो त्यति कुरा पनि’ जस्ता सुखानुभुति दिलाउने वाक्यांश पनि सुन्दैछ । अब ऊ ढुक्क छ र निसंकोचरुपले त्यहाँ बेग्लै परिपाटी सिर्जना गर्नमा व्यस्त छ । रक्सि थपिदैछ निरन्तर अनि साझ छिप्पिदै अधेरी रातमा बद्लिदै छ…कालो क्रमशः कालो ।
रामेको मस्तिष्कबाट अघि छोराको पीडाले कोरेको काल्पनिक शंकास्पद, त्रासमय चित्र मेटिदैछ जुन चित्रले उसलाई वास्तवमै धेरै पोलेको थियो, दुखेको थियो । अब त्यस मगजमा रसरङ्गका आधुनिक तस्विरहरू र मित्रहरूको अश्लील गफले स्थान ओगट्दैछ विशालरुपमा । उसलाई थाहाँ छ आफुलाई २० रुपैया चाहिएको छ भन्ने तर त्यो २० रुपैयाको महत्व र आजको आवश्यकता ऊ बिस्तारै भुल्दैछ त्यो अधेरो कोठामा जमेका सरहरूको भीडमा ।
भट्टी साहूनी होटल बन्द गर्नुपर्यो भन्दैछे तर उसको कुरा सुन्ने कोही छैन । हासोको गुञ्जयमान भइरहेछ वृहत आवाजमा, रक्सिले त्यस हाँसोमा ऊर्जा थपेको छ, जोश बढाएको छ सरहरूको । निरर्थक हाँसो फैलन्छ अनि त्यो हाँसो निम्त्याउने चेष्टा गर्ने सर त्यसै त्यसै फुरुङ्ग हुन्छ आफ्नो विजय ठानेर, मित्रहरूलाई हसाउन र रमाईलो गराउन सफल भएछु भन्ने विनार्थको भ्रम पालेर । एकातिर साहूनीको गुनासो अर्कोतिर नचाहिदो हाँसोसँगै सरहरूको ‘अब एकछिन बसौ न हुन्न?’ भन्ने आग्रह । साहूनी विवशताले बाधिएकी छे र मानाका माना रक्सि भर्न व्यस्त छे । टेबुल हर्लिक्सको खाली सीसीले भरिसक्यो र त्यसको ठाउँमा अरु रक्सि भरिएका २/३ ओटा हर्लिक्सको सीसीले स्थान पाएको छ । अब त रातै पर्यो, बाहिरी वातावरण शून्य भईसक्यो पूर्ण शान्त तर त्यो अध्यारो कोठा मधुर प्रकाशमा चम्किरहेछ, चकमन्नतासँगै सरहरूको हल्ला चर्किरहेछ । बाकी रहेको ३/४ माना पनि रित्तिएपछि बल्ल झोले सरहरूलाई घर जानुपर्छ, रात पर्यो भन्ने चेत हुन्छ । रामे अझै २० रुपैयाको आशामा छ । रक्सि धोकेको पैसा ‘म तिर्छु सर….तपाईले दिनुपर्दैन’ भन्दैछन् ३ जना सरहरू तर पैसा कसैको गोजीमा छैन । “ल साहूनी पैसा भोली म दिउला, खातामा चढाइराख्नु अनि वहाँ सरहरूसँग नलिनु नि । म भोलीनै सम्झेर दिनेछु ।” एकजना झोले सर यसो भन्दैछ ।
रामेको अनुहार अब कालो बन्दैछ, मलिन । निराशाको बादलले क्रमशः उसको मुहार ढाक्दैछ। लर्खराएका ५/६ जोर पाईलाहरू हल्लासँगै बाहिर निस्कन्छन् । एकजना मित्रले रामेलाई भन्छ “सरलाई २० रुपैया खाचो छ भन्नुभएको है । भोली लिनुहोला म सँग, म साझ यही होटलमा हुनेछु ।” रामे केही बोल्दैन केवल शीर हल्लाउँछ ।
रामे लाग्छ चिन्ताले गलाएका पाईलासँगै छोराको दशा हेर्न, विडम्वनाको दृश्यसित सिँगौरी खेल्ने सोचमा । ऊ सोच्दैछ…..“यो गरिबीले हामीलाई त बाच्ने अधिकार पनि दिदो रहेनछ । जाबो २० रुपैया नहुने म कस्तो लाचार छ्या ! छोराको त्यस्तो अवस्था छ, स्वास्नी बिचरी भोक र शोकले दाउराझै भईसकी । म यसरी मातेर घर फर्किदैछु । यस्तो स्थितीमा कुकुरको मुत धोकेर घर जाने म गैरजिम्मेवारलाई के भन्दी हो कालेकी आमाले ? २० रुपैया खोज्न हिडेको म ८० रुपैयाको झोल धोक्ने…..।”
कोठामा टुकि बलेको छ जसको सुक्ष्म उज्यालोमा आमा छोराको कारुणिक मुहार प्रष्ट देखिन्छ । आमा थला परेको अबोध छोरालाई दुध चुसाउने प्रयासमा छे । यहाँ पनि असफलता, सुकेको छातीबाट कसरी दुध आउनु । छोरा मुन्टो चुस्छ पूर्ण साहसका साथ…मुन्टो नीलो भईसक्यो, दुध आउँदैन । आमाले दिनरात पिएको आँशु र जेनतेनले खाएको आधापेट खानाले कहाँबाट दुध भरिनु र आउँनु । छोरा सकिनसकि आमाको दुधको मुन्टो चुस्छ….निमोठ्छ…..थिच्छ..चुस्छ । आमालाई कति दुखेको छ तर कुनै चेत छैन, मौन छे ऊ । दोष कसलाई दिने ? कसैलाई दोष दिने केही आधार छैन त्यसैले कर्मलाई दोषी ठानी सहेर बसेकी छे ।
रामे आईपुग्छ आफ्नै पीडा बोकेर, असमर्थताको भारी अनि झोलले भरिएको बेकामको शरीर लिएर । केही नबोली लाजले चुपचाप नजर झुकाएर खाटमा ढल्छ रामे । एउटा खुट्टा भाचिएर ईट्टाको चाङले अडाइएको थोत्रो खाटमा उसको एकल साम्राज्य छाएपछि कालेकी आमा त्यही भुईको गुन्द्रिमा छोरालाई काखमा हल्लाएर के के गुन्गुनाउदै छे । रामे सब कुरा सुनेर पनि कुनै प्रतिक्रिया दिन सक्दैन, सान्त्वनाको दुई शब्द पनि बोल्न असक्षम छ । केवल मुन्टो कुनातर्फ फर्काएर आँशु बगाइरहेछ ।
बिहान रामे मुख धोएर निस्कन्छ नविन सोचका साथ । आफ्नो पुरानो साहूकहाँ जान्छ केही पैसा ऋण माग्न तर त्यहा पनि उसको अपेक्षा हुन्छ, तिखो वचन शिवाय अरु केही पाउादैन । दिनभर यता र उता भोको पेट दौडिएको छ तर एक पैसा हात परेन । कालेको ओठ मुख सुकिसक्यो, अनुहार पुरै नीलो भईसक्यो । आमाको आँखा अझै रसाएकै छ । कहिबाट केही उपाय नभेटेर रामे साझ त्यहि अधेरो कोप्चे गल्लीतर्फ लम्कन्छ । फेरी हिजोकै घटनाको पुनरावृत्ति …। सरहरूको हल्ला, टेबुलभरि रक्सि भरिएको हर्लिक्सको सीसी अनि उहि आश्वासन । रात पर्छ टिल्ल परेका सरहरूसँगै रामे पनि मातेर निस्कन्छ रित्तो गोजीको साथमा । रामे एक्लै सोच्दै हिड्दैछ …“५/१० रुपैयाको औषधि लैजान पाए पनि काले तङ्ग्रिन्थ्यो कि?” औषधि उधारो माग्न जान्छ तर गरिब जँड्याहालाई कसले पत्याउने, दया गर्ने? ऊ सँग बेच्ने सामान केही छैन, डिग राख्न पनि शरीरमा लगाएको फाटेको मैलो कपडाबाहेक छ त केवल आफ्नै शरीर । आज पनि असफल भई भारी हृदय बोकि कोठा तर्फ रामे जादैछ ।
ज्वरोले तातेको छोराको शरीर अब चिसो हुदैछ । आँखा पनि दुधझै सेतो भई पल्टिन थालेको छ। आमा नीर्जिव सरह भईसकी । केही गर्ने साहस छैन बिचरीमा, मौनरुपले व्यथा हेर्दैछे, सहदैछे । सुन्ने कोहि छैन, देख्ने मान्छे थिए होलान् तर हेर्ने कोहि छैन, केवल शून्यता । ऊ त्यसै त्यसै दौडिरहेकी छे आत्तिएर । छोरा काखमै अरहरो भईसक्यो । प्राण रहेनछ बाकी अब । आमा एउटा पेटीमा बसेर आँशु बगाउन थाल्छे । छोराको मृत शरीर छोप्न कपडा हेर्छे तर पाउदिन । आफ्नो आङ्ग हेर्छे केवल एउटा छोटो पातलो कपडा बेरेकी छ, जसबाट सर्वाङ्ग सहजै देख्न सकिन्छ । आफ्नो लाज ढाक्ने कि छोराको मुख छोप्ने ? केही सीप नलागेर त्यहि आङ्गको पातलो वस्त्र फुकालेर आफ्नो लाज र मृत छोराको मुख पनि ढाक्ने प्रयत्न गर्छे । कपडा छोटो भएकोले यो चेष्टा पनि असफल भईदिन्छ । कपडाको एक छेउले छोराको आधा मुहार छोपेर अर्को छेउको भागले आफ्नो छाती आधा छोपेर लाज ढाक्ने कोसिस गर्छे । न लाज ढाकियो न मृतकको मुख पूर्ण रुपले छोपियो ….।
ऊता रामे अनेक शंका लिएर सोचको अनि झोलको भारी अँगालेर कोठातर्फ लर्खराएका पाईला चाल्दैछ ।
