
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि बारेको विषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद विष्णुलोकमा आइपुग्छन् ।
शेषनागमाथि बिराजमान भगवान विष्णुलाई उनी करकमल जोडी बिन्ती गर्छन् “हे कमलनयन! मृत्युलोकमा प्रभुका त्रेतायुगीन अवतार श्रीरामको जन्मभूमि विवादले उग्र रूप लिइरहेको छ। पृथ्वीलोकका हिन्दू राज्यहरू मध्ये एउटा देश श्रीरामको जन्मभूमि भारतवर्षको अयोध्यापुरीलाई मान्छ भने अर्को राज्य नेपालको ठोरीलाई मान्छ। अहिले ती दुवै देशहरू मेरो गोरुको बार्है टक्का भने झैँ श्रीरामको जन्मभूमिको विषयलाई लिएर पानी बाराबारको स्थितिसम्म पुगिसकेका छन्। प्रभुले यसको सत्यतालाई लिएर दुधको दुध पानीको पानी पारेर मेरो मनको जिज्ञासालाई शान्त पारिदिनु भए यो भक्त कृतज्ञ हुने थियो।”
आफ्ना परमभक्त नारदको कुरा सुनेर भगवान विष्णुले मुसुक्क हाँस्दै भन्नुभयो “हे त्रिलोक बिहारी नारद! तिमीलाई थाहा नभएको कुरा यो त्रिभूवनमा के छ र ? मेरै मुखारविन्दबाट सुन्न चाहन्छौ भने सुन म तिम्रो कौतुहलतालाई शान्त परिदिन्छु। मेरो रामावतारको जन्मभूमि मेरै देशमा छ भनेर दावी गर्ने दुवै देशका प्रधानमन्त्रीहरू दुवैजना मेरा परमभक्त हुन्। म आरध्य देवले आफ्ना भक्तहरुको दिल दुखाउनु भनेको दैवी नियमको उल्लंघन गर्नु हो। मैले राम जन्मभूमि अयोध्या होभन्दा नेपालका प्रधानमन्त्रीको आस्थामा चोट पुग्ने अनि ठोरी होभन्दा भारतका प्रधानमन्त्रीलाई आघात पर्ने हुँदा म मौन बस्न बाध्यकारी छु।”
“नारायण नारायण! प्रभुको लीला अपरम्पार छ” भन्दै आफ्नो ठाडो टुप्पी मुसार्छन् । “हे पालनहारक ! अब यो हजुरको दास यी दुई हिन्दू देशहरुको आपसी मतभेद निर्मुल पार्ने उपाय प्रभुबाटै श्रवण गर्न चाहन्छ।”
नारदको प्रस्ताव सुनेर छेउमै बसेकी प्रभुकी अर्धाङ्गिनी एवम धनकी देवी लक्ष्मी, भगवानको सेवक शेषनाग र समिपमै हरबखत खडा भैरहने विष्णुदेवका बाहन गरुडले पनि नारदजीका प्रस्तावमा चासो लिन्छन्। राम जन्मभूमिको सत्यता उजागरमा सबैको भरोसा आफूमाथि भएको बुझेर भगवान विष्णु केही क्षणको लागि आँखा चिम्लेर ध्यानमग्न हुन्छन्।
ध्यानपश्चात विष्णु भगवानले आँखा खोल्ने बित्तिकै प्रसन्न मुद्रामा नारद ऋषीलाई आज्ञा दिन्छन् “हे मेरा परमभक्त नारद ! तिम्रो कौतुहलताको समाधानार्थ तिमी पृथ्वीलोकमा जाऊ र दशरथपुत्र श्रीरामको जन्मभूमिबारे सप्रमाण सत्यता छानबीन गरेर बार्ताद्वारा मेरा दुवै भक्तहरुको चित्त बुझाएर आऊ।”
आफ्ना आरध्य देव विष्णुको आज्ञा पाउने बित्तिकै धोती सुर्किदै नारद विष्णुलोकबाट अन्र्तध्यान हुन्छन्।
भगवान विष्णुका आज्ञाले राम जन्मभूमि छिनफान परियोजना समापन गर्नका लागि बिना बिभागीय मन्त्री झैं सम्पूर्ण लोक बिहार गरिरहने देवर्षि नारद पृथ्वीमा पदार्पण गर्छन्। पृथ्वीलोकमा टेकेपछि पहिला कता जाने भन्ने कुराले उनी रनभुल्लमा पर्छन्। ध्यानद्रृष्टिले हेर्दा पहिला भारत नै जानुपर्छ भन्ने लागेर उनी भारतका प्रधानमन्त्रीसँग बार्ता गर्नका लागि सिधै दिल्लीतिर हानिन्छन्। गेरू बस्त्र धारण गरेका, हातमा एकतारे बोकेका, गलामा रुद्राक्षका माला लगाएका र एन्टिना झैँ ठाडो टुप्पी पालेका अलौकिक तामझामका नारदले आफूलाई भेट्न आएको देखेर प्रथमतः प्रधानमन्त्रीज्यू अलमल्ल पर्छन्। नारदले आफ्नो परिचय र आफ्नो परियोजनाबारे बेलिबिस्तार लगाएपछि प्रधानमन्त्रीज्यूले उनीलाई बडो आदरका साथ दिल्ली दरबारको अति बिशिस्ट कक्षमा लैजान्छन्।

मन्त्रीगण, धर्मगुरु, साधु–सन्त, नायक–नायिका र उच्च ओहदाका व्यक्ति सहितको उपस्थितिमा प्रधानमन्त्रीज्यूले नारदको स्वागतमा भित्तामा रामायणका झलक झल्काउने चित्रहरुका साथै भित्ते पर्दामा अयोध्या नगरीमा श्रीरामका बालकाण्ड बर्णित चलचित्र देखिने कक्षमा रात्रिभोजको आयोजना गर्छन्। रात्रिभोजमा रम्भा र उर्वसी झैँ लाग्ने बलिउड नायिकाहरुको नृत्य, साधुसन्तहरुद्वारा रामलीला मञ्चन, धर्मगुरूहरुद्वारा रामचरित्र सम्बन्धी प्रवचन आदिको प्रस्तुतिमा नारद आनन्दबिभोर हुन्छन् । अन्त्यमा राज्यको तर्फबाट नारदलाई अभिनन्दन गरिनुको साथै स्वर्णपत्रमा लेखिएको रामायण सहित थुप्रै उपहारहरू दिइन्छ। प्रमाणको रुपमा भारतवर्षको आतिथ्य सत्कार र रामभक्तिमय कृत्यहरू देख्दा नारदलाई श्रीरामको जन्म पक्कै पनि भारतवर्षको अयोध्यापुरीमै भएको हुनुपर्छ भन्ने लाग्छ।
रात्रिभोजको अन्त्यतिर लघुशंका निवारण हेतु हातमा उपहार दिइएको रामायण बोकेर पाईखानामा पसेका दैवी शक्तियुक्त नारद त्यहीं अन्र्तध्यान हुन्छन् र सिधै अयोध्यापुरी पुग्छन्। पाईखाना गएका नारद अचानक गायव भएपछि दिल्ली दरबारमा हल्ला खल्ला मच्चिन्छ। दैवी शक्तियुक्त ऋृषिवर पक्कै पनि अयोध्यापुरी गए होलान् भन्ने अनुमान लगाएर उनीलाई खोज्न मुख्य सचिवको नेतृत्वमा कमान्डो सहितको सरकारी टोली अयोध्यातिर हानिन्छ। टोली अयोध्या पुगेपछि नारद मुनिको यत्रतत्र खोजी गरिन्छ र अन्त्यमा मुनिवरलाई रामको मूर्ति छेउमै बसेर एकतारे बजाउँदै रामभक्ति अनुष्ठानमा ब्यग्र भएको माहौलमा भेटिन्छ। मुनिवरलाई टोलीले साष्टाँग प्रणाम गर्दै उनीको सेवाको खातिर बिनम्रतापूर्वक अनूनय गर्छ। मुनिवरले अर्को विवादास्पद राम जन्मभूमि नेपालको ठोरी भ्रमण गर्ने इच्छा जाहेर गर्छन्।
