पात्रहरू ः-(१) उमेश (८ वर्षको बालक), (२) धनप्रसाद (८० वर्षका वृद्ध), (३) सन्तोष (३७ वर्षीय प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुवा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश ः- (धनप्रसादको मुख हेर्दै) हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?

धनप्रसाद ः- (झस्कँदै र मनमनै) अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।

उमेश ः- हजुरबुवा, किन चुप रहनुभएको ? भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ ?

धनप्रसाद ः- (छक्क पर्दै) हँ, बाबू, सानो र होचो कुरा कसले गर्यो ?

उमेश ः- के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?

धनप्रसाद ः- (अलमलाउँदै मनमनै) केही बोलौँ त प्रश्नमाथि प्रश्नको खात लाग्छ, चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन, भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि त हुनुपर्यो नि ।

उमेश ः- (अझ ठूलो स्वरले) हैन, हजुरबुवा एकरत्ती नबोलीकन बस्नुहुन्छ । म समस्यामा परेको छु । मैले सहयोग कसबाट पाउने ?

धनप्रसाद ः- (केही सहज हुँदै) ठीकै छ । सानाको वुद्धिले काम नगरेमा ठूला मान्छेको भर पर्नुपर्छ ।

उमेश ः- (अलिक सहज हुँदै) त्यही त भनेको । मेरा हरेक प्रश्नको जवाफ हजुरबाट पाइरहेको थिएँ तर आज आनाकानी गरिरहनुभएको छ । कारण त हजुरसँग नै छ ।

धनप्रसाद ः- कारण पनि मसँग नै छ । म पछि तिमीलाई भन्नेछु । अहिले भने गृहकार्य बनाउन थाल ।

उमेश ः- कसरी बनाउने समस्यामा जेलिएर बस्नुपरेपछि ? समाधान नपाईकन गृहकार्य कहाँ बन्छ र ?

धनप्रसाद ः- भरे साँझमा म नातिबाबूलाई सबै कुरा बताउनेछु अहिले भने मलाई छाडिदेऊ ।

उमेश ः- कि हजुरलाई नै आउँदैन ?

धनप्रसाद ः- (सकस मान्दै) आउँछ, आउँछ । सबथोक आउँछ । समय आएपछि तिमीलाई भन्नेछु । निर्धक्क भएर जाऊ र अरू काम गर ।

उमेश ः- असल काम र कुरा गर्न साइत जुराउनु पर्दैन भन्नुभएको हैन हजुरले ?

धनप्रसाद ः- (‘सानो संसार र होचा मान्छे’ दिमाखमा यही कुरा घुमाउँदै) जेजे भने पनि अहिले भने मैले अरू नै काम गर्नुछ । म तिमीसँग कुराकानी गरेर भुलिन सक्दिनँ । जाऊ, बाबू, जाऊ । (यस प्रकार धनप्रसाद आफू जोगिन खोज्छन् । नातिले बेइज्जत पार्देला कि भन्ने त्रास मनमा राखेको प्रष्ट आभाष मिल्दछ । उमेश अर्कै कोठातिर लाग्छ । त्यसैबेला प्रधानाध्यापक सन्तोषको त्यस स्थलमा प्रवेश हुन्छ ।)

धनप्रसाद ः- (हात जोड्दै) ओहो, हेड सर पो पाल्नुभएछ । नमस्कार है, हेड सर ।

सन्तोष ः- (नमस्कार फर्काउँदै) शनिवारको दिन भएकोले आफ्नो गाउँघर घुमफिर गरूँ कि भनेर बाहिरिएको हुँ । गाउँघरमा त निकै परिवर्तन देखापरेछ ।

धनप्रसाद ः- (बस्ने स्थान देखाउँदै) हजुर । बसौँ, यत्तैतिर । फुर्सदमा घुमफिर गर्नुपर्छ । सर्वप्रथम आफ्नै वारेमा थाहा हुनुपर्छ अनिमात्र अरूको वारेमा जान्न सकिन्छ, । तुलना गरेर आफ्नो स्तर निर्धारण गर्न सकिन्छ । हजुर पाल्नुभएकोमा धेरै खुशी लाग्यो ।

सन्तोष ः- हजुर, ठीक भन्नुभो । उमेशको चालचुल देख्दिनँ नि ? खोई कता छन् उनी ?

धनप्रसाद ः- खै, कोठातिर होला । मौका मिल्यो कि नानाभाँतिका अड्को थापेर हैरान पार्छ । कसले के भन्यो कुन्नि ?

सन्तोष ः- त्यो त राम्रो बानी हो । उमेरले पनि गर्छ । बच्चाहरू जिज्ञासु हुनु ठूलो गुण हो ।

धनप्रसाद ः- तर मलाई त आपत्मा पार्यो यसले । यसको मन ठूलाबडाकोजस्तो छ ।

सन्तोष ः- बच्चाहरू त्यस्तै हुन् । उनीहरूले सोधेका प्रश्नहरूको जवाफचाहिँ सही दिनुपर्छ । हामी जे भन्छौँ, उनीहरूमा त्यही छाप पर्न जान्छ । बरू उमेशले केकस्ता प्रश्न राखेका थिए, त्यो कुरा सुनौँ न ।

धनप्रसाद ः- यो संसार सानो भयो र हामी मान्छे कसरी होचा भयौँ ? उसको यस प्रश्नको जवाफ मैले दिनुपर्ने रे । प्रश्न त बूढापाकाले सोध्नेजस्तो छ र जवाफ पनि गम्भीर हुनुपर्ने । आफ्नो दिमाखमा प्रष्ट जवाफ नभइकन उत्तर दिन खोजियो र बीचबीचमा आउने उसका छड्के प्रश्नको जवाफ दिन सकिएन भने ठूलो आपत्मा पार्छ ।

सन्तोष ः- (हाँस्दै) ल, कुरा दुबैका मनासिव छन् । नातिलाई हजुरबुवाको डर, हजुरबुवालाई नातिको डर । डरैडरले गर्दा समस्या समस्यैमा रहेको प्रष्ट छ । उमेशका कुरा ठीक हुन्, ठूलो संसार सानो भयो तर हामी भने होचाको होचै छाँै ।

धनप्रसाद ः- (जिज्ञासु हुँदैै) कसरी, हेडसर ?

सन्तोष ः- पहिले उमेशलाई बोलाऔँ अनि छलफल गरौँला, हुन्न ?

उमेश ः- (हात जोड्दै प्रवेश गर्छ ।) नमस्कार सर ।

सन्तोष ः- तिमी त नबोलाइकनै आइपुग्यौ, कहाँ थियौ ?

उमेश ः- गृहकार्य बनाउँदै थिएँ, अध्ययनकोठामा । हजुर आउनुभएको सुइको पाएर आएको ।

धनप्रसाद ः- ल, अब बस सरको नजिक अनि मनमा जेजे छन् सबै प्रश्न राख । आज मेरो सुन्ने पालो ।

सन्तोष ः- लौ, सुन उमेश । विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौँ वर्ष लगाएर तय गर्नुपर्ने यात्रा घण्टामा परिणत भएको छ । लण्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्कालै हेर्न सक्छौँ । कतारमा लेखिएको कुरा कास्कीमा बसेर तत्कालै पढ्न भेट्छौँ । पेरिसमा बोलेको कुरा तत्कालै ग्रहण गरी जवाफ फर्काउन सक्छौँ । खै, कहाँ संसार ठूलो छ र ? संसार त कोठामा कैद भइसक्यो ।

उमेश ः- (छक्क पर्दै) हो त नि । अमेरिकामा पेन्टागनहरू ध्वस्त भएको कुरा हामीले कोठामै देख्यौँ । जापानमा भएको मेरो साथीसँग म च्याटिङ्ग गर्छु । बेलायतमा रहनुभएको बुवासँग कुराकानी गर्छु ।

धनप्रसाद ः- (खुशी हुँदै) अब भने घँैटोमा घाम लागेछ, मेरो नातिको ।

उमेश ः- (शिर निहुर्याउँदै) हजुर, तर मान्छे कसरी हनेचाको होचो भयो ? यो पनि बुझ्न चाहन्छु ।

सन्तोष ः- संसारलाई सानो त मान्छेले नै बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठूलो हुनुपथ्र्यो, हुनसकेन । यही त दुर्भाग्य हो, हाम्रो । यो दुर्भाग्यबारे जान्न चाहन्छौ, हैन ?

उमेश ः- हजुर, सर ।

सन्तोष ः- ठीक छ, सुन । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भावना, क्षुद्रता, अहङ्कार, ईष्र्या, पापाचार, दुराचार, अनाचार, कामेच्छा, मात्सर्य, दुष्टताजस्ता कुभावना आए र आजका मान्छेमा मानवता नै हराएको छ । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी भयौँ । स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू भुसुक्कै बिर्सियौँ । लुच्चा, लफङ्गा, स्वार्थी, कामचोर, दलाल, भ्रष्टाचारी, द्रव्यपिपासु मात्र भयौँ । त्यसैले हामी अग्ला हुन सकेनौँ ।

धनप्रसाद ः- हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठूलो छाती पार्नुपर्छ । संसारलाई दिने काममा सक्रिय हुनुपर्छ, लिने काममा मात्र लिप्त हुनुहुन्न । विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनुहुन्न, संसारको उन्नतिमा लगाउनुपर्छ । यसो भएमा मात्र हामी अग्लिन सक्छौँ ।

उमेश ः- (खुशी हुँदै) लक्ष्मी रिजाल म्याडमले निबन्ध लेख्न दिनुभएकोले मैले जिज्ञासा राखेको थिएँ, अब मलाई धेरै जानकारी भयो । अब म निबन्ध लेख्न गएँ ।

सन्तोष ः- जाऊ, जाऊ । पढ्ने मान्छेले धेरै वेर अन्यत्र अलमलिनुहुन्न, घुमफिर गर्नुहुन्न । अब यत्तिचाहिँ बुझ कि मान्छेले संसारमा चमत्कार ल्यायो तर आफूमा भित्र्याउन सकेन । (नमस्कार गर्दै उमेश त्यहाँबाट जान्छ ।)

धनप्रसाद ः- हेडसर, हजुरले मेरो सङ्कट हरण गर्नुभयो । हामीले पनि नेपालमा परिवर्तन ल्यायौँ तर आफूमा परिवर्तन ल्याउन भुसुक्कै भुलेछौँ । अब नास्ता खान भान्सातिर लागौँ ।

सन्तोष ः- हामी सुखका भोका छौँ । दुःख गर्न सक्नेले सुख भेट्छ । दुःखको नाम नजानेकाले सुखको अनुभूति गर्न सक्दैनन्। कुरा त्यस्तै हुन् ।

धनप्रसाद ः- कुरा त मनासिव हो, हेड सर । अब भने उत्तै गएर कुरा गरौँ, हुन्न ?

सन्तोष ः- हुन्छ, हुन्छ त, जाऔँ । (दुबै जना निस्कन्छन् ।) (पर्दा विस्तारै खस्छ ।)

०६६.११.११ शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *