Skip to content


“ए, ढिलो पो भइसकेछ!”

घडी हेर्दै झोला बोकेर ‘मे दौडियो। नियमित साप्ताहिक घटना भएकाले ल्याबका जापानी केटाहरूले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फुर्सद समेत पाएन उसले।

“तीन मिनेट पनि बाँकी छैन, आज रिसाउने भो साला खप्परे!” भन्दै स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै ऊ पुस्तकालयमा पुग्दा अरू सबै भेला भइसकेका रहेछन्। तर, ‘मे पनि खप्परेको ध्यान तान्ने गरी ढिलो पुगेको थिएन।

हुनलाई आज शुक्रबार हो, सप्ताहान्तको सारै रमाइलो गर्नुपर्ने दिन। तर, यो सेमेष्टरमा ‘मेको सप्ताहान्त छैन भने पनि हुन्छ। यो पुस्तकालयमा काम गर्न उसले डेढ वर्ष अगाडि हालेको निवेदनले अहिले आएर परिणाम देखाएको छ, साताको एक शुक्रबार अपरान्ह चार बजेदेखि बेलुका नौ बजेसम्मका लागि। भेटेको काम छोड्ने कुरै भएन। बरु शनिबार र आइतबारको बाइतो (पार्टटाइम काम) अलि कम गर्नुपर्ला भन्ने सोचेको छ उसले।

पुस्तकालयमा पार्टटाइम काम गर्ने विद्यार्थीहरूको सुपरभाइजर खप्परे (खास नाम त माचीमुरा)ले सबैलाई काम बाँडफाँड गरिदियो। फिर्ता आएका किताबहरूले भरिएको ट्रली गुडाउँदै ‘मे दोस्रो तलातिर लाग्यो। आफ्नै सुरले ती किताबहरू मिलाएर ऊ पहिलो तलामा फर्किंदा ६ बजिसकेको थियो। अब किताब इस्यू गर्ने काउण्टरमा बस्यो। फिर्ता लिनेपट्टि एउटा जापानी केटो थियो। उसले टाउको झ्कायो। प्रत्युत्तरमा ‘मेले पनि त्यसै गर्‍यो। ‘मे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आ’की रे। एकछिन आ-आफ्नो पढाइको कुरो भयो।

“काँ बस्छौ?” आ’कीले सोध्यो।

“नजिकै छ, हिँडेर जाँदा १० मिनेट।”

“अनि खाना? आफैं बनाउँछौ?”

“बिहान कलेजतिरै खान्छु। बेलुका आफैं बनाउँछु।”

“तिम्ले बनाको नेपाली खाना खुब मीठो हुन्छ होला हगि?” जापानीले फेरि कुरा शुरु गर्‍यो।

“अँ, ठीकठीकै हुन्छ।”

खासमा ‘मेलाई खाना बनाउन आउँदैन। उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ‘मेहरूको भाषामा कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर झोल हालेको तरकारी हो। डीप फ्रिजको कुखुराको मासु, प्याज र आलु भुटेर नुन मसला अनि चाहिने जति पानी हालेर छड्काएपछि कुँडो तयार हुन्छ। अझ् गजब बनाउन मन लागे त्यसमा पालुङ्गोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपे पनि भो। ‘मेहरूको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ।

कुँडो सम्झिनासाथ ‘मेको भोक दुईगुणा भयो। कतिखेर कोठामा पुगुँला भन्दै थुक निल्न थाल्यो। तर, काम सकिनँ अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झिएको मुखलाई नौ बजेसम्म कुराउनुको विकल्प थिएन।

आठ बजेपछि तेस्रो तलाको काउण्टरमा बस्ने पालो पर्‍यो। अङ्ग्रेजी पुस्तक-पत्रिकाहरूको त्यो तलामा दिउँसो पनि खासै भीड हुँदैनथ्यो। अहिले साँझ्मा त कोही पनि थिएन। विशाल हलको एकान्तले उसको भोक र कुँडोको चाहनालाई अरू बढायो। इन्टरनेटमा बसेर समय कटाउन खोज्दा पनि भएन। केही गर्दा नलागेपछि ‘मे उठ्यो, पानी खायो अनि हलमा एकछेउदेखि अर्कोछेउ गर्न थाल्यो।

“आज अलि बढी कुँडो पकाउँछु” ऊ टहल्दै गम्न थाल्यो, “गोलभेंडा छँदैछ, पालुङ्गो रैनछ भने च्याउ हाल्दिन्छु। दुई-तीन क्यान बियर पनि लैजानुपर्ला। फिट्टु भर भोलि १० बजेसम्म सुत्छु। तर, बियर लिन कोन्बिनीसम्म पुग्न के गर्ने होला?”

यताउता गरेर पुस्तकालयबाट निस्कँदा सवा नौ भइसकेको थियो। कोन्बिनीमा बियरको सानो केस किनेर कोठामा आइपुग्दा १० बज्यो। ढोकाबाट पस्नासाथ भान्छा थियो, उसको। त्यस उता सुत्ने कोठा। सुत्ने कोठामा रहेको राइटिङ टेबुलले डाइनिङ टेबुलको काम पनि गर्थ्यो। सोमे भान्छाको बत्ती पनि नबाली फ्रिजमाथिको बट्टा टिपेर सोझ्ै सुत्ने कोठामा पस्यो। टेबुलमाथि पत्रिकाको टुक्रो ‘छ्याएर बट्टाबाट आधा माना जति दालमोठ-चिउरा स्वार्र खन्यायो। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर लगभग एउटा क्यान रित्यायो। यति इन्धन हालिसकेपछि कुँडो पकाउन सर्टको बाहुला सार्दै भान्छातिर लाग्यो।

“थुक्क साला …!” भान्छाको बत्ती बल्नु र ‘मे कराउनु एकैचोटि जस्तो भयो। वासबेसीनमा टन्न जुठा भाँडाहरू थिए। उसलाई याद भयो, यी जुठाभाँडा सोमबार रातिदेखिकै हुन्। मङ्गलबार काम परेर नागोया गएको ‘मेले फर्किंदा रेलमै बेन्तो (लञ्च बक्स) किनेर काम चलाएको थियो। बुधबार राति ऊ कप-रामेन (तयारी चाउचाउ) खाएर ल्याबमै सुतेको र हिजो राति चन्द्रेको कोठामा सुतेर आज बिहान त्यतैबाट कलेज गएको थियो। ‘मेले यो सप्ताहान्त पनि चाउचाउ र अण्डाले मनायो।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *