कुनै भाषा जतिसुकै समृद्ध भए पनि त्यसको महत्ता स्थापित गर्न त्यसका वक्ताले अरू भाषालाई आदर गर्नै पर्छ।
कुनै एउटा भाषा अर्का भाषाको विरोधी होइन, सहयोगी हुन्छ। आफ्नो भाषिक आवश्यकता पूरा गर्न स्वयम् भाषाहरूले नै एकअर्काबाट सहयोग लिइरहेका हुन्छन्, भलै तिनको व्याकरणात्मक व्यवस्थामा समानता कम र असमानता बढी होऊन्। सबै भाषा सबै समुदायको सम्पत्ति हो। आफ्नो ज्ञानभण्डार र भाषाको महत्व बढाउन पनि अन्य भाषाहरूको जानकारी एवं तिनप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्दछ।
कुनै भाषाको पक्षपोषण गरेर अन्य भाषाको उपेक्षा गर्नु राम्रो होइन। तर, पछिल्लो समय नेपालमा कुनै खास भाषाप्रतिको विशेष मोहबाट प्रेरित भएर भाषा विवादहरू उठाउन खोजिएको छ। नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा एउटाले अर्काको भाषाको उपेक्षा गरेर सुमधुर तथा प्रगाढ सामाजिक सम्बन्ध कायम गर्न सकिन्न। यहाँका सबै भाषालाई राष्ट्रभाषा र नेपालीलाई सरकारी कामकाजको भाषा मानेको नेपालको अन्तरिम संविधान २०६३ ले आ-आफ्नै परम्परा एवं सांस्कृतिक पहिचान बोकेका सबै भाषालाई राष्ट्रको अमूल्य निधिका रूपमा स्वीकार गरेको छ।
भाषा मूलतः विचार विनिमयको माध्यम भएकाले यसले मानव समुदायमा सरल, ठोस एवं सार्थक तवरले विचार प्रेषण गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था गर्छ। भौगोलिक रूपमा सानो भए पनि नेपालमा विश्वभर अस्तित्वमा रहेका १३ भाषा परिवार (भारोपेली, द्रविड, चिनी या एकाक्षरी, सेमेटिक-हमेटिक, यूराल-अल्टाइक, ककेशियन, जापानी-कोरियाई, मलय-पलिशियन, आस्ट्रो-एसियाटिक, बुशमेन, बांटू, सुडान र अमेरिकी) का करिब २७९६ भाषामध्ये चार (भारोपेली, भोट-बर्मेली, आस्ट्रिक र द्रविड) परिवारका ९२ भाषा बोलिन्छन्। यही बहुभाषा र बहुसंस्कृतिमा नेपालको राष्ट्रियता अडिएको छ।
मैथिलीको स्थान
२०५८ सालको जनगणनाअनुसार नेपालमा ४८.९८ प्रतिशत जनसङ्ख्याको मातृभाषा रहेको नेपालीपछि दोस्रो ठूलो समूह (१२.४ प्रतिशत) मैथिली भाषीको छ। मैथिलीले भारतमा पनि एउटा समृद्ध भाषाको रूपमा सम्मान पाएको छ, जहाँ ६१ लाख २१ हजार ९२२ जना मैथिली मातृभाषी रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ। भारतमा नेपाली भाषी पनि १३ लाखभन्दा बढी छन्। नेपाली र मैथिली दुवै भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत छन्। भाषाप्रतिको यो सम्मान जातिप्रतिको सम्मान पनि हो।
नेपालमा झापादेखि बारासम्म मैथिली भाषा बोलिन्छ। मैथिली भाषीहरूको सघनता महोत्तरी, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा बढी छ। भारतमा समेत गरेर यो भाषा ५५ हजार ९७० वर्ग किमि क्षेत्रको आवादीमा बोलिन्छ। नेपाल र भारतका प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म मैथिली भाषाको पठनपाठन हुन्छ। नेपाल सरकारले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि रु.१ करोडको अक्षयकोष खडा गरेर विद्यापति पुरस्कार स्थापना गर्नुले यो भाषालाई दिएको महत्व झ्ल्किन्छ।
यस्तो अवस्थामा मैथिली भाषालाई बङ्गाली र हिन्दीको उपभाषिका सिद्ध गर्न खोज्ने तथा नेपाली वा मैथिलीको साटो हिन्दीमा शपथ लिने जस्ता बुझिनसक्नुका प्रयासहरू पनि भएका छन्। जबकि, भाषा विज्ञानको दृष्टिले मैथिली मागधी आनुवंशिक भाषा हो भने हिन्दी शौरसेनी। मैथिलीको साहित्यिक परम्परा हिन्दीको भन्दा प्राचीन र सुदीर्घ छ। त्यसैले आफ्नै लिपि (तिरहुता वा मिथिलाक्षर) भएको मैथिलीलाई सम्पूर्ण आर्य भाषाहरूमा विलक्षण मानिन्छ।
मैथिली भाषाका प्रथमाप्रथम अध्येयता डा. जर्ज अब्राहम ग्रिअर्सनले सन् १९०३ मा भारतका भाषाहरूको चर्चा गर्ने क्रममा मैथिलीलाई अरूबाट भिन्न भनेर चिनाएका छन्। पण्डित गोविन्द झाको उच्चत्तर मैथिली व्याकरण (सन् १९७९) मा मैथिलीको आधुनिक भाषावैज्ञानिक विश्लेषण छ। त्यसअघि १९६६ मा डा. रामावतार यादवले लेखेको मैथिलीको सन्दर्भ व्याकरण मा वर्ण, रूप, वाक्य आदिको विशद चर्चा छ। डा. दुर्गानाथ झाको मैथिली साहित्यिक इतिहास पुस्तकमा मिथिला जाति, भाषा, संस्कृति र साहित्यको विहङ्गम दृश्यहरू छन्। त्यसयता प्रा.डा. सुनिलकुमार झाले मैथिलीः सम आस्पेक्टस् अफ इटस् फोनेटिक्स् एण्ड फोनोलोजी शीर्षकमा विद्यावारिधि शोध र सत्यनारायण गडेरीले नेपाली र मैथिली भाषाका पदसङ्गतिको तुलना शीर्षकमा स्नातकोत्तर तहको शोधपत्र प्रस्तुत गरेका छन्। यी दुई भाषाका व्याकरणात्मक कोटिहरू (लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष र भाव)को तुलनात्मक अध्ययन भने हुन बाँकी नै छ।
भाषाहरूलाई व्याकरणात्मक व्यवस्थाले छुट्याएको हुन्छ। भाषाका वर्ण, व्याकरण, शब्द र अर्थ फरकफरक हुन्छन्। मैथिलीको व्याकरण, शब्दकोश आदि प्रकाशन भए पनि नेपाली भाषासँगको अन्तरसम्बन्ध स्पष्ट गरिएको पाइन्न। मैथिली भारोपेली परिवारको भाषा हो। ठूलो क्षेत्रमा फैलिएको हुनाले मैथिलीका अनेकौं क्षेत्रीय भाषिकाहरू छन्। नेपालको मैथिलीमा जनकपुरिया, सिरहाली र सप्तरिया उपभाषिकाहरू छन्। नेपालको सप्तरी र भारतको मधुवनी क्षेत्रमा बोलिने भाषिकालाई स्तरीय मैथिली मानिन्छ। यसमा पनि विद्याजीवी जाति (ब्राम्हण, कायस्थ, राजपूत आदि) र कृषिजीवी (यादव, धानुक, कुर्मी आदि) जातिका बोली गरी दुई वटा मुख्य स्थानीय भेद छन्। यसभित्र अनेकन् उपभेद छन् जसको अध्ययन भइसकेको छैन।
डा. ग्रिअर्सनका अनुसार आदर्श, दक्षिणी, पूर्वी, छिकाछिकी, पश्चिमी, जोलही र केन्द्रीय जनधारणा गरी मैथिली भाषामा सात भाषिका छन्। भौगोलिक दृष्टिले मैथिलीका आदर्श मैथिली (उत्तरी दरभङ्गा क्षेत्र), दक्षिणी मैथिली (दक्षिणी दरभङ्गा, मधुवनी, पूर्वी मुजफ्फरपुर, सीतामढी, उत्तरी मुंगेर, उत्तरी भागलपुर, पश्चिमी पूर्णिया), पूर्वी मैथिली (पूर्वी पूर्णिया, मालदह तथा दिनाजपुर) छिकाछिकी मैथिली (दक्षिणी भागलपुर, उत्तरी सन्थाल परगना, दक्षिणी मुंगेर), पश्चिमी मैथिली (पश्चिमी मुजफ्फरपुर, पूर्वी चम्पारण), जोलही मैथिली (उत्तरी दरभङ्गाका मुसलमानहरूको बोली), केन्द्रीय जनधारणाका मैथिली (पूर्वी सीतापुरा बोली, मधुवनी जिल्लाका निम्न श्रेणीका बोली र नेपालमा विद्याजीवी र कृषिजीवी जातिका बोली) गरी विभिन्न उपभाषिका क्षेत्र छन्। भौगोलिक दूरी, कम सामाजिक सम्पर्क, भौतिक विकास र अन्य प्रभावका कारण भाषामा क्षेत्रीय भेदहरू जन्मन्छन्, अपभंरश र एउटै क्रियाको फरक प्रयोग देखिन्छ, जुन मैथिलीमा पनि छ। कतिपय ठाउँमा मैथिलीका कथ्य र लेख्य फरक छन्।
नेपालका विद्याजीवी जातिका बोलीलाई स्तरीय र कृषिजीवी बोलीलाई ठेट मैथिली मानिन्छ। विद्याजीवी जातिका बोली मैथिलीको लेख्यरूप भएकाले स्तरीय मानिएको हो। नेपालमा स्तरीय मैथिली बोलिने सप्तरीमा २०४८ मा ७२.६ प्रतिशत रहेका मैथिली भाषी २०५८ मा ७५.१ प्रतिशत पुगेका थिए। २०५८ को जनगणनाले धनुषा, महोत्तरी, सिरहा, सर्लाही, झापा, मोरङ, सुनसरी, सप्तरी, बारा आदि जिल्लामा मैथिली भाषाभाषीको सङ्ख्या बाक्लो रहेको देखाएको छ।
र, अन्त्यमा
समुदायहरूबीचको सम्बन्ध विस्तार र आत्मीयताको कडी पनि हो, भाषा। एकअर्काको भाषा, संस्कृतिलाई महत्व-मान्यता नदिँदा न सम्बन्ध विस्तार हुनसक्छ, न त आत्मीयताको भाव नै उत्पन्न हुन्छ। अङ्ग्रेजीमा भनिएको पनि छ, रेस्पेक्ट अदर्स एण्ड गेट रेस्पेक्टेड अर्थात् आफू सम्मानित हुन अरूको सम्मान गर। कुनै भाषा जतिसुकै समृद्ध होस्, त्यसको महत्ता स्थापित गर्न त्यसका वक्ताहरूले अन्य भाषालाई आदर गर्नै पर्छ। त्यसैगरी, कुनै समृद्ध भाषालाई कम आँकेर त्यसको ठाउँमा अर्कोलाई जबर्जस्ती स्थापित गर्ने प्रयास फलदायी हुनसक्दैन।
वर्ष २१, अङ्क १४
पूर्णाङ्क २९८
