यो दिलकुमारको इति बृतान्त हो । अर्थात दिलकुमार नेम्बाङ्गको कथा हो। पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ती पहिलो पल्ट टेकेको यो युवक आफ्नो बाजे र एक्ली आमाको पालन पोषणमा हुर्कियो। बाबु चाहिँ इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्धमा बितेपछि हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई मेट्रिकसम्म पास गराउन सफल भयो। क्याम्पस पनि गयो तर त्यसपछिको पढाइ चाहिँ बिचमा छोडि दियो दिलकुमारले। पढाइ छोड्नाको कारण कथामा तल आउछ। किनकि कथा भर्खर शुरू भएको छ, सकिएको छैन।
दिलकुमार अहिले घरमा छैन। घरमा छैन भन्नाले देशभित्र पनि छैन। अलि परै छ। घर बाहिर देहरादुन, दिल्ली, मुम्बई भन्दा पनि टाढा। सिधा शब्दमा अहिले सङ्युक्त अरब इमिरेट्सको दुबइ भन्ने शहरमा छ। त्यसो त दुबइमा शुख छैन दिलकुमारलाई । दिलकुमार कहिले राति, कहिले दिउसो गर्दै यौटा सेक्युरिटी कम्पनिमा बाह्र घण्टा ड्युटी गर्छ। दिलकुमारलाई रात, रात जस्तो लाग्दैन । दिन, दिन जस्तो लाग्दैन। किनकि दिनमा गर्नु पर्ने काम ऊ राति गर्छ। अनि राति सुत्नु पर्ने ऊ दिनमा नै सुत्छ। दिलकुमारको बाजेको सपना थियो नातिलाई छोरा जस्तै लाहुरे बनाउने। तर पैतिस बर्सकै अल्प आयुमा छोरा फौजी लडाइमा परायाभूमिमा बितेकाले दिलकुमारलाई बाजेले बरू खाडी देश भए नि गए हुन्छ भन्ने कुरामा जोड दिए। आमा चाहिँ आफ्नो छोराले धेरै पढेर आफ्नै देशको सरकारी जागिर नभए यसो मास्टरी पेशा गरेर भए पनि घरमा नै बसोस भन्थिन । तर दिलकुमारले कहिले धान नाच कहिले भलिबलको नशाले गर्दा धेरै शिक्षा हासिल गर्न सकेन र अहिले दुबइमा छ।
आरूबोटे कान्छो । उस्को उपनाम। दिलकुमार हमेशा यही उपनाम प्रयोग गर्छ । तर फेसबूक बाहेक याहु, स्काइब, जिमेल, ट्वीटर, हटमैलमा दिलकुमार नाम नै प्रयोग गर्छ । आरुबोटे कान्छोले आजकल अ र द बाट नाम शुरू भएका केटी साथीहरू आफ्नो लिस्टमा राखेको छ। त्यसो त केटा साथीहरू नभएका भने होइनन तर ती नगन्य छन् । तर केटी साथीहरूको नामको फेरीहस्त भने लामै छ। जस्तोकी अनामिका, अङ्गुरा, अनिशा, अनिता, अप्सरा, अजीता, दिपीका, दिब्या, लुका, देवी, दिक्षा, देबु, रक्षा आदि । युवकहरूको नाम शुभम, शौरभ, रमेश, बिनोद इत्यादि । आरूबोटेले अब घर फर्कियो भन्न चाहिँ मिल्दैन । तर कहिलेकाही बाजे र आमालाई फोन गर्छ । पैसा पठाउछ । तर ड्युटि पछिको अत्यधिक समय फेसबुक खोल्दैमा रित्याउछ । खाना खानु, सुत्नु, आरामा गर्नु भनेका तपशिलका कुरा हुन आरूबोटेलाई । आरूबोटे उर्फ दिलकुमार आफूलाई बिहे नगरेकोमा गर्ब गर्छ । एकैदिन एकैपल्टमा पाच पाच जनासित च्याटिङ्गमा गफ गर्दा आरूबोटे आफ्नो भोक तिर्खा बिर्सन्छ । तर आफ्ना लिस्टका थुप्रै युवतीका नाममध्ये एकजनाको नाम पनि उस्ले डिलेट गर्न उचित ठानेको छैन। यो कस्तो खालको भुत सवार भएको हो आरुबोटेलाई । यो सम्झिदा ऊ छक्क पर्दै मुस्कुराउँछ । केही आरूबोटे कान्छाका परी सम्बाद हेरौ :-
दिपिका : मेरो आरू तिमी कसरी आरूको बोटमा चढ्यौ ? आरूबोटे कान्छो तिमीले शिकाएर!
अप्सरा : ए बोटे आरूको बिरूवा छ तिमीसित ?
आरूबोटे कान्छो : छ नि पठाइदिऊ ल्याप्टपबाट !
देवी: आरूबोटेजी ! हालखबर के छा नि?
आरूबोटे कान्छो : अहिलेसम्म त ठिकै छ देवीजी! अनि हजुरलाई कस्तो छ नि सुनाउनुहोस् न ।
अनामिका : तपाई मलाई कहिले बिहे गर्ने आरूबोटे !
आरूबोटे कान्छो : तिम्रो र मेरो बाबाआमाले हामी दुवैको इच्छामाथि स्वीकारोक्तिको लाहाछाप लगाएपछि ।
अङ्गुरा : ए मेरो परदेशी आरू ! तिमी भन मलाई म के गरौ ह, मलाई केटा हेर्न आएका आएकै छन् ।
आरूबोटे कान्छो (हास्दै) : अङ्गुरा तिमी बिहे गर ल !
बिनोद : हेल्लो दिलकुमारजी गाउघरको हाल खबर के छ?
दिलकुमार : थाहा छैन।
शौरभ : दिलकुमारजी के छ देशको नयाँ खबर ?
दिलकुमार : थाहा छैन यार!
शुभम : अस्ति नेपालमा त थुप्रै मान्छे मरेछन नि !
दिलकुमार : मर्न देउ यार म डाक्टर हैन ।
रमेश : दिलकुमारजी ! के छा नि आफ्नो हाल खबर?
दिलकुमार : ए केटाहरू कति ह्याङ्ग गरेको ! बुझन यार एउटी लाइनमा छे। सरी ल!
मैले भनिहालेँ । दिलकुमार धेरै दिलकुमार रहेन । ऊ अचानक आरूबोटे कान्छो भयो । साथीहरू उसलाई दिलकुमार नै खोजिरहेछन, बाजे आमाहरू दिलकुमार नै सम्झिरहेछन । तर दिलकुमारभित्र देश दुखेन किन ? आफन्त दुखेन किन ? प्रश्न गम्भीर छ। दिलकुमार दुबइ जसै पस्यो । फेसबुकभित्रको आरूबोटे कान्छो भयो । थुप्रै देश बिदेशमा रहेका नेपाली युवतीहरूको आरू भयो त कतिको आरूको बोटै भयो । यो निश्चित छ आरूबोटे आरूकोबोट भएर दुबइ सधैं बस्दैन । त्यति सारा युवतीको सपना उसले पुरा गर्न पनि सक्दैन । सक्छ त उस्को आमा र बाजेको दुखमा खुशी बाड्न । हद भए आरूबोटे नै सहि स्वदेशी माटो चिन्ने एउटी सिधा, सरल मिजासकी युवतीको पति बन्न । म आरूबोटे कान्छालाई दिलकुमार नेम्बाङ्गमा पुनर्स्थापित गर्छु। ऊ दिलकुमार नै होस् । नेपाल आमाको दिलकुमार । दिलकुमारको प्रबेश हुन्छ । ऊ मलाई के छ रमेशजी भन्दै हात मिलाएर आफ्नो अफिसको ड्रेस नै नखोली ल्याप्टप खोली फेसबुकभित्र च्यातिङ्गमा ब्यस्त हुन्छ । पाठकहरू ! दिलकुमारको कथा सिध्दियो ।
