Skip to content


माधवप्रसाद घिमिरेको राजभक्ति र शाही सत्ताले दिएको राष्ट्रकविको उपाधिको चर्को चिरफार अनि कमसल किताबको कठोर आलोचना तथा गुदी भएकाको फारो प्रशंसा गरेर धेरैलाई चिढ्याएका हक्की समीक्षक हरि अधिकारी काठमाडौंको बौद्धिक/साहित्यिक मण्डलीको एउटा तप्कामा निकै आलोच्य व्यक्ति हुन्। यस्तै आलोचना र प्रशंसाको बीचमा साहित्य, राजनीति र पत्रकारिता अध्यावसायका अधिकारीले आफूले सप्रेम माथापच्ची गरेको समाज र समयबारे बताउने ६० वर्षपछि नामको किताब निकालेका छन्।

अधिकारी २०३० को दशकमा तन्नेरी जोशका साथ साहित्यसँगै सरकारी जागीर र पञ्चायत विरोधी राजनीतिमा लाग्छन्। व्यवस्थासँग अलि राम्रैसँग जोरी खोज्न जागीर छाड्छन्। २०४६ को परिवर्तनपछि साहित्यकर्मलाई निरन्तरता दिंदै पत्रकारितामा जम्न खोज्छन्। तर, कसोकसो अडिंदैनन् र आफूलाई जीवनको लय दिने काठमाडौंले ४० वर्षमा पनि आफ्नो नठानेकोमा खिन्न हुन्छन्। उनलाई काठमाडौंले तान्न भने छाड्दैन। यसरी बितेको ६० वर्षमा अधिकारीले भोगेका कुरा, गरेका अनुभूति र बनाएका धारणाहरू समेटिएका छन्, उनको यो पूर्व प्रकाशित २४ थान संस्मरणात्मक लेखको सँगालोमा।

कविता र कथाका चार कृति लेखिसकेका अधिकारीले पछिल्लो संग्रहमा आफ्ना आदर्श नेता किशुनजी बारे तीन वटा आलेख समावेश गरेका छन्, जसमा उनी यी प्रजातन्त्रवादी नेताले सहेका घातहरूको बयान त गर्छन्, तर मुलुक गणतन्त्र भएपछि उनी किन उद्भट राजावादी बने भन्ने खुलाउँदैनन्। किताबमा किशुनजी बाहेक आधुनिक नेपाली समाज निर्माणमा राजनीति, साहित्य र पत्रकारितामार्फत ठूलो योगदान दिएर स्वर्गवास भएका मूर्धन्य ११ जनाका कृतार्थ सम्झ्नाहरू छन्, जसको सान्निध्यको सुयोग अधिकारीलाई जुरेको थियो। किशुनजीदेखि कमल जोशीसम्मका व्यक्तिबारे लेख्दा अधिकारीले जीवनको उत्तरार्द्धमा उनीहरूको अवस्था, धारणा र मनोदशाका नयाँ पाटाहरू खोलेका छन्। बाँकी लेख लेखकमा केन्द्रित छन्।

स्पेनका राजदम्पती र बीपी कोइरालाको अभिनन्दनको क्रममा पञ्चायतका प्रशासकहरूसँग अधिकारीहरूले खेलेको बाउँठोले त्यो समयमा प्रजातन्त्रवादी कार्यकर्ताहरू सानातिना कर्मबाट कत्रो तुष्टि लिन्थे भन्ने बुझाउँछ। ‘अक्षरहरूको सागरमा…’ शीर्षक लेखले अधिकारी कसरी अरूका किताबबारे साधिकार समीक्षा गर्न सक्ने भए भन्ने देखाउँछ। ‘काठमाडु, नेवाः खाजाघर…’ शीर्षकको स्वादिलो लेखले पाठकलाई पनि रक्सी, संस्कृति र राजनीतिको चेपुवामा पार्छ। पञ्चायती क्याम्पका कसैलाई नछाड्ने अधिकारी भूपीको शोकसभा गर्न मरिहत्ते गर्छन् र अन्त्यमा ‘यो पोखरा, त्यो पोखरा’ की भव्य सुन्दरीको भग्न देहमाथि दुःखमनाउ गर्छन्।

छलछामका लागि अरूलाई जोडदार झ्म्टा दिने समीक्षक अधिकारीले लेखकका रूपमा मनासिव इमानदारी देखाएका छन्। उनले आफ्नो आस्था, अडान र अवस्थाहरू लुकाएका छैनन्। धेरै किताब पढेको आत्मप्रशंसा गरेर रक्सी र रूपसीप्रतिको मोह लुकाउने काम गरेका छैनन्। अंग्रेज, फ्रेन्च, जर्मन, रूसी आदि विशाल साहित्य र संस्कृति भण्डारको भेउ आफूले प्रथमोप्रथम हिन्दी अनुवादबाट पाएको खुलाएका छन्। यस्तो सामान्य सत्य सबैले खोल्दैनन्। पुस्तक पठनीय छ।

आनन्द राई

हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६९
1-16 September 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *