Skip to content

नयाँ ‘जङ्गबहादुर’ जन्मन्छ होला

  • by


अब फेरि’जङ्गबहादुर’ जन्मदैछ
निरङ्कुशता र कोतपर्वका
लालहोलीको उद्घाटन हुन्छ होला
यहाँ अझै अभिमानसिंह मर्नुपर्दछ
रक्त पञ्जा छाप छोडेर
सडकभरि सुनसान
डरत्रास अनि रक्तविज छर्नेहरू,
खुसीले फुल्दैछन्
तरबार नाच्छन् होला
स्वाभिमानी गर्दनमाथि
सिंह गर्जनका चीत्कारले
प्रलयमान बन्दा हुन्
शान्तिका सुन्दर बस्तीहरू ।
हामी बिर्सदै थियौँ
कोतपर्वका पीडाहरू
घाइतेका चीत्कारहरू
सन्ताप डर अनि कौतुहलता
बन्दा हुन् कहालीलाग्दा
मसानघाटका चिहानहरू
आकाश मौन बस्ला
कागका ताँतीका तातीहरू
‘जङ्गबहादुर’का युद्धमा सामेल हुँदै
कोरिदा होलान् नयाँ इतिहास
कथा लेखिँदा होलान्
नयाँ ‘जङ्गबहादुर’का साहस र हिम्मतमाथि
अनि त्राहिमाम शान्तिका संवाहक
सुनसान गल्लीभित्र
अर्धनग्न नृत्यमा पोखिदै
हर्षोल्लासमा डुब्लान ‘जङ्गबहादुर’हरू
भण्डारखाल पर्वका योजना बनाउँदै
खुडा तरवारमा साँध लाग्न थाल्दा हुन
पर्वमाथि पर्वका इतिहास
रचिदा होलान्
नयाँ ‘जङ्गबहादुर’का बहादुरीताले
इतिहासका पन्ना भरिदा होलान् ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *