क्रान्तिको गँडासी

  • by


ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय। म पनि नामपछि उपाध्याय नै लेख्थेँ। ऊ आफ्नो थर पौडेल लेख्दैनथ्यो। म पनि पोखरेल लेख्दिनथेँ। हामी दुई अरू पनि कतिपय कुरामा मिलेकै थियौँ। ऊ विश्रामपुरको पन्ध्र-बीस बिगाहा खेतबारी भएको सम्पन्नको सन्तान थियो। म पनि लगभग त्यति नै खेतबारीको जोरजाम भएको किसानको पुत्र थिएँ। मैले गाउँकै मिडिल स्कूलमा सात कक्षा सकेर कलैया बजारको हाईस्कूल पढ्न पाएको थिएँ, जहाँ हाम्रो पहिलो भेट भएको थियो।

त्यो दिन सेतो कमिज, पाइजामा र बाटाको चप्पलमा थिएँ म। आमाले कपालमा तोरीको तेल पनि मार दलिदिनुभएको थियो, आँखा पोल्ने गरी। नयाँ स्कूलको त्यो मेरो पहिलो दिन थियो। त्यो दिन रघुराम पनि म जस्तै भएर आएको थियो। कमिज, पाइजामा, चप्पल मेरै जस्ता। तर, हाम्रो परिचय कक्षामा हैन, बँगरी खोलामा भयो। सुकेको खरै खरले भरिएको विशाल रखाँतको गोरेटोमा ऊ अघि-अघि म पछि-पछि थिएँ। त्यस दिन त्यै खोलो तर्न लाग्दा हाम्रो परिचय भयो। हामी स्कूल छुटेपछि घर फर्कंदा त्यो खोलोसम्म सँगै हुन्थ्यौँ। हामीले निरन्तर चार वर्ष यसो गर्‍यौँ। काठमाडौं आएपछि एउटै डेरामा त बसेका थिएनौँ, तर कलेज चाहिँ एउटै थियो। म अङ्ग्रेजी मेजर लिएर पढ्न थालेँ, ऊ नेपाली र इतिहास। दशैँ र अरू लामो बिदामा सँगै घर फर्कन्थ्यौँ।

ऊ बिए पास गरेर गाउँ फर्क्यो। मैले एमएसम्म पढेँ। एमएले मलाई काठमाडौंमा राख्यो, लेक्चररको रूपमा। मलाई गुरु भइरहन मन थिएन। त्यसकारण लोकसेवाको जाँचमा भिडेँ। तर, विद्यार्थी जीवनभर कहिल्यै फेल नभएको म त्यसपछि फेल भइरहेँ। अहिले त रिडर छु। बेला-बेला दश/आठ दिनका लागि गाउँ आएर दाल, चामल, आलु प्याज र गेडागुडीका केही बोरा लिएर फर्कन्छु। आफ्नो भागको चार-पाँच बिगाहा खेतबारी केशरवा धानुक र विलायत खानले अधियाँमा कमाउँछन्। गाउँ आएको बेला म रघुरामलाई भेट्न विश्रामपुर जान्थेँ। रहु माछा र धनियाँको चोखासँग दुधिया (रक्सी) पिउँदै ऊसँग घण्टौँ गफिन्थेँ।

वास्तवमा बिए पास गरेर गाउँ आएपछि उसको मोहको दुनियाँ बदलियो। ऊ आफ्नो अंशको खेतबारी, गोरु, गाडा, कुकुर, परेवा, भैंसीकै धन्दा र मायामा व्यस्त भइरह्यो। उसको दुनियाँ गाउँकै चौहद्दीमा घेरियो।
“गैल तोहर बिए पानी मे!” म उसलाई भन्थें।

“ठीकबा, तोहर रहो तेल मे!”
तर, हाम्रो जीवन न पानीमा थियो, न तेलमा। यथार्थमा हामी आ-आफ्नो सोचमा बाँचेका थियौँ। तेल र पानी त एकअर्कालाई जिस्क्याउने तुक्के प्रसङ्ग मात्र थिए।

पढाइमा रघुराम मभन्दा सुस्त मानिन्थ्यो। हिसाबमा चाहिँ हाम्रो स्तर समान थियो। एसएलसी परीक्षामा हामीले जमेर हिसाब चोरेका थियौँ। नत्र हामीले पासको मुख देख्ने थिएनौँ। रघुरामले त अङ्ग्रेजी र साइन्स पनि चोरेरै पास गरेको थियो। तिनताक हाम्रो जिल्लाको एसएलसी सेन्टरहरूमा चोरी उत्सव नै हुन्थ्यो। चोराउन घरपरिवार, मास्टर, साथीभाइ, नातागोता, छरछिमेकी सबै क्षमता अनुसार आ-आफ्नो क्षेत्रबाट लागेका हुन्थे। जाँच शुरु भएको एकमिनेटमै गार्डहरू प्रश्नपत्र लिक गर्थे। चोराउन खटिएका अभिभावकदेखि इष्टमित्रहरू ती प्रश्नपत्र हारालुछ गर्दै नाका-नाकामा राखिएका भाडाका विशेषज्ञ मास्टरहरूकहाँ उत्तर लेखाउन कुदाउँथे। र, त्यही रफ्तारमा उत्तर लेखाएर परीक्षा हलमा टोलाइरहेका आ-आफ्ना परीक्षार्थीकहाँ पुर्‍याउने काम हुन्थ्यो।

परीक्षा हलबाहिर परीक्षार्थीभन्दा चोराउन खटिएका कार्यकर्ता बढी हुन्थे। बाहिर गडीमाई मेलाको जस्तो भीड लागेको देखिन्थ्यो। परीक्षासँग कुनै खालको सरोकार नहुनेहरू पनि चोरीको रमिता हेर्न परीक्षा केन्द्रको चारैतिर जम्मा हुन्थे। चना, चट्पटे र बरफ बेच्ने खोम्चावालदेखि घुम्ती पान बेचुवासम्मको व्यापार सप्रन्थ्यो, त्यहाँ। जाँच सकेर चौरमा आएपछि विद्यार्थीहरूबीच कसले कति चिट चोर्न भ्यायो, खल्तीमा हालेर लगेको किताबका पाना के कति काम लाग्यो भन्ने गरम चर्चा चल्थ्यो। अभिभावकहरू आफूले पठाएका चिटहरू सार्न भ्याए/नभ्याएको बारे आ-आफ्ना परीक्षार्थी छोराछोरी, भाइबहिनी, ज्वाईं-सालाहरूलाई केरकार गर्न थाल्थे।

त्यति गर्दा पनि सबै पास हुँदैनथे। फेल हुनेहरूका बाउआमा, दाजुभाइ, मामा, भान्जा, काका, मीत, ससुरा, भिनाजु आफूहरूले बाहिरबाट त्यतिका चिट पठाइदिँदा पनि सार्न नसकेको भन्दै खूब गाली गर्थे। पास हुनेलाई राम्रोसँग चोर्न सकेकोमा खूब सह्राउँथे। हामीलाई पनि घरका र गाउँलेहरूले त्यही हिसाबले खुब सराहना गरेका थिए। तर, कलेजमा हामीले चोरेनौं। मैले त आईएदेखि एमएसम्म पूरै गरेँ। ऊ पनि बिएसम्मको सफलताको लागि यस्तै दाबी गर्थ्यो।

गाउँ फर्केपछि उसलाई खेतीबाहेक मास्टरीमा पनि लाग्न धेरैले सुझाएका थिए।
“गाउँनजिकको सोराहीँको स्कूलमा पढाउन थाल, सेवा भि होई मेवा भि मिली”, मैले पनि भनेको थिएँ। उसका घरकाहरूको पनि यही माग थियो।

“सेवा खेत के करम मेवा उहीँ से मिली”, ऊ भन्थ्यो।
“मास्टरी के भि मेवा जेव मे आई, ‘मे हर्ज का?”
“हमरा हल, कुदाल हि ठीक बा।”

“अरे गावँ के लगे स्कूल बा, खेती भि होत रही, मास्टरी भि चल्ते रही। एमे का हर्ज बा रघु?”
“हर्ज हो ना हो हमरा करे के नैखे मास्टरी।”
“गैल तोहर बिए पानी मे…!” अन्त्यमा म भन्थेँ।

स्कूलका भुरा नपढाए पनि उसले गाउँलेलाई बेलाबखत विभिन्न विषयको ज्ञान दिने काम भने गर्थ्यो। तिनलाई ऊ देश-विदेशका रमाइला कन्थो सुनाउँथ्यो। ऊ गाउँलेका लागि औषधिमुलोदेखि देश-विदेशको अनेक ज्ञान दिने जानिफकार थियो। ऊ कम्युनिष्ट के हो? प्रजातन्त्र भनेको के हो? अमेरिकामा के नीति छ? भारतको राजनीतिक प्रणाली के हो? राजतन्त्र भए पनि बेलायत र जापानलाई किन प्रजातान्त्रिक देश भनिन्छ? चीनमा विकास भए पनि किन स्वतन्त्रता छैन भन्ने जस्ता अनेक खुल्दुली मेटाइदिन्थ्यो। गाउँलेले चाहिँ ऊ काङ्ग्रेस, कम्युनिष्ट के हो भनेर छुट्याउन सकेका थिएनन्। ऊ बीपी र मदन भण्डारीको उत्तिकै प्रशंसा गर्थ्यो।

उसका गाउँमा पनि केही पठित, अल्पपठित युवा मा’वादी कार्यकर्ता बनेका थिए। तिनलाई रघुरामले बीपी र मदन भण्डारीको प्रशंसा गरेको फुट्टी मन पर्दैनथ्यो। कुनै-कुनै बेला ऊ जनयुद्धको पनि प्रशंसा गर्थ्यो। कुनै बेला घोर निन्दा गर्थ्यो। ऊ आफ्नो भावुक सहानुभूति जता पनि पुर्‍याइरहन्थ्यो। शायद त्यसैले ऊ मारियो। देशका अखबारहरूमा उसको बीभत्स लासको फोटो छापिएको थियो। मैले दोहोर्‍याएर हेर्न सकिनँ। उसको हत्याबाट गाउँ निकै कामेको थियो। तर, हत्यामा संलग्नहरूको धम्कीका कारण गाउँले चुईंक्कसम्म गर्न सकेका थिएनन्। जङ्गलबाट चार दिनपछि उसको लास ल्याइएको थियो। बँगरीमा उसलाई जलाउँदा परिवार र निकट छिमेकीका केहीबाहेक अरू जान डराएका थिए। उसलाई अगाध प्रेम गर्नेहरू पनि शोकमा सामेल हुन कामेका थिए।

उसले जिल्लाका विभिन्न कार्यालयका हाकिमहरूको ज्यान जोगाएको सुराक पाएर मा’वादीहरूले भालाले उनेर गँडासीले टुक्रा पारेका रहेछन्। मधुवनबाट उसका टुक्राहरू बटुलेर बँगरीमा ल्याइएको थियो।

उसलाई त्यसरी टुक्र्याउनुभन्दा केही साता अगाडि जिल्लाका न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, पन्जिकाधिकारी, मालपोत अधिकारी, हुलाक अधिकृत, जिल्ला शिक्षा अधिकारी, भूमिसुधार अधिकारी आदिको क्वार्टर-क्वार्टरमा एकसाथ आक्रमण गर्ने मा’वादी योजना रहेको हल्ला चलिरहेको थियो। छिमेकी जिल्लाहरूमा त्यस किसिमको आक्रमण भइसकेका थिए। अब पालो त्यै जिल्लाको भन्ने हल्लाले जिल्लाका अधिकृतहरू भयङ्कर आतङ्कित थिए। उनीहरू क्वार्टरमा सुत्न छाडे भन्ने हल्ला जिल्लाभर व्यापक भइरहेको थियो। ती कहाँ रात बिताउँछन्, कसैलाई थाहा थिएन। साँझ् पर्दै गएपछि उनीहरू गोप्य घरको गोप्य बैठक कोठामा भेला भएर तास खेल्दै सेकुवा र भुजियासँग जाँडपानी पिउँथे। बिहान राम्रोसँग उज्यालो नहुँदै आ-आफ्नो सरकारी निवास फर्कन्थे। केही दिनपछि मा’वादीले यो कुरा थाहा पाए। अब उनीहरू पुरानो सत्ताका प्यादाहरूलाई एकै थलोमा सिध्याउने योजना बनाउन थाले।

विश्रामपुर सदरमुकामसँगै जोडिएको गाउँ थियो। सदरमुकाम हान्ने मा’वादी मुकाम पनि त्यही गाउँ बन्यो। मा’वादीहरूको योजना रघुरामको कानमा पनि पर्‍यो। गाउँकै मा’वादी कार्यकर्ता बिसनदेव बैठाका बाबु हरदेव अरू चारपाँच गाउँलेसँगै रघुरामको आँगनमा गफिँदै घुर ताप्दै थिए। घुरमा हात सेक्दै गरेका हरदेव अरू कुन बेला उठेर हिँड्लान् र रघुलाई कुरा सुनाउँला भनेर बसिरहेको थियो। केही क्षणपछि त्यस्तो मौका पाएका उनले मा’वादीका कुरा सुनाउँदै भन्यो, “अरे, पण्डितजी मा’वादी सन के योजना यैसन, यैसन बा!”

त्यसपछि उठेर हिँड्दाहिँड्दै उसले हिदायत पनि दिएको थियोः “यी वात अपने मे हि रखम पण्डितजी।”

“होई।”

तर, उसले होईको पालन गरेन। र; काटियो, टुक्रियो।

विश्रामपुरको पल्लो टोलामा थियो रघुरामको घर। घुर ताप्दै देश-विदेशका रमाइला, मीठा र ज्ञानगुनका कुरा पनि सुन्न पाइने लोभले टोलाका किसानहरू राति रघुरामको आँगनमा भेला हुन्थे। गर्मीमा पनि उनीहरू रघुरामको ‘सारामा थुप्रिरहन्थे। रघुराम तिनलाई ज्ञानको भण्डार खोलेर पुलकित र ताज्जुब पारिरहन्थ्यो।

त्यो रात हरदेवले लुँगी पछाडिको परालको त्यान्द्रो र धूलो झ्ार्दै फेरि उसलाई अलि अगाडि सुनाएको त्यै कुरोको हिदायत दिँदै भनेको थियो “ऊ वात अपने पेट से नानिकालम पण्डितजी।”

“होई।”

तर, उसले होईको पालना गरेन। ऊ मधुवनको जङ्गलसम्म घिसारियो। उसको पेटमा भाला रोपियो अनि गँडासीले टुक्र्याइयो। उसका तिनै टुक्राहरू बँगरीमा ल्याइएको थियो। ऊ टुक्रा टुक्रामा डढेको थियो। उसको टुक्राको स्मृतिले गाउँलाई अहिले पनि हल्लाउँछ।

हरदेव हिँडेको केहीबेरपछि आकाशका ताराहरूको अवस्थिति हेर्दै ऊ पनि घरभित्र पसेको थियो। घुर छेउमा दुई कुकुरमात्र गुँडुल्किएका थिए। ‘छ्यानमा पल्टेपछि ऊ ती अधिकृतहरूलाई बचाउनुपर्छ, अनाहकमा मारिनुहुन्न भन्ने सोच्दैथियो। मा’वादी योजनामुताविक ती मारिए भने आफूले जीवनभर मानसिक पीडा बोक्नुपर्छ भन्ने कुरामा उसको मन फनफनी घुमिरहेको थियो। तिनलाई बचाउन पाए राम्रो हुन्थ्यो भन्ने सोच्दै ऊ आँखाको डिलमा आइरहेको निद्रा भगाइरहेको थियो। राति ‘छ्यानमा उसले जे सोचेको थियो भोलिपल्ट त्यै गर्‍यो। उसले गाउँकै खरिदार कपिलदेव महतोलाई त्यो कुरा हाकिमलाई सुनाएर बचा भन्दै सब व्यहोरा सुनायो।

कपिलदेवले आफ्नो मालपोत कार्यालयका प्रमुखलाई सब सुनाएछ। आतङ्कित मालपोत अधिकृतले भूमिसुधार अधिकारीलाई सुनाएछ। भूमिसुधार अधिकारीले जिल्ला शिक्षा अधिकारीलाई र उसले प्रमुख जिल्ला अधिकारीलाई सुनाएछ। आक्रमणको रात मा’वादी फौजले त्यो गोप्य घरको गोप्य बैठकमा ह्विस्की-बियरका बोतल, सेकुवाका हाड र चुरोटका ठुटाहरू मात्र भेटे। त्यसपछि क्रूद्ध मा’वादीले अनुसन्धान थाले, रघुलाई अपहरण गरेर मधुवन पुर्‍याए। भालाले रोपे, गँडासीले टुक्र्याए। उसका तिनै टुक्राहरू जोडेर बँगरीमा सद्गति भयो।

“गैल तोहर बीए पानी मे!”

बेला-बेला म बर्बराउँछु। मलाई उसको स्वभावबारे थकथक लागिरहन्छ।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *