“नाई प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, विनार्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै वेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई मनैदेखि भुलाईदेउ । तिम्रो र मेरो बिचको वास्तविकतालाई तिम्रो सोचाई अनुरुप लैजाने निरर्थक प्रयास त्यागिदेउ । म त्यस्तो रुपले तिमीलाई हेर्न सक्दिन । प्लिज मलाई जान देउ अनि तिम्रो मनबाट पनि हटाइदेउ मेरो तस्विर । जबसम्म तिमीले हामीबिचको यथार्थलाई बुझ्दैनौ तबसम्म भेट्ने प्रयास नगर ।”
“प्रेक्षा, तिमी मलाई छोडेर जान सक्दैनौ । म सक्दिन तिमीबिना बाँच्न, असमर्थ हुनेछु तिमीबाट टाढा रहन, नाई म यो सहन सक्दिन ।” प्रनिशको अनायासको चित्कारसँगै उसको कल्पना भंग हुन्छ र ऊ आफूले कल्पेको घटनाप्रति चिन्तित हुन्छ । शून्यताले डेरा जमाएको छ, अशान्त मस्तिष्क । अनेक कुराहरूले उसको कोमल मगजमा दबाब दिइरहेछ निरन्तर र ऊ त्यसै त्यसै डुब्दैछ चिन्तामा, गहिरो तनाब । मनमा हुरी चल्छ । विवादास्पद कुराहरूको द्वन्द, द्विपक्षीय विचारहरूको लडाई । विजय कुन पक्षको हुन्छ ऊ स्वयं अनभिज्ञ छ ।
एक मन भन्छ “अह ! म उनलाई भुल्न सक्दिा या चाहन्न । आखिर मैले प्रेम गरेको हु निस्वार्थ अनि साचो प्रेम । माया गर्ने अधिकार मलाई पनि छ । कुनै पाप भएको छैन म बाट, यो मेरो स्वाधिकार हो । मेरो स्वतन्त्र मनले मानेको सत्यता, त्यसैले म उनलाई प्रेम गरिनैरहन्छु । चाहे मैले उनलाई पाऊ या नपाऊ, मेरो माया घट्दैन । बरु म त्याग स्विकार्छु तर प्रेक्षालाई भुल्ने छैन ।”
अर्को मनले भन्छ “ यस्तो अमान्य, हुनै नसक्ने दुष्प्रयास गरी आफैलाई पीडाबोध गराउनु मुर्खता शिवाय अरु केही होईन । नचाहेरै पनि मैले उनलाई बिर्सन अपरिहार्य छ । मनमा सजाईराख्नुको के अर्थ उनलाई ? एक विवाहिता नेपाली हिन्दु नारी, पतिव्रता नारी जो म सँग रहने त के फर्केर पनि हेर्दिन प्रेमपुर्ण भावले ।”
प्रनिशलाई सताईरहेछ यिनै प्रश्न र सोचाईहरूले दुई पक्षमा विभाजित भई र ऊ निर्णय लिन असमर्थ छ कुनै एक पक्षमा । उसलाई तनावपुर्ण विचारहरूले आमन्त्रित गरिरहेछ वैचारिक युद्धमा । जुन द्वन्दको समाधान या निराकरणको बाटो ऊ सँग छैन, जसरी पनि पीडा उसैलाई हुने निश्चित छ । उसलाई लाग्छ यो युद्ध वा विवाद अनन्त रुपमा चल्छ त्यसैले ऊ आफ्नो दिमागलाई शून्यावस्थामा लैजान र शान्त पार्न खोज्दैछ । एकदम स्वच्छ र तनावमुक्त । यस्तैमा ऊ सुत्ने प्रयास गर्दागर्दै निदाउन पुग्छ ।
प्रनिश काठमाडौ शहर आएको करिब डेढ वर्ष भयो । ऊ गाउँबाट एस.एल.सि. दिई उत्कृष्ट अंक ल्याई उच्च शिक्षा हासिल गर्नको निम्ति यहाँ आएको हो । थुप्रै कलेजबारे बुझेपछि उसलाई एउटा कलेज प्रिय लाग्यो पढाईको हिसाबले, आवतजावतको हिसाबले, शान्त वातावरणको कारणले अनि उसको परिक्षाको प्राप्ताङ्कको मुल्याङ्कन गरी दिइएको विशेष छुटको कारणले । ऊ त्यही भर्ना भई पढ्न जान थाल्यो । उसलाई आफ्नोे साथिभाई, पढाउने शिक्षक शिक्षिका सबैको व्यवहार मनपर्यो । विशेष गरी उसको मनमा छाप बसाउन सफल भईन म्याडम प्रेक्षा जो उसको अंग्रेजी विषयकी अध्यापिका थिइन् । उनको पढाउने शैली, आकर्षक व्यक्तित्व, सुन्दर पहिरन, तेजस्वि मुहार, विनम्रता, शालीनता, सरल प्रस्तुति, विद्यार्थीप्रतिको मायालु तथा मैत्री व्यवहार अनि यस्तै कारणले गर्दा प्रनिशले म्यामलाई आकर्षणको उच्च केन्द्रबिन्दु ठानेको थियो । उसलाई कुनै एकदिन कलेज छुट्दाको समय ज्यादै नीरस र शून्य लाग्थ्यो । यो के भएको हो? म्यामप्रति किन यस्तो आकर्षण जुन सधै अतृप्त रहन्छ उसलाई थाहा छैन । ऊ अडिग छ एउटै विचारमा कि म्यामको सुन्दर मुहारको दर्शन गर्न भएपनि कलेज छुटाउनुहुन्न मैले ।
यसैगरी दुई महिना बित्यो, कुनै स्रोतबाट थाहा भयो म्यामको घरमा कोठा खाली छ भन्ने कुरा । अब उसको छटपटि बढ्दै गयो, उसले अबदेखि म्यामकै घरमा बस्ने अठोठ गर्यो । बिहान ऊ छिट्टै कलेज गयो र क्यान्टिनमा बसी चिया पिउदै गर्दा म्याम प्रेक्षा उसकै सामू उभिएको आभाष भयो उसलाई । शीर उठाएर हेर्यो सलक्क मिलेको शरीरमा कलेजी रङ्गको साडी लगाएकी, मधुर मुस्कानका साथ उभिएकी म्यामलाई । केही असहजताका साथ उसले शिष्टाचारको भावले बस्नलाई आग्रह गर्यो । म्याडम र उनलाई चाहने विद्यार्थी एकसाथ बसे एकदमै समिप, चिया पिउदै र मौनतालाई तोड्दै अप्ठ्यारो मनले प्रनिशले भन्यो “म्याम म गाउँबाट भर्खरै शहर आएको धेरै पढि केही गर्छु भनेर । एकदमै अपरिचित छु यहाँको समाज अनि मानिससँग । हाल बस्दै गरेको कोठा घरधनीले खाली गर्नु भनेको छ । म त ठुलो आपतमा परे, अब कहाँ कोठा खोज्नु मैले । बरु दुःख मान्नुहुन्न भने तपाईले चिनेको ठाँउमा कतै डेरा खाली छ कि? विचार गरिदिनोस् न ।”
केही बेर सोचेर हसिलो मुहारमा बडो सरल एवम् मिजासपूर्ण स्वरमा म्यामले जवाफ दिइन “हेर प्रनिश, तिमी मेरो सबैभन्दा प्रिय छात्र हौ कारण तिमीमा ती सबै गुण छ जो एक असल विद्यार्थीमा हुनुपर्छ । आफ्नो समस्या जाहेर गर्यौ केही सहयोग पाउने आशाले । शायद म केही गर्न सक्छु कि, मेरोमा पनि अहिले कोठा त खाली छ तर…………….।”
“तर के म्याम…..प्लिज मलाई त्यति सहायता गर्नुहोस । मेरो पढाई अझ राम्रो हुन्छ तपाईसँग बस्न पाएमा अनि म तपाईको पैसा पनि नियमितरुपमा समयमै बुझाउछु, प्लिज म्याम नाई नभन्नुस न ।”
म्याम केही हासिन….“मैले कहाँ नाई भनेकी छु र ? म एक्लैले निर्णय लिन मिल्दैन, त्यसैले परिवारसँग सल्लाह गरेर भोलि जवाफ दिन्छु है । क्लास शुरु हुने बेला भयो जाउ आफ्नो क्लासमा ।”
