
बिहानको ठिक एघार बजेको समय थियो । पिठे निक्कै हतारमा घर फर्कदै थियो । उसका दुवै हातमा चार पाँच ओटा पारदर्शी झोला थिए । सबै झोला भरी खाध्य सामान सवार थिए ।
पिठे हाट भरेर फर्केको कुरा सहजै अनुमान लाउँन सकिन्थ्यो । चर्को घामको रापले पिठे अलि रन्थनिएको थियो । पसिनाले खल्खली भएको थियो ऊ ।
घरको दलानमा उभिएका गुरुजीले बिाटोमा लम्किदै गरेको पिठेलाई देखे । गुस्जीले पिठेलाई “ए पिठे, एकछिन यता आइज न” भन्दै बोलाए । “के ल्याइस् पिठे ?” गुस्जीले सोधे । उसले जवाफ दियो, “घर भरी पाहुँना छन्, सागसब्जी र चामल अनि नून, भुटुन किनेर फर्केको नि हजुर ।” उसले भोर्लाको पातका दुई लामा बिडी निकाल्यो । गुरुजीले भित्रबाट आगाको अगुल्टो ल्याए । दुवैले एक एक बिडी तानिसके ।
गुरुजीले पिठेलाई प्रश्न गरे, “अनि के कति पाहुँना आए नि पिठे यो दशैँमा ?” ऊ फटाफट जवाफ दिन थाल्यो, “तीन छोरी,चार ज्वाइँ आए । नाति नातिनी सबै आए । दुई भाञ्जा पनि यसैपाली आए ।”
गुरुजी छक्क परे । एकछिन घोरिए पनि । फेरि गुरुजी बोले, “होइन ! ए पिठे, त्यो — तीन छोरी, चार ज्वाइँ — भनेकै बुझिँन मैले ! अलि प्रष्टसँग भन् त, कुरा के हो ?”
पिठे अलि नजिकै आयो । गुरुजीसँग साउती मार्यो । अखिर कुरा रोचक थियो । पिठेकी जेठी छोरीले अर्का ज्वाइँसँग दोस्रो विवाह गरेको कुरा गुरुजीलाई थाहा भयो । पहिलो ज्वाइँसँग हुँदा दुई सन्तान जन्माइसकेथी उसले । बाध्यताले विचरा ती ज्वाइँले पनि अर्की बिहे गरेका थिए । दुई छोरा पनि अर्की पट्टी भएकै थिए । ज्वाँई चार जनाका बाबु थिए । दशैंमा छोरा छोरीलाई मावली ल्याइदिन अघिल्ला ज्वाइँ पनि हरेक वर्ष आँउथे पिठेका घरमा । पिठेका तीन छोरी, नयाँ जेठा ज्वाइँ र पुराना जेठा ज्वाइँ सहित चार ज्वाइँ लगायत अन्य समेत दशैंका पाहुँना थिए ।
सम्पन्न !
