पात्रहरू ः— १३, १४ वर्षका अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइलको तर्फबाट बोल्ने अर्को एक पुरूष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।)

अहिल्या ः (खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।

मोवाइल ः (नेपथ्यबाट) म पनि एक पात्र यहीँ छु । म पनि तपाईंहरूकै साथी हुँ । हामी जम्मा छ जना भयौँ, भन्नुस् न ।

द्रोपदी ः (सबै जना छक्क पर्छन् ।) हँ, मोवाइल पनि बोल्न थाल्यो । (मोवाइल ओल्टाइपल्टाई हेर्छन् ।)

कुन्ती ः आफैँ किन बोल्थ्यो मोवाइल ।

तारा ः बोल्न त मोवाइल पनि आफैँ बोल्छ तर त्यसमा मान्छेको दिमाख लागेको हुन्छ ।

मन्दोदरी ः (मोवाइललाई देखाउँदै) यसका कुरा छाड । बरू भन, हामीसँगै र हामीजस्तै ५, ५ कुरा हामीसँग केके छन् ? (सबै जना अलमलमा पर्छन् । जवाफ दिँन सक्दैनन् । एकले अर्काको मुखमात्र हेर्छन् ।)

मोवाइल ः म भन्छु । मलाई सब कुरा थाहा छ ।

अहिल्या ः (छक्क पर्दै) लौ, भन त अनि म बुझ्छु । मुखले भन्दियो भइगयो ? (सबै जना हाँस्छन् ।)

द्रोपदी ः हैन, ए अहिल्या, के भनेकी ? मोवाइलको त मुखै हुँदैन त ।

मोवाइल ः हुन्छ । म भन्छु । पाँच ज्ञानेन्द्रिय हुन्- आँखा, नाक, कान, छाला र जिब्रो ।

तारा ः अनि, अरू नि अरू ।

मोवाइल ः पञ्च कर्मेन्द्रिय हुन्- हात, खुट्टा, मुख, दिसा गर्ने इन्द्रिय र पिसाव फेर्ने इन्द्रिय ।

कुन्ती ः ओहो, यो त सबै कुरा पो जान्दो रहेछ कि क्या हो । पञ्चेबाजाको नाम भन् त ?

मोवाइल ः दमाह, टेम्को, सहनाई, झ्याली र नरसिंह ।

मन्दोदरी ः हो, यो त सबै कुरा पो जान्दो रहेछ । एई, कसरी जानिस्, यी सब कुरा ?

मोवाइल ः आफूभित्रै संसार अटाउने सामथ्र्य बोकेको छु । हो, आफूभित्रै संसार अटाउने सामथ्र्य बोकेको छु मैले । मभित्र शब्दकोश, विश्वकोश आदित्यादि सबै कुरा अटाउन सक्छन् । म किन लोकप्रिय छु ? सबैलाई थाहा होला ।

अहिल्या ः (झर्केर) छ, छ । त्यत्ति पनि थाहा हुन्न । तँ नाथे विलासिताको वस्तु त होस् नि ।

मोवाइल ः (नम्र हुँदै) म विनम्रताको प्रतीक हुँ । म झर्कोफर्को गर्न जान्दिनँ । हो, एक समय म विलासिताको वस्तु थिएँ तर आजकल आवश्यकताको वस्तुजस्तो भइसकेको छु । पहिले महंगो थिएँ, थोरैको पहुँचमा थिएँ । अहिले सस्तो छु, सबैको पहुँचभित्र छु ।

द्रोपदी ः के के गर्न सक्छस् त ?

मोवाइल ः म भूत हैन, वर्तमान हुँ । फोन गर्न र प्राप्त गर्नका अतिरिक्त गीत सुन्न, रेकर्ड गर्न, भिडियो सुटिङ्ग गर्न र हेर्न, टीभी हेर्न, इन्टरनेट चलाउन आदि अनगिन्ती काम म एक्लै गर्छु र त हरेक व्यक्ति, व्यक्तिको पकेटमा सुरक्षित बास पाउँछु ।

द्रोपदी ः कुरा त तेरा ठीक हुन् । अरू केके गर्न सक्छस् ?

कुन्ती ः इमेल गर्न, इमेल पाउन, च्याटिङ्ग गर्न, इबुक पढ्न, बैँक खातामा रहेको रकम बुझ्न, विद्युत महसुल तथा पीएसटीएनको बिल भुक्तानी गर्न सकिन्छ । अर्को कुरा के छ भने(मोवाइललाई देखाउँदै) यसको प्रयोगले आफूले चाहेको स्थानमा रकम सजिलै पठाउन सकिन्छ ।

तारा ः कुन्ती, तिमीलाई त धेरै कुरा थाहा रहेछ । रेडिएसन फाल्ने काम गर्यो भनेर अमेरिकी संस्था इडब्जुजीले मोवाइल सेटलाई खराब सूचीमा सुचिकृत गरेको छ नि ।

मोवाइल ः हो, वातावरणसँग सम्बन्धित काम गर्ने संस्थाले एकाध कम्पनीका मोवाइललाई खराब सूचीमा सूचिकृत गरेको साँचो हो । एक मानिस पतित हुँदैमा सम्पूर्ण मानव जगत्लाई नै पतित भन्न नमिलेझैँ हामी सबैलाई नराम्रो भन्न नमिल्ला ।

मन्दोदरी ः उसो भए नेपालमा तिमीहरू कति खाले छौ त ?

मोवाइल ः यति र उति भन्न गाह्रो हुन्छ । तपाईंहरू ५ वटी आमाका ५ सन्तानका रूपमा ठम्ठम्ती हिँडिरहनुभएको छ । त्यस्तै नेपालको सन्दर्भमा हालसम्ममा हामीलाई जीवन दिनेहरूचाहिँ जम्मा ६ वटी आमा हुनुहुन्छ ।

अहिल्या ः तिमीहरूका आमाहरूको नाम पनि भनन ।

मोवाइल ः एनटीसी, यूटीएल, एनसेल, एसटीएम, स्मार्ट, हेलो नेपाल ।

द्रोपदी ः ए, यिनीहरू क्रमशः नेपाल दूरसञ्चार प्राधिकरण, यूनाइटेड टेलिकम प्रालि, स्पाइस नेपाल, एसटीएम टेलिकम सञ्चार, स्मार्ट, नेपाल सेटेलाइट नामले पनि पुकारिन्छन् ।

तारा ः विश्वमा सर्वप्रथम मोटोरोला कम्पनीले यसलाई जन्माएको हो । त्यसपछि नोकिया जन्मियो । अहिले त गनिसाध्य र भनिसाध्यै छैन ।

कुन्ती ः हैन ए मोवाइल, तँ कहिले जन्मिस् र यहाँ आइपुगिस् ?

मोवाइल ः म जन्मेको मिति मभित्रै पढ्न सक्नुहुन्छ । मेरा पुर्खाको जन्म भने सन् १९४६ मा अमेरिकामा भएको थियो । हामीलाई आधुनिक संस्करणमा ल्याउने काम सन् १९६० मा स्वेडेनले गर्यो । डेनमार्क, फिनल्याण्ड, नर्वे, अमेरिका, जापान आदि सबैको देनले हामी यो अवस्थामा आयौँ ।

तारा ः तिमीहरूको मुटु मानिने सिम कार्डचाहिँ कहिले आयो नि ?

मन्दोदरी ः केही कुरा त हामीलाई पनि थाहा छ नि । (सिमकार्ड देखाउँदै) यो सबस्क्राइबर आइडेन्टिटी मोडुलको निर्माण जिसेक एण्ड डेभरिएन्ट कम्पनीले पहिलो पटक सन् १९९१ मा निर्माण गर्यो । सन् २००१ मा जापानले विकसित गरेको थ्रीजी (तेस्रो पुस्ता पुस्ता) को मोवाइलमा हालसम्म यो प्रयोग हुन्छ ।

अहिल्या ः मोवाइलको अत्यधिक प्रयोगले पुरूषको शुक्राणुको सख्या घट्छ रे ।

मोवाइल ः अति भए पछि खती हुनु अस्वभाविक हैन ।

द्रोपदी ः रेडियो, टेलिभिजन, टेपरेकर्डर, क्यामेरा, कम्प्युटर, पुस्तकालय आदि सबैलाई विस्थापित गर्ने यो (मोवाइललाई देखाउँदै) त अर्काको भाग खोसेर पो खाँदो रहेछ ।

मोवाइल ः ए बा, बा । म यत्ति सानो छु । गोजी गोजीमा बस्छु । मैले नराम्रो काम गर्न जानेको छैन । अनि कसरी भाग खोस्यो भन्न सकेको हो कुन्नि ? जसको भाग छ, त्यसको खोस्ने कुरै आएन । जसको भागै छैन, त्यसले भाग खोजेर पनि पाइन्न नि ।

द्रोपदी ः तँ नजन्मिउँजेल बर्चस्व पाएका वस्तुले तँ आएपछि विस्थापित हुनुपर्ने अवस्था आउँदा के भन्ने ?

मोवाइल ः मैले ग्राहकलाई त मार्का पारेको छुइनँ नि ?

कुन्ती ः (मोवाइलतिर फर्केर) यसको कुरा पनि ठीक हो । हामीलाई घाटा हैन नाफा नै हात पारिदिएको छ ।

तारा ः म्युजिक डाउनलोड गरेर बजाउन पाएपछि गीति एलबम निस्कने क्रम मन्द भएको छ । ईपुस्तकालयमा सित्तै र किनेर हजारौँ पुस्तक पढ्न पाइने भएपछि किन किताब किन्ने वा पुस्तकालय धाउने काममा कमी आयो ।

मोवाइल ः यसमा पनि मैले बहुसंख्यकको हितमा काम गरेको छु ।

द्रोपदी ः साना ठूला हरेक प्रकारका अपराधचाहिँ तेरै प्रयोगले भएको छ नि ?

मोवाइल ः हो म मान्छु । मलाई दुरूपयोग गरेर हजारौँ अपराधिक कामहरू भएका छन् । पेट भर्न मान्छेले अपराध गरेका हुन् । उसो भए मान्छेकै मुख सिउँनुपर्यो ? के हजुरहरू मुख सिउँन तयार हुनुहुन्छ ? (हाँसो छाउँछ ।)

अहिल्या ः गम्भीर कुरालाई ख्यालठट्टा सम्झनु राम्रो काम होइन ।

मोवाइल ः कहिलेकाँही वास्तविकता पनि ख्यालठट्टामा परिणत हुन्छ । अपराध गर्ने मान्छे एउटा दोष थुपार्ने हामीलाई !

द्रोपदी ः यसो गमेर ल्याउँदा अपराधी पत्ता लगाउने काममा पनि मोवाइलले नै सहयोग पुर्याएको छ ।

कुन्ती ः हो, यसको चौतर्फी उपयोग हुन्छ । द्वितीय विश्वयुद्ध ताका सैनिकहरूले प्रयोगमा ल्याउने रेडियो फोनको अवधारणाले विकसित रूप पाउँदा नै यो जन्मिएको हो ।

तारा ः हो त, मान्छेलाई सहज जीवन तुल्याउन यो जन्मियो र यसकै दुरूपयोगले मान्छेले धेरै तहल्का मच्चाएको छ ।

मन्दोदरी ः हुन त मोवाइलको सही उपयोग गर्ने हो भने यो मानिसको अमूल्य साथी बन्दछ ।

अहिल्या ः उपयोग गरे खुकुरीले ठूल्ठूला काम गर्नसक्छ, दुरूपयोग गरे मान्छेकै ज्यान पनि लिन सक्छ । त्यही त हो नि यो ।

मोवाइल ः ठीक कुरा उठाउनुभयो । म मानव हितको पक्षमा छु । म सदुपयोगी हुन रूचाउँछु । तपाईंहरूजस्तै विद्यालय, कलेजका विद्यार्थीले मलाई दुरूपयोग गरेका छन् । कम्तिमा पढ्न आउँदा मलाई नबोक्नुस् । कसैले फोन गरे मिस्ड कलमा रेकर्ड राखिदिन्छु । हजुरहरूलाई थाहा भइहाल्छ ।

द्रोपदी ः ल, ल ठीक छ । कुरा सही हो । अब भने अबेर भयो । घरतिर हिँडौँ । गृहकार्य नगरी भएको छैन । समय निक्कै नष्ट भयो ।

कुन्ती ः फलदायी रूपमा समय वितायौँ भन न । रोचक र घोचक कुरा थाहा पाइयो ।

तारा ः लौ, लौ । उठौँ । लागौँ ।

(सबै जना उठ्छन् । मोवाइल साथमा नै लिएर बाहिरिन्छन् ।) (पर्दा विस्तारै खस्दै जान्छ ।)

०६७.०७.१५, सोमबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *