उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो। बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन। घरमा आमाबाबुको न्यानो अँगालोमा सुतेको भन्दा फरक थिएन उसको यो सुताइ।
ऊ बालकलाई हेर्दै तनावग्रस्त बनिरहेको थियो। उसले यो बालकलाई आज बिहानमात्र नेपालगञ्जबाट उठाएर भारतको नानपारामा ल्याइपुर्याएको थियो। उसले बालकको बाबुलाई फोनबाट रु.१० लाख मागिसकेको छ।
उसले बालकको अनुहारमा दृष्टिपात गर्दै कल्पना गर्यो, दश लाख रुपैयाँ हात परेपछि ऊ के-के गर्नेछ? उसको मनमा साथी रङ्घुको जस्तै अनौठा विचारहरू आए। बहराइच जिल्लाको शातिर अपराधी रङ्घु प्रायः भन्ने गर्थ्याे, “जिन्दगीमा मस्ती गर्ने मन छ भने डन बन्नुपर्छ। डनले शक्ति, पैसा र सुन्दर लड्की पाउँछ। यी तीन कुराले जिन्दगीलाई रुपैडिहाको फोहोर गल्लीबाट उठाएर मुम्बईको आलिशान होटलमा पुर्याइदिनेछन्।”
उसको आँखा अगाडि दश लाखका नोटहरू नाँचे। ऊ कल्पना गर्न थाल्यो, ऊ अहिले आफ्नी स्वास्नी र छोरासहित रेलको डिब्बामा छ। उनीहरू मुम्बई हान्निँदै छन्। डबलुवा आमाको काखमा पल्टिरहेको छ। दश लाख नोट भएको पोको उसको सिरानमा छ। उसकी स्वास्नी कहिले आफ्नो छोरो त कहिले नोटको पोकोलाई मुसार्दै मुस्कुराइरहेकी छे। स्वास्नीलाई हेर्दै ऊ भनिरहेको छ, “… अब त्वार मर्द मुम्बईके डन होइगा।”
अचानक मोबाइल फोनको घण्टी बज्यो।
“हजुर हामीले घर-पसल बन्धकी राखेर रकम जुटाउँदैछौं। हामी गरीब छौं, पाँचलाखसम्म गरिदिनुहोस् हजुर!” उताबाट बालकको बाबु कारुणिक स्वरमा बिन्ती बिसाइरहेको थियो।
“पाँच लाखमा त छोरोका लाश पनि पाउन्नस्!” भगवानदिनले चेतावनी दियो।
“त्यसो नभन्नुस् हजुर! हामी गरीब, यत्रो पैसा कहाँबाट ल्याउँक?” सुशान्तको बाबु फोनमै क्वाँ-क्वाँ रुन थाल्यो।
“भरे साँझ् आठ बजे मलाई सम्पर्क गर्नु।”
ऊ मोबाइलको स्विच अफ गरेर कल्पना गर्न थाल्यो- फिरौती पाएपछि यो बालकलाई के गर्ने? यसलाई यही नानपाराको कुनै गल्लीमा छोडेर लखिमपुरखिरीतिर छड्किनुपर्ला ।
बालक चलमलायो।
“भगवानदिन चाचा म घर जान्छु।”
“अझ्ै कति राम्रा-राम्रा ठाउँहरू घुम्न बाँकी छ। मिठाईहरू खान बाँकी छ।”
“म अब घुम्दिनँ, मिठाई पनि खाँदिनँ।”
“तिम्रो बाले मलाई सप्पै ठाउँ घुमाएर ल्याउनु भनेका छन्। अनि मैले तिमीलाई घुमाइनँ भने मलाई गाली गरिहाल्नुहुन्छ”, भगवानदिनले भन्यो।
सुशान्त रुन थाल्यो। भगवानदिन चिन्तातुर देखियो। उसले मनाउने प्रयास गर्यो, तर सुशान्त रोइरह्यो।
हिजो रातिदेखि केही नखाएकाले सुशान्त भोकले रन्थनिएको थियो। भगवानदिनले चिया र बिस्कुट ल्याइदियो। सुशान्तले कपाकप खायो। यसलाई लामो समयसम्म राख्नु पर्यो भने त बर्बादै हुन्छ। भगवानदिनले सुस्केरा छाड्यो।
अहिलेसम्म अपहरणकारी अपरिचित छ। बालक उम्कियो भने उसले तुरुन्तै भगवानदिन चाचाको नाम लिन्छ। भगवानदिनका हातखुट्टाहरू फतक्क गले। त्यसपछि प्रहरीको भ्यान, रातभर पैतालामा बाँसको लट्ठी, जेल, बा-आमा, स्वास्नी, छोरा …! गाउँलेहरूले घर घेर्ने छन्। कसैले ढोका फोड्ने छन् त कसैले भित्ता! कोही छतमाथि चढेर आगो लगाउने प्रयास गर्ने छन्। कोही मौका यही हो भन्दै घरभित्र पसेर लुटपाट मच्चाउने छन्। त्यसपछि त के नै बाँकी रहन्छ र!
