कुनै सरकारी पुस्तकालयमा
भेटेको थिएँ मैले
हत्याराको डायरी

डायरी मोटो छ
महाभारतभन्दा मोटो

मान्छे मार्ने
लाखौँ तरिका
लाखौँ हतियार
(छुरीदेखि महँगीसम्म)
उल्लेख गरेको छ हत्याराले

आफूले मार्ने मान्छेहरूको
लामो सूची
तयार गरेको छ उसले
मिति र स्थानसहित

उसको सूचीमा छन्-
किसान/मजदुर/शिक्षक/कवि/पत्रकार
साना व्यापारी
को छैन उसको सूचीमा?

उसको सूचीमा म छु
सेतै कपाल फुलेकी मेरी आमा छिन्
भातभान्छाबाहेक केही नजान्ने मेरी श्रीमती छे
राम्ररी बोली पनि नफुटेको मेरो छोरो छ
प्राइभेट कम्पनीमा काम गर्ने मेरी बहिनी छे

उसको सूचीमा
मेरा आफन्त छन्, छिमेकी छन्
मित्र छन्/शत्रु छन्
को छैन उसको सूचीमा?

यो देशको हरेक ठूलो मान्छेको हातमा
बिल्कुल त्यस्तै डायरी छ
अब कोसँग गुहार माग्ने?

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *