पात्रहरू :-(१) दीक्षा, (२) रितेश, (३) सितेश (क्रमशः ११, १२ र १३ वर्षका धनी परिवारका बालबालिका हुन् । यिनीहरूमध्ये सितेश र दीक्षा दाजुबहिनी हुन् ।) (४) रोजिना र (५) कमलेश (क्रमशः १० र १२ वर्षका गरिव परिवारका बालबालिका हुन् । उनीहरू दाजुबहिनी हुन् । रोजिना जन्मजात अपाङ्ग भएकीले बैशाखी टेकेर हिँड्छिन् ।)

(राजदेवी चौकमा रहेको चटपटे ठेला नजिक चटपटे खाइरहेका तीन जना बालबालिकाहरू देखिन्छन् । बेलाबेलामा स्कूल पढेर घरतिर लागिरहेका अरू विद्यार्थीहरू पनि देखिन्छन् ।)

सितेश :- (अमिलो स्वाद र पिरोको कारणले जिब्रो पड्काउँदै) ओहो ! आजको चटपटे कस्तो स्वादिष्ट बनेछ । मनै भरिएन ।

रितेश :- (चटपटे खाँदै) मीठो भेट्दा नभरिनु र नमीठो पाउँदा चाँडै भरिनु मनकै खेला हो ।

दीक्षा :- (पिरोले गर्दा स्याँस्याँ र सुसु गर्दै) नामै त चटपटे ! क्षणिक मिठासपन ल्याउने काम मात्र हो यसको । अझ यसमा दुनियाँ थरी केमिकलको प्रयोग भएको हुन्छ । शरीर बिगार्ने काममा यसको नेतृत्वदायी भूमिका हुन्छ भनेर आयुसी मिस भन्दै हुनुहुन्थ्यो ।

सितेश :- (जिस्क्याउँदै) अँ, दर्शन नछाटे पनि हुन्छ । कत्रो चटपटेमा शास्त्रार्थ गरेजस्तो गर्छे ।

दीक्षा :- (नम्रता जाहेर गर्दै) दादा ! हजुर नै भन्नुस् त ! सेतो भुजा, मुला, नून, आलु आदिलाई रातो, खैरो केले बनाउँछ अनि स्वादिष्ट बनाउन बोतलबाट केके हालिन्छ ? फेरि, यस्ता वस्तुले पेट भरिन्छ र ?

रितेश :- (सहानुभूतिको भाका देखाउँदै) खै, तिमी पनि के–के भन्छ्यौ, भन्छ्यौ ! स्वाद लिन पाइन्छ । क्षणिक भए पनि भोक मार्छ । भातकै सट्टामा खानुपर्छ भनेको छैन नि !

सितेश :- दीक्षा ! खाजा खान भनेर दिएको पैसाको सदुपयोग न हो । अचाहिँदो कुरामा लागेर के काम ! फेरि, अहिले नखाएर कहिले खाने ? हामीलाई केको पीर र चिन्ता ! हरेक आवश्यकता मामूबाबाले पूरा गरिदिएकै छ । नो टेन्सन !

दीक्षा :- (वेवास्थाको भावमा) अर्काको खुट्टामा टेकेर हिँड्न सजिलै हुन्छ । आफ्ना खुट्टाले हिँड्नुपर्यो भने पो गाह्रो त ! आजदेखि नै धेरथोर वचत गर्न सके भोलिको दिन सुनौलो पार्न सकिन्छ ।

सितेश :- (छक्क पर्दै) वचत ! हामीले वचत गर्ने ! यो तिमी के भन्दै छ्यौ ?

दीक्षा :- हो, वचत गर्ने कुरा गरेको !

सितेश :- घरमा थुप्रिएको धन कसले खाने भएको छ । ती गरिबका छोराछोरीजस्तो तिमीचाहिँ वचत गर्ने कुरा गर्छ्याै । फेरि, धन जोगाएर वा वचत गरेरै के गर्छ्यौ ?

दीक्षा :- धनमाथि लडिबुडी खेलिरहेका हामीलाई संसार कसरी चलिरहेछ भन्ने रत्तिभर थाहा छैन । कसैलाई न्युनतम आवश्यकता पूरा गर्न धन छैन, कसैलाई भने जथाभावी गर्न पर्याप्त छ । धन हुनेको मन नहुनेप्रति खिचिए कस्तो राम्रो हुन्थ्यो !

सितेश :- (झर्कंंदै) धत्, महाजन कामानन्द शर्माकी एक्ली छोरी भएर पनि तँ त मगन्ते विचार राख्दै छेस् । तैँले हाम्रो नाक कटाउँछेस् कि क्या हो !

दीक्षा :- (केही जोसिलो पाराले) नाक कटाउने हैन, नाक जोगाउने काम गर्ने मन छ ।

सितेश :- (घृणित नजर लगाउँदै) ल, ल त्यो बुख्याचाजस्तो कमलेश लङ्गडी बहिनीलाई डोहोर्याउँदै यतै आइरहेछ । (त्यसैवेला हातमा कापीहरू च्यापेर कमलेश र रोजिना आइपुग्छन् । रोजिना बैशाखी टेकेर हिँड्छे । ऊ असिनपसिन भएकी छे ।)

रितेश :- (उनीहरूप्रति नजर फ्याक्दै) क्या हो कमलेश ! आज त ढिलो आइपुग्यौ नि ! किन हो ?

कमलेश :- गृहकार्य गर्न बसेका थियाँै । झटपट बनाएर हिँड्यौँ ।

सितेश :- (हेलाको भावमा) यी सरकारी स्कुलमा पढ्ने विद्यार्थी पनि अल्छीका पुरी नै हुँदा रहेछन् । घरमा बनाउने कुरा स्कुलमै बनाउनुपर्ने !

रितेश :- हैन, त्यो त जाँगरको कुरा पो हो त । अल्छीले त बनाउँदैनन्, यिनीहरू त बनाउँछन् । गृहकार्य गर्ने जाँगरिला पो हुन् त !

दीक्षा :- फेरि, भरेभोलिको काम आज र अहिले नै फत्ते गरी भोलिवादी प्रथाका विरुद्ध उभिने मान्छे कसरी अल्छीका पुरी भए होलान् ?

सितेश :- (चिउँडोमा हात राखेर) हारेँ, तिमीहरूकै जित भयो । तिमीहरूको विचारमा सहमति जनाएँ ।

कमलेश :- कुरा हार र जितको हैन । रमिता र राजेशले किताब दिए र एक क्षण पर्खिए । छिटोछिटो हामीले गृहकार्य गरिहाल्यौँ । आफूसँग किताब भइदिएको भए त आनन्दले घरमै बनाइन्थ्यो ।

दीक्षा :- अनि, बाबामामूलाई किताब किन्दिन भनेनौ त ? हेर, बेलामा नबोले सधैँ पछि परिन्छ ।

रोजिना :- (गहभरि आँसु पारेर) कसलाई भन्नूँ ! बुवाआमा दुर्घटनामा परेर स्वर्गे हुनुभएको पनि पाँच वर्ष नाघिसक्यो । एउटा दाजुले हली बसेर कमाएको धनले के–के गर्न पुग्छ र !

कमलेश :- (रोजिनाको आँसु पुछिदिँदै) हातमुख जोर्न गाहो छ, गाँस कटाएरै कापी किन्छौँ । किताब किन्ने कुरा त परैको भयो ।

सितेश :- ए, त्यसैले पो तिमीहरूको स्कुल सरकारी हाम्रोचाहिँ निजी ! गरिबनिमुखाको सरकारी, धनी ठूलाठालुका छोराछोरीका लागि निजी !

रितेश :- स्कुल त स्कुलै हो । सरस्वतीको मन्दिर ठूलोसानो हुन्न । धनी–गरिब हुन्न । लक्ष्मीप्रसाद देवकोटा पनि हाम्रै हुन्, बालकृष्ण सम पनि हाम्रै हुन् । भेदभाव गर्नु बौद्धिक दरिद्रता वाहेक अर्थोक केही होइन ।

सितेश :- (रितेशतिर नजर गाड्दै) धनी बाबुको छोराले दरिद्र मन राख्नु उचित होइन । (कमलेश र रोजिना प्रस्थान गर्छन् ।)

रितेश :- हो, ठीक भनिस् । धनमाथि बस्ने दरिद्र हामी हौँ । हामीसँग थरिथरीका किताब छन् र पनि ठोस ज्ञान लिन सक्दैनौँ । उनीहरू भने किताबबेगरै राम्रो ज्ञान लिन्छन् । वैचारिक दरिद्रताले हामीलाई नराम्ररी गाँजेको देखिरहेको छु ।

सितेश :- (मुख बिगार्दै) एक थोक भन्छु, अर्कै थोक बुझ्छ । उल्टो, उल्टो बुझ्न थालिस् हैन, रितेश ?

रितेश :- जे भन । स्वतन्त्र छौ । तर, ती दुईलाई निःशुल्क किताब दिलाउन सके कत्ति राम्रो हुन्थ्यो ! कत्रो कल्याण हुन्थ्यो !

दीक्षा :- मन हुनुपर्छ । मन भए असम्भव भन्ने कुरा केही पनि छैन ।

सितेश :- (हेलैसित) भो, भो मेरा अगाडि आँसु नचुहाओ । जाओ, उनीहरूकै सामु जाओ र सके जति आँसु बगाओ ।

रितेश :- अरे, तँ पो उल्टो व्याख्या गर्दै छस् । आँसु चुहाएको हैन, पछुतो मानेको मात्र हो । (सन्नाटा छाउँछ ।)

दीक्षा :- (सितेशतर्फ फर्केर) सुन्नुस् दादा ! भोलिदेखि मेरो भागको खाजाको पैसा मलाई नै दिनुस् ।

सितेश :- (झर्कंदै) दाजुबहिनी मिलेर खाइरहेका छौँ । तँलाई ठग्ने कुरा आएन क्यारे ।

दीक्षा :- ठग्ने र ठगिने कुरा होइन । आफ्नो भागमा परेको पैसा आफ्नै खुसीले खर्च गर्ने कुरा मात्र हो ।

सितेश :- तँलाई भेदभाव पनि गरेको छैन । मसँग अहिले नै भाग खोज्छेस् तँ ?

रितेश :- होला नि केही किन्ने ! उनले पाउने दिँदा भइ गयो नि ।

दीक्षा :- मतभेद पनि होइन, हामी बीच भेदभाव पनि छैन । वैचारिक द्वन्द्व निवारणको उपाय मात्र गर्दै छु । बलेको आगो ताप्ने, निभेको आगो लत्याउने कार्यका विरुद्धमा उभिँदै छु । खासमा आर्थिक विभेदले उब्जाएको सामाजिक विभेद उन्मूलनमा सहयोगी बन्न खोज्दै छु ।

सितेश :- यस्ता गन्थनको निष्कर्ष बुझ्न सकिनँ । पैसा केमा खर्च गर्छेस्, भन न ?

रितेश :- विचारको कदर गर्दिए भइ गयो नि ! किन द्वन्द्वमा फँस्नुपरेको होला !

सितेश :- ए रितेश, एकोहोरो रट नलगा त । के बुझिस्, दीक्षाको गन्थनबाट ?

रितेश :- केही बुझेँ । भन्न चाहन्नँ । अल्पज्ञान खतरनाक हुन्छ । खतरा मोल्न रुचाउदिनँँ ।

सितेश :- (रिसाउँदै) यसो पनि होइन, उसो पनि छैन । आखिर कुरा के हो ? (सन्नाटा छाउँछ ।) आखिरमा (कडा स्वरमा) तैँले के चाहिँ खोजेकी ? भन ए दीक्षा ! प्रष्ट भन । पैसा कुन काममा लगाउँछेस् ?

दीक्षा :- (केही भयभित हुँदै) मैले मेरो भाग खोजेकी हुँ । दादा बेक्कारमा रिसाउनुहुन्छ ।

सितेश :- (केही नम्र हुँदै) हो, त्यही त मेरो टाउको दुखाइ हो । आजसम्म मेरा हरेक कुरा र क्रियाकलाप सहर्ष स्विकार गर्ने बहिनी आज आएर मबाट अलग भई आफ्नो भागको पैसा खोज्दै छे । केमा खर्च गर्न चाहन्छे ? मेरो मथिङ्गल हल्लने काइदा यही हो ।

रितेश :- सितेश ! रिस गर्नु उचित छैन । हामीले चटपटे, चाउचाउ, चकलेट आदिमा खर्चेको रुपैयाँ कसैको भलो हुने काममा लगाउने विचार दीक्षाको हुनुपर्छ ।

सितेश :- हो, हो । ठीक छ, पैसाको दुरुपयोग गरियो । सदुपयोग गर्छे तर केमा खर्च गर्छे ? त्यही भन् न । के राजनैतिक भाषण छाँट्छस् !

रितेश :- ए, राजनीतिका कुरा गर्छस् ! त्यही राजनीतिको आडमा त हाम्रा बाबुआमाहरूले गरिबनिमुखाहरूलाई ठगेर धन कुम्ल्याएका हुन् नि । त्यही धनको सानो अंश निमुखावर्गको हितमा खर्चने दीक्षाको सदीक्षालाई घृणा नगर्दा नै वेस होला ।

सितेश :- (केही प्रसन्न मुद्रामा) तेरा कुराले मेरो चित्त बुझ्न खोज्दै छ । (दीक्षातर्फ फर्केर) भन त बहिनी ! पैसा केमा उपयोग गर्छेऊ ? अपुग भए म पनि थपिदिन्छु ।

रितेश :- हो, म पनि थपिदिन्छु । भन दीक्षा ! केकस्तो योजना ल्याएकी छ्यौ ?

दीक्षा :- (खुशी हुँदै) म त्यस पैसाले कमलेश र रोजिनालाई किताब किनिदिन्छु । उनीहरूलाई लाग्ने शुल्क तिरिदिन्छु । कहिलेकाहीँ खाजा खुवाउँछु ।

सितेश :- दरिद्रको सेवा गरे आफू पनि दरिद्र भइन्छ भन्नुहुन्छ नि मामू !

दीक्षा :- हाम्रो किताबमा गरिब र असहायलाई सहयोग पुर्याउने मान्छे नै धनी हो भनिएको छ नि त !

सितेश :- (सोचेर) लौ, मेरो त चित्त बुझ्यो । सहयोग गर्न तत्पर छु ।

रितेश :- हो, अब हामी सुध्रनुपर्छ । नवीन चिन्तन र व्यवहारले समाजलाई सिङ्गार्नुपर्छ ।

सितेश :- यस्ता पूनित कार्य अभियानकै रूपमा अघि बढ्नुपर्छ ।

दीक्षा :- (उत्साहित हुँदै) बरू सबै मिलेर बाल क्लव खोली पढ्नबाट बन्चितहरूलाई सहयोग गरौँ न ।

रितेश :- यसो गर्नसके हाम्रा बाबुआमाको पनि मति सुध्रन कर लाग्छ ।

सितेश :- (पैसा गन्दै) यस कुरालाई आजैदेखि अभियानकै रूपमा लैजाऔँ । पाँच….दस…पन्ध्र…पच्चीस । मसँग पच्चीस रुपैयाँँ छ ।

रितेश :- (पैसा निकाल्दै) मसँग दस रुपैयाँ छ ।

दीक्षा :- जम्मा गर्दै जाऔँ र सर्वप्रथम किताब किनिदिऔँ ।

सितेश :- हुन्छ । (पैसा दीक्षालाई दिँदै) ल, यो तिमी नै राख ।

रितेश :- (पैसा दिँदै) दीक्षा ! यो पनि राख । (दीक्षा पैसा पकेटमा राख्छे ।) अब भने घरतिर लागौँ क्यारे !

दुबै— (टाउको हल्लाउँछन् ।) जाऔँ । (पर्दा विस्तारै खस्दै जान्छ ।)

२०६८.०७.०९ बुधबार (लक्ष्मीपूजा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *