विज्ञानको लागि पनि नयाँ जलवायु परिवर्तन बारे विश्वव्यापी रूपमै धेरै कुरा जान्न, बुझन र बुझाउन बाँकी छ। औद्योगिक विकासले सिर्जना गरेको विनाशकारी परिणति मानिने जलवायु परिवर्तनमा आफ्नो दोष शून्यप्रायः भए पनि बढी असर भोग्ने देशहरूमध्ये पर्दछ, नेपाल। जलवायु परिवर्तनको परिणाम र असर थाहा पाउन सहायक तथ्य-तथ्याङ्क पर्याप्त नभएको नेपालका बारेमा त जान्नु-बुझनुपर्ने कुरा अझ् धेरै छन्। वातावरण मन्त्रालयको सहयोगमा नेपाल वातावरण पत्रकार समूहले प्रकाशित गरेको किताब जलवायु परिवर्तनः बुझौं र बुझाऊँ ले यही खाँचो पूरा गर्न खोजेको छ।

जलवायु परिवर्तन सम्बन्धी ज्ञान-विज्ञानलाई सरल र सान्दर्भिक तरिकाबाट प्रस्तुत गर्ने तथा आम नागरिकलाई यसको अन्तरवस्तुसँग परिचित गराउने काममा पत्रकार एवं सञ्चारमाध्यमहरूको भूमिकालाई महत्व दिएको किताबले तिनैलाई आफ्नो लक्ष्य बनाएको छ। पत्रकारहरूले थाहा पाउनुपर्ने जलवायु परिवर्तनसम्बन्धी जटिल प्राविधिक कुरा र अन्तर्राष्ट्रिय सन्दर्भलाई नेपाली परिवेशमा सजिलोसँग बुझाउन विज्ञानसँगै स्थानीय ज्ञान, विवेक, अनुभव, शास्त्र, संस्कृति, परम्परा आदिको सहयोग लिइएको छ। जलवायु परिवर्तनलाई जीवन-जगतको आधार जल, स्थल, वायु, प्रकाश र आकाश जस्ता पाँच तत्वको सन्तुलन बिथोलिनुसँग जोडेर हेरेका डा. तीर्थबहादुर श्रेष्ठले भोट प्रदेश र हिमाली क्षेत्रको आकाशको स्वच्छता थाहा पाउन वर्षमा कति दिन राति तारा गन्न सकिन्छ भन्ने जस्ता प्रश्नको जवाफ खोज्न सुझ्ाएका छन्। जलवायु परिवर्तनको यथार्थ बुझन पत्रकारहरूले जवाफ खोज्नुपर्ने यस्ता थुप्रै प्रश्न छन् किताबमा। विज्ञान-प्रविधिका जटिल कुरालाई सरल तरिकाबाट बुझाउनु डा. श्रेष्ठको विशेषता नै हो। उनको अघिल्लो पुस्तक विज्ञान विचार तथा पत्रपत्रिकामा निस्किने लेख-रचनाहरूले विज्ञानका धेरै कुरामाथि प्रकाश पारेका छन्।

किताबमा डा. तीर्थबहादुर श्रेष्ठले जलवायु परिवर्तनको अवधारणा र सन्दर्भ, तथ्य-मिथ्या, लक्षण, कारण र परिणाम, प्रभाव आकलन, अन्तर्राष्ट्रिय सन्धि, सम्मेलन र प्रयास तथा राष्ट्रिय नीति, कानुन र कार्यान्वयनका बारेमा लेखेका छन्। जलवायु परिवर्तन र जनस्वास्थ्यसम्बन्धी विषय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका लागि डा. बन्दना प्रधानले तयार पारेको सामग्रीमा आधारित छ। अन्तिम परिच्छेद निहुँ जलवायु परिवर्तनको, पत्रकारिता मान्छेको मा पत्रकार मोहन मैनालीले जलवायु परिवर्तन र जीवन-जगतसम्बन्धी फिचर, डकुमेन्ट्रीहरू तयार पार्ने र प्रस्तुत गर्ने कलाबारे लेखेका छन्। ठाउँ-ठाउँमा राष्ट्रकवि माधव घिमिरेको काव्य लेखनको अनुभवका प्रसङ्ग झ्िकेर मैनालीले पत्रकारहरूले आफ्नो लेखनीमा अपनाउनुपर्ने गम्भीरतालाई दर्साउन खोजेका छन्। गोरखापत्र मा छापिएको आफ्नै एउटा फिचरलाई त्यसका सबल पक्ष र कमि-कमजोरीसहित प्रस्तुत गरेर उनले पत्रकारहरूलाई जलवायुसम्बन्धी स्टोरी लेखनका धेरै प्राविधिक कठिनाइ समाधान गर्न सजिलो पारिदिएका छन्।

जटिल कुरालाई सहज ढङ्गले प्रस्तुत गर्न किताबले चित्रसामग्री, तालिका, बुँदागत प्रस्तुति आदिलाई प्रशस्त प्रयोग गरेको छ। तर, जलवायु र भू-क्षेत्रबीचको सम्बन्ध उपशीर्षक अन्तर्गतको लामो बुँदा प्रस्तुति विषयगत आधारमा नछुट्याइएकाले अलि बोझिलो बनेको देखिन्छ। भाषागत त्रुटि अझै कम भएको भए राम्रो हुन्थ्यो। एक सन्दर्भमा भारतको भोपाल काण्डसँगै जोडेर उल्लेख गरिएको चेर्नोबेल आणविक दुर्घटनाको उदाहरणले पाठकहरूमा तत्कालीन सोभियत संघको चेर्नोबेल पनि कतै भारतकै हो कि भन्ने भ्रम पार्न सक्छ।

बद्री पौड्याल
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १४
पूर्णाङ्क २९८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *