बेमौसमी बर्षातले माथैभरि चुटेर गयो
खुशी काँच-चुरासरि लाउँदा लाउँदै फुटेर गयो ।
कति लाचार भयो जीवन निरसमा बद्लिएर
आश देखाई भाग्यले नै सारा हाँसो लुटेर गयो ।
सम्बन्धको माला गाँस्छु भन्थें सबै समेटेर
फेरि नजोडिने गरी न्यानो साथ छुटेर गयो ।
उसकै निम्ति हरेक पल धड्किरहन्थ्यो मुटु तर
उसले देकै चोटले आज हजार ठाउँ टुटेर गयो ।
रम्दिरैछु बिगतमै अझै पनि सपनीमा
झस्काउँदै बिहानीले टुक्रा मुटु भुटेर गयो ।।
