मेरो जीवन
राम्रोसँग देश देख्न नपाउँदै
चुलो सम्हालेर जुग बित्यो।
बिहे गरेर यो घर आएपछि
ससुराको हेराइ
सासूको रातदिनको टोकसा
बात-बातमा कुटाइ
लोग्नेको हरेक रातको बलात्कार
सबै सम्झँदा
अरुणको भेल जस्तै आँसु आउँछ।
नानी,
मेरो बिहे हुँदा
संसार उज्यालो देख्थेँ
फुलेको गुराँस जस्तै…
उमेरले डाँडा चढ्नै लाग्दा
म,
एक्लो भएको छु।
घरले
खाएर म बूढी भइसकेँ
घर जस्ताको त्यस्तै छ
छोरो
यो घरको मालिक भएको छ
थाहा छ,
घर बनाउँदा मेरो रगत पसिना भएर बगेको छ।
तर,
घर कहिल्यै मेरो भएन
म, कहिल्यै यो घरको हुन सकिनँ।
बूढा मरेकै ठीक भो
बाँचुञ्जेल कम्ती सास्ती दिएन
मर्न सकिएन
अपमान सहेर कति बस्नु?
यस्तो घर के घर?
अब,
अर्काे घर बनाउने सुरमा छु
नानी
मेरो कथाको पनि कविता लेख्नु है!
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