मुनिवरको इच्छाबोधक आज्ञाले भारतीय टोली ससत्कार उनीलाई उच्च सुरक्षा दिदै अयोध्या टू ठोरी एक्स्प्रेस नामक एउटा विशेष बसमा सवार गराएर ठोरीको लागि प्रस्थान गर्छ र उनीलाई पुर्याएर फर्कन्छ। अयोध्यापुरीको प्रत्येक्ष अवलोकन र भारतीयहरुले गरेको खातिरदारीले प्रभावित भएर उनीलाई पुर्याएर फर्कन लागेको टोलीलाई नारदले राम जन्मभूमि अन्य कतै नभई भारतमै भएको आफूलाई विश्वास लागेको बताउँछन्।
अलौकिक हुलियाका नारद ऋषिलाई देखेर ठोरीबासीहरू रनभुल्लमा पर्छन्। कोहीले उनीलाई चोर ठान्छन् त कोहीले उनीलाई सिआईडी भएको अड्कलबाजी गर्छन् भने कसैले उनीलाई ढोंगी र ठग ठान्छन् । उनीको उपस्थितिले ठोरीमा सानोतिनो हलचल नै मच्चिन्छ फलस्वरुप उनीबारेको सत्य तथ्य बुझ्न प्रहरीहरू नै आउनुपर्ने बाध्यता बन्छ। प्रहरीको केरकारपछि नारदले हँसिलो मुद्रामा आफ्नो परिचय र उनको पृथ्वीलोकमा आउनुपर्ने कारणबारे बेलिबिस्तार लगाउँछन्।
नारदको ठोरी यात्राको खबर नेपालका प्रधानमन्त्रीको कानमा पर्छ। नारदजीलाई स्वागत गर्न प्रधानमन्त्रीज्यू दलबल सहित हेलिकोप्टर चढेर ठोरी पुग्छन्। ठोरीमा प्रभु भजनमा ब्यग्र भएका नारदलाई भेटेर प्रधानमन्त्रीज्यूले साष्टांग नमन गर्दै ऋृषिजीलाई स्वागतार्थ गुराँसको गुच्छा अर्पण गर्दै उनीको गलामा नेपाली पस्मिनाको खादा लगाइदिन्छन् र ऋृषिजीको नेपाल भूमिमा अचानक पाउकस्ट भएको बारेमा जिज्ञासा व्यक्त गर्छन्। मुनिजीले विवादास्पद राम जन्मभूमिको निक्र्योल गर्न आफू भारत र नेपाल आउनुपरेको कुरा प्रधानमन्त्रीजीलाई बताउँछन्। दुई दिनको ठोरी बसाईपछि भारतीय प्रधानमन्त्रीले झैं नेपालका प्रधानमन्त्रीले पनि नारदलाई बिनम्रतापूर्वक थप सेवा र खातिरदारीको लागि जिकिर गर्छन्। मुनिवरले पनि पृथ्वीमा टेकेको बेला पशुपतिनाथको दर्शन नगरी फिरे भोले बाबाको अपमान हुन्छ भन्ने ठानी काठमाडौं जाने इच्छा व्यक्त गर्छन्।
नारदजीलाई ठोरीबाट काठमाडौंसम्म हेलिकप्टरद्वारा ल्याइन्छ। पहिला पाईलटबिहीन पुष्पक बिमान चढेका नारदजी पृथ्वीलोकको बिमानमा सएर गर्न पाउँदा निकै हर्षित देखिन्छन् । चीनका राष्ट्रपति नेपाल आएको बेलाभन्दा दश गुणा बढी सिंगारिएको काठमाडौं नारदजीको स्वागतार्थ काठमाडौं बेहुली झैं सिंगारिएको छ। खनेर छोडेको हिले बाटो रातारात पिच हुन्छन्। ठाउँ ठाउँमा देवर्षि नारदका पोस्टर टाँगिन्छन् अनि बिजुलीका पोलहरुमा नारद मुनि जिन्दावाद, नारद–नेपाली भाइ–भाइ, सीता नेपालकी छोरी–राम जन्मभूमि हाम्रै ठोरी लेखिएका तुल र ब्यानरहरू टाँगिएका छन्।
नारद चढेको हेलिकप्टर त्रिभूवन बिमानस्थलमा अवतरण हुने बित्तिक्कै उनीको स्वागतार्थ रामलीला झल्काउने झाँकी र हरेराम भजनको कर्तल ध्वनिको बीचमा पञ्चकन्याद्वारा पुष्प गुच्छार्पण र पन्डितहरुद्वारा स्वास्ती वाचन गरिन्छ। अरु बेला भागवन्डा र लुछातानीको राजनीति गर्ने राजनैतिक दलका नेताहरू पनि मिलिझुली नारदजीको स्वागत गर्न बिमानस्ठलको अति बिशिस्ट कक्षमा तँछाड–मछाड गर्दै आउँछन्। नेपाल टेलिभिजनले ब्रेकिङ न्युजमा नारदजीको नेपाल आगमनको समाचार दिन्छ। काठमाडौं नारदमय देखिन्छ।
मन्त्रिस्तरीय आकस्मिक बैठकले नारदजीलाई अभिनन्दन गर्ने निर्णय गर्छ। नेपाल सेनाको बग्गी चढाई मुनिवरलाई काठमाडौंको रिङ्गरोड घुमाएर टुँडिखेलमा बिराजमान गराई लाखौं जनताको उपस्थितिमा अभिनन्दन गरिन्छ र मुनिश्रेष्ठको सम्मानमा होटेल सोल्टीमा रात्रिभोजको आयोजना गरिन्छ। उनीलाई भोजन कक्षको भित्तामा टाँगिएको पर्दामा प्रोजेक्टरद्वारा सिता–राम विवाह, ठोरीको महिमा झल्काउने वृत्तचित्र आदिद्वारा मनोरञ्जन प्रदान गरिन्छ। भव्य रात्रिभोजमा अरुले बिर्यानी र कक्टेल दङ्क्याए पनि मुनिजी चाहिँ निराहार नै बसिरहन्छन्।
प्रधानमन्त्रीज्यूको उखान टुक्का जडित लामो करकापपछि बल्ल बल्ल नारदजी गुन्द्रुकको अचार र मार्सी चामलको भात ग्रहण गर्न राजी हुन्छन्। नारदजीलाई प्रधानमन्त्रीको बरद बाहुलीबाट उपहार स्वरुप एउटा सुनको श्रीराम अङ्कित धनुष प्रदान गरिन्छ र भोजको अन्तिमतिर आफ्नो मन्तव्य व्यक्त गर्न आग्रह गरिन्छ। मन्तव्यमा उनी आफू श्रीराममय ठोरी नगरी र सम्पूर्ण रामभक्त नेपाली जनताको आतिथ्य सत्कारमा बेहद खुशी भएको र उनका आरध्यदेव विष्णुका अवतार प्रभु श्रीराम पुण्यभूमि ठोरीमा जन्मेको कुरा दुई मत हुन नसक्ने बताउँछन्।
मुनिवरको पाँचतारे होटलमा गरेको भोजनले गर्दा पेटकट्टी हुन्छ र उनी हतार हतार भारतीय र नेपाली भूमिले प्रदान गरेका उपहारहरू बोकेर पाइखानाभित्र पस्छन् र त्यहीम्बाट अन्तध्र्यान भएर विष्णुलोक पुग्छन् र त्यहाँ पुगेपछि भगवान विष्णुले नारदलाई “पृथ्वीलोकमा भएको राम जन्मभूमि विवाद मिलाएर आयौ त नारद!” भनेर सोध्नुहुन्छ।
नारदले “प्रभु! मैले दुवै मुलुक राममय र दुवै मुलुकबासीहरू भगवान रामका परम्भक्त भएको पाएँ। तिनीहरुको मप्रतिको खातिरदारी देखेर मैले आत्मैदेखि म भारतवर्षमा रहँदा भारतीयहरुलाई राम जन्मभूमि अयोध्या नै हो भन्दिएँ र नेपालमा रहँदा नेपालीहरुलाई ठोरी नै हो भनी ठोकुवा गरिदिएँ।”
आफ्ना परम्भक्त नारदको कुरा सुनेर त्रिकालदर्शी भगवान विष्णु मुसुक्क हाँस्दै नारदलाई भन्नुहुन्छ “हे नारद! जता मल्खु उतै ढल्कु भने झैं जता गयो उतै ठिक्क हुने तिम्रो बानीले गर्दा अब उप्रान्त त्यस्ता द्वैध चरित्रका मनुस्यलाई अबदेखी त्रिभूवनभरी नारद विशेषणले पुकारीने छ यही तिमीले गरेको कर्मको दण्ड भयो।”
श्राप भनौं कि विशेषण, अहिले पनि यो लोकमा दुईजीव्रे मानिसलाई ‘नारद’ को उपमा दिने गरिन्छ।
इति
–राजेश अधिकारी
