Skip to content

मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि

गजल

– मुकुन्दप्रसाद भट्टराई
मनका सबै रिस राग फालुं भने सकिन्छ नि
मनैदेखि शान्ति दीप बालुं भने सकिन्छ नि
प्रतिज्ञा त गर्नुपर्छ खिचातानी हुने छैन
संविधान लेख्न छिटै थालुं भने सकिन्छ नि
एउटै हाम्री नेपाल आमा सन्तति हौं हामी सबै
धुजा धुजा मन उनको टालुं भने सकिन्छ नि
भाइफुटे गवार लुटे भएको छ नेपालमा
सबै मिली सिमातिर भालुं भने सकिन्छ िन
दाजुभाइले विदेशमा सिकेका ती प्रविधिलाई
नेपालकै उन्नतीमा हालुं भने सकिन्छ नि
लड्ने अनि लडाउने दुष्टात्मालाई हटाएर
मनै भरी पुण्यात्मालाई पालुं भने सकिन्छ नि
मुकुन्दको मात्र हैन नेपालीको चाहना यो
मिलिजुली एउटै कदम चालुं भने सकिन्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *