भदौ १ गते । सुदूरपश्चिमेलीहरू यस दिनलाई ‘ओल्के’ पर्वका रूपमा मनाउँछन् । भदौरे झरीमा रुझ्दै खुबै पिङ खेल्छन् । पिँडालुको साँप्रा र गाभाको तरकारी खुबै रुचाइन्छ सुदूरपश्चिममा यस दिन । धेरै वर्षदेखि यो दिन खासै स्मरणयोग्य हुन सकेको छैन । संयोगले वि.सं. २०६८ को भदौ १ गतेको ‘ओल्के’ भने स्मरणीय भयो । भदौरे झरीमा रुझ्दै साहित्यिक पत्रकारितामा समर्पित स्रष्टासँग भलाकुसारी गर्न पाउँदा ओल्केको तिर्सना मेटिएको अनुभव भयो ।
गुह्यश्वरी मन्दिरको डिलैपारि घर छ भन्नुभएको थियो । अलि फरक परेछ । फोन गरेँ । उहाँले तीन तले रातो घर भनेपछि ठम्याउन गाह्रो भएन । घरको आँगनमा पुग्दा उहाँ कौसीमा बसेर सायद तातोपानी पिइरहनुभएको थियो । कसैलाई खोजिरहेका आँखालाई उहाँले ठम्याउनु भयो । मलाई पनि ‘अभिव्यक्ति’का सम्पादक नगेन्द्रराज शर्मा उहाँ नै हो भन्ने ठम्याउन गाह्रो परेन ।
औधी भुक्ने कुकुरलाई छलेर तीन तला उक्लिएँ । ढोकामै लिन आइपुग्नुभएका साहित्यकार शर्माका बारेमा जति सुने-पढेको थिएँ, त्यति नै सरल र सहज लाग्यो । सोफामा बस्न पाउँदा-नपाउँदै उहाँले ‘सोध्नुस्, म भन्छु’ भनेपछि भने उहाँ कुरामा भन्दा काममा बढी विश्वास गर्नुहुन्छ भन्नेमा शङ्का रहेन । त्यसैले होला विक्रम संवत् २०२७ सालदेखि उहाँद्वारा प्रकाशित/सम्पादित ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका अनवरत प्रकाशन भैरहेको छ । पत्रकारिताको जगसमेत राम्ररी नबसिसकेका बेला साहित्यिक क्षेत्रलाई समेटेर निकालिएको अभिव्यक्तिको निरन्तरता ‘फलामको चिउरा चपाउनु’ जत्तिकै थियो ।
हरेक कुरालाई सहजतापूर्वक लिने बानीले होला साहित्यकार तथा प्राज्ञ शर्मा ३३ वर्षको कलकलाउँदो उमेरमा थालेको अभिव्यक्ति प्रकाशनको यात्रा ७४ वर्षको भैसक्दा पनि उत्तिकै जुझारु र सिर्जनात्मक रहेको उहाँ नै स्वीकार्नु हुन्छ । राणाहरूको निरङ्कुश शासनकाल भएका बेला वि.सं. १९९४ मा जन्मिएर पनि यो लेखन, प्रकाशनको जोस कहाँबाट आयो भन्ने जिज्ञासाको जवाफ उहाँले सहजै दिनुभयो- ख्यालख्यालमै सुरू भयो । काका हृदयराज शर्मा, भरतराज मन्थलीहरू लेख्नुहुन्थ्यो । उहाँहरूका दुईचार पुस्तक निस्किसकेका थिए । पछि शर्माको थातथलो रामेछापको मन्थलीबाट काठमाडौँको मैतीदेवीमा सर्यो । संयोगले उहाँको घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर छेउमै परेछ । ‘कवि काकाहरूसँग बसउठ गर्न महाकविको आउजाउ भैरन्थ्यो, त्यही मौकामा साहित्यका गफगाफ मीठा लाग्न थाले, यसरी नै लेख्न थालेँछु’ साहित्यकार शर्माले सरल शैलीमै प्रस्ट्याउनुभयो । त्यसो त कहिले काहीँ गाउँ जाँदा पनि आमाबाबुले भानुभक्तीय रामायण, श्रीस्वस्थानी ब्रतकथा पढ्न भन्नुहुन्थ्यो रे । यस्तैयस्तै पढ्दापढ्दै उहाँ साहित्यप्रेमी पो बन्नु भएछ ।
बाबुबाजे जिम्मावाल भएकाले गाउँको बसाई राम्रै थियो । छ वर्षमै ब्रतबन्ध गरेका शर्मा त्यसपछि काठमाडाँैं आउनुभएको थियो । कखरा गाउँको पाठशालामा सिक्नुभएका शर्माले पद्मोदय हाइस्कुलबाट प्रवेशिका पास गर्नुभयो । उच्च शिक्षाका लागि भने उहाँ दाजु पढ्दै गरेको भारतको बनारस पुग्नुभयो । त्यहीबाट आई.ए. पास गर्नुभयो । बी.ए.का लागि इलाहाबाद बोर्डमा भर्ना भए पनि उहाँले छोडेर नेपाल फर्कनुभएछ । शर्माले भन्नुभयो- ‘नेपालमा आएँ, सानो जागिर पाएँ । २४ वर्षको भैसकेको थिएँ, बिहावारी भयो । घर, जागिरमै रमाइयो ।’ बनारसको बसाईले भने उहाँभित्र रहेको साहित्यिक व्यक्तित्वलाई उजागर गर्ने काम गर्यो । उदय साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठसँग प्राज्ञ शर्माको भेट भएपछि उहाँले शर्माको लेखाईको प्रशंसा गर्नुभएछ । पिता काँसीबहादुर श्रेष्ठले निकालेको उदय र बनारस छात्र संघले निकालेको छात्रवाणी दुर्गाप्रसादले नै निकाल्दारहेछन्, त्यसैमा उहाँको हिमचिम बढ्यो । त्यहाँ आयोजना हुने वाषिर्क कवि गोष्ठीमा कविता सुनाउँदा उहाँ पुरस्कृत हुनुभयो । पहिलो रचना त्यहीँ प्रकाशित भयो । वि.सं.२०२७ सालमा ‘दसँै’ नामक कथा वासु शशीको ‘संचय’ भन्ने पत्रिकामा प्रकाशित भएछ । शर्माले भन्नुभयो- ‘रूपरेखा’, ‘मधुपर्क’ आएपछि त कति रचना छापिए ? लेखा नै राखिनँ ।’ यसैक्रममा उहाँले लेखेर तयार पारेका उपन्यासका पाण्डुलिपि पनि तयार भैसकेका रहेछन् । उहाँको ‘महापुरुष’ उपन्यास रत्नपुस्तक भण्डारका रत्नप्रसाद श्रेष्ठले पहिलो कृतिका रूपमा छापिदिनुभएछ । पञ्चायती व्यवस्थालाई अलिअलि व्यङ्ग्य गर्नेखालको भएकाले रत्नपुस्तक भण्डारका जाँचकीले थोरै सच्याएर त्यो छापेछन्, २०२८ सालमा । त्यसपछि २०२९ मा ‘दिवास्वप्न’ अर्को उपन्यास पनि निस्कियो ।
२०२७ देखि नै नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारका रूपमा उदाइसक्नुभएको थियो ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका लिएर । त्यसपछि पनि उहाँले २०३९ सालमा पीपलको बोटमुनि कथासङ्ग्रह र ०५५ मा ‘एकान्तका आफन्तहरू’ अर्को कथासङ्ग्रह प्रकाशन गर्नुभयो । ‘अभिव्यक्ति’को यात्राले उहाँको सिर्जनात्मक यात्रालाई अलि अप्ठ्यारो पारेको शर्माले महसुस गर्नुभएको छ । यसलाई प्रष्ट्याउँदै भन्नुभयो, ‘पछि साहित्यकार कम साहित्यिक पत्रकार बढी भएँ ।’
‘अभिव्यक्ति’ प्रकाशनारम्भको यात्रा रोचक छ । २०२७ सालतिर रोचक घिमिरे, भैरव अर्याल र आफ्नै भाइ जगदीश घिमिरे साथीजस्तै थिए शर्माका । राजाले सारा पत्रपत्रिका बन्द गरिदिएका थिए । रूपरेखा र रचना कहिले कहीँ निस्कन्थे । साथीहरूले एउटा पत्रिका दर्ता गर्ने सल्लाह दिएछन् । सरदार विष्णुमणि आचार्यका छोरा धनमणि आचार्य शर्माका साथी रहेछन् । उनैले बुबासँग भेटाइदिभए छन् र सजिलै ‘अभिव्यक्ति’ को यात्रा सुरू भएछ । यो अहिले पनि निरन्तर छ । अभिव्यक्तिको बजारीकरण गर्न उहाँले के मात्रै गर्नु भएन ? नयाँ सडकदेखि मेचीकालीसम्म शर्मा झोलामा ‘अभिव्यक्ति’ बोकेर हिँड्नु भयो । अब भने नचिन्नेले ‘नचिनुन्’ भन्नुहुन्छ, उहाँ । अभिव्यक्तिले गर्दा उहाँको लेखक व्यक्तित्वभन्दा सम्पादक व्यक्तित्व बढी परिचित भएको ठान्नुहुन्छ शर्मा ।
यो यात्रामा दुई छोरा, श्रीमती, बुहारी र नातिनातिनीसमेत स्वेच्छाले सहभागी छन् । ”कसैलाई करकाप छैन, उनीहरूले चाहे सहयोग गर्छन्, कहिले काहीँ ईमेल आदि झिकिमाग्छु” प्राज्ञ शर्माले स्पस्ट पार्नुभयो । उहाँद्वारा सम्पादित अभिव्यक्तिले प्रसिद्धि पाउनुमा केदारमान व्यथितको योगदान पनि रहेको छ । उहाँको साहित्यिक संस्थाले झापामा गरेको सेमिनारमा सहभागी हुन बोलाएछन् । त्यहीँ शर्माले एक भारी अभिव्यक्ति बाँड्नु भएछ । अनि त के थियो ! देशभरिका साहित्यकर्मीको प्रिय पत्रिका बन्यो ‘अभिव्यक्ति’ ।
त्रिभुवन विश्वविद्यालयको सेडा नामक संस्थामा सानो जागिर, सानो घर र सानो पत्रिका भए पनि जीवन चलाउन कहिल्यै उहाँलाई असहज महसुस भएन । उहाँले २०२७ देखि २०४८ सम्म यी तीन वटै पाटोलाई तीन खुट्टे ओदानको रूपमा टेक्नुभयो । उहाँको अनुभवमा, ‘आफ्नो स्वेच्छाले गरेको कामले दुःख हुँदैन, रोचक हुन्छ ।’ यही निरन्तरको परिणामले हालसम्म शर्माले भवानी साहित्य पत्रकारिता पुरस्कार, मैनाली कथा पुरस्कार ०५५, सुप्रवल गोरखा दक्षिणवाहु ०५५, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार ०५७, वीरेन्द्र-ऐश्वर्य सेवा पदक ०५८, गद्दी आरोहण रजत महोत्सव पदक ०५३, लगायत दर्जनौँ पुरस्कार र सम्मान हात पारिसक्नुभएको छ ।
यतिविधि व्यस्त र जिम्मेवारी सँगालेर पनि परिवारमा कहिल्यै, कसैको, कसैप्रति गुनासो र दुःखमनाउ भने भएन, उहाँको परिवारमा । उहाँले जीवनमा यात्राका दुई चरण बनाउनुभएको छ । हरेक वर्ष यो दोहोरिन्छ रे । एक पटक साहित्यिक, बौद्धिक साथीसँग उहाँ भारतका विभिन्न ठाउँ घुम्नुहुन्छ भने अर्को पटक जीवनसङ्गीलाई लिएर घुम्नु हुँदोरहेछ तर उहाँ मन्दिरको दर्शनमा भने निस्कनु हुँदैन अरे । उहाँले भन्नुभयो-‘श्रीमतीले मन्दिर जान इच्छा गरे म बाहिर जुत्ताचप्पल रुँगेर बस्छु । मान्छेले बनाएका मूर्तिमा भगवान् हुन्छन् भन्ने मलाई विश्वास लाग्दैन ।’
स्रष्टा शर्माको आनीबानी पनि गजबकै रहेछ । कुनै कुरामा आशक्ति नभएका स्रष्टा शर्मा त्यस्तै परे दालभात नै छोडिदिनु हुँदोरहेछ । उहाँ छोरा, भाइ, भतिजासँग बसेर पनि सोमरसको चुस्की लिनुहुन्छ तर कहिलेकाहीँ मात्र । एक पटक उहाँको तौल धेरै बढेछ । ‘ल जा त भनेर एक वर्ष भात छोडिदिएँ, दाल र तरकारी मात्रै खाएँ तर एक किलो पनि घटेन’ शर्मा वेस्सरि हाँस्नुभयो ।
स्रष्टा नगेन्द्रराज शर्मालाई नजिकबाट नियाल्ने भनेका उहाँका परिवारकै सदस्य मात्र हुनसक्छन् । उहाँको आनीबानी, रहनसहन, विचार, शैलीका बारेमा उहाँका परिवारका सदस्य के भन्छन् त ? मधुपर्कले द्रष्टाका रूपमा उहाँहरूलाई भेटेर विचार समेटेको छ ः
साथीजस्तै व्यवहार ः छोरा, प्रणयराज शर्मा ः
होस सम्हालेदेखि बुबालाई बुबाको रूपमा भन्दा साथीको रूपमा पाएँ । अभावको महसुस कहिल्यै भएन । बुबाले कहिल्यै हामीलाई आफ्नो कामका लागि दुःख दिनु भएन । त्यो समय साइकलको युग थियो । हामीलाई साइकल चलाउन खुबै रहर हुन्थ्यो । साइकल चलाउनका लागि पनि म बुबाको पत्रिकाका लागि विज्ञापन लिन दौडन्थेँ । घर चाबहिलमा, प्रेस टेकुमा । खुबै दौडिनुपर्थ्यो । खानलाउन र बुबाको स्नेहको कमी भने कहिल्यै भएन म र भाइ ओपललाई । मोटरसाइकल किनिदिएपछि त झन् रहरै बढ्न थाल्यो । तै पनि बुबा आफँै दौड्नुहुन्थ्यो । हामी त रहरलाग्दा मात्रै दौडन्थ्याँैं । बुबाको बाहिर खानासमेत नखाने र खानै परे भनेरै मात्रै खाने बानी मलाई मनपर्छ । अभिव्यक्ति पत्रिकाले दुःख र झञ्झटभन्दा सम्मान मिलेको अनुभव हुन्छ ।
आफूसँगै बसालेर बुबाले खानपिन गराउने गरेकाले पनि बुबा साथीजस्तै लाग्छ । ‘रुच्ने र पच्ने, खानु बदमासी नगर्नु’ भन्ने बुबाको आदर्शवाणी खुबै मनपर्छ ।
भान्सामा सघाउने ससुरा ः अञ्जु घिमिरे, बुहारी ः
बुबा (ससुरा)ले कहिल्यै मलाई बुहारीको आँखाले हेर्नु भएन । छोरीकै सम्बन्ध पाएँ, असाध्यै सरल स्वभाव छ । बुहारीले भान्साको काम गर्नुपर्छ भन्ने मान्यता कहिल्यै राख्नुभएन । आफूले भात पकाइराख्दा बुबाले आएर तरकारी चलाइदिने गर्नुहुन्छ । म मासु खाँदिन, मासु ल्याएको दिन बुबा आफँै, आमा वा देवरलाई पकाउन भन्नुहुन्छ । यो बानी मलाई रमाइलो लाग्छ । सासूबुहारी विहान उठेर पूजापाठमा लाग्छौँ । विहानै उठेर कम्युटरमा बस्ने उहाँको नित्यकर्मजस्तै छ । घरमा सबैलाई सबैखाले स्वतन्त्रता छ । बुबाले सँगालेको कर्मलाई सघाउन पाउँदा औधि मन रमाउँछ । ससुराका मन नपर्ने बानी खोज्दा तास चाहिँ नखेलिदिए हुन्थ्यो भन्ने लाग्छ । परिवारसँग बसेर बुबाले गरेको सामूहिक खानपिनको शैली भने मनपर्छ ।
हजुरबुबालाई कम्प्युटर सिकाउँदा रमाइलो लाग्छ ः नातिनातिनी प्राञ्जल र निहारिका ः
हजुरबुबा जहाँ जाँदा पनि भनेरै जानुहुन्छ । हामी बुबाआमासँग केही गुनासो गर्दैनौँ । जे गुनासो पनि हजुरबुबासँग गर्न पाउँदा खुसी लाग्छ । भनेको पुर्याइदिने बानी औधि मनपर्छ । भनेको कुरा हजुरबुबाले एक सिन्को पनि नबिर्सेर ल्याइदिनुहुन्छ ।
हजुरबुबालाई कम्प्युटर सिकाउँदा हामीलाई रमाइलो लाग्छ । हजुरबुबा कम्प्युटर सिक्न रमाउनुहुन्छ तर सिकाएको कुरा चाँडै बिर्सनुहुन्छ । हाम्रो कुरामा कत्ति झर्को मान्नुहुन्न । बरु बोलाएर सँगै बस्ने, गफ गर्ने गर्नुहुन्छ । हजुरबुबाले सिकाएको कुरा बिर्सिएर ‘कसो अरे’ भन्दा रमाइलो लाग्छ । हजुरबुबा बेस्सरी रिसाउँदा पनि हाँस्नुहुन्छ ।
मधुपर्क २०६८ असोज
