Skip to content

सत्ता चहार्नेहरू

KalpanaGiri


नयाँ नेपाल बनाउँछु भन्दै सत्तामात्रै चहार्नेहरू,
अनेकथरी बहानामा झुठो कुरा झार्नेहरू ।

पुरा कहाँ भयो भन सहिदको सपनाहरू,
आफ्नो दुनो सोझ्याउन स्वार्थ अघि सार्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

संविधान लेख्न भनी पठाएको जस्तो लाग्छ,
बिरालाका छाउरा जस्तै भाका मात्रै सार्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

यस्तो नेपाल खोज्न होइन आन्दोलमा होमिएको,
सोझा साझा जनतालाई झुठा भाषण खार्नेहरू
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

वास्ता छैन आन्दोलनको बिचल्ली छ परिवारको,
काट मारमा मर्नेलाई सहिद घोषणा गर्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

छुवाछुतको अन्त्य भन्छौ कहाँ कहिले भएको छ,
आफ्नै नजिक आइपुग्दा चुलो पानी बार्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

दोषीभन्दा निदोर्षीले सजायँ पाको देख्नुपर्छ,
महँगाइ र अभावमा सोझा जनता मार्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

कारभित्र आफू बसी बाहिर भाषण सुनाउँछन्,
नयाँ नेपाल बनाउँछौं भन्दै सत्तामात्रै चहार्नेहरू ।
अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।

कल्पना गिरी
बुटवल

1 thought on “सत्ता चहार्नेहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *