कविता संग्रह निकाल्नेहरूका भीडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरू अंकित गरिरहेका छन्। साहित्यको भकारीमा । यसै भिंडमा अर्को एउटा शसक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जस्को कविता सँग्रह “प्रतिविम्व” केही दिन अघि मेरो हातमा परेको छ । जसलाई म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्यप्रतिको झुकावलाई यी प्रवासी मनहरूले त्याग्न सकेका छैनन् । पुराना दिनहरूमा कलाकारिता रुचाउँने अशोक बालककालदेखि नै कविता लेख्न पनि रुचाउँथे । जब उनी बिदेश भासिए अनी उनीभित्र देश प्रेमका कुण्ठित भावनाहरू सल्बलाउँन थाले। बिदेशका भोगाईका उनका प्रतिविम्वहरू शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिविम्वित बनेर छाए ।
हुन त मैले “प्रतिविम्व”को रचनाकारको नाम फेसबुकबाट मात्र सुन्दैछु वा पढ्दैछु । मेरो वालमा कहिलेकाहीं झल्याक झुलुक अशोकका कविताहरू टाँसिन्थे । उनको कवितारुपी भाषाहरू मलाई अलिक प्रिथक नै लाग्दथ्यो । मेरो अर्थमा ती भाषाहरू जटिल नै लाग्दथे । यस्तो लाग्दथ्यो उनका शब्दहरू बैज्ञानिक बिषयका शब्दहरू हुन् तर पनि बुझ्न सहज नै हुन्थे ।
अहिले “प्रतिविम्व”मेरो हातमा छ र मैले अशोकजीको सम्पूर्ण भावनालाई कैद गर्ने मौका पाएकीछु र मलाई चुनी चुनी उनका कविताहरूको दहमा डुबुल्की मार्न सहज भएकोछ । उनको “प्रतिविम्व”कविता संग्रहका प्राय:कवितारुपी भावनाहरू आमाकै झझल्कोको प्रतिविम्व बनेर छरिएको आभास हुन्छ ।जन्म दिने आमा र जननीलाई एउटै स्थानमा राखेर कोरिएका कविताहरूका भावनाहरू सबै मात्रित्वप्रेमले ओतप्रोत छन् । अशोक आफ्नो साहित्यको औपचारिक थालनी मुहार पुस्तिकाबाट नै भएको स्वीकार गर्दछन् । चाहे जहाँबाट साहित्यिक यात्राको शुरुवात होस् , लेखकमा शब्द र भावनाहरूको तार्तम्य अनी कला कौशल्ताले सजाउँने सामर्थ्य छ भने उस्को यात्रालाई स्वागत सबैले गर्दछन् । अशोक पार्थिवमा यो कौशल्ताको पर्याप्त गुण छ भन्ने यही प्रतिविम्वले उजागर गरेकोछ । उनका सङ्रहित कविताहरूमा मैले आँखा गाडेका कविताहरू मध्ये “आहा!धरतीका हरेक कुनामा जखमले घामहरू पुर्याउँन पाए। ” यस कवितामा उनले धरतीमा सबै सुस्ताएका, निदाएका मुर्झाएका जतिपनी बस्तु हरू छन् उष्णताले सेपिएका मानवरुपी बिरुवाहरू छन्। ती सबैमा अझ तिक्खर र चहकिलो घामरुपी आशाहरू वा प्रेरणाहरू थप्न पाए अझ यो धर्ती र यहाँका श्रीजनाहरू कति मोहक र सुन्दर बन्थे होलान् ? भन्ने उनको कल्पना र सपना छताछुल्ल पोखिएको छ उक्त कवितामा । यस्ता धेरै उदाहरणरुपी कविताहरू छन् । जस्तै अर्को कविता “म साले कपूत छोरा ।” उनले यो कवितामा जननीरुपी आमाको रुपमा देशलाई प्रतिविम्वित गरेको आभास हुन्छ । जसरी अहिलेको समयमा देश उनको कविताको भाव अनुसार हज्जारौँ कपूत छोराको परेड खेल्ने मैदान बनेको छ । आमा आफ्नै सन्तानहरूबाट बलात्कृत भएकी छिन् । कति आशा र सुनौलो कल्पनामा आफ्नो कम्जोरीपनको पलमा आफ्नो बैशाखी बन्ने आशामा जन्माएका छोराहरू नै अहिले आफ्नै शत्रु बनेका छन् । त्यही छोरा मध्ये अशोकले पनि आफूलाई एक कपूत छोरारुपी पात्र बनाएर उक्त कवितामा आफ्नो गल्ती स्वीकार गरेर जननीलाई क्षमाको भिख माँग्दै आत्माग्लानिमा चुर्लुम्म डुबेका छन् । उनका हर कवितामा यस्तै भाव समेटिएको पाईन्छ । यसरी अशोकको यो कविताले हर कुपूत छोराहरूलाई आँखा खुलाउँने सन्देश दिएको छ ।
हुन त म कुनै बौद्धिक समालोचक वा टिप्पणीकर्ता होइन । बस् यत्ती हो म प्राय:मुहार पुस्तिकामा भेटिएका साथीहरू मध्ये अलिक पुरानै भएकीले सबैले यसो मनको भाव बिसाउँने आग्रह गर्दछन् र म मैले जाने बुझेसम्म ती रचनाहरूमा आफ्नो अभिब्यक्ती राख्ने प्रयत्न गर्दछु अनी स्पष्ट बक्ता भएर देखेको कमीकम्जोरी र त्रुटिहरूमा प्रश्नचिन्ह राख्ने गर्दछु निर्धक्कसँग यसरी।
अशोकका धेरै कविताहरू समाहित छन् “प्रतिविम्व”मा । मैले सबैको बेली बिस्तार लगाएँ भने त अरुले कविता संग्रह नै किनेर पढ्दैनन् उसो र म लेखकलाई मार्ने चेष्टा पनि गर्न चाहन्न । बस् मैले यी दुई प्रतिनिधी कविताको बारेमा मात्र बुझेको कुरा प्रष्ट्याएँ । अब लाग्छु अशोकका कविताहरूका केही मलाई लागेको निर्बल पक्षमा । मैले माथी नै भनी सकें म कमीकम्जोरी र र त्रुटी (जुन चाँहि मलाई लाग्दछ । सबैलाई नलाग्न सक्छ)मा प्रश्न चिन्ह तेर्स्याउँछु । जस्तै अशोकका कविताहरूमा मलाई लागेको कुरा के हो भने उनका हर कविताका शिर्षकहरू लामा लामा छन् । त्यही भावनारुपी कविताहरूमा छोटा, मीठा, विम्वात्मक र छरिता शिर्षकहरू भए ओहो! ती कविताहरूमा अझ सुनमा सुगन्ध थपिन्थे कि? भन्ने मेरो भित्री मनसाय । अर्को मलाई लागेको पक्ष के हो भने उनले नौलो नौलो शब्द प्रयोग गर्दछन् जो सर्हानीय छ । तर यो कविता “आहा! धरतीका हरेक कुनामा यी जखमले घामहरू पुर्याउँन पाए त!” लामो शिर्षकको एउटा उदाहरण पनि हो यो शिर्षक । अनी अशोकले घामलाई जुन बिशेषण दिएका छन् “जखमले” शब्द मेरो बिचारमा घामलाई अलिक सुहाएन कि जस्तो लाग्यो । “जखमले”को अर्थ ज्यादै ठुलो, घ्वाँक, जक्खु भन्ने बुझिन्छ । जस्तै मैले ब्यवहारिक रूपमा नै पनि गाउँ, घरमा गोरु, खसीहरूलाई “जखमले”को बिशेषण दिएको सुन्ने गर्दथें त्यसैले यो शब्दको बिशेषण घामलाई उचित देखियो जस्तो मलाई लागेन हुन त यो शब्द “प्रतिविम्व”मा नौलो देखिएको छ । घामलाई त प्रज्ज्वलित, उज्यालो, चम्किलो, प्रचण्ड वा न्यानो बिशेषण पो सुहाउँथे कि ?
हुनत अशोकको यो प्रथम प्रयास हो त्यसैले पहिलो प्रयासमा सबैले नै अन्जानमा धेरै कमीकमजोरीहरू निम्त्याएका हुन्छन् । मेरै कुरा मात्र सदर छ भनेर म ठोकुवा गर्दिन । बस् आफूलाई लागेको कुरा मात्र मैले पोखेकी हुँ एउटा सत्य पाठक भएर । मलाई यस्तो लाग्छ । प्रशंसाको झुटो धापभन्दा सही सत्य गाली नै चोखो र सत्य प्रतिकृया हुन्छ जसले सर्जकलाई आउँने दिनमा सहि बाटोमा हिँड्न सक्षम बनाउँछ ।
दुरदेशबाट कवि अशोकले मलाई उपहार स्वरूप “प्रतिविम्व” पठाएकोमा म अनुग्रिहित छु । युनिकोडको प्रयोगले मैले पनि यहाँ नचाहेर पनि कैयौं गल्ती गरेकी छु, जुन आफूले चाहेर पनि सुधार्न सकिन, लाई आत्मसात गरिदिनु हुने नै छ । अन्त्यमा “प्रतिविम्व” एक पटक सबैले पढ्ने प्रयास गरिदिएमा अशोकको अर्को खुड्किलो फेरि यस्तै शृजनामा टेक्न सामर्थ्यवान बन्ने छ भन्ने मैले विश्वास लिएकी छु ।

सम्बिन्धित रचना:
‘फ्युजन प्रतिविम्व’ छिचोलेपछि उत्रिएको प्रतिविम्व – दीप्स शाह
