“साहित्य समाजको ऐना हो भने सामाजिक जीवनका कटुमधु अनुभूतिहरूलाई आत्मसात् गर्दै भावनात्मक क्षितिजमा चेतनशील किरणहरू फैलाएर समाजका विविध पक्षहरूको उद्घाटन गर्नु सायद साहित्यकारहरूको प्रमुख कर्तव्य हो” भन्दै ‘आजको आकाश’ संयुक्त कविता-सङ्ग्रह (२०४२) मा उदाएका जीवराज घिमिरे, प्रहृलाद पोखरेल, आर. के धर्मस्थली, आशीष शैली र राजेन्द्रप्रसाद अधिकारी नेपाली काव्य-काननका पञ्चभलाद्मीहरू हुन् । समकालीन नेपाली कविताको प्रस्थान विन्दु मानिएको २०३६ सालको ‘सडक कविता क्रान्ति’ पछि जन्मिएका यी समवय कविहरूले पुनः २०६३ सालमा ‘आजको आकाश’ संयुक्त कविता-सङ्ग्रहलाई नै निरन्तरता दिएर साहित्यिक सहयात्रालाई अगाडि बढाएका छन् । यिनै कविहरूका प्रथम सङ्ग्रहका ४४ कविता र दोस्रो सङ्ग्रहका पनि ४४ वटै कविताहरूलाई विहङ्गावलोकन गरेर यस लेखनलाई तयार पारिएको छ ।
नेपाली साहित्यमा संयुक्त लेखनको प्रारम्भ वर्तमान सन्दर्भमा सम्भवतः २०३५ को ‘आकाश विभाजित छ’ नामक उपन्यासबाट भएको हो । त्यसपछि २०४२ र २०६३ को ‘आजको आकाश’ ले यस क्षेत्रमा आँधीवेरी नै ल्याइदियो । पाँचजना कविको संयुक्त प्रयासपछि दशजना कवि (कलानिधि दाहाल, गोविन्दप्रसाद भट्टराई, तीर्थराज अधिकारी, पुरुषोत्तम दाहाल, कृष्णप्रसाद दाहाल, चित्रकुमार दाहाल, नारदमणि पौड्याल, शम्भुमुकुट खरेल, मोहनबहादुर बस्नेत, हरिप्रसाद पोख्रेल) मिलेर २०४३ मा ‘केही कवि ः केही कविता’ लाई आन्दोलनकै रूपमा अगाडि बढाए । ‘त्रिविध’ २०४३ कै संयुक्त कथा-सङ्ग्रह हो । सोही वर्ष प्रकाशनमा आएको ‘कथाकोण’ पनि संयुक्त कथासङ्ग्रहका रूपमा परिचित छ । ‘देहमुक्त’ २०४४ र ‘अवतार विघटन’ २०४५ पनि संयुक्त उपन्यासकै कोटिभित्र पर्दछन् । ‘बीपी कोइरालाका साहित्यको समग्र अध्ययन’ समालोचनासङ्ग्रह २०५१ लाई पनि संयुक्त लेखन भित्रै गणना गरेर अध्ययन गर्न सकिन्छ । वि.सं. २०५० मा प्रकाशन भएको ‘ज्यागा’ पनि संयुक्त लेखनकै उपज मानिन्छ ।
‘आजको आकाश’ नेपालको आकाश हो, सामाजिक परिवेशको आकाश हो, नेपालको राजनीतिक आकाश हो, शोषित, पीडित र निमुखाहरूको आकाश हो, हिंसा, हत्या र लुटपाटको आकाश हो । जुन आकाशमा सधैँ बादलको कालो धब्बा लागेर ताराहरू रोइरहेका हुन्छन् । जून र घाम पनि राहूद्वारा आक्रान्त पाइन्छन् । अँध्यारोले उज्यालोको अस्तित्व छोपेपछि धर्तीमा पनि अँध्यारो छाउँछ र सारा चराचर प्राणीहरूमा कोलाहल मचिन्छ । यस्तो विषम परिस्थितिलाई कविहरूले देखे, भोगे र कविता लेखे । तिनै कविताहरूको पुञ्ज हो आजको आकाश ।
‘आजको आकाश’ का अधिकांश कविहरूले पनि आफ्ना कविताहरूमा यही विधि अपनाएका छन् । प्रारम्भका कवितामा पञ्चायतकालीन शोषण, दमन, उत्पीडनलाई विषयवस्तु बनाएर त्यसबाट समाजलाई मुक्तिदिने उद्देश्यलाई अगाडि सारिएको छ भने २०६३ मा प्रकाशित ‘आजको आकाश’ का कविताहरूले जन-आन्दोलनका घटनाक्रमहरूमा र त्यसपछिका परिस्थितिमा जनताले भोग्नु परेका सास्तीहरूको इतिवृत्त देखाउने प्रयत्न गरेको पाइन्छ । दुवै समयमा यी कविहरू अत्यन्तै संवेदनशील, लोकहितकारी र समयसन्दर्भलाई प्रस्तुत गर्न सिपालु कविहरूका रूपमा प्रस्तुत भएका पाइन्छन् ।
प्रथम सङ्ग्रहका जीवराज घिमिरे देशको अशान्त परिवेशभित्र कुँजिएको जीवन देखेर विरक्तिएका छन् । मान्छेले उदात्त भावले हाँस्न नपाएको र गाउँको वातावरणमा समेत विकृति र विसङ्गति भित्रिदै गएको देखेर उनी मर्माहत बन्न पुगेका छन् । ‘पोहोर साल जे भयो भयो, यसपालि त धित मरुञ्जेल हाँस्नुपर्छ’ भन्दै अन्तरात्माको बोली बोल्न पुगेका छन् ।
“फाटेको बाटो टाल्न नसकी, हारेर
मट्टीतेलको लामो लाइनमा टुक्रुक्क बसी
मेरो देश, भोलि पर्खीपर्खी, रोइरहेछ”
-आजको आकाश(२०४२)
मैले स्वतन्त्र, उदार र फराकिलो परिवेश पाउन सकेको छुइँन । मेरो आकाङ्क्षाको फूललाई आफ्नो झोलामा कच्याक-कुचुक्क पारेर खाँदिदिएको छु । मैले स्वतन्त्र र उन्मुक्त हाँसो हाँस्न पाइँन भन्दै हिजोको साँघुरो परिवेशको यथार्थ चित्र कोर्न सफल घिमिरे सबैलाई आफ्नो अन्र्तमनमा देश खोज्न र गँडेउलाको निरर्थक जीवन न जिउन आग्रह गर्दछन् ।
‘मान्छे उच्चताको सगरमाथा हो’ भन्दै सकारात्मक सोचका साथ अगाडि बढ्ने कवि घिमिरे दोस्रो सङ्ग्रहमा आएर बौद्धिक परिपक्वताका साथ अगाडि बढेका छन् । उनी-‘आकाश अनन्त छ, यसको कुनै सीमान्त छैन’ भन्दै सबैलाई आकाश जस्तै उदार र विशाल बन्न आग्रह गर्दछन् ।
“जब ब्यूँझन्छु, ढुङ्गाको सिरानीमा, सिस्नुको ओछ्यानमाथि तातो तावाको डाम सहेर, निष्प्राण छटपटाइरहेको हुन्छु”
-आजको आकाश(२०६३)
वर्तमान परिवेशमा प्रसिद्ध छन्दवादी आधुनिक कविका रूपमा चिनिएका यी सङ्ग्रहभित्रका दोस्रा कवि प्रहृलाद पोखरेल हुन् । छन्दयुक्त र छन्दमुक्त शिल्पसाधनामा सफल यी कविले आधा दर्जनभन्दा बढी काव्यकृतिहरू लेखेर सार्वजनिक गरिसकेका छन् । यिनी युगवोधी कवि हुन् । यिनका कवितामा जटिलताले भन्दा सरलताले बढी प्रोत्साहन पाएका छन् ।
‘आजको आकाश’ २०४२ मा कवि पोखरेलका यथार्थ चिन्तन गरिएका पाँच गद्य कविताहरू समावेश गरिएका छन् । उनी स्वतन्त्रता, विकास, मानवता र लोकतन्त्रको प्रतीक्षामा परिश्रमका पसिना पिएर अभावग्रस्त जीवन बाँचिरहेका छन् । कवि गोपालप्रसाद रिमालकी आमाले देखेको सपना जस्तै यी कविले पनि रातदिन उनीलाई पर्खिरहेका छन् । कवि भन्छन् ः
सिर्जनाका सयौँ उच्छवासहरू पर्गेल्ने मेरो मस्तिष्क
मर्यो, सास फेर्दाफेर्दै जिउँदै मर्यो,
केवल म अभिशप्त इतिहाँस बाँचिरहेछु’
(प्रथम सङ्ग्रहबाट)
कवि पोखरेल हिजो अन्याय, अत्याचार, अशिक्षा, अन्धकार, अज्ञान, अकर्मण्यता र शोषण-दमन विरुद्ध आवाज उठाउँदै सत्यकर्मले शहीदको सम्मान गरौँ भन्थे, निरङ्कुशताको विरोध गर्थे, स्वतन्त्रताको गोरेटो खोज्थे । आज दोस्रोसङ्ग्रह (२०६३) मा सत्य, न्याय, लोकतन्त्र, मानव अस्मिता र राष्ट्रिय स्वाभिमानको खोज गर्न पुगेका छन् । नयाँ नेपालको निर्माणपछि शान्ति, सद्भाव र सङ्गतिको वातावरण उनका कविताको चाहना हो तर सुन्दर, शान्त अनि समृद्ध राष्ट्रको परिकल्पना गर्ने कविको चाहना आजसम्म पूर्ण हुन सकेको छैन । त्यसैले उनी भन्छन् ः
‘रोकियोस् रक्तको होली सुकोस् षड्यन्त्रको नली
सधैँ स्वाधीनता सप्रोस् यो पराधीनता ढली’
‘काम गर्ने कठै कालु ! मकै भाँच्तछ भालुले
जाँतो घुमाउने हातो समायो किन ठालुले’
-आजको आकाश(२०६३)
आर.के. धर्मस्थली यस संयुक्त लेखन अभियानका तेस्रा कवि हुन् । उनले ‘गीत तिम्रो, प्रीत मेरो’ भन्ने गीतसङ्ग्रह (२०३८) प्रकाशन गरेर रेडियो नेपालबाट ख्याति आर्जन गरिसकेका छन् । उनले समय-सन्दर्भलाई प्राथमिकता दिएर लेखेका अभिधार्थका सरल एवं सुबोध कविताले ‘आजको आकाश’ २०४२ लाई सजाएका छन् । निम्नवर्गी कर्मचारीमाथि हुने दमन र शोषण, न्यायका नाममा हुने अन्याय, विश्वका आँखामा नेपालको विकृत छविजस्ता कुराहरू देख्न र देखाउन उनी सफल छन् ।
‘भन ईश्वर तिमी कहाँ छौ ?’ भन्दै मान्छेमा मानवता भर्न ईश्वरको खोज गर्ने यी कविले ‘सुन फल्ने नेपालको माटोमा मान्छेको लास फलेको’ देखेका छन्, जीत सधैँ सत्यकै हुन्छ भन्ने बुझेका छन् । शान्ति, स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार, न्याय र प्रजातन्त्रको व्यापक चाहना राखेका छन् ‘आजको आकाश’ (२०६३) का कवितामा ।
‘आजको युगका लागि एउटा नयाँ बुद्धको आवश्यकता छ’ भन्दै शान्तिको चाहना राख्ने कविले मान्छे मान्छेमा विश्वास हराएको देखेका छन् । बुद्धको मूर्तिमा परेवाको बलि चढाएको भेटेका छन्, आजको आकाशमा गिद्ध र बाजले निमुखा र निरीह प्राणीमाथि हिंस्रात्मक आक्रमण गरेको टुलुटुलु हेर्न विवश बनेका छन् ।
“सक्छौ भने उपकार गर
उपहास नगर
कसैको भलो गर्न नसके
कुभलो पनि नगर”
-आजको आकाश(२०६३)
दुवै संयुक्त कविता-सङ्ग्रहका चौथा कवि आशीष शैली हुन् । सोझा, सजिला, रसिला र मीठा कविता लेख्ने यी कविले पहिलो सङ्ग्रहमा १७ र दोस्रो सङ्ग्रहमा ११ कविताहरू छपाएर आफूलाई स्थापित गर्ने प्रयत्न गरेका छन् । ‘मेरो विचार आकाश भएर फिँजिएको छ, मेरो विश्वास सागर भएर गहिरिएको छ’ भन्ने यी कविले प्रथमचरणकै कवितामा आफूलाई विस्तारित गरेका छन् ।
“सगरमाथा काँधमा बोकेर
हत्केलामा लालीगुराँस फुलाउनेको देश यो,
नसाहरूमा नदी बगाई
पाखुरीमा सागर अटाउनेको देश यो,
यहाँ शरद जून भएर उदाउने गर्छ
यहाँ वसन्त सूर्य भएर फक्रने गर्छ”
-आजको आकाश(२०४२)
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय परिवेश र ऋतु परिवर्तनका मनोरम दृश्यसँगसँगै पुतलीले झैँ लुकामारी खेल्न जानेका यी कविले नयाँ नेपालका लागि यथेष्ट चिन्तन गरेका छन् । मान्छेमा पाइने नकारात्मक प्रवृत्ति, स्वार्थ आदिको चर्चा गर्दै शान्ति, सद्भाव र राष्ट्रिय चिन्तनका साथ अग्रगामी बन्न सबैसँग आग्रह गरेका छन् । उनी सत्य, न्याय र लोकतन्त्रका पक्षमा समर्पित सर्जकका रूपमा देखापरेका छन् । महँगीको विरुद्धमा कवि लेख्छन् ः
अचेल महिना दिनको तलबले
एक तोला सुन त के
एक पोको नुन पनि, न आउने भो’
-आजको आकाश(२०६३)
पाँचौँ कवि हुन्-राजेन्द्रप्रसाद अधिकारी । व्यवस्थापन विषयमा विद्यावारिधि गरेका डा. अधिकारीले २०३८ सालमै ‘खै के हाँस्नु र ?’ भन्ने कवितासङ्ग्रह सार्वजनिक गरेर आफूलाई नेपाली कविता संसारमा परिचित तुल्याइसकेका छन् । उनी पूर्वार्द्धका कविता मार्फत विश्वमा शान्तिको सन्देश, विश्वबन्धुत्वको भावना, सत्य र न्यायको प्रभाव र मानवताको आलोक छर्न चाहन्छन् । ‘यसपालि त वसन्तले पनि बरखी बारेछ’ भन्दै निर्दोष ऋतुमाथि अन्याय र अत्याचारले आक्रमण गरेकोमा दुःख व्यक्त गर्दछन् ।
दोस्रो सङ्ग्रहका डा. राजेन्द्रप्रसाद अधिकारीका कवितामा देशको राजनीतिक चलखेल, समाजमा नसालु पदार्थको प्रभाव, लोडसेडिङले सिर्जना गरेको अस्तव्यस्त जनजीवन, अपहरण-बलात्कार आदिको भयावह स्थिति, युद्धको सन्त्रास, नारी शोषण र उन्मुक्ति, स्वतन्त्रता र समानता, सामाजिक जागरणजस्ता कुराहरू समावेश गर्ने प्रयत्न गरेको पाइन्छ । उनी भन्छन् ः
“बच्चा कोरल्नु पर्ने फुलहरू
गुँडबाटै हराइरहेका छन्
चारो खान निस्केका चल्लाहरू
एकाएक गाँजिएका छन् र पनि माउहरू
बस्तीमा केही पनि नभएझैँ
चुपचाप चुपचाप आँसु पिएर
आफ्नै भाग्यलाई सरापिरहेछन्”
यो देशले भोग्नु परेको नियति हो । यस्ता सन्दर्भहरू कवि अधिकारीले आफ्ना कवितामा प्रशस्त देखाएका छन् । उनी शान्त, सम्य र शिष्ट समाज हेर्न चाहन्छन् । उनी निराशाभित्र आशाको ज्योति जगाउन कविता लेख्छन् ।
मधुपर्क जेठ, २०६९
