मेरो एक जना
आफन्त मान्छे
गाउँबाट हराएको
धेरै साल भयो ।
एउटा जुझारु केटो !
केही न केही त
गर्नै पर्छ भन्ने ।
तेजस्वी, मिहिनेती,
फुर्तिलो परेको ।
सालीन स्वाभावको,
मन अलि चन्चल ।
मेट्रिक सिध्याएर
शहर पसेर फर्कन्दा
स्नातक उतिर्ण
प्रमाण-पत्र
लिएर आएको थियो ।
पत्रकारिता, राजनीति,
साहित्य, संघ संस्थाको
दखल पनि
राम्रै भएको मान्छे ।
पढे लेखे
खै काका !
राम्रो जागिरको
आशमा मिहिनेत गरे,
काम नै पाइन्न भन्थ्यो ।
अब पढाईको काम
रहेन काका !
ब्यापार पो थाल्नु पर्यो भन्थ्यो ।
पछि जिल्ला नेर
गतिलो ब्यापार
थापेको थियो ।
दुई चार सालपछि
ब्यापार पनि
घाटै घाटा भएर
छाडेछ मराले ।
बिचारो !
त्यसपछि
राजाधानीतिर छिरेको
खबर पाएको थिए ।
त्यतैबाट
कसो कसो गरेर
हङ्कङ छिरेछ ।
कमाइ राम्रै छ रे
भन्ने खबर सुन्न्थे ।
अजिबुङ माइलासङ्ग
उतै हङ्कङमा भेटेछ ।
आजिबुङ माइला पनि
के कम
सब सोध खोज गरेछ ।
उसले भन्दै थियो रे,
सब थोक गरियो,
पढेर ठुलो हकिम
बनुला भन्दा जागिर पाइएन ।
ब्यापार गरेर
ठुलो साहु बनुँला भन्दा
घाटै सहन सकिएन ।
सब थोक छाडेर
परदेश आईयो दाइ !
के पैसा भन्ने चिज
हाम्रो लागि चाहिँ
बनेको होइनकी क्य हो ?
सुन, चाँदी र हिरा मती
हामीहरूको लागि चाहिँ
खानीबाट खनिँदैन कि क्या हो ?
ठुला ठुला महल
र
चिल्ला गाडीहरू
हाम्रो लागि बनिँदैन कि क्या हो ?
के हामीले
यी सपनाहरू
देख्न मिल्दैना ?
हामीलाई यी अाइस, आराम,
सुख, सयल
कहिलै मिल्दैन ?
हात मुठी पारेर
अझै कसिन्दै थियो रे
होइन दाइ
सब चिज
तिम्रो हाम्रै लागि
बनेका हुन ।
यसमा मेरो पनि
केही भाग अङ्श
कसो नपर्ला ?
अझै झोकिँदै थियो रे
म त अब
मेरै देश जान्छु,
मेरो नेपाल जान्छु,
मेरै मातृभूमीमा
मेरा सारा
उर्बर शक्तिहरू हाल्छु ।
बिबेकले काम गर्छु ।
नेपाली माटोमा
हाली मुहाली
गर्नेहरूलाई चुनाउती दिन्छु ।
कुर्सी र पदको लागि
घिनलाग्दो खेल खेल्नेहरूको
पर्दाफास गर्छु ।
भ्रष्टचारीहरूको नग्न
बिस्कुन सुकाइ दिन्छु ।
अब दाइ म,
नेपालमा राजनीति गर्छु ।
अझ गाला रातो रातो पारेर
अगाडि भन्दै थियो रे
नेपालका सुन्दर फुलबारीहरू
लिम्बुवान, खम्बुवान,
तमुवान, ताम्बासालिङ,
मगरात, नेवाखल,
मधेश, थारुवान,
कोचिला आदि
सबै तिर घुम्छु ।
र
त्यहाका सुन्दर फूलहरूलाई भेट्छु ।
जुन फूलहरूलाई
गोबरले छोपिएका छन ।
जुन फूलहरूलाई
बुटले कुल्चिएका छन ।
यी सबलाई पन्छाएर
एउटा सुन्दर माला
उन्ने कोशीस गर्छु ।
आजिबुङ माइलालाई यसै भन्थ्यो रे ।
अहो !
कत्रो सपना ?
मेरो आफन्तको ।
म सोच मग्न भए ।
म सोच्दै थिए ।
म उसको यादमा ढुबेको थिए ।
ठीक त्यसै बेला
टेलिविजनको समाचार तिर
मेरा आँखाहरू जुधे ।
उमेर ढल्केकोले
आँखा राम्रो पर्दैन मेरो
तै पनि
नियालेर हेर्न थाले ।
चिम्सो आँखा,
थेप्छो नाख,
होचोकदको छोटो मोतो मान्छे
ठुलो टाउको भएको ।
राष्ट्रलाई सम्बोधन गर्दै थियो ।
मान्छे हाम्रै जातको हो ।
बोल्ने लवज पनि हामै ।
राम्रो हेरेको त
मेरै आफन्त पो रहेछ ।
ठम्याउन हम्मे परे पनि
चिनी हाले ।
नेपालको सुन्दर फूलहरूको
नेत्रित्व गरेर
आदिमबासी भूमिपुत्रहरूको तर्फबाट
प्रथम राष्ट्र नायक
राष्ट्रपति भएछ ।
मेरो आफन्तलाई सलाम !
मेरो आफन्तको साहसलाई सलाम !!
मेरो आफन्तको लडाईंलाई सलाम !!!
मेरो आफन्तको सपनालाई सलाम !!!
मेरो आफन्तलाई सलाम !!!!
सुजन सेलिङ “लुङमाहिम साँहिला ”
Online Nepali Literature Forum
