(१)
कमैया वस्तीको पूर्वपट्ट िटहटह जूनमा एक किसान हलो जोतिरहेको थियो । भगवान्को दृष्टि ती किसानमाथि पर्यो । यो त निकै मिहिनेती मुक्त कमैया पो रहेछ, दिनरात केही नभनी काम गरिरहेको छ । यसका परिवार अवश्य सुखी होलान् ।
रातभरि हलो जोत्छौ कि क्या हो दाजु ?-भगवान्ले सोधे ।
यति एक गरा त जोतेर सक्नुपर्यो । नत्र त मालिकले गाली गर्लान् । -ती किसानले जवाफ दिए ।
भगवान् तब आश्चर्यमा परे, जब टहटह जुनमा हलो जोत्ने किसान त मुक्त कमैयाको कमैया पो रहेको थाहा पाए ।
(२)
भगवान् मुक्त कमैया बस्ती घुमिरहेका थिए । आम थारू गाउँमा देउतालाई पूजा गर्न सामूहिक देउथान मरूवा बनाइएको हुन्छ । मुक्त कमैयाहरू पनि थारू समुदायकै पृष्ठभूमिका हुन् । त्यो बस्तीमा मरूवा नेदेखेर यिनीहरूले किन मरूवा नबनाएका होलान् भन्ने उनलाई खुल्दुली लाग्यो ।
भगवान्ले एक अधबैँसे किसानलाई सोधेछन्- तपाईंको गाउँमा मरूवा किन नबनाएको होला ?
तिनले एक किसानबाट उत्तर पाए- आफूहरूलाई बिहान खायो, साँझ के खाने भन्ने चिन्ता हुन्छ । मरूवा बनाए देउतालाई चढाउने केही चिजै हुन्न, अनि के बनाउनु भनेर नबनाएको नि ?
भगवान्ले सल्लाह दिए- फूल चढाए भैगो नि ।
फूलले मात्रै कहाँ मान्छ हाम्रो देउताले, उसलाई त रक्सी र भाले चाहिन्छ नि ।- किसानको जवाफले भगवान् जिल्लिए ।
चैलाही-६, दाङ
मधुपर्क २०६८ कार्तिक