भगवानदिनले जोडले आफ्नो टाउको समात्यो। “भोलिसम्म फिरौती हात परेन भने यसलाई मारेर कतै मिल्काइदिन्छु। न रहे बाँस न बजे बाँसुरी… ” उसले निश्चय गर्यो।
तर, फिरौती नपाए? त्यो झ्न् खतरनाक अवस्था हुनेछ। भगवानदिनले सुशान्तलाई हेर्यो। ऊ ताजा देखिएको थियो। भगवानदिनका आँखामा क्रूरताका भावहरू देखिन थाले। यसलाई दुवै अवस्थामा मारेर फाल्नै पर्छ। उसले सुशान्तलाई सिकारीले मृगलाई हेरे झै हेर्न थाल्यो।
“भगवानदिन चाचा, घुम्न जाने होइन?” बिजुलीको स्वीचहरू चलाइरहेको सुशान्त दौड्दै आएर उसको काखमै बस्यो।
“साँझ् परिसक्यो बाबु! अहिले बजारमा बच्चा चोरहरू घुमिरहेका होलान्!”
भगवानदिनले होटलको कोठामा नै खाना मगायो। दुवै जनाले खाना खाए। खाँदाखाँदै घर सम्झ्ेर होला सुशान्त फेरि हिक्क-हिक्क गर्न थाल्यो। आठ बज्न लागेपछि भगवानदिनले मोबाइल अन गर्यो। मोबाइल खुलेको पाँच मिनेटमै घण्टी बज्यो। फोन गर्ने सुशान्तको बाबु नै थियो। भगवानदिन कोठाबाट बाहिर निस्किएर बाहिरबाट ढोकाको चुकुल लगायो र एकछेउतिर लाग्यो।
“हेलो !”
“म सुशान्तको बुबा!”
“एक्लै हो?”
“म एक्लै छु। पुलिसलाई म किन खबर गर्छु र!
“पुलिसलाई खबर गरेको थाहा हुनेबित्तिकै तेरो छोरो मर्छ, याद गर्नु।”
उताबाट रोएको आवाज आयो।
“तेरो छोरो मरिसकेको छैन, किन रुन्छस् हँ?” भगवानदिन कड्क्यो।
“मेरो एक्लो छोरो हो हजुर! घर बन्धकी राखेर पाँच लाख व्यवस्था गरेको छु। रकमसहित मान्छे पठाउँदैछु।”
“हो?”
“सुशान्तको कसम हजुर! तपाईंले भने अनुसार नै पठाएको छु।”
भगवानदिन सन्तोषको सास फेरेलगत्तै अर्को घनचक्करमा पर्यो, सुशान्तलाई कहाँ, कसरी ठेगाना लगाउने? उसले फिरौती बुझनुअघि नै यो काम सक्नुपर्छ। अन्ततः उसले होटलको कोठामै हत्या गर्न र भाग्न सजिलो हुने ठहर गर्यो। होटलको बरण्डामा यताउति गरिरहेको भगवानदिनले चुरोट सल्कायो। चक्कुले घाँटी रेट्ने कि सीधै मुटुमा घोच्ने? वा घाँटी थिच्ने? ऊ चुरोटको धूवाँ उडाउँदै सोचमग्न भयो। अचानक चुरोटको ठुटो पर हुत्याएर ऊ कोठाभित्र पस्यो।
“भगवानदिन चाचा तपाईं कहाँ जानुभएको? मलाई कस्तो डर लाग्यो!”
“सुशान्त, अब सुत। भोलि बिहानै घर जाने।”
“आँखा चिम्लँदा पनि निद्रा लाग्दैन। भोलि त बिहानै घर जाने।”
सुशान्तले आँखा चिम्लियो। शायद ऊ आफू घर पुगेको, बा-आमा र साथीहरूलाई भेटेको सपना देख्न चाहन्थ्यो।
भगवानदिनको अनुहार सपाट थियो। ऊ सुशान्तको नजिकै बस्यो। उसका बलिष्ठ हातहरू विस्तारै सुशान्तको घाँटीतिर बढ्न थाले। ऊ मुम्बईको डन बन्ने लाइसेन्स प्राप्त गर्दै थियो।
अचानक मोबाइल बज्यो। उसले मोबाइल निकालेर हेर्यो। यो निजी नम्बर थियो। उसले फोन नउठाएरै बिच्छेद हुन दियो। उसका आँखाहरू फेरि सुशान्तको गर्धनतिर सोझ्िए। भर्खर ६/७ वर्ष पुगेको बालक, रेशमको डोरी झ्ैं कोमल गर्धन हेर्दाहेर्दै ऊ भावुक बन्यो। उसको मन विचलित हुन थाल्यो। तर उसले यो बालकलाई नमारी आफू नजोगिने परिस्थिति सिर्जना गरिसकेको छ। उसले फेरि सुशान्तको घाँटीतिर दुवै हात बढायो।
मोबाइलमा फेरि दवङ्ग फिल्मको हिट गीत मुन्नी बद्नाम हुई… बज्न थाल्यो। उसले एकछिन गीतको मुखडा सुन्यो, हृदयमा शुकुन महसुस गर्यो। उसले मुन्नीकै लागि नम्बरै नहेरी मोबाइल उठायो।
“हेलो .” र्झ्को लागे झ्ैं गरी बोल्यो ऊ।
“भगवानदिन, हम तुहार बप्पा बोलिथे”, उताबाट उसको बाबुको आवाज आयो।
“हाँ बप्पा हम बोलिथे”, अवाक् भयो भगवानदिन।
“यी का कर्यौ भैया?”
“हम कुछ नाई करा है बप्पा।”
“तु झ्ूट बोलथ हो। तँलाई के नपुग्दो थियो। म बूढो भए पनि खेतमा हलो चलाई नै रहेको थिएँ। तेरी आमाले मजदुरी गरी नै रहेकी थिई। तेरी स्वास्नीले पनि चुलोचौकाको काम सम्हालेकी थिई। किसानी गरेर दुईछाक खान पुगेकै थियो। खरको सानो झ्ोपडी भएनि वर्षात् कटेकै थियो। किन यसो गरिस् भगवानदिन!!” बूढो बाबुको स्वर डुब्दै गइरहेको थियो।
भगवानदिन बोल्न सकेन।
“यो बूढो बाबु र बूढीआमालाई तैंले जिउँदै मारिस्, भगवानदिन! तँ साँच्चै नै मेरो छोरो होस्?”
“हाँ बप्पा …!” भगवानदिन भक्कानियो।
“तैंले यो के गरिस्? कसको चङ्गुलमा परिस् भगवानदिन?”
“माँ152152152 …!” भगवानदिन जोडले रुन थाल्दा सुशान्त बिउँझ्ियो। जुरुक्क उठेर उसले बरबरी आँसु झ्ारिरहेको भगवानदिनलाई हेर्यो, केही बुझन सकेन। भगवानदिनको दयनीय अवस्था देखेर सुशान्त पनि हिक्क-हिक्क गर्न थाल्यो। मोबाइलमा अहिले भगवानदिनकी स्वास्नीको मसिनो स्वर आइरहेको थियो।
“तु यी का कई डार्यौ डबलुवाके बप्पा? त्वार बप्पा अ बुवा बहुत दुःखीया है। दुसरेके बच्चाका गायब करेकदौर तुका अपने लड्कातना नाई लाग?” ऊ क्वाँ क्वाँ रुन थाली।
स्वास्नीको रुवाइसँगै भगवानदिनले आफ्नै नाबालक छोराको कोकोहोलो पनि सुन्यो।
“भगवानदिन” फेरि बाबुको आवाज आयो।
“पिताजी!!”
“तेरी स्वास्नीको काखमा बसेर तेरो छोरो दूध चुसिरहेको छ। यसलाई कसैले अपहरण गरेर मार्यो भने तँ के गर्छस्?”
“हम जिन्दै मरजिवे बप्पा!” भगवानदिन डाँको छोडेर रुन थाल्यो।
“भगवानदिन चाचा! के भो? किन त्यसरी रुनुभएको? हामी भोलि घर गइहाल्छौं नि!” सुशान्त भगवानदिनको काखैमा बसेर आँसु पुछिदिन थाल्यो।
उसले विस्फारित नेत्रले सुशान्तलाई हेर्यो। मुम्बईको डन बन्ने आफ्नो सपना यो रूपमा दुर्घटनाग्रस्त हुँदा ऊ अवाक् थियो।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
