(सामाखुसी साहित्यसमाज, नियमित कवितागोष्ठी)
मोर्निङ स्टार स्कुलको कम्पाउन्डमा भटभटे पसाएँ । मान्छेको जमघट सुरु । “रुसीसांस्कृतिक केन्द्रको कार्यक्रममा पनि तपाईँ हुनुहुन्थ्यो,” इन्दिरा अर्यालले दाबी राखिन् ।
“म नै हो त पक्कै ?” मैले मुस्काउँदै भनेँ ।
“तपाईँ नै हो ।”
मेरो जीउमा बेरिएको साङ्लोको झुत्ता देखाउँदै मैले सोधेँ, “यही साङ्लोले ख्याल गर्नु भा’को होला ह कि ?”
“हो । साहित्यिक कार्यक्रमजस्तोमा त्यसरी बोल्ड गेटअपमा तपाईँलाई देख्दा म चकित परेकी थिएँ ।”
“हो । साहित्यिक कार्यक्रमजस्तो भलादमी, विद्वान् र प्रायः वृद्धहरूको जमघटमा म ग्लेमर गेटअप (मैले गल्ती भनेको) मा हुनु भनेको अनौठो थियो । मैले साङ्लो भिर्नको धेरै कारणहरू छन् । पहिलो दार्शनिक कारण- हामी जन्मिएदेखि समस्याको जन्जिरले बेरिइरहेको हुन्छौँ भन्ने यो प्रतीक हो । माक्र्सले भनेको आर्थिक समस्याको मुक्ति र बुद्ध, साइबाबा वा रजनिशले भनेको आत्मिक समस्याको पूर्ण मुक्ति सम्भव छैन । हामी बाँचिन्जेल समस्याले जकड्न छाड्दैन । यो साङ्लोले भन्छ- निर्भीक तँ जिउँदो भएकोले नै तँलाई समस्याले जकडेको छ । जिउँदो हुनु एक दृष्टिमा राम्रो कुरा पनि हो । अर्को कारण- मेरो पहिचानको लागि । त्यही साङ्लो भिराइले गर्दा तपाईँले मलाई ठम्याएर बोलाउनु भो । अरुकोजस्तै गेटअप भए तपाईँलाई मेरो वास्ता हुने थिएन ।”
मेरो प्रवचनपछि सँगै भएकी भद्रकुुमारी घलेले मेरो जीउमा बेरिएको साङ्लोहरूको अर्थ थपिन्, “अर्को एउटा कुरा छुटाइ बक्सियो भाइले । लोह भनेको बलियो, मजबुत चीज हो । जीउमा लोह बोक्नु भनेको शक्ति मजबुतीको पहिचान हो ।”
सामाखुसी साहित्यसमाजको नियमित साहित्यगोष्ठीको ३१ सौँ शृङ्खलाको थालनी । तर्कना त्यागीको ‘गरिब’, मणिराज सिंहको ‘नियत’, कलाधर काफ्लेको ‘अब म फेरि कुन यात्रामा प्रवेश गरुँ’, मुक्तिनाथ शर्माको ‘यही नेपाल’, अरुण खत्रीको ‘अक्षर चिन’, हरिहर प्रतीकको ‘स्यालमहिमा’ (शार्दूलविक्रीडित छन्दमा), प्रमोद स्नेहीको ‘समयको सूर्यस्त’, इन्दिरा अर्यालको ‘नारी’ र ‘राष्ट्रिय पोसाकमा ठाँटिएको मेरो छोरो’, वासुदेव गुरागाईँको ‘सिर्जनाको चाह’, लुमडी आचार्यको ‘चिल्था’, कौशला लामिछानेको ‘इतिहास कोर्छौ भने’, अनिल कोइरालाको ‘दैनिकी जिन्दगीको’, विजयराजको ‘भाइको झझल्को’, राजारामको ‘अभिनन्दन’ र ‘परोपकार’, गौरी ढकालको ‘भान्से’, नरेन्द्रराज पौडेलको ‘लौ आयो लोकतन्त्र’, मोहन सिटौलाको ‘आवाजको जुलुसहरू’ र कमला प्रसाईको ‘डिभि लटरि’ कविता, सुविसुधा आचार्य, केशव आचार्य र सुशीला पोखरेल ‘आँसु’को गजल, शिशिर देवकोटाको मुक्तक वाचन भए । त्यस्तै उमा मिश्र, हरिप्रसाद पाण्डे, उत्घोषक दीनेशविक्रम थापा, लक्ष्मी उपे्रती, नारायण गोदारे, अच्युत पौडेल ‘चिन्तन’ बाट पनि आआफ्नो रचना वाचन ।
मोहन सिटौलाले कहे, “लटरि परेर अमेरिका जाने एउटी महिलाले व्यर्थमा नेपाल छाडेको भन्ने गुनासोसँगको कविता लेखेकी छिन् । सुन्दादेख्दा अमेरिका सम्पन्न छ । तर त्यहाँ कत्ति खेर बम पड्किन्छ, लुटिन्छ भन्ने त्राहि हुन्छ ।”
अमेरिकाको दुःख (नकारात्मक कुरा) मात्र ख्याल गरेर कविता लेख्नु एकाङ्गी दृष्टिकोण हो । तर सबै जना डिभि लटरिबाट अमेरिका बसाइँ सर्नेहरू त्यही कविता बनाउने कवयित्रीजस्तै दुःखी भने पक्कै छैनन् । सुखैसुख वा राम्रैराम्रो मात्र त संसारमा काँही पनि हुँदैन । दुःख नभई सुखको महत्व हुँदैन । हरबखत सुख चाहनु भनेको सधैँ दिन (उज्यालो) मात्र चाहनु जस्तै मूर्खता हो भन्ने कुरा बुझ्न खाँचो छ ।
प्रमुखअतिथि भद्रकुमारी घलेको मन्तव्य मैले व्यग्रताको साथ कुरिरहेकोमा म हिस्सिएँ । किनकि तिनले ‘समय आएको छ’ कविता पाठ मात्रै । सभापति भाग्यशाली अधिकारीबाट मन्तव्य साथै शार्दूलविक्रीडित छन्दको ‘संसद्मा तिनको फोटो राख’ पाठ । कार्यक्रमको अन्यतिर म ५० वर्षे मान्छे चाक र कम्मर दुख्दा २–३ चोटि उठेर बसाइको अवस्था फेरेँ । तर ७६ वर्षीय भद्र घले भने कार्यक्रम नसिद्धिन्जेल बेन्चमा बसेकी बस्यै भइन् । यो देखेर म चकित परेँ । तिनको कस्तो ! तगडा ज्यान ।
भद्रकुमारी घलेको साहित्यमा पनि नाम सुनेकोले श्रद्धासहित तिनको उपहारकृति ‘मनमन्थन’ घरमा ल्याई पिउँन थालेँ । तिनको उक्त कृति जत्ति पढ्दै गयो उत्ति उनीप्रतिको श्रद्धा हलुङ हुदै गयो । मलाई त्यस्तो हुनुमा शैली एकै प्रकारको हुनु, एउटै विषय (जस्तै प्रगति र उन्नति, मित्र र साथी, बानी र स्वभाव, प्रभात र बिहानी, ममता र स्नेह, मान र सम्मान आदि) मा दुइटा शीर्षक राखी दुई ठाउँ कविता बनाएकीले तिनको परिपक्वतामा शङ्का लाग्नु र राजामध्येमा पनि किर्ते राजाको घोर निरङ्कुश कदमको समर्थन गर्दै परनिर्भरता व्यक्त गर्नु जस्ता कारणहरू थिए । तर म बाठो भएर के गर्ने र ! मोहन कोइराला जत्तिको धुरन्धर कवि (तर म उनको अनावश्यक चर्चा र भाउ बढेको ठान्छु) ले भूमिकामा तिनको शैलीलाई ‘सुन्दर’ भनेर तोक लगाइसकेका छन् । त्यस सङ्ग्रहलाई ‘उपदेशहरूको सङ्ग्रह’ भने पनि फरक पर्दैन (तिनको उपदेशहरू मान्न लायक नभएको भने होइन) जसलाई पिउँदै जाँदा बिस्वाद लाग्न थाल्यो । तर त्यस्ती वृद्ध (७६ वर्षकी) महिलाले ससम्मान उपहारस्वरुप थम्याएकी कविताकृतिलाई टाकटुक नपिई थन्काउनु मनले धर दिएन । ‘देशको कथा र व्यथा’ कवितामा तिनले यसरी राजभक्ति प्रकट गरेकी पाएँ-
बहुदलवादीले देश खोक्राएको छ
महल बनाई पजेरो चढ्याको छ
अनैतिक भ्रष्टता चरम सीमामा पुग्या छ
त्यसैले राजाले १९ गते घोषणा गर्या छ
प्रतिबद्ध राजालाई सघाउनु परेको
सुन भाइबैनी देशको कथा यो ।
बहुजाति, बहु धर्मी एकता राजा हो
मिलन बिन्दु राजामै यो देश बचेको ।
‘मनमन्थन’ त तिनको १९ सौँ प्रकाशित कृति । ५ वटा भन्दा संङ्घसंस्थामा तिनी आबद्ध । राजनेत्री, चित्रकार र समाजसेविका । ओ हो हो ! कताकता तिनले हात हालेकी ? कसरी भ्याएकी ? जे होस् अनेक काममा संलग्न भई सामान्य नारीले भन्दा तिनले बेग्लै आफ्नो पहिचान बनाएकीले तिनी चानचुने नारी होइनन् ।
२०६४ जेठ ३०, जनवरी २००७
