आचार्य प्रभा, डेन्वर(कोलोराडो)
फेब्रुवरी २५, २०१२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबारको कवि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।
कोलोराडो च्याप्टरका अध्यक्ष श्रीपदम बिश्वकर्माद्वारा संचालित उक्त कवि गोष्ठीमा बिभिन्न कवि/कवयित्रीहरूले आ-आफ्ना रचनाहरू पाठ गर्नुभयो। रचना पाठ गर्नुहुनेहरूमा हिरण्य भोजपुरे, डा. बिजयराज शर्मा, प्रमिला शर्मा, गायिका उर्मिला श्रेष्ठ, निर्मल प्याकुरेल, मीना पौडेल, नातीबाबु भट्ट, आचार्य प्रभा, भुपेन्द्र महत, हरि अधिकारी हुनुहुन्थ्यो ।
गायक मनोजकाजी तुलाधरले राष्ट्रप्रेमले ओत्प्रोत भएको गीत “जहाँ छन् बुद्धका आँखा” र नारायण गोपालले गाउँनु भएको “तिम्रो जस्तो मुटु मेरो पनि” बोलको गीत सुमधुर आवाजमा गाएर केही पलको लागि साहित्यमय वातावरणलाई संगीतमय बनाएर सबैलाई मुग्ध बनाउँनु भएको थियो ।
उक्त कार्यक्रममा साहित्यानुरागीहरू प्रसन्नराज मोक्तान, रमिता तुलाधार, दिनेशले बडो धैर्यताको साथ सबैका रचनाहरू श्रवण गर्नु भएको थियो ।
गजलकार मनु ब्राजाकीज्यु अस्वस्थ्यताको कारणले उपस्थित हुन नसक्नु भएपनि वहाँले यो कार्यक्रमलाई सदा झैँ माया गर्नु भएर दुई शब्दरुपी उपहार र आफ्ना दुईवटा गजलहरू प्रेषित गर्नु भएको थियो ।
यसरी कोलोराडो च्याप्टरद्वारा संचालन हुने साहित्य संगम कार्यक्रम यो पटक पनि सफलता पुर्वक सम्पन्न गरियो ।
कार्यक्रमको अन्त्यमा उक्त कविगोष्ठी कार्यक्रम आयोजना गरिदिनु भएर मनोजकाजी तुलाधर र रमिता तुलाधरले कोलोराडो च्याप्टरलाई अनुगृहित बनाउँनु भएकोमा वहाँहरूलाई धन्यबाद ज्ञापन गर्नु हुँदै कोलोराडो च्याप्टरका अध्यक्ष पदम बिश्वकर्माले आफ्नो एउटा कविता बाचन गर्नु भएको थियो ।
यसरी प्रत्येक महिनाको अन्तिम शनिबार कोलोराडो शहरको कुनै एक कुना नेपाली साहित्यमा रमाउँने गर्दछ ।
