Skip to content


भीडहरूमा एउटा टाउको
टाउकाहरूमा एउटा भीड
हृवालहृवाल्ती वान्ता गर्दैछन् एक अर्कालाई ।
खातेको झुत्रो बोराभित्र प्लास्टिक-विश्वास
फोहोरको कलेवरको पात र कलिला सपनाहरू
रगताम्य हुनेगरी चपाउँछ निसङ्कोच समयले
साहित्यको अभिव्यन्जना लत्पतिएको
लमतन्न – इमान सडक ।
छोइँदा थाहा हुने र धेरै छोइँदा लाटिने
सिस्नाका पोथ्रापोथ्री (झ्याउहरू )
सराप्तैछन् अभागी खप्परहरूलाई
त्यो विधि, किन कोर्न सक्दैनन् – सिस्नाको भाग्य माहुरीचाकामा
महमा, छाउरामा यदाकदा निद्रा विहीन आँखाहरूमा सर्पका ।
हुत्तिएको भेल,भेल र भेलैभेल
थुपार्दै बैँसालु उन्मादहरू, अर्धनग्न छातीहरू
घृणामा फेरिने, कृत्रिमतामा साटिने, पैसामा पसारिने
बान्कीहीन, रूप सुन्दरता र गन्धहीन
उन्मत्त झ्याउरे बैँसभित्र नाटकको अन्तिम दृश्य –
तर ‘क्लाइमेक्स’ विहीन -यो भीड र टाउकाको पराकाष्ठा ।
कत्ति सजिलो छ गिद्द बन्नु
तीखा आँखा र चुच्चाका धनी – मांसभक्षी
लुछ्दै, च्यात्दै, रगतका धाराले नुहाउन आतुर
यो तिम्रो मेरो र सबैको युग – विकसित ।
बाहिर सद्दे छ घर – आवरण हो कि पिँजडा हो कि
भित्र हृवारहृवार बलिरहेछ आगो
के तिमी निदाउन सक्छौ लाहाको घरमा अग्निवेष्ठित,
या कुनै प्रशान्तको छाल कुर्दै छौं ?
हिजो मात्रै हो, बमको छिर्कामा एउटा बालक जन्म्यो
निर्भयताकासाथ, सायद रोबोटको पछिल्लो संस्करण थियो त्यो छापिन बाँकी कविताका हरफहरू
गुलाफका पत्र – पत्रमा कीरा बनेर लुकेछन्
तिमीसँगको सहवासले वाक्क/दिक्क भएको त्यो नाङ्गो सत्य के भोग्यौ तिमीले फेरि कि ऊ तिम्रो वाहुपाशमै छ ?
भीड र टाउकाहरू टाउका र भीडहरू
प्रत्येक महिना, हप्ता वा दिनमा आउने रगतको बाढीमा पौडी खेल्दै
तिम्रो गर्भासय रित्याउन – तँछाडमछाड गर्दे, झुत खेल्दैछन्
सुत्केरी खेर गएकी ऊ – रगतका टालाहरू धोएर
मधुरो घाममा सुकाउँछे
उसको काल्पनिक शिशु चिलको पन्जामा च्यापिएर
आकाशमा त्रसित छ ।
तर हृवाल्हृवाल्ती वान्ता गरिरहेछन
टाउकाहरू र भीडहरू
एकअर्कालाई ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *