Skip to content

कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन

  • by
NandaLalAcharya-09

साहित्यिक सर्जक राममणि पोखरेलको उमेरगत, अनुभवगत र सरसंगतको दाँजोमा म एकदमै मामुली मान्छे हुँ । उहाँको छोरानाति कहलिने काँचो माटो नै हुँ । यत्तिखेरसम्ममा म कसैका साहित्यिक कृतिको भूमिका लेख्ने हैसियतमा पनि पुगेको छैन ।

वास्तवमा लेख्नकै लागि सिद्धान्त पढेर भूमिका लेख्न बसेको पनि हैन । लेख्न त धेरै थरीका सर्जकका कृतिको पाठकीय दृष्टिकोणहरू लेखिए होलान् । प्रौढपुस्ताका उदयपुरे सर्जक तेजनारायण शेर्पा र लेखबहादुर कार्कीका कृतिहरूमा लेखी टोपलेको थिएँ । उसो त उदयपुरे जनकवि गम्भीरबहादुर थापाका बारेमा पनि नलेखेको भने होइन । युवापुस्ताका अग्रज स्रष्टा पुण्य कार्कीका छ कथाकृतिका बारेमा मैले लेखेको ‘पुण्य कार्कीको कथाकारिता’ नामक विज्ञसमीक्षित समालोचना कृति २०७७ को अन्ततिर नै प्रकाशन भइसकेको छ ।

यसपटक राममणि पोखरेलको सद्य कथाकृति ‘नेरम्पा काका’का बारेमा मैले अक्षरमा बोल्नुपर्ने बेला आयो । म यहाँ ‘नेरम्पा काका’ को बारेमा मात्र अक्षर कुँदाउनेवाला छैन, समग्ररूपमा ‘उदयपुरको सन्दर्भमा राममणि पोखरेलको कथाकारिता’ बारे बोल्ने छु ।

म उहाँको बारेमा साङ्गोपाङ्गो बोल्ने मात्र छैन । यत्तिखेर म कस्तो दैनन्दिनका साथ बाँचेको छु, त्यसको केस्राकेस्रा छोडिने गरी आफ्नै बारेमा पनि एकाध कुरा अघि सार्नेवाला छु । मात्र त्यत्ति नभई झल्याकझुलुक रूपमै सही ‘साहित्यमा उदयपुरको ऐना’ देखाउने छु । र, ‘मार्क्सवादी साहित्यिक कोणबाट राममणि पोखरेलका कथाको मूल्याङ्कन’ गर्ने छु ।


तसर्थ कतै औपचारिक त कतै अनौपचारिक महागन्थन र महामन्थन प्रस्तुत गर्दै छु । किनभने मेरा साना आँखा र मस्तिष्कले उदयपुरे भूगोलको विशाल साहित्य कल्पवृक्षका रूपमा राममणि पोखरेलको कथाकर्मलाई ठम्याइरहेछ । कृपया पढिरहँदा कसैले पनि झिँजो नमान्नुहोला ।

+++

हाम्रै वरपर पनि साहित्य लेख्ने धेरै छन् । कोही सैद्धान्तिक पक्ष जानेर लेख्छन्, कोही केही पनि जान्दैनन् र पनि लेख्न खोज्छन् । सिद्धान्त जानेर लेख्ने कतिपयको लेखनमा कृतिमताको गन्ध आउँछ । सिद्धान्तको व्याकरण नबुझीकन पनि कतिपयले रचेको साहित्यले भिन्नै शैली र स्वादको मीठो सुगन्ध दिन्छ । र, दिइरहेको पनि छ । यस्ता भिन्नै स्वाद र सुगन्ध दिने कथाहरूका रूपमा मैले राममणि पोखरेलका कथाहरूलाई भेटेको छु ।

आजका पाठकले कृतिमताभन्दा स्वभाविक प्राकृतिकता मन पराउँछन् । व्याकरण पढेर र बुझेर कोही पनि साहित्यमा हेलिन आउँदैन । सर्वप्रथम दृढ इच्छा शक्तिले लेखनको वरपर डिलमा भौतारिन रहर गर्छन् । कतै कसैले कुनै पत्रिका वा सञ्चार माध्यममा स्थान दिइहाले त्यस्तो लेखकले मनमनै आफूलाई सगरमाथा विजेता घोषणा गर्दछन् । र, निरन्तर साहित्यको सानै दहमा भए पनि हेलिन सिक्छन् । यस किसिमको प्रवृत्ति र प्रकृतिहरू राममणि पोखरेलका कथाहरूमा समेत भेटिन्छन् ।

आफ्नो कलमीकर्मबाट समाजलाई उभ्याउने लालच रहेका सर्जकलाई कसैले प्रोत्साहन दिँदै गए पछि पोखरी, ताल हुँदै साहित्यको समुद्रमा पौडिन सक्षम हुन्छन् । पहिले साहित्यिक छहारी दिने छाताहरू कमै थिए । लेख्नेहरू समेत कमै थिए । अहिले साहित्यका छाताहरू धेरै भए । लेख्ने कलमहरू पनि दिनानुदिन बढ्दा भए । यद्यपि अँझै पनि धेरै ठाउँमा प्रतिभाले हैन, पावरले शब्दहरू बिक्छन् । नपत्याए सङ्घीय राजधानीका केही पत्रिका वा सञ्चार माध्यमलाई हेर्नुस्, चित्त बुझिहाल्छ ।

यसै सन्दर्भमा म आफ्नै लोकमा विचरण गर्न चाहन्छु । मेरो शब्दयात्रा प्रतिभाले हैन रहरले सुरुआत भएको हो । लेखनको प्रारम्भमा मैले राजधानीका पत्रिकाहरूमा आउन हजार प्रयत्न गरेँ । हवाई साहित्य बजारमा छाउन सफल भए पनि ठुलाठालु पत्रिकामा मेरा शब्दहरू बिकेनन् । म पनि ज्याद्रो भएर लागि परेँ । साहित्यिक साथीसंगी जोड्दै गएँ । उनीहरूसँग निरन्तर भलाकुसारी गर्दै रहेँ । फलत: कछुवा चाल र तालमा म साहित्यको खुट्किलो उक्लिरहेको छु । मेरो बुझाइमा कथाकार पोखरेलको अनुभूति पनि यस्तै, यस्तै होला र हुनुपर्ला ।

उत्तिखेर मसँग कम्प्युटरको ज्ञान थिएन । लेखाइमा निखारता छँदै थिएन । आफ्नो लेखन क्षमता कलिलो र कफलो अनुभूत हुन्थ्यो । लेख्थेँ, च्यात्थेँ, थोरै भए पनि पढ्नलायक ठम्याउँदा भने तुरुन्तै पत्रिकाको ठेगानामा पठाइहाल्थेँ । छापिन्थ्यो वा छापिन्नथ्यो, मेरो बसाइस्थल राजविराजमा पत्रिका आउन्नथ्यो, थाहा पाउन्नथेँ ।

कतिपय मित्रबाट सुन्थेँ– कम्प्युटरको जमाना आयो रे । कम्पोज भएका रचना छापिन सक्छन् रे । कागजमा लेखिएका नवप्रतिभाका रचनाले डष्टविन मात्र भर्छन् रे । त्यसैले रचना कम्पोज गरेर इमेलबाटै पठाउनुपर्छ रे ।

म बबुरो कम्प्युटरमा निरक्षर थिएँ । कम्प्युटरको पहुँच बाहिर थिएँ । बजारतिर कम्पोज गराएर पठाउन ठूलै मूल्य चुकाउन वाध्य थिएँ । मेरो लागि स्थान नपाउने साहित्यमा लगानी गर्ने सामर्थ्य थिएन । यद्यपि कागजमा लेखेरै रचना पठाउँदै गएँ । कतिपयले स्थान पाएको खबर साहित्यिक मित्रहरूबाट पाउँदै गएँ ।

यसरी म साहित्यानुरागी भएको हैसियतले कलमजीवी राममणि पोखरेललाई उदयपुरको एक व्यक्तिको नजरले मात्र हेर्दिनँ । उहाँमा भएको वैयक्तिक गुण, अवगुण वारे पर्गेल्ने सामर्थ्य मसँग विल्कुलै छैन । म त्यत्रो विशाल साहित्यिक लगाव राख्ने व्यक्तिकर्मको विश्लेषण गर्ने क्षमता राख्तिनँ । किनभने म साहित्य जगत्को एउटा स्यानो भुसुनो मात्रै हुँ । उहाँका सबै जसो कृतिको पाठक भएको छु । उहाँको विचारको स्रोता समेत हुन पाएको छु ।

खासमा उहाँ मौलिक साहित्य मन पराउनु हुँदोरहेछ । मोफसलको पीडा बुझेर नव सर्जकहरूलाई अघोरै स्नेह दिनुहुँदो रहेछ । किनभने उहाँ ‘लोकमञ्जरी’ नामक त्रैमासिक साहित्यिक पत्रिका समेत सम्पादन/प्रकाशन गर्नु/गराउनुहुँदो रहेछ । काँचो, कलिलो सिर्जनकर्मीलाई समेत घिसिँ्रदै सिर्जनामा लागिरहन प्रेरित गर्नुहुँदो रहेछ । वास्तबमा हामीले उहाँलाई प्रोत्साहन र प्रेरणाका प्रतिमूर्तिका रूपमा नजिकैबाट चिन्नुपर्ने रहेछ ।
अब म उहाँबाट मैले प्रत्येक्ष–परोक्ष सिकेको कुरा लेख्तै छु–

१. आजका कलम पारखीहरूले अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउन जरुरी छ । सर्वस्व देशप्रेमलाई ठान्दै देशभक्तिको गीत गाउन अग्रसर हुनु आवश्यक छ । प्रेम–प्रणयका सम्बन्धमा कलम चलाउनेहरूले यसैको माध्यमबाट जीवनको रहस्य खोतल्न सक्नुपर्छ । भोकले दाबिएको पेट देख्दा र नाङ्गो आङ भेट्दा असमानताको झाँको नझारी हुँदै हुन्न ।

२. आजकल यता पीडा, उता अभाव र सर्वत्र भताभुङ्ग छ । यो अवस्थामा जीवनको सार पहिल्याउन सर्जकले कुनै कसर बाँकी राख्नुहुन्न । प्राकृतिक रमणियताको श्रेष्ठ मुलुकका बासिन्दा भएका नाताले पनि प्रकृतिले मोहित पार्दा त्यसैको भजन गाउनै पर्छ । जहाँजहाँ अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेटिन्छ त्यहाँ त्यहाँ खबरदारी गर्न विद्रोहको स्वर सुसेल्नै पर्छ ।

३. काम गरिखानेका हातगोडा जंजिरले बाँधेर दासत्वको पाठ पढाइएको बखतमा भने स्वतन्त्रता र स्वअस्तित्वको गाथा रच्नु आवश्यक हुन्छ । नेपाल गाउँ नै गाउँको देश, अल्प शिक्षित र अधिकांश अशिक्षित नागरिक बसेको देश भएकाले रचना वा कृतिमा सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मिठास पैदा गर्नुपर्छ ।

४. जीवन र जगत्का बहुल यथार्थका पाटाहरूलाई जीवन्त रूपमा उतार्न सक्ने विषय, विम्ब र प्रतीकहरूको छनौट गर्नुपर्छ । भरसक सर्जकहरूले लयात्मक, गेयात्मक र माझिएको भाषाशैलीको प्रयोगबाट साहित्यिक भाव व्यक्त गर्नु जरुरी छ । सरल, सम्प्रेष्य, ग्राह्य एवं प्राञ्जल भाषाशैलीमा भाव सम्प्रेषण गर्ने गरेमा मात्र त्यो स्रष्टा पाठकको मनमन्दिरमा एक कुशल सर्जकको रूपमा वास गर्नसक्छ ।

५. हामी कलमकर्मीहरू उज्यालोका भोका छौँ । त्यसैले त अँध्यारो रातलाई घृणा गर्छौँ । हर्दम नव उषाको आगमनको स्वागत गर्न लालायित रहन्छौँ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र प्रभातकालीन समयको सुभाष पाउने रहर पूरा हुन्छ । समाजमा आफ्नो स्वार्थको घैला मात्र टन्न भर्ने र आफू मात्रै गलगिद्ध खान खोज्नेहरूको कमी छँदै छैन । तिनीहरूबाट बेलैमा सचेत र सतर्क रहनुपर्छ ।

६. यी सबै प्रवृत्तिहरूलाई बेलैमा चिनेर अनुभव गरेका कुराहरू लेख्न नसक्नेहरू साहित्यकार हुँदै हुँदैनन् । सर्जकले आफूले लेखेको कुरा स्रोता वा पाठकको मनमस्तिष्कमा प्रवेश गराउनुपर्छ । सर्जकले लेखन कर्मबाट आफ्नो हृदय र मस्तिष्क देखाउनुपर्छ । लेखनले स्रोता वा पाठकको मनलाई आल्लादित पार्नुपर्छ । पीडाको पहाड बोक्नेहरूलाई समेत साहित्यले आनन्दको सागरमा हेलाउनुपर्छ । त्यस्तो साहित्य सिर्जनकर्ममा लाग्न उहाँले परोक्ष प्रेरित गरिरहनुभएको छ ।

७. अरूहरूबाट पाठ पढ्नेहरू र नव सिर्जनामा विचरण गर्न लालायितहरू मात्र असली सर्जक बन्दछन् । स्रोता वा पाठकले नै सर्जकलाई लेखक बनाउँछन् । उनीहरू नै सर्जकका भविष्य हुन् । सर्जकले आफ्नै तरिकाबाट स्रोता वा पाठकलाई समयानुकूल परिवर्तन, समस्याबाट मुक्ति र उज्ज्वल भविष्य दिनैपर्छ नत्र त्यो साहित्य कहलिन सक्तैन । कालजयी साहित्य जन्माउन जनताको घरदैलो ढक्ढक्याउनुपर्छ । उहाँका हरेक कथाले हामीलाई यही र यस्तै दिशानिर्देश गर्दछन् ।

८. सर्जकको पौरखबाट एक पल्ट साहित्य जन्मेर स्रोता वा पाठकको मन मस्तिष्कमा पुग्यो भने त्यस साहित्यका लागि त्यो सर्जक मर्छ । सर्जकले फेरि अर्कै साहित्यमा जन्म लिन सक्छ तर पहिलेको साहित्यको मालिक बन्न सक्तैन किनभने मालिक त अघि नै स्रोता वा पाठक बनिसकेका हुन्छन् । तसर्थ प्रकाशन वा प्रसारण गर्न दिनु अघि सर्जकले आफ्नो सिर्जना पटक पटक परिष्कार गर्न भुल्नुहुन्न । यस खाले ठोस ज्ञान राममणि पोखरेलको कथाकर्मले हामीलाई दिइरहेछ ।

नेपाली साहित्यमा मध्यकालीन श्रेष्ठ सर्जकको कोटीमा पर्ने मोतीराम भट्टले ‘मोती मण्डली’ नामक साहित्यिक मण्डली गठन गरेका थिए । त्यसमा तत्कालीन ख्याति प्राप्त सर्जकहरू मात्र होइन नव सर्जकहरू पनि सम्मिलित थिए । जान्ने लेख्थे, मोतीराम स्थान दिन्थे, अघि बढ्ने मार्ग देखाइदिन्थे । नजान्नेलाई मोतीराम सिकाइदिन्थे, प्रोत्साहन र प्रेरणा दिन्थे र हर्दम मार्गनिर्देश गरिरहन्थे ।

हो, त्यही गुण धेरथोर मात्रामा राममणि पोखरेलमा पनि छ । ७५ वसन्त पचाइसकेर पनि अँझै साहित्य सिर्जना र मोतीपथमा सक्रिय पाउँदा उहाँका बारेमा नकार कुरा सोच्न र भन्न सोच्दा पनि ओठ काँप्नु, मुटु धड्कनु र कलम पक्रेको हात थरथराउँनु अस्वभाविक हुँदै होइन ।

म त भन्छु, उहाँजस्ता जोसिला, होसिला र जुझारु उदयपुरे मोतीराम कमै हुनुहुन्छ । किनभने लेखनयात्रामा सरिक नहुने तर प्रतिभा भएकाहरूलाई सरिक हुन उत्प्रेरित गर्नुहुन्छ । पठाउने र प्रकाशन गर्ने बाटो खुल्ला गर्नुहुन्छ । ‘लोकमञ्जरी’मा स्थान दिनुहुन्छ । र, अन्यत्र पनि दिन आग्रह गरिदिनुहुन्छ ।

उहाँले उदयपुरे आदिकवि लोकनाथ पोखरेल (१९३३–१९९४) को ‘लोकमञ्जरी’ नामक कविताकृतिसँग नाम मिल्ने ‘लोकमञ्जरी’ त्रैमासिक साहित्यिक पत्रिका सम्पादन र प्रकाशन गर्दै आउनुभएको छ । त्यसैले अरूलेपछि छाप्लान्, पहिले म आफ्नै ‘लोकमञ्जरी’मा छापिदिन्छु भनेर उहाँ लेख्न प्रोत्साहित गर्नुहुन्छ ।

यस मानेमा हामी उदयपुरे अनुजवर्ग सौभाग्यशाली छौँ । किनभने उहाँजस्तो त्यागी र लगनशील अक्षरकर्मीको छहारीमा हामीले कलमी दौड सिक्न पायौँ । अँझैसम्म कलम दौडाउन पाएका छौँ । सधैँ, सधैँ पाइरहूँ भन्ने चाहना र कामना सङ्गालिरहेछु ।

उहाँले सरकारले गर्न नसकेको काम उहाँले निस्वार्थ मनले गर्नुभएको छ । समाजलाई योगदान दिएर धन्य तुल्याउने उदयपुर भित्र र बाहिरका श्रेष्ठ व्यक्तित्वहरूको जीवनगाथा तयार पार्ने महाअभियानमा उहाँ सरिक हुनुहुन्छ । अहिलेसम्म हाम्रो समाजमा कला र साहित्य भनेको अनुत्पादक काम नै ठहरिएको छ । त्यसमा पनि उहाँले लगानी गरेर र नव सर्जकलाई नेपाली साहित्यमा आमन्त्रण गरेर साहित्य संसारमा कहिल्यै बिर्सन नमिल्ने गुण लगाइरहनुभएको छ ।

खासमा राममणि पोखरेल र ‘गाउँघरमा लुकेका कथा’ एक अर्काका पर्यायवाची शब्द बनेका छन् । त्यसभन्दा एक खुट्किलो उक्लने हो भने यत्तिखेर भलै संख्यात्मक हिसाबले नै किन नहोस्, उदयपुरे नेपाली कथासाहित्यको भित्री चुरो नै राममणि पोखरेल हुनुभएको छ । उदयपुरे माटोबाट उहाँले जति कथा कसैले लेखेका छैनन् र मलाई लाग्छ मेरो पुस्तासम्म कसैले लेख्नेवाला पनि छैनन् ।

+++

प्रगतिशील साहित्यमा उदयपुरको चर्चा गर्दा राममणि पोखरेलको नाम अग्रपंक्तिमा आउँछ । अब म यसै सन्दर्भका प्रसङ्गहरू कोट्याउँदै सर्जक पोखरेलको स्थान पहिल्याउँदै छु ।

साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् ।

प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ । राजनीतिमा साम्यवाद कहलाउँछ । सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद र दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ । त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । मुख्यरूपकमा जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ ।

प्रगतिवादको आत्मा साम्यवादमा हुन्छ । प्रेरणा राजनैतिक अनुशासनमा रहन्छ । कल्पना भने सर्वाहाराको सत्ता प्राप्तिमा हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ । यस वादले वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट लिएको हुन्छ ।


मूलभूतरूपमा सामाजिक यथार्थवादी दृष्टिकोण, देशभित्र र बाहिरका चेतनामूलक विचारहरू, शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति, विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन, नारी हक–हितप्रति सचेत, ईश्वर, धर्म, आत्मा, स्वर्ग, नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।

सत्रौँ शताब्दीपछि जन्मिएको र विकसित भएको प्रगतिवादी साहित्यको विकासका क्रममा विश्व कम्युनिष्ट घोषणापत्र (सन् १८४८मा मार्क्स–एङगेल्सद्वारा जारी) को जगमा उभिएर संगठित रूपमा अघि बढेको साहित्यतर्फको पहिलो संस्था चाहिँ सन् १९३५मा फ्रान्सको प्यारिसमा पहिलो अधिवेशन भएको ‘प्रोग्रेसिभ राइटर्स यशोसिएसन’ हो जसका पहिलो सभापति इ. एम. फोस्टर भए ।

भारतमा भने सन् १९३६मा ‘भारतीय प्रगतिशील लेखक संघ’ जन्मियो । राणा शासकहरूद्वारा गराइएको मकैपर्व, लाइब्रेरी पर्व, शहीदहरू : दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीहरूको शहादत (१९९७)ले महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरूमा विद्रोही भाव सञ्चार भयो ।

नेपालमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी (२००६) को गठन भएपछि २००७ साल पछिको स्वतन्त्र परिवेशमा जग बस्दै ‘प्रगतिशील लेखक संघ’ (२००९) जन्मिएको इतिहास छ । झर्रोवादी आन्दोलन (२०१३), जनसांस्कृतिक सभा (२०१३), २०२८ को झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०३८मा पारिजातको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक संघको स्थापना, अखिल नेपाल लेखक संघ आदिले मलजल गर्दै प्रगतिवादी साहित्यिक धार अघि बढेको पाइन्छ ।

मार्क्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक आदि तवरले शोषित, पीडितवर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् ।

प्रगति (२००७ पछि), सेवा (२००८), जनयुग (२००९), जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६) सेवाजस्ता पहिलेका र झिसमिसे, जनादेश, महिमा, कलम, जनआह्वान, योजना, वेदना, नयाँ कोशी, जलजला, दिशानिर्देश, प्रतिभा प्रवाह, मूल्यांकन, जनदिशा, जनविद्रोह, संकल्प, उत्साह, मधुमास, नयाँ संस्कृति, उद्बोधन, प्रतिविम्बन, प्रबोधन, नौलो जनउभार, पृष्ठभूमि, जनाधार, पूर्वी क्षितिज, जनक्रान्तिजस्ता अहिलेका पत्रपत्रिकाहरूले प्रगतिवादी आवाजलाई वुलन्द पार्दै आएका छन् । यस्ता आन्दोलन, पत्रपत्रिका र संघसंस्थाहरूका अतिरिक्त अन्य पक्षहरूले समेत प्रगतिवादलाई मूर्तरूप दिन प्रत्येक्ष, परोक्ष बल प्रदान गरिरहेका छन् ।

मूलभूतरूपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ ।

मूल्यसहितको जीवन जिउने सोचको विकास, विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुञ्जायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।

यसरी प्रगतिवादी आवाजलाई बुलन्द गर्नेहरू महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल भूपि शेरचन, धनुषचन्द्र गौतम, श्यामप्रसाद शर्मा, धर्मराज थापा, गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, मदनमणि दीक्षित, आनन्ददेव भट्ट, गोविन्द भट्ट, हृदयचन्द्रसिंह प्रधान, मुक्तिनाथ तिमील्सिना, खड्गबहादुर सिंह, मोदनाथ प्रश्रित, पारिजात, रमेश विकल, डा. ऋषिराज बराल, दौलतविक्रम विष्ट, राजेन्द्र सुवेदी, देवी गौतम, खगेन्द्र संग्रौला, रघु पन्त, रुद्र खरेल अग्रणी हरफमा छन् ।

प्रगतिशील साहित्यमा रविलाल अधिकारी, गंगा उप्रेती, कृष्ण बम मल्ल, तारानाथ शर्मा, गीता केशरी, इस्माली, गोविन्द गिरी प्रेरणा, गणेश रसिक, गम्भीरबहादुर थापा, भवानीप्रसाद शर्मा, रामकुमार श्रेष्ठ, युद्धप्रसाद मिश्र, शान्तनु पन्त नेपाली, यज्ञप्रसाद आचार्य, बालकृष्ण पोखरेल, देवमणि ढकाल, श्यामप्रसाद अधिकारी, कृष्णप्रसाद सर्वाहारा, कृष्ण सेन ‘इच्छुक’, चूडामणि रेग्मी, बिन्दुप्रसाद नेपाली, पूर्णविराम, जसराज किराँती, चैतन्य, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, जगदीश घिमिरे, युवराज संग्रौला, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, शक्ति लम्साल, निनु चापागाइँ, डा. ताराकान्त पाण्डेय, रमेशप्रसाद भट्टराईहरूको कलमी पोरख लगानी भएको छ ।

अर्कातिर लीलध्वज थापा, वीरेन्द्र खुँजेली, कोषराज रेग्मी, रामप्रसाद ज्ञवाली, डा.जगदीशचन्द्र भण्डारी, डा. नन्दीश अधिकारी, नारायण ढकाल, कविताराम श्रेष्ठ, के.पी. ढकाल, हरिगोविन्द लुइँटेल, खुशीराम पाख्रिन, नेत्रलाल अभागी, अशोक सुवेदी, पुन्य कार्की, डा. गोपिन्द्र पौडेल, देवी नेपाल, पद्मावती सिंह, खेम थपलिया, अनिल पौडेल, रमेश भट्टराई, हीरामणि दु:खी, सुधा त्रिपाठी, अमर गिरी, डा. भवानीप्रसाद पाण्डे, रामविक्रम थापा, राममणि पोखरेल, पुण्य कार्की, नन्दलाल आचार्य, माधव पोखरेल ‘गोज्याङग्रे’, टङ्कबहादुर आलेमगरजस्ता सयौँ स्रष्टाहरूले राष्ट्रियस्तरमै प्रगतिवादी साहित्यमा कलम चलाएका छन् । उदयपुर जिल्लाबाट राममणि पोखरेल तीन पटक प्रगतिशील लेखक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो ।

राममणि पोखरेल उदयपुरे साहित्यमा विशेषत: आख्यान विधामा सङ्ख्यात्मक रूपले एक नम्बरमा गनिनुहुन्छ । उहाँको ‘आँखा’ पत्रिकामा प्रकाशित २०२८ सालमा ‘उचित न्याय खै ?’ भन्ने कथा पहिलो कथा हो । उहाँले ‘सम्झनाका पोखरीमा छचल्किएका छालहरू’ (२०५९) र ‘जेल संस्मरण’ (२०६०, खण्ड एक), ‘साहिँली मैया र रसुवाघाट’ (२०६१, उपन्यास) सिर्जना गर्नुभएको छ ।

‘हरिमानको आत्महत्या’ (२०६३), ‘सोममाया र शान्ति अभियान’ (२०६४), ‘दण्डहीनता’ (२०६५), ‘सूचना टाँस’ (२०६६), ‘समयका पाइला’ (२०६७), ‘अमरमानको बहिर्गमन’ (२०७०), ‘स्वदेश प्रेम’ (२०७३), ‘समयले दिएको पीडा’, (२०७३), ‘छेदीलाल’, (२०७४), ‘भविष्यवाणी’, (२०७५) र ‘नेरम्पा काका’ (२०७८) आदि कथासङ्ग्रहहरू प्रकाशित छन् ।


सर्जक पोखरेल रचनामा निम्न स्तरीय ग्रामीण जनजीवनमा देखिएका आर्थिक सवालअन्तर्गत भएका कटु यथार्थहरूको चित्रण गर्छन् । नयाँ पुस्ताको अदूरदर्शी नीतिबाट पारिवारिक विचल्नी भएको चर्चा गर्छन् । राजनैतिक विकृतिको भण्डाफोर गर्छन् । भौतिक अभाव र असन्तोषबाट सिर्जित अन्यौलताको वर्णन गर्छन् । (आचार्य : २०६९ : २६) पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठुलो अर्थात् परिवारभन्दा मुलुक ठुलो भन्ने भावना सम्प्रेषण गर्छन् । राजनैतिक नारा र जुलुसले हैन मान्छेमा अन्तर्निहित चेतनाबाट सांस्कृतिक रूपान्तरण हुनसक्ने सम्भावना औँल्याउछन् ।

पोखरेल तराईमा रहेका सशस्त्र समूहहरूको लुटपाट, सन्त्रास र अपराधीक मनोदशालाई केलाई सही मार्गमा लागि राष्ट्रका सच्चा नागरिक हुन आह्वान् गर्छन् । भ्रष्ट कर्मचारीतन्त्रको घोर विरोध गर्छन् । (आचार्य : २०७७ : २५) आडम्बरी पात्रको जीवनचर्यालाई समेत देखाई निमुखा वर्गप्रति श्रद्धा राख्छन् । जनतालाई एकताको सूत्रमा बाध्न र राहत दिलाउन आह्वान गर्ने जस्ता विशेषता लिएर उनी साहित्य संसारका यात्री भएका छन् ।

समग्र पक्षलाई नियाल्दा प्रगतिशील साहित्यक क्षेत्रमा उदयपुरे सर्जकहरूले मनग्यै मननीय र गर्व गर्न लायकको काम गरेका छन् । साहित्यको त्यत्रो माहोल नभए पनि विविध अवसरहरूमा विविध खाले साहित्यिक गोष्ठीहरू हुँदै आएका छन् । यहाँ अहिलेसम्म साहित्य जगत्मा जे जति प्रगति भएको छ त्यो पर्याप्त भने छैन । उदयपुरका सबैखाले साहित्यिक गतिविधिमा राममणि पोखरेलको भूमिका अग्रणी हुँदै आएको पाइन्छ ।

+++

अब भने म अहिलेको दैनन्दिन कोट्याउँदैछु । अचेल म धेरै किसिमका ‘अनुत्तरित प्रश्न’हरूबाट घेरिएको छु । तीमध्ये २०७७ फागुन २७ गते बिहीबार, दिउसो १२:०६ बजे, महाशिवरात्रिको दिन लेखी सिध्याएको अघिल्लो दिनको अवस्थालाई एकालपीय कथाको रूपमा तल हुबहु प्रस्तुत गरेको छु । यसबाट मेरो यत्तिबेलाको वास्तविकताको सम्बोधन हुन्छ ।

०००

सधैँ एकाबिहानै मेरो मनमा कुरो उठ्थ्यो– उहाँ छुट्नुहोला वा मस्वय म छुटूँला कि !!!

त्यसदिन भने निर्धारित समय अगाबै उठेकाले म एक्लै वरपर हिँडिरहेको थिएँ । घरी उता पुग्थेँ । घरी यता जान्थेँ । ओहोरदोहोरमै मेरो शारीरिक कसरत भइरहेको थियो । आँखा भने हर्दम उहाँकै कोठातिर एकोहोरिएका थिए । हिँड्दा ठेस लाग्ला भन्ने त्रासले ध्यान भने खुट्टा जोगाउन र आफू लड्नबाट जोगिनेतिर नै केन्द्रित थियो ।

त्यसबेला मेरा गोडा लरबरिरहेका थिए । कारण, हिँड्ने बाटोमा मन्द प्रकाश मात्रै व्याप्त थियो । मेरा पचास वर्षे बुढ्यौली चढेका आँखाले बाटो राम्ररी ठम्याउने कुरै आएन । अर्कातिर बाटो कच्ची मात्रै थिएन, इँटा–ढुङ्गाको अव्यवस्थित रखाइले आङ्खुडेबाङखुडे पनि थियो । उहाँको कोठा अदृष्य हुने ठाउँमा म पुगेको बेला कान समेत उतैको कोठामा हुने हलचले ध्वनि सुन्न केन्द्रित हुन्थे ।

दैनिक मोर्निङ वाकमा सरिक हुने उहाँ र मेरो अघोषित रुटिङ थियो । बिहान पाँच बज्नु अगावै म ओछ्यान छाडिसक्थेँ । उहाँ पनि ढोकामा ताल्चा झुन्ड्याएर र कोठा बाहिरको जुत्ता लगाएर उत्तिखेरै मोर्निङ वाकमा निस्कनुहुन्थ्यो । हामी दुवै गफिँदै दैनिक पाँच/सात किलोमीटरको पैदल यात्रा तय गर्थ्यौँ । र, मोर्निङ वाकलाई विश्राम दिँदै बिहान ६ बज्नु अगाबै कोठामा हाजिर हुन्थ्यौँ । त्यसपछि प्रसारण हुने समाचार हेर्न र सुन्न उहाँ जहिल्यै पनि हतारिनुहुन्थ्यो । म भने बिहानको सात बजेदेखि सुरु हुने इन्स्टिच्युटको नेपाली कक्षामा उपस्थित हुनका लागि तयारी गर्ने ध्याउन्नमा हुन्थेँ ।

नभन्दै त्यस दिन पनि थोरै समय ढिलो गरेर उहाँको कोठामा बत्ती बल्यो । म भने वाकिङको समयभन्दा अगाबै उठेकाले वरपर घुमेर एक झमट थाक्न लागेको थिएँ । त्यही क्रममा म छिमेकी महतोजीको घरनेर पुगेर फर्कन्दा उहाँको भान्सा कोठाको समेत बत्ती बलेको थियो । नियाल्दानियाल्दै पहिले बलेको कोठाको बत्ती समेत झ्याप्पै निभेको देखियो ।


अब केही बेरमै उहाँ निस्कने हुनुभयो, निस्कने गेट नजिकै खडा हुनुपर्छ भन्ने सोचेर म उतैतिर एकोहोरो पाइला बढाइरहेको थिएँ । हामीमा भ्रम सिर्जना होला कि भन्ने त्रासले म सतर्क भइरहेको थिएँ ।

उहाँले ढोका लगाएको आवाज समेत मेरा कानमा परेको थियो । दृष्य भने हेर्न सकिनँ । कारण, त्यत्तिबेला म र कोठाको बीचमा लिचीको ठुलो बिरुवा ठिङ्ग उभिएको थियो । कोठाबाहिर भने अँध्याराकै राज्य अँझै कायम थियो ।

क्रमश:, क्रमश: म कोठानजिक त आएँ तर मेरो नजर भने उहाँ निस्कने गेटतिरै एकोहोरिएको थियो । मैले एक पटक पनि उहाँको कोठाको ढोकातिर हेरिनछु । फलत: मैले उहाँलाई गेटमा पनि भेटिनँ । त्यसबखत मुण्टो घुमाएर पछिल्तिर हेर्नुभन्दा अगिल्तिरै हेर्नु श्रेयस्कर ठान्न पुगेको थिएँ ।

उहाँ कहाँ हुनुहुन्छ भनेर बुझ्न फोन लगाउने मन भयो । हत्तपत्त पकेट छामेँ । पकेट रित्तै थियो । मोवाइल कोठामै चार्जमा छाडेको सम्झेँ । तत्कालै बाटातिर नजर गाड्न पुगेको थिएँ । थरीथरीका मानिसहरू बाटामा ओहोरदोहोर गरिरहेका थिए ।

तीमध्ये एक मानवाकृति हामी दैनिक हिँड्ने दिसातिरै अघि बढिरहेको देखेँ । त्यसको जिउडाल र हिँडाइ उहाँसँगै ठ्याक्कै मिल्थ्यो । अँध्यारामा ठम्याउँदा लगाएको पोशाक समेत उहाँसँग दुरुस्तै मिल्थ्यो । त्यो पक्कै पनि उहाँ नै हुनुपर्छ भनेर अनुमान लगाउँदै भेट्नका लागि पाइला लम्काउँदो भएँ ।

मैले जतिसुकै तीब्र गतिमा पाइला बढाए पनि मरिकाट्टे उहाँलाई भेट्न सकिरहेको थिइनँ । पक्षाघात पीडित भएका कारण दगुर्न समेत सक्तिनथेँ । सानो आवाजले बोलाऊँ भने उहाँले सुन्ने अवस्था नै आउन्नथ्यो । ठुलो आवाजले कराऊँ भने त्यो ठाउँ मेरो गाउँघर थिएन । मेरो शिक्षणीय सेवाक्षेत्र थियो । एकाबिहानै मेरो ठुलो आवाज सुनेर वरपरका अभिभावकहरूले ‘भोर, भोरमे नेपाली माष्टर्वा बताहा भेलै कि क्याना !’ भन्लान् भन्ने जगजगी थियो ।

बिहानबिहानै नेपाली माष्टर बहुलायो कि कसो भनेर अभिभावकले भनेको म सुन्न सक्ने अवस्थामा बिल्कुलै थिइनँ । त्यसैले त्यसबेला म सबैबाट सुरक्षित हुने कोशिसमा थिएँ । काम कुरा पनि बनोस् र बनाउन सकूँ भन्ने ध्याउन्नमा थिएँ ।

०००

‘सरऽ, कनिकाल रुकु । दरबर चलैला हमरा कठनाई होइछै ।’

त्यसबेला मेरो यो आवाज उहाँ समक्ष पुग्दै पुगेन । खासमा म पनि सम्पूर्ण शब्दसहित आफ्नो आवाज उहाँको कानसम्म पुर्याउन चाहन्नथेँ । मधेशको ठाउँमा बस्तै आएको र हर्दम मैथिली भाषा सुन्दै आएको कारणले मात्रै मैथिली भाषा बोल्ने मन हुन्थ्यो । यद्यपि उहाँसँग मैथिलीमा बोल्न जरुरी भने थिएन । उहाँ मैथिली मातृभाषी नभएर नेपाली मातृभाषी नै हुनुहुन्थ्यो । उहाँसँग मैथिलीमा बोल्ने मेरो बाध्यता नभएर रहर मात्रै थियो । अलिक बढेर भन्नुपर्दा मधेशमा बसेर म पनि मैथिली बोल्न सक्छु भन्ने अह म प्रदर्शन गर्नु मात्र थियो ।

खासमा त्यसबेला मैले ‘सरऽ’ शब्द मात्रै अलिक जोडसँग उच्चारण गरेको थिएँ । बाँकी शब्द चाहिँ उहाँले नसुने पनि हुन्थ्यो भनेर मसिनु स्वरमा उच्चारण गरेको थिएँ । म उहाँसँग मैथिलीमा बोल्ने वा ख्यालठट्टा गर्ने हैसियत समेत राख्तिनथेँ । कारण उहाँ नगरपालिकाका सारा शिक्षकहरूका हाकिम हुनुहुन्थ्यो । म पनि उहाँकै मातहतमा काम गर्ने एक शिक्षक नै थिएँ । यद्यपि उहाँ भने हामीलाई शिक्षकका रूपमा मात्र नभई असल मित्रका रूपमा व्यावहार गर्नुहुन्थ्यो । सारा शिक्षकहरूलाई भोलिको समुन्नत नेपालको आधारस्तम्भ निर्माण गर्ने आजका असली चेतनाका ज्योतिपुञ्ज ठान्नुहुन्थ्यो ।

चाँडो हिँड्न आफूलाई कठिनाइ भएकाले केहीबेर रुक्न मैले गरेको आग्रह त्यसबखत निरर्थक साबित भएको थियो । उहाँ सक्तो छिटो हिँडिरहनुभएको थियो । म पनि उहाँलाई भेट्न न्वारानदेखिको बल झिकेर लागि परेको थिएँ । जोडतोड लगाएका कारण शरीर पसिनाले निथु्रक्कै भिजेको थियो तापनि म उहाँलाई भेट्न असमर्थ हुँदै गएको थिएँ । क्रमश: क्रमश: उहाँ र मेरो भौगोलिक दुरी फराकिलो हुँदै जाँदै थियो ।

त्यस बेलासम्ममा समय भइसकेको थियो– २०७७ फागुन २६ गते बुधबारको बिहान ५:३० बजे । सूर्योदयको भने अत्तोपत्तो थिएन । यद्यपि पूर्वतिर उज्यालो छरिँदै गएको आभास भने मिल्दथ्यो । जगत्मा अँझै अँध्याराकै साम्राज्य कायम थियो । उहाँलाई भेट्न सक्छु कि भन्ने झिनो आशाले जब्बरजस्त मेरा गोडा अघि बढ्दा थिए ।

हुँदाहुँदै दक्षिणतिरबाट झलमल्ल बत्ती बाल्दै, मुस्लाका मुस्ला धुलो उडाउँदै र चर्को आवाजमा गीत बजाउँदै एउटा टेम्पो तीव्र गतिमा आयो । त्यही मौकामा उहाँ बाटोको पूर्वी किनारा बदलेर अर्कोतिर लाग्नुभयो । म पनि टेम्पोले छरेको धुलो र ध्वनि प्रदूषणबाट जोगिँदै र उहाँतिर हेर्दै अघि बढ्दै थिएँ । हेर्दाहेर्दै उहाँ एक्कासि ठाउँको ठाउँ नै गायब हुनुभयो । म वाल्ल परेर खडा भइरहेँ ।

यो सबै मन्द उज्यालाले छरेको भ्रम हो भन्ने सोच्न पुगेँ । फेरि तत्कालै अर्को मनस्थिति मनमा जन्मिहाल्यो– मेरो ध्यान यत्ता र उत्ता मोडिएको बखत उहाँ अँझ अघि बढिसक्नुभयो होला ! सायद, म अघि छु भनेर उहाँ भेट्न हतारिँनु भएको थियो होला ।

अहँ, यसरी आलटाल गरेर हुन्न । जति थाके पनि, जति पसिना बगाए पनि एक पटक वायुपङ्खी घोडाको चालमा दौडनुपर्छ । दौडनै नसके पनि हात्ती लम्केझैँ लमकलमक लम्कँनै पर्छ ।

आखिरमा पछिल्ला विचारको जित भयो । त्यसपछि मरिहत्ते गरेर लम्कँन थालेँ । लम्कँदा लम्कँदै निकै पर एउटा सेतो आकृति देखेँ । त्यो आकृतिको जिउडाल र हिँडाइको तौरतरिका उहाँसँगै मिले पनि पोशाकको रङ मिलिरहेको थिएन । हिँड्दाहिँड्दै पसिनाले भिजेकाले बाहिरको ज्याकेट खोलेको होला भन्दै म पछ्याउँदै गएँ । त्यस आकृतिले सदा हामी हिँड्ने पिच बाटो मोडेर जेम्स स्कुलतिरको अर्कै कच्ची बाटो समात्यो । म पनि यथार्थ नबुझी छाड्दिनँ भनेर अन्धाधुन्ध उतै एकोहोरिन पुगेको थिएँ ।

०००

छँदाखाँदाको पिच बाटो छाडेर कच्ची बाटोमा लागिएको थियो । कच्ची बाटो प्रवेशकै स्थानमा कमजोर पैनी बनाएका कारण भत्किएर भ्वाङ परेको थियो । बाटामा मान्छे नचिनिने अँध्यारो अँझै कायम थियो । त्यस कच्ची बाटामा भने मान्छेको आवातजावत एकदमै पातलो थियो । म एकोहोरो त्यसै आकृतिको पिठ्यु हेर्दै पाइला सार्दो थिएँ ।

घरिघरि म त्यस आकृति नजिक नजिक पुग्थेँ । र, उभिएर लामो श्वास फेर्थेँ । आँखा च्यातेर नियाल्थेँ । कसको मानवाकृति हो भन्ने यकिन गर्नै सक्तिनथेँ । त्यत्तिबेलासम्ममा आकृति अघि बढिसकेको हुन्थ्यो । ठम्याउन नसकेकोमा मेरो अनुहारमा निराशताको बादलहरू मडारिँन थाल्थे ।

नकार भावना मनमा खेलाएर जीवनपथमा उङ्न थाले गन्तव्यमा कहिल्यै पुग्न सकिन्न भन्ने विचार आउँथ्यो । तत्कालै मनमा स्फुर्ती डाक्न सफल हुन्थेँ । मनको कालो बादल फाटेर छ्याङ्ग हुँदै जान्थ्यो । र, गोडाको गति अँझ तीव्र पार्थेँ । यद्यपि कसै गरे पनि मैले त्यसलाई भेट्न र पहिचान गर्न सकिनँ ।

निकैबेरको रस्साकस्सीपश्चात् त्यसले पुलुक्क मतिर हेर्यो । मलाई देखेर पनि त्यसको गति मन्द भएन । त्यो रत्तिभर रुकेन । उहाँ भएको भए पक्कै पनि रुक्नुहुन्थ्यो । मसँग समसामयिक गफ गर्दै गति अघि बढाउनु हुन्थ्यो भन्ने विचार आयो ।

नभन्दै त्यस आकृतिले हिँडिरहेको सडक छाड्यो र पश्चिमी गल्ली पक्रियो । त्यस गल्लीले राइस मिल लग्थ्यो, हाम्रो कोठा पुर्याउँदैनथ्यो । त्यसपछि भने मेरा मनका सारा आशंकाहरूले एकै पटक स्वात्तै मृत्युकुण्डमा हाम फाले । म किंकर्तव्यविमूढ भएर केहीबेर टोहोलाइरहेँ ।

सारा भ्रमबाट व्युँझेपछि भने मेरो मन चङ्गा भयो । यद्यपि मनको एक कुनामा अगिका सारा काला बादलहरू एकत्रित भएर मडारिँन थाले । निकै समय म तिनै बादलभित्र हराएँछु । गन्तव्यहीन यात्रु बनेर बाटैमा ठिङ्ग उभिन पुगेँछु । कोही साधनमा चढेर कोही पैदलै हिँडेर मान्छेहरू यताउता गर्दा थिए । म केवल रमिते यात्रु मात्र भएको थिएँ ।


म झुट कहलिन गइरहेको थिएँ । म फन्टुस मान्छे सावित हुन लागिरहेको थिएँ । नित्य मोर्निङ वाक गर्ने अढाई महिने सहयात्रालाई एकैपटक खण्डित गर्ने एक्लो गद्दार पात्र बन्न गइरहेको थिएँ ।

खासमा म आफ्नै हाकिम सरको आँखाको अविश्वासिलो शिक्षक सावित हुँदै थिएँ । म भित्रभित्रै छटपटीँदै थिएँ । एक्लैएक्लै पाकिरहेको थिएँ । फिर्ता ल्याउनै नसकिने गरी विश्वास गुमाउँदै थिएँ । मनभित्र उब्जेका भावनाहरूले मलाई पलपल दण्डित गरिरहेका थिए । वनको बाघले खाओस् कि नखाओस् तर मलाई आफ्नै मनको बाघले खाइरहेको थियो । म उभिएको धर्ती नै थरथराइरहेको र तलतल भासिँदै गएको अनुभूत हुँदै थियो ।

मलाई पुरापुरी थाहा थियो– इज्जतको सबालमा ठुलाबडा ओहोदाका मान्छे ज्यादै कठोर हुन्छन् । उनीहरूका लागि आफ्नो इज्जत ज्यादै प्यारो हुन्छ । आफूभन्दा तल्ला तहका मानिसले कतै खोट लगाउने दुस्साहस गरेमा लामो समयसम्म ईख लिन्छन् । उनीहरू रिसाए भने पदोन्नतिमा अवरोध आउन सक्छ । पेशागत मर्यादामा खोट उब्जन सक्छ । उस्तै परे नखाएको विषले पोलेर मरणासन्न हुनुपर्छ । त्यसैले उनीहरूको मात्रै हैन कसैको पनि अन्तस्करणमा ठेस लाग्ने काम भुलेर पनि नगरेमा नै आफ्नो भलो हुन्छ ।


हो, एकैछिनको भुलले मैले ठूलै गल्ती गरेकै हो । नचाहेर वा नजानेरै सही उहाँसँग ढाँटको खेती गरेकै हो । उहाँ मसँग मात्रै एकाबिहानै निस्कनु हुन्थ्यो । उहाँलाई साथ नदिएर मैले कमजोरी देखाएकै हो ।

मनका विविध तरङ्गहरूमा एउटा शक्तिशाली तरङ्ग आयो । त्यस तरङ्गले देखायो, अब समस्याको एउटै निकास छ । त्यो हो– आफ्ना सारा कमजोरीका लागि नम्र भएर उहाँ समक्ष जम्ला हात गर्ने ।

विनम्रताकासामु जतिसुकै ठुलाबडा र क्रुद्ध व्यक्ति पनि मैनझैँ पग्लनुपर्छ । सच्चा भक्तको सच्चा भक्तिभावदेखि भगवान् त पग्लेर पानी–पानी भई भक्तकै दास बन्छन् रे । यी हाम्रा हाकिम सर मेरो निर्दोष र करुणभावपूर्ण बिन्तीमा किन कोमल नबन्नुहोला र ! कोमल नबनेर कठोरै रहिरहेमा उहाँकै बुद्धिमतामा मैले प्रश्न चिन्ह ठड्याउँदा कसो होला त ?


हुन त यो मेरो आशंका मात्रै हो । नि:सन्देह हाम्रा हाकिम सर बुद्धिमान हुनुहुन्छ । मान्छेको विवशता र परिस्थितिका जानिफकार हुनुहुन्छ । उहाँ प्रकाण्ड विद्वान् भएकै कारण आँ गर्दा अलङ्कार बुझ्नुहुन्छ । र, मलाई पूर्ण विश्वास छ, मजस्ता नाथेलाई तुरुन्तै माफ गर्नुहुन्छ । भोलिपल्टदेखि पूर्ववतरूपमा मलाई पनि आफूसँगै नियमित रूपमा मोर्निङ वाकमा लैजानुहुन्छ । त्यसो नगरीकन पनि उहाँलाई सुख छैन किनभने शरण परेकालाई मरण गर्नुहुन्न भनेर हाम्रै शास्त्रहरूमा लेखिएको पनि छ ।

यस्तो निष्कर्ष निकाल्दा मेरो मनमा दीप प्रज्वलित हुन पुग्यो । ओठमा मन्द मुस्कान नाच्न थाल्यो । शरीर चङ्गा भएर आयो । वरपरको वातावरण उज्यालिँदै गएको महसुस भयो । अगाडिको बाटो एकदमै स्पष्ट देखियो । सडक पेटीमा खडा ससाना बोटबिरुवाले पनि मलाई नै हार्दिक स्वागत गरेझैँ लाग्न थाल्यो ।

मेरा उमङ्गका पाइलाहरू सुस्तसुस्त शिव मन्दिरतिर अघि बढ्दै गए । हिँड्दै जाँदा म मन्दिर पुगेँ । त्यसै दिन मैले अर्कै बाटो भएर दुई पटक मन्दिर प्रदक्षिणा गरिसकेको थिएँ । यद्यपि त्यसपटक त्यहाँ पुग्दा मन्दिर खास लाग्यो । अति नै सौम्य र भव्य लाग्यो । भोलिपल्ट महाशिवरात्रि पर्व भएकै कारणले होला मन्दिरको शृङ्गारपटार र रङरोगनले सुन्दरतामा अभिवृद्धि ल्याएको थियो ।

मन्दिर नजिक पुगेपछि म श्रद्धाबस शिर निहुर्याउँथेँ । हात जोड्ने मेरो चलन थिएन । त्यसमाथि आमाको बरखी बारेको हुँदा एक वर्षसम्म मठमन्दिरमा पूजाआजा गर्न वा अन्य कुनै प्रकारको शुभमंगलको कार्य गर्न दाहाल पुरोहित बाजेले नै मलाई सख्त मनाही गरेका थिए । उसो त म फुक्का भएकै बखत पनि राजीखुशी पूजाआजा गर्नकै लागि भनेर कहिल्यै पनि मन्दिर पसेको थिइनँ ।

त्यस दिन पनि यताउती हेर्दै, नियाल्दै र गम्दै तल्तिर झरेको थिएँ ।

०००

खुशीखुशी मनले म कोठानजिक पुगेको थिएँ । उहाँको कोठातिर हेरेको त शिशाको झ्याल उघारै थियो । वरपर ससाना मच्छडहरूले गोलो बनाई बाजागाजा बजाइरहेका थिए । केही झ्यालबाट भित्र छिर्थे । केही बाहिर निस्कने ध्याउन्नमा थिए । म तिनैबाट समेत भयभीत थिएँ । मच्छडको गोलो नजिक जान डर लागेर आयो । मच्छडले टोक्ला भन्ने पीर त ज्यूँदै थियो तर त्यहाँ पुग्दा मच्छड नै कान, आँखा, नाक र मुखमा पस्लान् कि भन्ने त्राहीत्राही थियो ।

उहाँसँग यथार्थ दर्शाएर क्षमायाचना गरी ढुक्क मनले आफ्नो कोठातिर पस्नुपर्यो भनेर टाढैबाट गर्धन लम्काउँदा भित्र अँध्यारो मात्रै देखिएको थियो । कोठाभित्र मानव चालचुल छैन भनेर यकिन गरी म आफ्नो कोठामा फर्किएको थिएँ ।

मैले आफ्नो गेट खोल्दा घडीले बिहानको ५:४१ बजाएको थियो । आँगनभरि सूर्यका किरण फिँजिने तरखरमा थिए । मेरो मनमा भने चन्द्रमामा लागेको दागझैँ एउटा धब्बा कायमै थियो ।

०००

बिहान सात बज्नु पूर्व नै म इन्स्टिच्युटतिर दगुरेँ । पौने नौ बजे फर्कन्दा उहाँको कोठामा भाँडावर्तन बजिरहेको सुन्न पाएँ । उहाँले दस बजे अफिसमा हाजिर हुन पुग्नुपर्ने भएकोले वाधा पुर्याउनु बुद्धिमानी लागेन । अफिसबाट फर्केपछि सारा भूलको जरो देखाउँछु भनेर चुपचाप बसेँ ।


दस बजेपछि म स्वय म स्कुलतिर दगुरेँ । दिनभर दैनिक शैक्षणिक कामधाम गरेँ । बेलुका फर्केर तरकारी लिन जाँदा उहाँ बाइकमा घर फिर्दै हुनुहुँदो रहेछ । मतिर पुलुक्क हेर्नुभयो तर बाइक रोक्नुभएन । अरूबेला भए रुकेर सामान्य भलाकुसारी नगरी अघि बढ्नुहुन्नथ्यो । त्यसबेला भने अर्का कर्मचारी मित्र पनि साथमा भएकाले होला सरासरी अघि बढ्नुभयो ।

उहाँको अनुहार हेर्दा क्रोद्धका कुनै रेखाहरू पनि देखिएनन् । म दङ्गदास बन्न पुगेको थिएँ । हटियाबाट तरकारी च्यापेर फर्किएँ । तरकारी मेरी गृहलक्ष्मीलाई थम्याएर बाहिर निस्कँदा उहाँ काठ मिल नजिक तुलसा म्याडम लगायतका व्यक्तिहरूसँग गफगाफमा व्यस्त हुनुहुँदो रहेछ ।

केही समयपश्चात् नै एकान्तमा भेटेर मैले आफ्नो बेलीविस्तार लगाउने मौका पाएँ । कुरा बुझ्दै जाँदा पो थाहा भयो– उहाँ मलाई खोज्दै पुरानै ठाउँतिर बढ्नुभएछ । म भने पहिले खैरो र पछि सेतो आकृतिलाई उहाँ ठान्दै पछ्याउँदै गएँछु । र, नयाँ बाटोतिर लागेर हुस्सिएँछु ।

यद्यपि कोठाबाट को पहिले निस्कियो ? यसको उत्तर न उहाँले जान्नुभयो न मैले नै बुझ्न सकेँ । अनुत्तरित प्रश्नको घोचो हामी दुवैतिर ठडिइरह्यो, ठडिइरह्यो । अँझैसम्म पनि ठडिइरहेकै छ ।

+++

प्रगतिवादी साहित्य लेखनमा समर्पित राममणि पोखरेल मूलत: निबन्धकार, काव्यकार र आख्यानकार हुन् । संस्मरणात्मक निबन्धको कृति नै प्रकाशित छ । फुटकर गद्यात्मक कविता र दर्जन जति कथा/उपन्यास कृति प्रकाशन गराएका छन् । अब भने उनको प्रगतिवादी/मार्क्सवादी साहित्यिक प्रवृतिमा विशेषत: केन्द्रित हुन चाहन्छु ।


पञ्चायतकाल, बहुदल हुँदै लोकतान्त्रिक परिवेशको नेपाली सामाजिक जनजीवनलाई आफ्ना कथाहरूमा समेट्न पुगेका पोखरेलका कथाकृतिमा समेत सशस्त्र द्वन्द्वकालीन यथार्थले निम्त्याएको विद्रूप रङ प्रतिविम्बन भएको पाइन्छ । ‘नेरम्पा काका’ सङ्ग्र्रहमा रहेका एक दर्जनभन्दा बढी कथाहरू सशस्त्र द्वन्द्व तथा द्वन्द्वकालीन परिवेशबाट गुज्रेर पनि समाजले परिवर्तनको अनुभूत गर्न नपाएकोमा आक्रोश पोखिएको पाइन्छ ।

उनको यस कथाकृतिमा भएका ‘नेरम्पा काका’, ‘धागोले बाँधेको चिठी’, ‘दश तोला सुन’, ‘प्र्रसादी’, ‘हम त जनी जात छि’,.‘पार्टी सदस्यता’, ‘सुलोचना दिदी’, ‘पूराण वाचन र एकल महिला’, ‘तिमी त हिन्दू भइछ्यौ’, ‘दोषी को त ?’, ‘चाहना’, ‘दाइजोको सकस’, ‘जीवन’, ‘राष्ट्रियता’ र ‘माटो’ शीर्षकका जम्मा १५ थान कथाहरूको चर्चा मार्क्सवादी दृष्टिकोणबाट गरिएको छ ।

०००

अबको यस आलेखमा ‘नेरम्पा काका’ सङ्ग्रहका कथाहरूलाई मार्क्सवादी दृष्टिकोणबाट समीक्षा गरिएको छ । वर्तमान तँछाडमछाडको द्वन्द्वकालीन परिवेशमा सिर्जित ‘नेरम्पा काका’ सङ्ग्रहका कथाहरूले निर्दिष्ट गरेको वर्तमान नेपाली समाजमा विद्यमान वर्गीय द्वन्द्वको कारण र आवश्यकताको पहिचान गर्नुतिर लक्षित भई चर्चा गरिएको छ ।

समय परिवर्तनशील भए पनि मानिसहरूको व्यवहारिक सोचमा कुनै पनि परिवर्तन आउन सकेको छैन । दमनकारी वर्गले दमित वर्गको उपयोग गरेर मुनाफा कमाइरहेका छन् । शोषक–जाली–फटाहाहरू सधैँ अनेकन खोक्रो आश्वासन र झुटो भरोसा दिएर जनताको साथ र सहयोगमा उच्च ओहोदामा पुग्छन् ।

उनीहरूले कहिल्यै ती कमजोर वर्गको हितको काम गरेको देखिँदैन । निम्न वर्गले सधैँ पीडा र अभावमा बाँच्नु परेको छ । उनीहरूका आधारभूत आवश्यकताको पनि सुनुवाइ भएकै छैन । उच्च वर्ग जति झन उच्च हुँदै जाने र निम्न वर्ग सधैँ तल परेर दबिने गरेको देखिन्छ ।

श्रमजीवि वर्गले आफ्नो श्रमको मूल्य पाउन सकेका छैनन् । पोखरेलका कथामा नेपाली जनताले जतिसुकै पौरखका साथ काम गर्दा पनि वर्गीय द्वन्द्व र त्यसको आवश्यकता किन रहेको छ ? भन्ने समस्यामा यो अध्ययन आधारित रहेको छ ।

०००

कथाकार पोखरेलका कथामा मार्क्सवादी वर्गसङ्घर्षको खोजी गर्नका लागि प्रस्तुत गुणात्मक प्रकृतिको अनुसन्धान मार्क्सवादी साहित्य–दर्शनमा आधारित र व्याख्यावादी पद्धतिमा केन्द्रित छ । यसका लागि प्राथमिक र द्वितीयक स्रोतमा आधारित सामग्रीका रूपमा कथाकृतिका अतिरिक्त सान्दर्भिक अन्य (पुस्तक, पत्रपत्रिका, अनलाइन, जर्नल, पूर्वकार्य आदि) स्रोत र माध्यमबाट तथ्य–तथ्याङ्क सङ्कलन गरिएको छ ।

सङ्कलित तथ्याङ्कलाई वर्णनात्मक र तुलनात्मक विधि तथा आगमनात्मक अनुसन्धान पद्धतिका माध्यमबाट विश्लेषण गरिएको छ । अनुसन्धानमा प्रस्तुत दाबीलाई पुष्टि गर्न विभिन्न तर्क, साक्ष्य, प्रमाणहरूको उपयोग गरिएको छ । आवश्यकतानुसार पूर्व अध्येताका लेखको सहारा लिँदै लेखकीय दृष्टिकोण समेत प्रस्तुत गरिएको छ ।

बहुसत्य पद्धतिमा आधारित यस अध्ययनमा द्वितीयक स्रोतबाट प्राप्त सूचना वा तथ्यलाई ज्ञानको स्रोतका रूपमा लिइएको छ । अध्ययनबाट प्राप्त विषयगत निष्कर्षलाई मूल्यका रूपमा ग्रहण गरिएको छ । यसरी यिनै अनुसन्धान विधि र दर्शनको व्यवस्थित अध्ययन प्रक्रियाबाट अनुसन्धानका निर्दिष्ट उद्देश्य पूरा गरिएको छ ।
०००
वास्तवमा सर्वहारा तथा उत्पीडित वर्ग र समुदायको मुक्तिका लागि समाजवादी समाज हुँदै साम्यवादमा पुग्ने लक्ष्य एवं आदर्शबाट प्रेरित भएर लेखिने साहित्य मार्क्सवादी साहित्य हो । (आचार्य, २०७७ : ९५) मार्क्सवादी साहित्य मार्क्सवादको जीवन दृष्टिबाट निर्देशित साहित्य हो ।

जीवन र जगत्लाई द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणले व्याख्या गर्दै समाजको विकासक्रमलाई ऐतिहासिक भौतिकवादी चिन्तनका साथ व्याख्या र विश्लेषण गर्ने दर्शन नै मार्क्सवाद हो । यसले हरेक खाले समाजलाई वर्गीय दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्दछ । ‘मार्क्सवादले मानव समाज र सिर्जनाको वस्तुनिष्ठ एव म प्रामाणिक व्याख्या गर्नुका साथै चेतनाको स्रोतका रूपमा वस्तु वा पदार्थलाई मान्दछ’ (भट्टराई र काफ्ले, २०७७) । मार्क्सवादी साहित्यले समाजमा विद्यमान अन्याय, अत्याचार र सबै खाले विभेदको समूल अन्त्य गरेर समानतामूलक र न्यायपूर्ण समाजको निर्माण गर्ने उद्देश्य राखेको हुन्छ ।

यो सिद्धान्त सर्वथा विज्ञानसम्मत छ । ‘मार्क्सवाद मानव जीवन र जगत्को पूर्णत: भौतिक आधारमा मात्र व्याख्या नगरेर तिनलाई द्वन्द्वात्मक रूपमा सदा गतिशील एवं विकासमा ठान्ने वैज्ञानिक दर्शन हो’ (भट्ट, २०५५ : ६०८) । जीवनको सत्यलाई यसले उदाङ्गो पार्दछ ।

यस पद्धति अनुकूल सिर्जना गरिएको साहित्यले साम्यवादी व्यवस्थाको अपेक्षा राख्तछ । ‘पूँजीवादी समाज व्यवस्थाका ठाउँमा साम्यवादी व्यवस्थाको स्थापनाको लागि मार्गदर्शन गर्ने क्रान्तिकारी विश्वदृष्टि पनि हो’ (भट्ट, २०५५ : ६०८) । यो विश्वव्यापी क्रान्तिकारी पद्धति हो ।

मार्क्सवादी साहित्यले समाज रूपान्तरणको शक्तिशाली हतियार उत्पीडित वर्गको परिवर्तनकारी सोचलाई मान्दछ । हामीले लेख्ने साहित्यले समाजको विकृति पाटो सार्वजनिक गर्नुपर्छ; जनमनमा क्रान्तिचेत छर्नुपर्छ भन्ने मान्यता मार्क्सवादी साहित्यले राख्दछ । ‘साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्छ; समस्त मजदुर वर्गको अग्रदलद्वारा सञ्चालित महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनुपर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकताबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नुपर्छ’ (लेनिन, २०६३ : ४७) । यसप्रकार साहित्यले वर्गीय हित गरेर सर्वहारा वर्ग अर्थात् उत्पीडित वर्गको वर्गीय उद्देश्य पूरा गर्ने माध्यम हुनुपर्छ । त्यसरी मार्क्सवादी मान्यता अनुसार साहित्य क्रान्ति र परिवर्तनको सशक्त संवाहक हुनुपर्छ ।

कसैलाई बिनाआधार उचालेर र पछारेर मनको तुष्टि तृप्ती होला तर सही निष्कर्ष सम्भव छैन । ‘मार्क्सवादको वर्ग संङ्घर्षको सिद्धान्तलाई आधार बनाउँदै यसमाथि आक्रमण भए पनि र मार्क्सवादलाई सत्तोसराप गर्दागर्दै पनि मार्क्सवाद आज संसारकै शक्तिशाली बौद्धिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, दार्शनिक र सामाजिक विमर्श बनेको छ’ (भट्टराई, २०६९ : ३२०–३४९) सङ्घर्ष, पीडा, हिंसा र द्वन्द्व अन्त्यका लागि वर्ग सङ्घर्ष आवश्यक छ भन्ने आशय मार्क्सवादको वर्ग संङ्घर्षको सिद्धान्तले प्रकट गर्दछ ।

मार्क्सवादी साहित्यले समाजमा हुने गरेका शोषण–दमन, अन्याय–अत्याचार, यातना–प्रताडना, वर्गीय विभेदजस्ता अमानवीय व्यवहारको खुलेर बिरोध गर्छ । त्यस्ता दुष्कर्मका विरुद्ध सशक्त ढङ्गले प्रतिकार गर्नुपर्ने धारणा समेत राख्ने गछ्र्र । ‘यसले अँध्यारोका विरुद्ध उज्यालो, पुरानोका विरुद्ध नयाँ, मृतका विरुद्ध जीवित, कुरूपताका विरुद्ध सुन्दरता, पतनोन्मुखका विरुद्ध उदयोन्मुख शक्तिको पक्ष लिन्छ ।

यसले जनताको मन, मस्तिष्कमा चेतना जगाएर आफू वरिपरिको संसार बुझ्न, विश्लेषण गर्न र फेर्नका लागि शक्ति प्रदान गर्छ । त्यही नै प्रगतिवाद परिवर्तनको सिद्धान्त हो’ (बराल, २०४८ : १४) । यसप्रकार मार्क्सवादी साहित्यले समाजका कुरूप प्रवृत्ति, अधोगतिन्मुख चिन्तन, कुव्यवहार, कुपद्धति, कुप्रथा आदिको भण्डाफोर गरी त्यसको अन्त्य गरेर अग्रगामी छलाङ लगाउने कार्यलाई उत्साह प्रदान गर्दछ । यसले वर्ग विभेदकारी एवं उत्पीडनमा आधारित सम्पूर्ण सामाजिक तथा राजनीतिक संरचनाका विरुद्धमा सामाजिक चेतनाको जगाउँछ ।

यसमा आधारित साहित्यले विभेदकारी संरचनाका विरुद्ध सम्पूर्ण श्रमजीवी, किसान, मजदुर, गरीबहरूमा विद्रोहको भावना भर्ने काम गर्छ । यस्तो भावनाले मार्क्सवादी साहित्यमा आमूल परिवर्तनकारी कार्य सम्पन्न गर्ने उत्कट अपेक्षा राखेको पाइन्छ । ‘सामन्तवाद, पूँजीवाद आदि प्रतिक्रियावादी तत्त्वसँग सम्बद्ध सामाजिक, आर्थिक, राजनीतिक, नैतिक, धार्मिक, साहित्यिक रूढिहरूको विरोध गरी समाजवादको स्थापना गर्नु, साहित्यमा सामाजिक यथार्थवादलाई प्रतिष्ठित गराउनु, सामाजिक यथार्थमा आएका विकृतिहरूलाई नष्ट पारेर नवीन साहित्य र नव–मानवलाई स्थापित गर्नु, सामाजिक सत्य र समाजका विभिन्न स्तरलाई साहित्यमा प्रतिपादन गर्ने अवसर प्रदान गर्नु, वर्गसङ्घर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्नु, प्रगतिवादको मूलभूत उद्देश्य हो’ (भण्डारी, २०५५ : ४९४) । यसप्रकार समाजको विकृति नाशक अस्त्रका रूपमा मार्क्सवादी साहित्यलाई लिइन्छ ।

समाजमा हुने गरेको शोषण–दमन, अन्याय–अत्याचार र उत्पीडनका विरुद्ध सशक्तरूपले आवाज उठाउने द्वन्द्वात्मक तथा भौतिकवादी चिन्तन दृष्टिमा आधारित भएर लेखिएको साहित्य मार्क्सवादी साहित्य कहलाउँछ । ‘प्रगतिवाद मार्क्सवादी दर्शनको त्यस विशिष्ट विचारधारामा आधारित छ; जुन राजनीतिको क्षेत्रमा साम्यवाद, सामाजिक, आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद, र साहित्यमा प्रगतिवाद नामले परिचित छ । त्यसैले मार्क्सवादी वा साम्यवादी अनुशासनअनुसार साहित्य रचना गर्नु प्रगतिवाद हो’ (भण्डारी, २०५५ : ४९३) । यसरी हेर्दा प्रगतिवाद र मार्क्सवाद शब्दले समान अर्थबोध गराउने गर्दछन् ।

उत्पादन सम्बन्धले समाजको स्वरूपलाई निर्धारण गर्छ भन्ने मान्यता राख्ने यस्ता साहित्यको विषयवस्तु नै वर्गसङ्घर्षमा आधारित समाजको यथार्थ हो । यसका साथै यस्ता कला साहित्यलाई समाज रूपान्तरणको हतियारका रूपमा लिइन्छ । सामन्तवादी तथा पुँजीवादी उत्पादन सम्बन्ध तथा राज्यसत्ताका विरुद्धमा रही समाजवादी उत्पादन सम्बन्ध तथा राज्यसत्ताको निर्माणका पक्षमा रहनु यसको अभीष्ट हो’ (चापागाई, २०६७ : ६८) । द्वन्द्वात्मक तथा भौतिकवादी चिन्तन भन्नु नै मार्क्सवादी साहित्य हो । यसले पुरातन मूल्यमान्यताका रुढी र अवैज्ञानिक पक्षलाई स्वीकार गर्दैन । नवीन र वैज्ञानिक मूल्यमान्यतालाई समाजमा स्थापित गर्न खोज्दछ ।

मार्क्सवादले सर्वसाधारण जनताका तर्फबाट भएका हरेक वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र जीवन सङ्घर्षहरूले नै मानवीय जीवनका संवेदनाहरूलाई विशिष्टीकृत गर्दै मानव जीवनको हित गर्छ भन्ने मान्दछ । ‘वर्ग भनेको आम्दानी र आम्दानीका स्रोतहरूको समानता भएका मानिसहरूको समूह हो । वर्ग संघर्र्षले सर्वहारा वर्गको अधिनायकत्वतर्फ लैजान्छ । यो अधिनायकत्व स्वयं पनि वर्गहरूको उन्मूलन र वर्गहीन समाजतर्फ सङ्क्रमणसम्म मात्र रहन्छ (शर्मा एण्ड लुइटेल, २०६७ : १४५) । यसप्रकार वर्गीयद्वन्द्व भनेको समाजमा रहेका वर्गहरूका बीचमा हुने अन्तर्विरोधहरूको आपसी सङ्घर्ष अनि त्यसको दिएको पऋणाम हो ।
०००
नेपालको सन्दर्भमा मार्क्सवादी परम्पराको प्रयोग धेरै पहिलेदेखि हुँदै आएको भएपनि यसको संस्थागत विकासको सुरुआत भने त्यत्ति लामो छैन । ‘नेपालमा मार्क्सवादको प्रभाव २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना र त्यसको घोषणापत्र तथा पहिलो पर्चासँगै मार्क्सवादी सौन्दर्य चिन्तनको प्रक्रिया अगाडि बढ्यो । पार्टीले मार्क्सवाद–लेनिनवादलाई पथ प्रदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्यो र त्यो प्रगतिवादी साहित्य तथा कलामा अभिव्यक्त भयो’ (चैतन्य, २०६९ : १५) । यसरी हेर्दा कम्युनिष्ट राजनीतिको विकाससँगै मार्क्सवादी साहित्यको विकास भएको देखिन्छ ।

नेपालको परिप्रेक्ष्यमा मात्र नियाल्दा मार्क्सवादी साहित्यमा सशस्त्र द्वन्द्वले गहिरो छाप र योगदान पुर्याएको छ । हामीकहाँ विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । ‘भारतमा मार्क्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि मार्क्सवादी साहित्यलाई ‘प्रगतिवादी’ पदावली प्रयोग गरिएको छ । प्रगतिवादी साहित्यको नाममा सामाजिक दलाल पुँजीवादी प्रवृत्तिको जगजगी भएको आजको परिस्थितिमा ‘प्रगतिवादी’ जस्तो अमूर्त पदावलीभन्दा ‘मार्क्सवादी’ साहित्य प्रयोग गर्नु नै उचित हुन्छ’ (शर्मा, २०७४ : ०२) । यसरी हेर्दा पनि ‘प्रगतिवादी’ भन्नु वा ‘मार्क्सवादी’ ठान्नु एकै कुरा हो । दुवैका बीच कुनै विरोधाभाष नरहेको स्पष्ट हुन्छ । ‘मार्क्सवादी साहित्य नै प्रगतिवादी साहित्य हो’ (ढकाल, २०१२) । एउटै वृक्षलाई विविध भाषाभाषीले अनेक नामले पुकारेजस्तो मात्रै हो ।

नेपालमा २०५२ साल फागुन १बाट आरम्भ भएको सशस्त्र द्वन्द्व पुग न पुग ११ वर्षसम्म सञ्चालन भयो । ‘दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग गर्यो र नयाँ यथार्थ निर्माण गर्यो । जनयुद्ध लड्दालड्दै स्रष्टाहरू जन्मिए र स्रष्टाहरूले आफ्नो सिर्जनाबाट योद्धाहरू जन्माए । जनयुद्ध सुरु हुनुभन्दा अघि सिर्जनामा तल्लीन जनयुद्ध आह्वान गरिरहेका प्रगतिवादी स्रष्टाहरूका लागि जनयुद्धको त्याग, शौर्य, वीरता र बलिदान सिर्जनाकालका लागि नयाँनयाँ ऊर्जाहरू बने भने स्रष्टाका विविध विधाका सिर्जना युद्धका ऊर्जा बने ।’ (सुवेदी, २०७४ : ०९) यसप्रकार माओवादी सशस्त्र सङ्घर्षमा साहित्य, कला र संस्कृति र युद्ध अर्थात् हतियारका बीच सहकार्य भयो । सङ्घर्षमा लागेका स्रष्टाहरू सिर्जना गर्दागर्दै शहीद भए । स्रष्टा तथा संस्कृतिकर्मीहरू आफैँ पनि सिर्जना गर्दागर्दै सङ्घर्षमा होमिएकाले शहीद, बेपत्ता, घाइते र अङ्गभङ्ग हुने क्रम रोकिएन । यद्यपि साहित्य सिर्जनाको वेग समेत कस्तै जोरजुलुमले समेत थामिएन ।

त्यस वर्गसङ्घर्षमा सामेल हुनेहरू प्राय: नयाँनयाँ अनुभूति, अनुभव र नयाँनयाँ निर्माणसँगै सिद्धान्तको त्यत्रो व्याख्याता नभए पनि असली स्रष्टा बने । तिनले पस्केका जीवनसापेक्ष साहित्यिक अनुभूतिहरूले नेपाली समाजले नयाँ दिशा निर्माणको वातावरण बनायो । ‘जनयुद्धले निर्माण गरेका वीरता, शौर्य, त्याग र बलिदानका यथार्थ र तथ्यहरू सिर्जनाका विषय बने । स्रष्टाले गरेका त्याग, शौर्य, वीरता र बलिदानका गाथाहरू पार्टी नेता, कार्यकर्तादेखि जनतासम्म सबैका लागि सांस्कृतिक हतियार बने । यसरी जनयुद्ध स्रष्टाका लागि सिर्जना र वैचारिक ऊर्जा बन्यो भने सिर्जना जनयुद्धका लागि ऊर्जा । जनयुद्ध समग्र युद्ध भएकाले यसले विचार, राजनीति, साहित्य, कला र संस्कृति सबैतिर प्रभाव पार्यो’ (सुवेदी, २०७४ : ०९) । साहित्य सिर्जनकर्म र सांस्कृतिक फाँटमा लागेकै कारणले सयभन्दा बढी स्रष्टा/संस्कृतिकर्मीहरूले बलिदानी दिनुपर्यो ।

पुरानो विचार, सत्ता, संस्कृति, व्यवहार, आनीबानी, क्रियाकलापको ध्वंस र त्यसको ठाउँमा नयाँको निर्माण गर्ने क्रममा नयाँ सत्ता र व्यवस्था सापेक्ष साहित्य, कला र संस्कृति पनि नयाँ निर्माण हुँदै गएका छन् । यसरी नेपालमा मार्क्सवादी भन्नाले सशस्त्र द्वन्द्वकालीन विषयवस्तु उठान गर्ने सिर्जनशिलतालाई मात्रै ठान्नु गलत हुन जान्छ ।

मार्क्सवादी वर्गीय दृष्टिकोणमा आधारित भई सशस्त्र द्वन्द्वकालीन देश, काल, परिस्थितिमा कथा सिर्जना गर्ने सर्जकहरूको कथाकृति सङ्ख्यात्मक रूपले धेरै नभए पनि गुणात्मक हिसाबले गहन छन् । ‘अञ्जान विरहीका कथाहरू’ (२०५५), ऋषिराज बरालका ‘वनमान्छेको कथा’ (२०५४), ‘सैन्य उपहार’ (२०५८), ‘पैयुँ फुल्न थालेपछि’ (२०६३) र ‘बर्दी नं ३९९९’ (२०७१), गङ्गा श्रेष्ठको ‘महासमरका यात्रीहरू’ (२०५६), भास्करका ‘चोरबत्ती’ (२०५४) र ‘स्मृतिका पानाहरू’ (२०५७), सौगात आचार्यको ‘सङ्कल्प यात्रा’ (२०६६), कमल निओलका ‘नयाँ इतिहास’ (२०६३) र ‘भोको रात’ (२०६५), रोहित दाहालको ‘इस्पातले बनेका मान्छेहरू’ (२०५६), सीपी गजुरेलको ‘प्रतिरोध’ (२०६०), अशोक सुवेदीका ‘मैले रोजेको बाटो’ (२०६२) र ‘नयाँ बस्ती’ (२०६२), रामप्रसादको ‘सिसमहल’ (२०७१), सरला रेग्मीको ‘चुँडाल्दै बन्धनहरू’ (२०६३) र ‘लाल विधवा’ (२०७०), क्षितिज मगरको ‘सुनछहरीको ऐनामा’ (२०६४), नवीन विभासको ‘आधा बाटो हिँडेपछि’ (२०६३), घनश्याम ढकालका ‘आजको महाभारत’ (२०५५) र ‘शहीदको सालिक’ (२०६६), दिल साहनीको ‘खरानी गाउँ’ (२०६३), सरल सहयात्रीको ‘क्रान्तिका कथाहरू’ (२०६४), झकुप्रसाद पुनको ‘अभ्यस्त सिपाही’ (२०६२), शशिकिरणको ‘फूलमती घर फर्कनै पाइन’ (२०६१), परशुराम कोइरालाको ‘निरुत्तर’ (२०६१), हीरामणि दु:खीको ‘युद्धका कथाहरू’ (२०७०) पनि सशस्त्र द्वन्द्व र त्यस परिवेशलाई उजागर गर्ने कथाहरू सङ्ग्रहहरू हुन् ।

यिनै समकालीन कथाकार र सशस्त्र द्वन्द्वको सौन्दर्यलाई उजागर गर्ने अभीष्टले कलम चलाउने कथाकारहरूको पंक्तिमा उदयपुरे सर्जकका रूपमा पुण्य कार्कीको नाम समेत प्रतिनिधिमूलक ढङ्गले आउँछ । उनका ‘मखमली’ (२०५७), ‘मध्यरातमा’ (२०६२) र ‘जून, जुने जुनेली रात’ (२०७५) गरी तीन ओटा कथाकृतिका केही थान कथामा सशस्त्र द्वन्द्वको परिवेश र सौन्दर्य झल्कन्छ । नन्दलाल आचार्यको ‘समय शल्यक्रिया’ कथाकृतिमा समेत मार्क्सवादी सौन्दर्य चिन्तनका अतिरिक्त केही कथाहरूमा द्वन्द्वकालीन परिवेश समाविष्ट गरिएको छ । राममणि पोखरेलको विवेच्य कथाकृतिका हरेक जसो कथाहरू मार्क्सवादी सौन्दर्य चिन्तनले ओतप्रोत छन् ।

०००

राममणि पोखरेलका कथामा नेपालको सशस्त्र द्वन्द्वमा ज्यान गुमाउन पुगेका मानिसहरू र उनीहरूका घर परिवारवारजनले भोग्नुपरेको नारकीय यातनाको दर्दनाक चित्रण गरिएको छ । ‘राममणि पोखरेलले राष्ट्रले सामन्तवादी सोचलाई त्याग्न नसक्नु र नेतृत्व वर्ग पुरानै परिपाटीतर्फ उन्मुख भएकामा आलोचना गर्दै आफ्ना कथामा विरोध गरेका छन् ।’ (श्रेष्ठ : २०७५ : २८८) मुलुकमा शान्तिको वातावरण आएपछि समेत जनअपेक्षाको सत्ताधारी नेतानेतृले समुचित कदर नगर्ने प्रवृत्तिप्रति कथामा रोष व्यक्त गरिएको छ ।

सत्ता प्राप्तिका लागि निमुखा गरीबहरूको सहारा लिने वर्तमानका नेतानेतृहरूको सत्ता आरोहणसँगै जनताको धरातल नै बिर्सन पुगेका घटनाक्रमले समेत स्थान पाएका छन् । ‘राममणि पोखरेल ग्रामीण जीवनका सूक्ष्मातिसूक्ष्म कुराहरू प्रस्तुत गर्दछन् । गाउँलेहरूका पीडा, जातीय भेदभाव तथा छुवाछुत प्रथाले सिर्जना गरेका समस्या, दलित तथा सीमान्तकृत वर्गका मानिसको दुरावस्था, कृषक र कामदारहरूका सन्दर्भहरू दिएका छन् । तराईका चलेको पहाडेबिरुद्धको आन्दोलन, दश वर्षे द्वन्द्वका पऋणामलाई समेत आख्यिानीकृत गरेका छन् । राजनैतिक संस्कार र व्यङ्ग्यलाई कडा हतियार बनाएका छन् । (श्रेष्ठ : २०७५ : २८९) यिनै कारणले गर्दा क्रान्ति, परिवर्तन र रूपान्तरणका मुद्दाहरू असरल्ल फिँजिएका छन् । ‘मर्ने मरी गए बाँच्नेले गरौँ मोज’ भन्ने सिद्धान्त हाबी हुनाले जनअपेक्षा पूरा हुन नसकी पुन: विद्रोहको आवश्यकता देखिएको छ ।

कथाकार पोखरेल विगतको ऐना नियाल्ने सर्जक हुन् । ‘राममणि पोखरेलका कथामा कतै त्याग र बलिदानीको मूल्याङ्कन गर्न नजान्ने नेताहरूप्रति घोचपेच छ । कतै जनयुद्धमा आफन्त गुमाउनेहरूको व्यथा छ । तराई आन्दोलनमा घरबार गुमाउनेहरूको पीडा छ । कुनै कथा शरणार्थी समस्यासँग सम्बन्धित छन् । तराई आन्दोलनले धार्मिक र भाषिक सहिष्णुता गुमाउँदै गएको चित्रण छ । उनका कथामा पारिवारिकदेखि सीमा अतिक्रमण र शरणार्थी समस्यासँग सम्बन्धित छन् ।’ (लमजेल : २०७१ : २४) जनताको व्यथा बोल्ने काम पोखरेलका कथाले गरेका छन् ।

‘राममणि पोखरेलको उपन्यासमा मूल्यबोध गरिएको छ । जनताको मूल्यबोध असल शासन सामाजिक न्यायको अपेक्षा गरिएको छ । बहुदलीय चेतनाभन्दा माथिश्ल्लो चेतनाको अपेक्षा गरिएको छ ।’ (पोखरेल : २०७४ : २६१) ‘सुकुम्बासीका पीडा, धार्मिक कार्यक्रम, सीमा अतिक्रमण, राष्ट्र राष्ट्रियताप्रतिको चिन्तन, आदि समेट्ने प्रयास गरेका छन् कथाकार राममणिले ।’ (अभागी, सदानन्द, २०७५ : १०) ‘पढौँ, पढौँ लाग्ने गरी प्रस्तुत गर्नु कथाकार राममणिको सफलता हो ।’ (अभागी, सदानन्द, २०७५ : १०) ‘पात्रगत विविधताको उपयोग गर्नु, सरल र सहज कथा रचना गर्नु, समाजभित्र विकसित राजनीतिक, सामाजिक र सांस्कृतिक द्वन्द्वलाई अभिव्यक्त गर्नु राममणि पोखरेलको कथागत योगदान ठहरिन्छ ।’ (गुरागाईं, २०६९ : १४०) समग्रमा, राममणि पोखरेल गाउँघरलाई कथामा अँटाउँने कथाका ‘ग्रामीण शिरोमणि’ नै हुनुहुन्छ ।

+++

सन्दर्भ सामग्री सूची

  • अभागी, सदानन्द (२०७५). ‘छेदीलाल’ उदयमञ्जरी साहित्यिक त्रैमासिक. वर्ष १७. अङ्क १८. बैशाख–असार. सम्पादकद्वय राममणि पोखरेल, टीकाप्रसाद पौडेल. उदयपुर : उदयपुर साहित्य परिषद (पृ. ०९ र १०) ।
  • आचार्य, नन्दलाल (२०६९). ‘उदयपुरे साहित्यको सङ्क्षिप्त अभिरेखाङ्कन’. रूपाटार स्मारिका. मातृका पोखरेल (सम्पा.). उदयपुर : महेन्द्र–रत्न उच्च मा.वि. रूपाटार ।
  • आचार्य, नन्दलाल (२०७७). ‘प्रगतिशील साहित्यमा उदयपुरे प्रतिनिधि सर्जक र सिर्जना’ लोकमञ्जरी साहित्यिक त्रैमासिक. वर्ष २. अङ्क ९. बैशाख–असार. सम्पादक यशोदाकुमारी पोखरेल भट्टराई. उदयपुर : लोकमञ्जरी प्रकाशन । (पृ. २५)
  • आचार्य, नन्दलाल (२०७७). पुण्य कार्कीको कथाकारिता. उदयपुर : जामुनलाल स्मृति प्रतिष्ठान ।
  • ओझा, प्रेम (२०७५). ‘छेदीलालभित्र कथाकार राममणि पोखरेलको कथाकारिता’ शारदा साहित्यिक मासिक. वर्ष ५. अङ्क ८. मङ्सिर. सम्पादक विमल भौकाजी. काठमाडौँ : शारदा साहित्य मासिक (पृ. ३९–४१) ।
  • गिरी, शान्तिमाया (२०७५). नेपाली कथामा अभिघात. काठमाडौँ : शब्दार्थ प्रकाशन ।
  • गुरागाईं, टङ्कप्रसाद (२०६९). राममणि पोखरेलको कथाकारिता. अप्रकाशित स्नातकोत्तर शोधपत्र. काठमाडौँ : त्रिभूवन विश्वविद्यालय ।
  • चापागाईं, निनु (२०६७).‘मार्क्सवादी समालोचना, विधि र मापदण्ड’.मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य .घनश्याम ढकाल (सम्पा.). काठमाडौँ : अखिल नेपाल लेखक संघ ।
  • चैतन्य (२०६९). ‘नेपालमा मार्क्सवादी सौन्दर्य चिन्तन’. वेदना. वर्ष ३९, अङ्क १, पूर्णाङ्क ७६. साउन–भदौ–असोज. सङ्गीतश्रोता र प्रमोद धिताल (सम्पा.). काठमाडौँ : दिल वरदान र सुवास श्रेष्ठ ।
  • पोखरेल, डी. आर. (२०७४) नेपाली उपन्यासमा गणतान्त्रिक चेत. काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • पौडेल, हेमनाथ (२०६७, असोज–कार्तिक). प्रगतिवादी नेपाली साहित्यको थालनी र विकास. नवयुग. पृ २२ ।
  • बराल, ऋषिराज (२०४८). प्रगतिवादी नेपाली उपन्यासका मूल प्रवृत्ति, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध. काठमाडौँ : त्रिभूवन विश्वविद्यालय ।
  • भट्ट, गोविन्द (२०५५). नेपाली साहित्यकोश. ईश्वर बराल र अन्य (सम्पा.). काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • भट्टराई, रमेशप्रसाद (२०६९). मार्क्सवाद र साहित्य सिद्धान्त. भृकुटी त्रैमासिक. पूर्णाङ्क १५, बैशाख–जेठ–असार. पृ. ३२०–३४९ ।
  • भट्टराई, रमेशप्रसाद र रजनी काफ्ले (२०७७). साहित्य सिद्धान्त तथा उत्तरवर्ती समालोचना. (मुडल सामग्री). नेपाल खुला विश्वविद्यालय ।
  • भण्डारी गणेश (२०५५). नेपाली साहित्यकोश. ईश्वर बराल र अन्य (सम्पा.). काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • ढकाल, घनश्याम (२०१२). मार्क्सवादी साहित्य नै प्रगतिवादी साहित्य हो.साहित्य–गृह. सङ्गीतस्रोता(वार्ता.) .
  • लमजेल, रविमान (२०७२). सगरमाथा अञ्चलको साहित्यिक बेलीबिस्तार. तेह्रथुम : लेखक स्वय म ।
  • लेनिन, भी.आई.(२०६३).पार्टी सङ्गठन र साहित्य. राजेन्द्र मास्के (अनु.). काठमाडौं : सिर्जनशील प्रकाशन ।
  • शर्मा, अनिल (२०७४). ‘मार्क्सवादी साहित्यमा जनयुद्धको योगदान’. रातो खबर साप्ताहिक. वर्ष ३, अंक ३५, पूर्णाङ्क १३०, फागुन २ गते बुधबार. अशोकप्रसाद सुवेदी (सम्पा.). काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.लि. पृ. २ र ८ ।
  • शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६७). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
  • शर्मा, विन्दु (२०७४). समसामयिक प्रगतिवादी नेपाली कथा. (सम्पा.).मातृका पोखरेल (सं). काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • श्रेष्ठ, दयाराम (२०७५). प्रज्ञा आधुनिक नेपाली कथाकोश. (सम्पा.). काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • सुवेदी, अशोकप्रसाद (२०७४). ‘जनयुद्ध सिर्जित साहित्य : सङ्क्षिप्त विवेचना’ रातो खबर साप्ताहिक. वर्ष ३, अंक ३५, पूर्णाङ्क १३०, फागुन २ गते बुधबार. अशोकप्रसाद सुवेदी (सम्पा.). काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.लि. पृ. ९ ।

०००
–नन्दलाल आचार्य
–बेलका नगरपालिका–२, गल्फडिया, उदयपुर
मो.नं. ९८४२८२९२०६
हाल– श्रीजनता मावि, गोलबजार–४, सिरहा, नेपाल ।

२०७७ चैत्र १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *