बररर, बररर……
जीवनका केही मध्यरातहरू
ज्योतिपुञ्ज नबनेका पनि होइनन्
तर पनि सकिनँ मैले
एउटा सुकोमल, सबलाङ्ग
अनि सर्वप्रिय सन्तति
जन्माउन मेरो कोखबाट ।
………. ………… …………
इतिहासले ममा गरेको गर्भाधान
केवल एक बतासे फुल !
ट्वाङ् ट्वाङ् ……….
अस्तित्व समाप्त हुँदैछ मेरो
मध्यरातको निष्पट्टतामा
नयाँसडकको पीपलको बोट
एक नासले नियाल्दैछ
रानीपोखरी अगाडिको घण्टाघर
सुईहरूको बुई चढाइ
कर्कश आवाज बिदाइको
एउटी असक्षम मातृ-समयको
ट्वाङ् ट्वाङ् ट्वाङ् ……..
अण्डा फोरेर जन्मेका कौरवहरू !
चियर्स !
“सफल भयौँ आज
सपथ खान रोक्न सकेकोमा
योभन्दा सङ्केत अरु के दिन सकिन्छ
‘अकलमन्द’ भए ‘इसारा’ ले बुझ्लान्
खाल्डो सुरक्षित छ
देश सुरक्षित छ
…… ….. ……..
मन्त्री अस्पतालको शैय्यामा छ”
हा हा हा
…….. ……… ………
‘एउटा युगलाई रोक्न सक्यौँ
अर्को सालको के कुरा भयो र
रात रहे अग्राख पलाउँछ
………’
प्रिय बैनी
मेरा अनुभवहरू,
कानमा गुञ्जेका कर्कश शब्दहरू
……. ……….. …………..
यस्तै रहे
जाँदैछु अब नआउनेगरी
केवल इतिहास बनेर
इतिहासले ममा सारेको
मेरो गर्भ
तिम्रो गर्भमा सार्दैछु
विश्वास छ
तिम्रो गर्भ तिरोहरण हुनेछैन
त्यो बतासे फुल पनि बन्ने छैन
दोस्रो महिनामै जन्माइदेऊ
त्यो चिरप्रतीक्षित सन्तान
लेखियोस् मेरो देशको संविधान ।
मधुपर्क जेठ, २०६९