“हुन्छ म्याम, धन्यवाद ।”
सो दिन ऊ ज्यादै प्रसन्न मुद्रामा रह्यो । मन अस्थिर थियो साहृै चञ्चल । पढाईमा ध्यान थिएन, मौन बसाई तर पनि उसको मन आफैबाट हराई कतै भौतारिरहेको थियो । दिन धेरै लामो र पट्यारलाग्दो भयो, जसोतसो दिन ढल्यो र रात पनि बितायो उसले प्रेक्षाकै यादमा । सपनी बित्यो उनकै साथमा, प्रेममय साथ, अटुट बन्धन, प्यारो संगम । तर सबै कुरा सपनामै सिमित रहि उसको आँखा खुल्यो । यथार्थमा ल्याई कल्पनाबाट पर धकेल्नको निम्ति सपना टुटेको थियो । घडि हेर्दा ६ः०० बज्नै लागेको थियो । ऊ हतार हतार तयार भई कलेज हिड्यो । व्यग्र प्रतिक्षा थियो सकारात्मक जवाफ सुन्ने । स्विकारोक्ति उत्तर पाउने आशाले उसको नयनले म्यामलाई नै खोजिरहेथ्यो अपलक रुपले । आखा झिम्काउन पनि भ्याएन अथवा बिर्सियो । छुट्टि भएपछि मात्र उसले म्यामलाई एक्लो अवस्थामा भेट्ने अवसर पायो र मौकाको सदुपयोग गर्दै जवाफ माग्यो । म्याडमले जवाफ दिइन् “सरी प्रनिश, मैले त भन्ने बिर्सेछु । मैले घरमा कुरा गरेकी थिए, तिमी भोलिदेखि नै आए हुन्छ बस्नलाई । तिमी अब देखि मेरो सान्निध्यमा रहनेछौ, मेरो समिपमा रहि पढ्नेछौ ।”
“धन्यवाद म्याम । धेरै धेरै धन्यवाद ।”
खुशीको सीमा थिएन । सामानहरू बटुलेर भोलिपल्ट ऊ गयो । म्याम स्वयं आफै प्रतिक्षारत थिइन उसको आगमनको र ओठमा लोभलाग्दो मुस्कान भर्दै स्वागत गरिन, कोठा देखाइदिइन र आवश्यक सहयोग गरिन । म्यामलाई बारम्बार कृतज्ञता प्रकट गर्दै ऊ सामान मिलाउन थाल्यो । केही बेरमै शून्य कोठा सजियो र सो कोठामा अर्की केटीको प्रवेश भयो । ऊ अचम्मित भयो सो केटीको अप्रत्याशित र अनायासको आगमनले । जुन कुराको उसले कल्पना समेत गरेको थिएन । म्यामले आफै चिनाइन “ उनी मेरी बहिनी प्रज्ञा । बाकि कुरा त तिमीलाई पनि थाहाँ छ किनकि तिमीहरू क्लासमेट हौ ।” प्रज्ञा म्यामकै बहिनी हो भन्ने थाहाँ पाउदा उसको मन विचलित हुन पुग्यो किनकि प्रज्ञा उसलाई मन पर्दैन । एक प्रकारको वितृष्णा गराइदियो उनको अकल्पनिय प्रवेशले । सुन्दर माहोल प्रनिशलार्य अब अप्रिय लाग्यो । उनी आइन एक व्यवधान बनेर उसको निम्ति । नरुचाएको दृष्टि, नचिताएको आगमन ।
प्रज्ञाको आफ्नो सौन्दर्यको घमण्डिपन, रिसालु स्वभाव र मै हु भन्ने बानीको कारणले उनी प्रनिशको नजरमा गिरेकी थिइन । प्रनिशलाई उनले प्रेम प्रस्ताव पनि राखेकी थिइन । त्यो साचो माया या बनावटि, अथवा प्रनिशको मजाक उडाउन गरिएको मिथ्या प्रयास, वाहियात नाटक, त्यो त उसलार्य थाहाँ थिएन तर उसले ठाडै अस्विकार गरेको थियो । तापनि अहिले ऊ मुस्कुरायो उनको स्वागतार्थको लागि । निर्जिव मुस्कान ।
बेलुका अबेर कसैले ढोका ढकढकायो, ढोका प्रनिशले खोल्यो । फेरी पनि असोचनिय व्यक्तिको प्रवेश । एक अन्जान मानिस । ऊ सरासर भित्र पस्यो र कराउन थाल्यो “प्रेक्षा तल आऊ, को हो यो युवक मैले त चिन्न सकिन ।” उनको आवाज बेसुर थियो, अस्पष्ट बोलि । म्याम तल ओर्लिन् र नशामा झुलिरहेको पतिदेवलाई सम्झाइन् “हजुरसँग हिजो सल्लाह गरेकी थिएनि, ऊ नै हो मेरो विद्यार्थि, हामे नया डेरावाल ।”
“ए हो त नि । मैले त कस्तो बिर्सेछु । म फ्रेस भएर आउछु खाना पस्किदै गर ल डार्लिङ्ग ।” यो ‘डार्लिङ्ग’ सम्बोधनले प्रनिशलाई चोट पुग्यो, कसैले आफ्नो अधिकार खोसेको झै लाग्यो । म्यामको लोग्ने त्यति भनेर भर्याङ उक्लियो अनियन्त्रित पाइलालाई संघर्षरत पार्दै, प्रेक्षाले उनलाई अँगालेर साहरा दिइन् । प्रनिश फेरी आश्चर्यचकित भयो र दुःखी पनि कारण उसकी आकर्षणकी खानी, सौन्दर्यको प्रतिमुर्ति, सपनाकी परी, कल्पनाकी सहयात्री, हृदयकी रानी अरु कसैलाई अँगालेर उसको नयनबाट ओझेल बन्दै गइन् । उसको मुटुमा कसैले अत्यन्त पीडादायी प्रहार गरेजस्तो भयो । ऊ अचेत भई यथास्थानमै रहिरह्यो, निकैबेरसम्म स्थिरावस्था ।
दिन बित्दै गए, ऊ प्रज्ञासँगै कलेज आउनेजाने गर्न थाल्यो । प्रज्ञा उसलाई आकर्षित गर्न खोज्थि, ऊ पनि उनको साथ दिन्थ्यो तर उसको चाहना यस्तो थिएन तापनि उसको चाहनामाथि बाध्यता थियो, प्रज्ञाको समिप रहनु पर्ने बाध्यता । म्यामलाई आफ्नो नजिक ल्याउने चेष्टा चर प्रज्ञा आफ्नो प्रेम सफल भएको भ्रममा थिइन् र यही दृष्टिभ्रम प्रेक्षामा पनि परेको थियो साथै यो भ्रमात्मक सम्बन्धप्रति खुशी थिइन् । दिनभरि ऊ प्रज्ञाको साहराले प्रेक्षाको समिप रहन पाउथ्यो तर राति उनको लोग्नेको गृहप्रवेशले उसलाई खल्लो लाग्थ्यो । केही अभाव खड्केजस्तो, कहिले पूर्ण नहुने अभाव । हुन पनि यस्तो प्रेम कुनै पनि कोणबाट नियाल्दा असम्भव नै देखिन्थ्यो । एउटा अनमेल सम्बन्ध, अमान्य र अप्राप्य प्रेम ।
तीनजना बिचको सम्बन्ध प्रगाढ बन्दै गयो । प्रज्ञा र प्रनिशबिच हुदै गरेको गाढा सम्बन्ध, नजिकपन अवास्तविक थियो, बनावटि जुन यथार्थ प्रज्ञा बुझ्न सक्दिन । प्रेक्षा अब एक शिक्षिका मात्र नभई एक अभिन्न अंग बनेकी थिइन् प्रनिशको लागि । हितैषी मित्र । हासखेल, ठट्टा अनि रमाइलो गफ हुन्थ्यो तीनजना बिच । यसैक्रममा प्रनिशले थाहाँ पायो कि म्यामको र उनको लोग्नेको वैवाहिक जीवनको गति राम्रो छैन । वेमेल सम्बन्ध वैचारिक रुपले, आर्थिक हैसियतको फरकले अनि असमझदारीकोे कारण उनीहरू आफ्नो भविष्यप्रति चिन्तित थिए । एकअर्कासँग हृदयदेखिनै असन्तुष्ट थिए । प्रनिश म्यामलाई साथ दिन्थ्यो भावनात्मक रुपले र उनी श्रीमानको कारण दुःखी हुदा उसले अनेक कुरामा उनलाई भुलाई मनबाट पीर चिन्ता दुर गरिदिन्थ्यो । त्यसैले त म्याम उसँग बसिरहन चाहन्थिन्, एकान्तमा ज्यादै नजिक तर प्रनिश सम्झन्थ्यो “म्यामले मेरो प्रेमबारे र मनोविज्ञानबारे बुझिन् र स्विकारोक्तिस्वरुप मलाई प्रेममय साथ दिन थालेकी छिन् । अव्यक्तरुपले म प्रति समर्पित ।” आफ्नो भ्रममा ऊ त्यसै त्यसै मौनरुपमा विजय हासो मुस्कुराउथ्यो । म्यामले उसलाई प्रेम गर्थिन् तर त्यो प्रेम एक विद्यार्थीलाई वा एक असल मित्रलाई गरिने माया भन्दा माथि थिएन ।
हिजो बेलुका गरेको सन्त्रासपूर्ण कल्पनाले उसलाई ज्यादै पीडित बनायो र ऊ त्यहि भविष्यमा हुन सक्ने बिछोड सम्झेर केहीरुपमा म्यामबाट टाढिदै गयो । जति नै सम्झाए पनि मन मानेन । ऊ वास्तवमै चाहदैन प्रेक्षालाई नहेर्न, कुरा नगर्न अनि यसरी अकारण दुर भाग्न । फेरी पनि यस्तै सपनीहरू आउथ्यो उसलाई सताउन, उनीहरूबिचको फराकिलो दुरी देखाउन तर ऊ अझ पनि प्रेक्षालाई भुल्न चाहदैन, झन आफूलाई पीडा दिदैछ । मानसिक पीडा, अत्यन्त घातक पीडा, अमिट दर्द ।
म्याम र उनको लोग्नेबिच मनमुटाब ज्यादै बढ्यो र उनीहरू एकसाथ रहन नसक्ने स्थितिमा पुगे । यो दृश्य प्रनिशलाई आनन्दमय लाग्यो र पनि ऊ उनीहरूबिच आएको फाटो, गलत बुझाइलाई मेटाइ साथै रहन आग्रह गरी सम्झउन थाल्यो । तर उनीहरूले छुट्टिन नै उचित ठाने र आफ्नो प्रयास निष्फल रहेकोमा प्रनिश भित्रभित्रै रमाइरहेको थियो । लोग्नेले त्यहि रात घर छाडे । प्रनिश प्रसन्न छ कारण उसको मन पोल्थ्यो म्याम आफ्नो पतिसँग नजिकिदा । सोच्यो “अब उनी केवल मेरै निम्ति बाच्नेछिन । त्यो सिन्दुर मेरो नाम रहनेछ, त्यो चुरा पोतेमा मेरै माया जोडिनेछ ।”
उनीहरूको कलेजको अन्तिम परिक्षा नजिकिएकोले प्रज्ञा र ऊ सँगै बसी परिक्षाको तयारी गर्न थाले । म्याम पूर्णरुपले उनीहरूको सहयोगी बनेकी छिन् । प्रनिश एउटै कुरा बुझेर पनि नबुझेजस्तो गरी बारम्बार त्यसबारे सोधिरहन्छ किनकि उसलाई म्यामको बोली सुन्न मनपर्छ । एकाग्ररुपले ऊ म्यामभित्र हराउँदै जान्छ । हरक्षण उसले प्रेक्षाको साथ पायो अनि प्रज्ञाको पनि प्रनिशसँगै बस्ने चाहना पुरा हुँदै गयो । नचाहेको संगम, नसोचेको मिलन ।
परिक्षाको परिणाम राम्रै आयो । बधाइ तथा शुभकामना साटासाट भयो, खुशियालीमा सानो पार्टि मनाइयो । सबै भन्दा बढि खुशी भइन् म्याडम प्रेक्षा । रात लम्बिदै गएपछि प्रज्ञा आफ्नो कोठामा गइन् । म्याम माथि कौसीमा बसेर टोलाइरहेकी छिन् आकाशमा टिलपिलाएका ताराहरू गन्दै । चन्द्रमा पूर्ण उज्यालो भई प्रकाशमय बनाउँदैछ वातावरणलाई । प्रनिश पनि यस रमाइलो प्रहरमा प्रेक्षासामू पुग्यो प्रेममय साथ पाउने अपेक्षाका साथ । ऊ छेउमै बस्न पुग्यो । प्रेक्षा उसलाई अनायास आफ्नो अगाडि पाउँदा मज्जाले हाँसिन् वृहत आवाजमा र भनिन् “म त कस्तो तर्सेछु तिमीलाई अचानक देख्दा, आऊ न बस ।”
“हुन्छ म्याम । अनि किन एक्लै बस्नुभएको यसरी शून्य रातमा ?”
“अब कसलाई बोलाउने त, लोग्ने पनि छैन साथमा । मिलनको लागि यहि शून्यता र एकान्तले नै साथ दिन्छन् । त्यसैले रमिरहेछु यिनै प्रकृतिसँग । अनि तिमीचाहि किन सुत्न नगएको यतिबेरसम्म ? कि तिमीलाई पनि मलाई जस्तै साथी चाहिएर हो ? एक्लोपनाले सताउदा कोहि साथी खोज्दोरहेछ यो मनले है प्रनिश…।” उनले असभ्य किसिमले जवाफ दिइन् माहेल हासोमय बनाउने चेष्टाले । म्यामले आफ्नो भावना बुझेको ठानि ऊ खुशी भयो र भन्यो “गफ गर्ने साथी चाहिएर त तपाइको छेउमा आएको । अब त एक्लोपनाले सताउन पनि सक्दैन कारण हजुरको नजिक रहदा मलाई आनन्द महशुस हुन्छ, तृप्तिपूर्ण आनन्द ।”
प्रेक्षाले मधुर मुस्कान छरिन् र केही लाजको रेखा उनको सुकोमल मुहारमा दौडिएको प्रष्ट छ । उनले आफ्नो भावना पोखिन् “प्रनिश, तिमी बाहेक यो मनको बह पोख्ने साथी अरु को नै छ र ? लोग्नेले पनि बिहे भएको वर्षदिन नपुग्दै सम्बन्ध तोड्यो । हुन पनि हामीबिच अदृश्य पर्खाल बाधा बनि खडा भएको थियो प्रेम नगर्नको लागि । तर म कतिपनि विचलित भएकी छैन किनकि मैले उसलाई कहिल्यै पनि हृदयदेखि प्रेम गर्नै सकिन । परिवारको अनुरोधमा बिहे गरेकी हु आफ्नो चाहनालाई दबाएर उसँग । विवशतालाई बुझेर मैले आफ्नो शरीर उसलाई समर्पित गरिदिए बाध्यतास्वरुप तर मेरो हृदयले उसलाई सधै अस्विकृत नै सम्झियो । धेरै कोसिस गरे उसलाई आफ्नो मनमा बसाउन तर सकिन, शायद ऊ त्यसको लायक रहेनछ । मैले त अर्कैलाई प्रेम गरेकि छु । डेढ वर्ष जति भयो उनलाई अव्यक्त प्रेम गरे जाहेर गरिन किनकि हामीबिच केही कुरामा अन्तर छ । म विवाहित अनि ऊ अविवाहित र उमेरको केही अन्तर । तर मेरो मौन प्रेम उसले पहिल्यै बुझ्यो होला, शायद आँखाको भाषाले । त्यसबेला मैले प्रस्ताव राखिन किनकि म वैवाहिक बन्धनमा जेलिएकी थिए । तर अब म मुक्त भइसके सकसपूर्ण बन्धनबाट । यसरी जीवनभर कसैको साहराबिना एक्लै जीवन बिताउन असहज हुदोरहेछ । म सक्दिन समयले दिने हरेक चुनौतिहरूको एक्लै प्रतिकार गर्नलाई । त्यसैले मैले आज प्रणय निवेदन गरेकी छु र अहिले सम्पूर्ण कुराहरू प्रष्ट भयो हामीबिच ।”
प्रनिश यति कुरा सुनेर ज्यादै हर्षित भयो । आफ्नो सपना साकार भयो भनि ऊ खुशी भयो र आफ्नो नाम म्यामकै मधुर स्वरमा सुन्नको लागि अझ नजिक सर्यो र कानमा मसिनो आवाजमा भन्यो “को हो त भाग्यमानी पुरुष, म्याम ?”
तिमीलाई थाहाँ छ, त्यो तिमीहरूलाई नेपाली विषय पढाउने शिक्षक ?हो, वहाँ नै हुनुहुन्छ मेरो बाकि जीवन । अबको दिनहरूको ऊ सँगै बित्नेछ खुशीसाथ । तिमी पनि अब सक्षम भइसक्यौ । प्रज्ञा र तिम्रो प्रेमबारे मलाई सबै थाहाँ छ । आफ्नो प्रेमलाई साकार बनाऊ, तिमीलाई मेरो शुभकामना छ अनि हाम्रो गाढा मित्रता कहिल्यै नबिर्सिनु ।”
प्रनिशको मुहारको रङ्ग उड्यो र ऊ कुनै प्रतिक्रिया नदिइकन त्यहाँबाट उठेर हिड्यो ।
