रमेर जननी काखमा हाँसेर मुर्छा पर्थें म
थिएन कहिल्यै नैराश्य खुशीको बहार छर्थें म
थकान भनेको कस्तो हो? भोक तिर्खा केही लागेमा
वनको अमला, बयर, अम्बकभरि चर्थें म
हिलोमा खेल्दै माछा मार्दा खहरे बाढी आउँदथ्यो
बसेर कमल फूलमाथि बर्खे भेल खेतमा तर्थें म
जूनकिरी, पुतली उडेको सुस्तरी समाई मायाले
पुलकित आँखामा हेरेर अँजुलीभित्रै बर्थें म
बादलमा आकृति नियाल्दै आँगनमै निद पुर्याउँदा
झरेको पारिजात टिप्दै हर उषामा डाली भर्थें म
