म ‘सम्राट’ नभएर ‘विद्यार्थी’ हुँ

  • by


वि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस ‘मधुपर्क’ मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका ‘खण्डहर नयाँनयाँ’ (२०४८) र ‘जिन्दगी छैन अचेल जिन्दगीजस्तो’ (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :

तपाईं गजल लेखनमा किन आकषिर्त हुनुभयो ?

३० का दशकमा आफ्ना समकालीन कवि मित्रहरूको रचनामा देखिएको ‘स्ट्रङ इमोसन’ गजलमा पनि प्रयोग गर्ने दृष्टिले लागेको थिएँ । परिणाम उत्साहजनक रह्यो । गजलले त अभियानकै रूप लिएछ ।

गजल नलेख्नु भन्ने साहित्यकारलाई के भन्नुहुन्छ ? किन यसरी गजलको विरोध भइरहेको होला ?

खै के भन्ने ! साहित्यकारको काम अन्य विधाकालाई खेदो गर्ने त होइन तर गरिरहेछन् । साहित्यमा रुचि राख्ने सबैको मन जितेर, पाठकले मनमा ठाउँ बनाएर पो आफ्नो सिर्जनशीलता प्रमाणित गर्नुपर्थ्यो, होइन र

अहिले नेपालमा सबभन्दा बढी गजल लेखिन्छ भनिन्छ तर अन्य विधाकालाई धेरैलाई यो कुरो किन नपचेको होला ?

आफ्नो गजलमा ‘रसबोध’ गराउनसक्ने समर्थ र गम्भीर गजलकार हामीसित धेरै नभएकै कारण गजलको विरोध भएको हुनसक्छ । अर्थपूर्ण र गुणस्तरीय गजल लेख्नेको सङ्ख्या बढ्दैछ । विरोध पनि थामिएला विस्तारै ।

उर्दूमा गजल केन्द्रीय विधा हो । नेपालीमा नि कुनै दिन यो केन्द्रीय विधा हुनसक्तैन ?

यसका लागि गजलले अझै लामो यात्रा तय गर्न बाँकी छ । किनभने हाम्रोमा गजलले लोकप्रियता त प्राप्त गर्यो तर उच्चस्तरको गजल लेख्नेहरूको सङ्ख्या भने अपेक्षित सङ्ख्यामा छैन ।

गजलको परिभाषा कसरी गर्नुहुन्छ ?

कविता कविको मनको पखेटा हो । मेरो विचारमा गजलका बारे पनि यो परिभाषा सटिक होला । कारण, गजल कविताकै कोखबाट जन्मेको एउटा स्वतन्त्र स्वरूप हो । सुनबाट गहना या चामलबाट पुलाउ या खीर बनेझैँ ।

एकथरि गजल छन्दमा लेखिनुहुन्न भन्छन्, तपाईं शास्त्रीय छन्दमा लेख्न हुन्न भन्नुहुन्छ, छन्दबारे धारणा स्पष्ट गर्नुहुन्छ कि ?

म छन्दको विरोधी रहिनँ । छन्दको नियन्त्रित स्वच्छन्दताको मात्र कुरा गर्ने गर्या हुँ । जति भन्नुपर्ने हो त्यतिभन्दा बढी नभन्ने आत्म सजगताले नै कवि, गजलकारलाई सफल बनाउने हो ।

तपाईंलाई ‘गजल सम्राट’ पनि भनिन्छ । अरूको यस भनाइप्रति तपाईं किन आपत्ति जनाउनुहुन्छ ?

म त साहित्यको विद्यार्थी हुँ । त्यसैले त अध्ययन पनि गरिरहन्छु । अरूभन्दा ‘ठूलो’ हुने दौड अहङ्कारको दौड हो । मलाई त साहित्यको विद्यार्थी हुनुमै तृप्ति छ ।

या त ३०को दशकमा राम्रा गजल लेखिए या त ५० को दशकपछि भन्ने तपाईंको कथनलाई प्रष्ट पार्नुस् न ?

गद्य कविता र छन्द कविता दुवैको ‘रसायनशाला’ बाट खारिँदै आएकोले र कविताजस्तै अर्थपूर्ण र गहन पनि हुँदै आएकोले गजल अचेल धेरैलाई रुच्दैछन् ।

गजल गायन चाहिँ नेपालीमा किन पछि परिरहेको छ ? यसको विकासका लागि के गर्नुपर्ला ?

विस्तारै विस्तारै अब अघि बढिरहेछ नेपाली गजल गायन पनि । तर अपेक्षित विकासका लागि अर्थपूर्ण र गम्भीरखालको गजल लेखेर गायक सङ्गीतकारलाई पनि त्यसको महत्त्व बुझाउनसक्नु पर्यो ।

सुरु सुरुमा तपाईंका गजललाई होच्याइन्थ्यो रे ! कसरी होच्याइन्थे ?

होच्याउन त पद्य कविहरूले पनि गद्य कविहरूलाई खुब होच्याउँथे रे ! के फरक पर्यो गद्य कविहरूलाई ? मुख्य कुरो लेख्न र साधनाको निरन्तरता छाड्न नहुने रै’छ । विरोधी आफैँ चुप लाग्छन् ।

मधुपर्क २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *