पात्रहरू ः-(१) शारदा (अधवैँसे विवाहित मेहनती नारी), (२) बब्लु (रक्स्याहा र अर्धसिल्ली भनेर चिनिने अधबैँसे शारदाको पति), (३) मोनिका (३ वर्षकी बालिका), (४) मदन (मेहनती ११ वर्षको बालक) (५) धुथर (५५ वर्ष नाघेको साहू) (६) नेपथ्यमा अरू मानिसहरू ।

(काँधमा घन र हातमा छिनु बोकेर कतै जान उभिएको मदन देखापर्छ । शारदा सुसेधन्दामा व्यस्त छिन् । मोनिका मस्त निधाइरहेकी छे । बब्लु भने ओल्टेकोल्टे फेर्दै ओछ्यानमै लडिरहेको छ ।)

शारदा ः- (मदनतिर हेर्दै) ल जा बाबु ! त्यसलाई कम्तीमा चार टुक्रा पारिदे । अरू मेरो काम भयो । समय निकालेर स्कूल पनि पुग्नुपर्छ नि । नत्र एकुन्द्रो लाग्छ ।

बब्लु ः- (वेवास्थाको भावमा) जा, जा । टुक्रा, टुक्रा पार् । नेपाली, मैथिली, भोजपुरी, थारू, अवधी, उर्दू, हिन्दी, राजवंशी, दनुवारी, माझी, कुमाले, बोटे, दरै, चुरेटी, बङ्गाली, मुगही, मारवाडी, अङ्ग्रेजी आदि के हो थाहा छैन । स्कुल जाने रे ! खालि टुक्र्याउन त जानेका छौ नि !

मदन ः- अझ भन्नुस् न, नेवारी, तामाङ्गी, मगर, राईकिराँती, लिम्बू, गुरुङ्गी, सेर्पेली, धिमाल, थकाली, जिरेल, मेचे, चेपाङ्गी, थामी, सुनुवारी, तिब्बती, लेप्चा, दुरा, पहरी, व्यासी, राजी, कागते, मनाङ्गे, कुसुन्डा, हायू, राउटे वा खाम्ची के हो भनेर !

शारदा ः- छाड् दे बाबु । तेरा बाबुले के नै जानेका छन् र । अब सतार (सन्ताल वा सन्थाल) र झाँगड (धाँगड) भाषाका बारेमा सोध्छन् ।

बब्लु ः- ठीक भनिस् शारदा ! आखिर तँ सरस्वती न परिस् । लक्ष्मी बन्न सकिनस् । बन्न नदिनेहरूलाई चिन्दै चिनिनस् । विरोधमा उभिँदै उभिँनस् ।

शारदा ः- अरू के नै जान्यौ र ! खालि भारोपेली, भोटचिनियाँ, द्रविड र आग्नेली भाषा परिवार भन्दै गीत गाउँछौ । अरू के नै जान्यौ र ! घर छाड्यौ भने रक्सी धोक्छौ । दुःख वाहेक अर्थोक केही दिन जानेका छैनौ ।

बब्लु ः- मैले जे जाने, जाने । म जे गर्न सक्छु, त्यही गर्छु । म जसरी बाँच्न सक्छु, त्यसरी बाँच्दै छु । मलाई हारमोनियम किनिदे, तवला किनिदे । म घर छाड्दै छाड्दिनँ । रक्सी छुँदैछुन्न ।

शारदा ः- (मदनतिर हेर्दै) तेरा बुवाका कुरा सुनेर नरुक बाबु । कामले नै माम दिन्छ । बेक्कारको गफले हैरानी मात्र थप्छ ।

मदन ः- हवस्, म त हिँडेँ । (ऊ गोरेटो बाटो हिँड्दा हिँड्दै एक बडेमानको रूख नजिक पुग्छ । ढुड्गा कुटेको आवाज आइरहेको सुनिन्छ । असिनपसिन हुन्छ । ढुङ्गालाई छोएर ढोग्दै)

तँ मख्ख नपर् । तँ देवता होइनस् । अरूहरूले तँलाई पुज्लान् त्यो बेग्लै कुरा हो । म भने तँलाई टुक्राटुक्रा पार्न आएको हुँ । मबाट तँलाई हुने दर्दको आभाषले मात्र ढोगेको हुँ । यो क्षमायाचना माग्ने भाका मात्र हो । (ढुङ्गाको अर्को भागतिर हेर्दै) के गर्छस् ! मेरो हातमा यही सीप छ । तँलाई स-साना टुक्रामा परिणत गरियो भने मात्र पेट भरिन्छ । नत्र भररात पेटमा मुसा कुदाएर रहनुपर्छ । (ढुङ्गामा हात राख्छ र गम खान थाल्छ ।)

नेपथ्य ः- नछो मलाई । म र मेरा वंशलाई टुक्राटुक्रा पार्न तेरो जन्म भएको रहेछ । के मेरो उपयोगबाट बन्ने महलमा तैँले सिर्फ एक रात पनि विताउन पाएको छस् ? तेरो श्रम महलका अन्तरकुन्तरमा लुकेको हुन्छ । के कसैले तेरो यस महानताका लागि एक शब्द पनि बोलेको छ ?

मदन ः- (तर्संदै र चारैतिर हेर्दै) हँ, कुनै मान्छेको अस्तित्व देख्दिनँ । ढुङ्गै बोलेको हो त ! (गम खान थाल्छ ।)

नेपथ्य ः- (अझ कडा स्वरमा) हो, हो । म ढुङ्गै बोलेको हुँ । कसैले पुजेर ठूलो बनाए, कसैले रछ्यानमै ओछ्याएर सानो बनाए । तँ भने टुक्राटुक्रा पारी अस्तित्व धरासायी पार्ने सुरसारमा छस् । तेरा उमेर समूहका अरू पढ्न जान्छन् । तँ भने मसँग कुस्ती खेल्न आउँछस् । के सोच्दै छस्, मदन ?

मदन ः- जसको हातमा जे सीप छ, त्यही गर्छ । गर्भदेखि नै मैले यही सिकँे, यही गर्दै छु ।

नेपथ्य ः- मूर्ख, पटमूर्खै रहिछस् । समय, समयअनुसार चल्नुपर्छ ।

मदन ः- हेर् निर्जीव वस्तु ! तँ र ममा आकास-पातालको फरक छ । म हैन, तँ होस् मूर्ख ।

नेपथ्य ः- म, म नै हुँ । हिजो पनि म नै थिएँ, आज पनि म नै छु । जति टुक्रा पारे पनि म आखिरमा म हुन छाड्दिनँ । तँ त कहिल्यै तँ हुन सकिनस् । तँ, तँ नभई देखा पर्छस् । तँ पहिचानहीन भइकनै हराउँछस् । म त युगौँयुगदेखि पहिचानसहित बाँचेको छु, हाँसेको छु, नाचेको छु । म धीर छु । म उपयोगी छु । म भवन भएर ठडिँदिन्छु । सडक भएर तेर्सिदिन्छु । तँ बरु ममा आश्रित छस् । मैले तेरो पहिचान जोगाएको छु तर तैँले भने मलाई पहिचानविहीन पार्ने दुस्साहस गरेको छस् ।

मदन ः- जे भन् । हरेक प्रश्नको जवाफ हुन्न । म अर्धसिल्ली रक्स्याहा बाबुको छोरा हुँ । उनी परिवारका बोझ हुन् । म भने परिचय बनाउने रणमैदानमा उत्रेको छु । आमा आफू भोकभोकै बसेर भए पनि बाबु, बहिनी र मेरो भरणपोषण गर्छिन् । म त स्कुल बाहिरको समयमा उनलाई सहयोग गर्न आएको हुँ । सुन्दै छस् हैन ? तँ फुटी दे । तैँले फुट्न मानिनस् भने भरे हामी चार जना भोकभोकै पर्नुपर्छ । बरू सहयोग गर् । फुटिदे । टुिक्रदे ।

नेपथ्य ः- जहाँ चर्केको देख्छस्, त्यहीँ छिनु राखेर घनले ढोक म फुटिदिन्छु । अनि जहाँ, जहाँ पुर्याउँछस्, पुगिदिन्छु । जस्तो आकार दिन्छस्, बनिदिन्छु । तँ आफ्ना लागि धेरै र अर्काका लागि कम बाँच्छस् । सुधार गर् । अर्काको खुसीमा पनि आफ्नो खुसी नाचिरहेको, हाँसिरहेको देख्ने र भेट्ने गर् । संसारको रीत बुझ्न र आफूलाई चिन्न यत्तिखेर पढ् । ज्ञान आफ्ना लागि हो, ज्ञानको उपयोग अर्काका लागि हो । संसारमा बच् र संसारलाई बचा । यत्तिखेर म तेरो हातमा संसारको रिमोर्ट देखिरहेको छु ।

मदन ः- (छिनु ठोकेर घनले हानेजस्तो गरी हात उज्याएर हान्छ । त्यो चोट आफ्नै घुँडामा लागेको पाउँछ र पीडाले एक क्षण रन्थनिन्छ ।) ऐऽया ! ऐऽया ! मरे नि ! उफ्फ्फ्फ्…। (एकै क्षण लम्पसार पर्छ । खुट्टा तन्काउँछ र जुरुक्क उठ्छ । अनि छिनु राख्छ र घनले ठोक्न थाल्छ । निकै वेर प्रयत्न गर्दा पनि मरेकाटे ढुङ्गो फुट्दैन । ऊ हान्न छाड्दैन । असिनपसिन हुन्छ । त्यत्तिवेलै शारदा पनि आइपुग्छिन् । पिठ्युउँमा छोरी मोनिकालाई बोकेकी छिन् । हातमा खानेकुराको पोको झुण्ड्याएकी छिन् । नजिकै बिसाउँछिन् ।)

शारदा ः- (मदनतिर हेर्दै) फुटेन बाबु ? ले हम्मर यता ले, म फुटाउँछु । तँचाहिँ खाजा खा, बहिनीलाई पनि खुआ । (मदन पसिना फुछ्दै त्यसै गर्छ ।)

मोनिका ः- (मदनको काखमा बस्दै) दादा ! हजुरले फेरि किन नुहाएको ! एकाविहानै नुहाएको हैन र !

मदन ः- (मुस्कुराउँदै) हैन, नुहाएको हैन लाटी ! काम गर्दा पसिना आएको हो ।

मोनिका ः- लाटी भनेको के हो, दादा ?

मदन ः- कुरा नबुझ्ने केटी भनेको क्या !

मोनिका ः- कुरा बुझ्न के गर्नुपर्छ ?

मदन ः- स्कुल जानुपर्छ, किताब पढ्नुपर्छ । सर, मिसले पढाएका कुरा पढ्नुपर्छ, आफूभन्दा ठूलाका कुरा मान्नुपर्छ ।

मोनिका ः- उसो भए म पनि हजुरसँग स्कूल जान्छु र पढ्छु, हुन्न ?

मदन ः- हुन्छ, हुन्छ । (खाना खुवाई दिँदै) ल, ल ! अहिले भने खाना खाऊ ।

शारदा ः- (घन ठोक्न बन्द गरेर र मुस्कुराउँदै) दाजुबहिनीका बीच केके कुरा हुँदै छन् ?

मदन ः- भो आमा ! म हान्छु । थकाइ मार्नुस् । म फुटाइहाल्छु ।

शारदा ः- प्रयत्न गरिरहे फत्ते नहुने काम कुरो संसारमा के नै छ र ! हेर बाबु ! ढुक्कले खानुपर्छ, दिलोज्यानले काम गर्नुपर्छ, मस्तले थकाइ मार्नुपर्छ । अहिले तँ खाँदै छस्, ढुक्कले खा । म हान्दै छु, दिलोज्यानले हान्न दे । (पसिना पुछ्दै) यसले जसरी भए पनि फुट्नै पर्छ । यो फुटेन भने भरे कसौँडीमा के हाल्ने ! ढुङ्गो हालेर उसिन्दा भएन क्यारे !

मदन ः- (मनमनै) यो साहू पनि कस्तो छट्टू छ ! भरदिन काम गरे पनि गिट्टी नथुपारीकन पैसै दिँदैन । हातमुख जोड्न धौधौ पर्नेहरूको विवसता नबुझेर यस साहूले ठूलो आफतमा पारेको छ । केही भन्यो कि भोलिदेखि काममा नआइज भन्छ । काम गर्ने अर्को ठाउँ नै छैन । मनपरी नियम छ । नियम पनि के भनूँ र मुखौले कानुन लागू छ । कम्तिमा बडेमानका ढुङ्गा चारपाँच टुक्रामा परिणत गरिदिए त आइमाई केटाकेटीलाई स-साना टुक्रामा परिणत गर्न सहज र सरल हुनेथियो । त्यो पनि छैन । अर्काको पीरमार्का सम्बोधन गरिदिने मन पनि छैन । मात्र चाकरी चाप्लुसीको राज छ । नहुने कुरा छ, हुने कुरा एउटै छैन, बा !

शारदा ः- (हानेको हान्यै गर्छिन् । ढुङ््गो दुई टुक्रा हुन्छ । उनी खुसी हुन्छिन् ।) मदन ! फुट्यो, फुट्यो । अब केही सुविस्था हुने पर्यो ।

मदन ः- (खुसी हुँदै) ल, ल अब म फोड्छु । अब मेरो पालो । हजुर थकाइ मार्नुस् । (मदन हान्न थाल्छ । ढुङ्गो टुक्रिन्छ । मदन जोसिलो बन्छ । टुक्रा पार्दै जान्छ । एक छेउमा बसेर शारदा पनि हतौडाले गिट्टी बनाउने काममा तनमन लगाएर लाग्छिन् । गिट्टीको थुप्रिँदै जान्छ । ठूलो थुप्रो बन्छ । साहू धुथर आउँछ । अरू कामदार मान्छे पनि हुन्छन् । नापजोख गर्छन् ।)

धुथर ः- (पैसा दिँदै) लेऊ शारदा ! आज धेरै पैसा कमायौ । काम पनि धेरै गर्यौ । यसरी नै गिट्टीको थुप्रो ठड्यायौ भने त म पैसा दिइहाल्छु नि । सीप, क्षमता र लगनशिलताको फल पाइहाल्छौ नि ।

शारदा ः- (पैसा लिँदै) हवस् हजुर ! (उनी खुसी देखिन्छिन् ।) (पर्दा खस्दै जान्छ ।)

०६८.०७. १५ मङ्गलबार (छट पर्व)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सीप (बाल-एकाङ्की)”

  1. lamo samay pa6iko majheri
    thanks. mera rachana aairakheka rahe6an, sai6ik tintanka 5/7 wata lekh thie, pa6i pathaune6u.

    ks sir ra aru mitra haru lai samjhana vanda……………………bye

Leave a Reply

Your email address will not be published. Required fields are marked *