पात्रहरू : (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रूख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका चार जना केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई हकार्न थाल्छ ।)

अशोक : तिमीहरू अरूको पेटमारा रहेछौ । तिमीहरूको हल्लाले मेरा सिकार उडे ।

राधा : (रुञ्चे मुहार पार्दै) हामीले खेलेका मात्र हौँ, झगडा पनि गरेका छैनौँ । विराउनु केही छैन । तपाईंले हामीलाई किन हकार्नुभएको हो ?

ज्ञानिता : नविराउनु नडराउनु । हामीले कसैको पेट मारेका छैनौँ ।

मनोज : (खिन्न हुँदै) यो सार्वजनिक ठाउँमा बसेर खेल्दा पनि गाली खानु हामीमाथि भएको अत्याचार हो ।

अशोक : (कुट्न झम्टिँदै) हकारपकारले पुगेन, कुट्नै पर्ने हो कि क्या हो ? हल्ला गर्छौ ? सबै मुखमा ताला लगाइदिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । विनाकुटाइले शान्ति नै आउँदैन कि क्या हो ?

हरिश : हामीले कुटाइ खाँदाचाहिँ कसरी शान्ति आउँछ त ?

अशोक : तिमीहरू मूर्ख हौ । जे गर्दा पनि भएन । बन्दै नबोल । शान्ति आफैँ आउँछ । शान्तिले चरा डाक्छ । मेरो यो गुलेलीले चरा खसाल्छ । चराले यो झोला भरिन्छ । त्यही भरिएको झोलाले म र मेरो परिवारको पेट भरिन्छ । (चारै जना हाँस्छन् । अशोक अझ रिसाउँछ ।)

ज्ञानिता : उःँ, न त कुटाइले नै शान्ति आउँछ, न त चराको मासुले नै पेट भरिन्छ ।

अशोक : उपद्रो र झगडा गर्नेलाई शान्त पार्ने ओखती कि पिटाइ हो, कि गाली हो ।

हरिश : हामीले गल्ती गर्यौँ । खेल्ने ठाउँमा अलि बढी हल्ला भएछ र झगडा गरेजस्तो पनि गरेछौँ । यस्तो नगरेको भए गाली खानुपर्दैनथ्यो । अब भोलिदेखि हामी यसो गर्दैनौँ ।

अशोक : भोलिको कुरा नगर । म मात्र आजका लागि हुँ । भोलि जस्तो आउला, त्यस्तै टर्ला ।

राधा : त्यसो भनेर कहाँ हुन्छ ? हामीले भोलिका लागि आज बाँच्नुपरेको छ । आजमात्र हैन, भोलि पनि बाँच्नुपरेको छ ।

ज्ञानिता : हो त, भोलि बाँच्न सकियो भने पो सच्चा बचाइ हो ।

अशोक : उमेरले काँचा छौ, कुराले पाकाजस्ता छौ । कहाँ सिक्यौ यी कुरा ?

राधा : किताब पढेर ।

ज्ञानिता : गुरुबा, गुरुमाले बताएर ।

मनोज : मलाईचाहिँ हजुर बाले भनेर ।

हरिश : मलाई त गरिमा दिदीले भनेर ।

अशोक : आफूले त समयमा आँखा देखिएन । बाबु, आमाको कुरा मानिएन, स्कूलको मुख देखिएन । जे गरे पनि म लायककै छु । तिमीहरूजस्तो अर्काको भाग खोस्दै र झगडा गर्दै हिँड्ने काम मबाट कहिल्यै भएन ।

राधा : लायक त मान्छे त्यत्तिखेर हुन्छ, जब उसले सिर्जनात्मक तबरले जीवन जिउन सिक्छ ।

अशोक : म त आफ्नै पाखुरीले बाँचेको छु । चरा मार्छु, झोला भर्छु । बजार लगेर बेच्छु । चामल, तरकारी किन्छु र पुनः झोला भर्छु । त्यही झोला लगेर श्रीमतीलाई दिन्छु ।

राधा : उसो भए चराले ज्यान दिनाले तपाईं र तपाईंको परिवारको पेट भरिँदो रहेछ, हैन ?

अशोक : हो, ठीक भन्यौ । मेरो काम नै त्यही हो । आफ्नै श्रमले जीवन चलाएको छु ।

राधा : अहँ, मेरो बुझाइमा त्यो श्रम हैन, हत्या हो, हत्या । तपाईं हत्यारा हुनुहुँदो रहेछ ।

अशोक : जाबो दुई वचन गाली के गरेथेँ, म हत्यारा भइहालेँ त ? मैले तिमीहरूको ज्यान त लिएको छैन नि ?

ज्ञानिता : अहिले भर्खरै भन्नुभएको हैन ? चराले झोला भर्छु, चरा नै म र मेरो परिवारको चारो हो भनेर ?

मनोज : दाइले बुझ्नुभएको रहेनछ । चरा मार्नु पनि हत्या हो । हत्या गरेर बाँच्नु कायरता हो ।

अशोक : यी वनका चराको वकालत नगर । यी अबुझ प्राणी मार्नु हत्या हैन ।

हरिश : हो, हत्या हो । प्राणी मार्नु हत्यारा बन्नु हो ।

राधा : तपाईंलाई काटे खुन आउँछ, पिटे दुख्छ । त्यस्तै यी वनका चरालाई पनि हुन्छ ।

ज्ञानिता : तपाईंको घरमा श्रीमती होलिन्, छोराछोरी होलान् । त्यस्तै यी चराका पनि हुन्छ ।

मनोज : अझ, तपाईं नभए परिवारको विचल्ली हुन्छ, त्यस्तै यिनीहरूको पनि हुन्छ ।

हरिश : हो, तपाईंको गुलेलीले खसाएका कतिपय चराका बचेराहरू गुँडमा नै भोक र तीर्खाले छटपटाई, छटपटाई मरे होलान् ।

अशोक : भो, धेरै भाषण नछाट । आदर्शको खेती गर्ने यो जमाना हैन ।

राधा : आदर्श हाम्रो गहना हो । हामी मानव हाँै, दानव हैन । मानवले मासु हैन अन्न र सागसब्जी खानुपर्ने हो । हामी दानवको श्रेणीमा खसिसक्याँै ।

ज्ञानिता : मलाई पनि त्यस्तै लाग्छ, हाम्रो पेट मुर्दाघर भइसक्यो । अमृतको घडामा दुई बिक्रो विष हालिदिए, त्यो विषै बन्छ रे । त्यस्तै अरू प्राणीको ज्यान लिएर र मासु खाएर हाम्रो शरीर अपवित्र भइसक्यो ।

मनोज : साँच्चै मुर्दाघर शरीरमै भएको कारणले होला, हामी विवेकशून्य भइरहेका छौँ ।

अशोक : तिमीहरू पढेलेखेका मान्छे भएर आफूलाई विवेकहीन ठान्छौ, लाज लाग्दैन ?

हरिश : केको लाज ? सत्य बक्न लाज हुँदैन । गल्ती पनि गर्ने र पश्चात्ताप पनि नगर्ने आजका मान्छेको यही काइदाले त मानवता धरापमा परेको छ ।

राधा : हो, त नि । जस्तो कर्म त्यस्तै फल । विवेकहीन कर्म विवेकशून्य फल ।

ज्ञानिता : हामी विवेकी नहुँदा हौँ त यत्रो वैज्ञानिक सफलता र चमत्कार कहाँ पाइन्थ्यो ?

मनोज : त्यही त, वैज्ञानिक सफलता र चमत्कारको दुरुपयोग गर्दा त हामी मानव, मानव हुनबाट बञ्चित छाँै । आफू आफैँबाट त्रसित छौँ । त्रासको साम्राज्यभित्र त्राहिमाम भएर बाँचेका छौँ ।

हरिश : अझ, हामी पलपल मरिरहेका छौँ । हामी पलपल मृत्युपीडा भोगिरहेका छौँ ।

अशोक : (हाँस्दै) खै त, सारसौँदै छौ त ? कहाँ मर्यौै ?

राधा : जमिनमा ढल्नु, श्वास नफेर्नु मात्र मर्नु हैन । मान्छे भएर बाँच्न नसक्नु पनि मर्नु हो । भोलिका लागि जिउँदो रहने काम नगर्नु पनि एक प्रकारको मरण हो ।

अशोक : भोलि किन बाँच्नुपर्यो ? आज छौँ, मोजमस्तीका साथ बाँचौँ । मरेपछि डुमै राजा । भोलि हाम्रो साथमा छैन, त्यसका लागि दिमाख नचाउँनु व्यर्थको कुरा हो ।

ज्ञानिता : तपाईं सङ्कुचित घेरामा अल्झन खोज्नुहुँदो रहेछ । के तपाईंलाई भौतिक रूपले हामी सामु नभएका तर काम र नामले कहिल्यै नमर्ने मान्छेको नाम आउँछ ?

अशोक : त्यत्ति पनि नजान्ने हरिलट्ठक नै सम्झ्यौ कि क्या हो मलाई । पढेर नजाने पनि परेर जानेको छु नि । राइटदाजुभाइ, सेक्सपियर, आइन्सटाइन, लक्ष्मीप्रसाद, पारिजात, बी. पी. कोइराला, मदन भण्डारी, कृष्ण सेन ‘इच्छुक’……।

राधा : जान्नु नै भएको रहेछ त। कोही आधुनिक यन्त्र उपकरण बनाएर बाँचे । कोही साहित्य सिर्जना गरेर बाँचे । कोही निरङ्कुशताका विरुद्ध देश र जनताका लागि लडेर बाँचे । कोही विज्ञानलाई मानवहितमा ल्याउन जीवन अर्पेर बाँचे । थाहा छ ? अब ती मान्छे कहिल्यै मर्दैनन् नि ।

ज्ञानिता : हो त, चन्द्रसूर्य रहुँञ्जेल र मानव अस्तित्व छउँञ्जेल उनीहरू बाँचिरहन्छन् ।

मनोज : अझ, उनीहरूले लगाएको ऋणले हामी थिचिइरहेका छौँ । त्यो ऋण चुक्ता गर्नुको साटो हामी कृतघ्न भएका छौँ ।

अशोक : कुरो र कुलो जता लग्यो उतै जान्छ । तिमीहरूको गफले पेट भरिन्न । म त हिँडे । (ऊ जान्छ । केटाकेटीहरू पुनः खेल्न थाल्छन् । अशोक घुम्दैफिर्दै अर्को मञ्चमा पुग्छ । गुलेलीले चरा मार्न खोज्छ । सफलता प्राप्त गर्न सकिरहेको हुँदैन । त्यत्तिकैमा उसको आँखा मौरीको घारमा पर्छ ।) (मनमनै) ओहो, महले भरिएको चाका रहेछ । यो मह काढ्न पाए त खुब मह खान पाइन्थ्यो । मह बेचेर मनग्यै पैसा कमाइन्थ्यो । गर्जो पनि टथ्र्यो । (हातले टाउको समाउँछ र एक क्षण घोरिन्छ ।) गुड आइडिया । (गोजीबाट पलाष्टिक निकाल्छ र घारको ठीक तल पर्ने गरी ओछ्याउँछ । अनि गुलेलीले ताकेर चाकाको फेदमा हान्न थाल्छ । चाकाबाट मह चुहुन थाल्छ । खुशी हुँदै ऊ मह चाट्न थाल्छ । त्यसै बखत एक गोलो मौरी आउँछन् र उसलाई चिल्न थाल्छन् । ऊ ‘बाफ रे बाफ’ भन्दै भाग्न थाल्छ । भाग्दा भाग्दै अर्को मञ्चमा पुग्छ । केटाकेटी आनन्दले खेलेको भेट्टाउँछ ।)

अशोक : बाफ रे बाफ, मलाई बचाओ, बचाओ ।

राधा : (खेल्न छाडेर) के भो दाइ, तपाईंलाई के भो ?

अशोक : चिल्यो, बेस्कन चिल्यो ।

ज्ञानिता : ए मौरीले पो चिलेछ । हेर, मुख सुन्निन थालेछ ।

अशोक : गुलेलीले घारमा तीनचार पटक के हानेको थिएँ, मेरो बाउको विहे पो देखाइदिए है ।

मनोज : त्यही त अरू प्राणीमाथि गिद्धेदृष्टि लगाउन छाड्नुस् भनेको ।

हरिश : हामी सानाका पनि राम्रा कुरा मान्दा फाइदै हुन्छ । सानाले भनेको भए पनि त्यसमा रहस्य लुकेको हुनसक्छ ।

अशोक : भो, अब अरू लज्जित नपार । मेलमिलापमा दम हुँदो रहेछ । एकएक गरेर ती मौरी आएका भए म किचिमिची पार्दिन्थेँ । एक हुल भएर यत्ता पनि टोके उत्ता पनि टोके ।

ज्ञानिता : ए, चेत्नुभो ? अनि झोला र गुलेली खै त ?

अशोक : झोला र गुलेली दुबै कहाँ पुगे, पुगे । पत्तो पनि छैन । मलाई अब ती चाहिन्नन् पनि । ज्यान बच्यो, त्यो नै ठूलो कुरा हो ।

हरिश : तपाईंको सुखका लागि अरूले दुःख पाउँदा उनीहरूलाई कस्तो महसुस भयो होला ?

अशोक : अब म छातीमा हात राखेर भन्छु । म सुख खोज्छु । त्यस खोजाइमा कसैको दुःखभोगाइ हुन्न । म विवेकको मद्दत र पाखुरीको सामथ्र्यले नयाँ जीवन सुरुआत गर्छु । तिमीहरू र मौरी सानै भए पनि मेरा गुरु हौ । तिमीहरूले मेरो आँखा खोलिदियौ । अब यी आँखा कहिल्यै बन्द हुँदैनन् । (केटाकेटी पनि खुशी हुन्छन् । अशोक पनि जोशिलो देखिन्छ ।)

(पर्दा विस्तारै खस्दै जान्छ ।)

२०६६.११.०७

(ऐरावती प्रकाशन प्रा. लि. को कक्षा ६ को पाठ्यपुस्तकमा समाविष्ट र ‘बालबगैँचा’ बालमासिकमा ‘मेलमिलाप’ शीर्षकमा प्रकाशित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *