
फूलका बगैँचाहरूमा उम्रिन्दैनन् कविता,
मान्छेको अनुहारमा लेखिएको हुँदैन कविता,
हिँडदा हिँडदै, पाइने चीज पनि होइन कविता
कविताको लागि
देवकोटाको जस्तो उदार मन हुनुपर्छ,
देवकोटा जस्तो गरीब हुनुपर्छ,
देवकोटा जस्तो पागल हुनुपर्छ,
वियोग र पीडाहरू खप्न सक्नु पर्छ,
अनेक आरोपहरू सहनु पर्छ,
विद्वानको पगडी गुथेर हिँड्नु सक्नु पर्छ
कहिले पुरस्कृत भएर रमाउनु पर्छ
कहिले तिरस्कृत भएर बाँच्नु पर्छ,
नानी,
तब कविताको जन्म हुन्छ,
तब मुना-मदनहरू लेखिन्छन्,
तब खण्डकाव्यहरू जन्मन्छन्,
तब महाकाव्यहरू जन्मन्छन्,
केही नगरिकन
नानी, खै कहाँ पाऊँ कविता
खै कस्को अनुहारमा खोजुँ कविता ।
