Skip to content

झरी फेरि दर्किन थाल्यो


भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुईचार छिटा पानी मसम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो दर्के झरीले मलाई जहिल्यै रुवाउँछ । टिनको छानोमा बजारिएर झरेको बेफुर्सदी बलेसीको धारो या त बारीको मकैको पातबाट एकनासले आउने झरीसँगीतको कति मिठो सम्झना दिलाउँछ यो झरीले र सम्झनाको पाखोबारी छिचोल्दै कति उकुसमुकुस अतित बगेर जान्छ आँखाबाट। परदेशको झरीमा जे छ सब बिरानोपन न छ र त बाहिर आकाश रोइरहेछ बादलको चित्कारसङ्गै, भित्र म रोइरहेछु मौन मौन ।

झरीसँग गाँसिएका अनेक रमाइला नरमाइला घटना आँखामा एकैनिमेषमा आइदिन्छन्। आमा! तिमीलाई असाध्यै सम्झिन्छु हरबखत तर झरी परेको बेलामा डाँकै छोडेर रुन्छु। तिमी सम्झिन्छ्यौ अझै! पक्कै सम्झेकी हौली, कति पटक झरीको मौसममा म भिज्दै स्कुल जान्थेँ। कस्तो गरिबी थियो हगि! म उस्तै मुर्ख थिएँ । खोलापारी सन्तेले कालो छाता ओढेको देखेर म कति रोएँ । तिमीले घरमा भएजतिमा राम्रो र नयाँ प्लास्टिक ओढ्न दिँदा मैले रिसले च्यातचुत पारेर खोल्सीमा बगाइदिएको थिएँ। त्यो पनि भर्खर किनेको युरिया मलको बोरामा आएको सबैभन्दा बाक्लो सेतो प्लास्टिक हगि! तिमीले दुई मुड्की बजायौ तर म भिज्दै स्कुल गएँ। तीन रुपैयाँमा किनेको प्लास्टिक झोलामा किताब कापी ओते भयो। शरीर त पुरै निथ्रुक भिजेको हुन्थ्यो। दिनभरि यताउता टहल्दा अरु लुगा त कसोकसो अख्रक्क पर्थ्यो झरी र पसिना बसाउदै गनाउँदै तर दिनैभरि भित्री कट्टु सुक्दैनथ्यो । त्यो कुरा कि म बुझ्थेँ कि तिमी अनुमान गर्थ्यौ र बेलुकी फेरि कपाल उखेल्थ्यौ अनि अगेनुको छेउमा बस् भनेर हपार्थ्यौ। अभावका ती दिनहरूमा तिमीले पानी ओत्ने छाता किन्न सकिनौ तर ममताको छाताले सधैँ मलाई ढपक्क ढाकेर राख्थ्यौ आमा! तर कति दिनसम्म म रिसाएर बोलिन तिमीसँग छाता नपाएको रिसमा। आज यो झरीको दर्काइमा यो परदेशको शुन्य भित्तो हेर्दै तिमीसँग कुरागर्दैछु आमा! मलाई ढँटुवा नभन है!

यो बिरानो माटोमा बस्न मलाई पो कहाँ रहर छ र! यहाँ हरेक पाइलामा मन कोपरिन्छ । यो पराइ माटो हो आमा! यो जतिसुकै बिशाल किन नहोस् तर यसको फैलावट तिम्रो सानो पाठेघर जति पनि छैन आमा! जसले अवर्णनीय अकल्पनीय पीडा सहेरै किन नहोस् चुपचाप मलाई स्थान दियौ। मलाई कुपुक्क पारेर च्यापेर राख्यौ। मलाई आफूमै अटायौ। यो माटोले त मलाई एकपलको लागि पनि सहंदैन यदि मेरो पाखुरा र पिँडौला लुलो भयो भने । यहाँका मनहरूले एक निमेषको लागि पनि मलाई नियाल्न सक्दैनन् यदि मेरो अनुहारमा योग्यताको झलक झल्किएन भने। यो तिम्रो जस्तो आँखाको दुनियाँ होइन आमा! जो सिँगान पोतिएर सुकेर कट्कटिएर टाटेपाटे भएको मेरो बिक्रित अनुहारपनि निर्निमेष हेरिरहन्थ्यौ र अपूर्ब ममत्वले च्वाँक्क म्वाइ खान्थ्यौ। थाहा छ आमा! यहाँ त सडकमा म लख्रक लख्रक लाचार पाइला चालिरहेको बेला चिल्लो गाडीमा हुइँकिने खस्रा मनहरूसङ्गै बेलाइते कुकुरले मलाई अपमानित हेराइ फाल्दै कता हो कता बत्तिन्छ । यस्तो कठोर दुनियाँमा म कसरी रम्नु र किन तिमीलाई ढाँट्नु कि म घर आउँछु भन्दै र केवल भन्दै अनि नआउँदै।

अस्ती बल्लबल्ल नेटवर्क टिपेको बेला भाग्यबस् लामो भलाकुसारी हुँदा तिमी ठस्कियौ फेरि पनि ढँटुवा भन्दै। त्याँको अग्ला चुच्चा घरले तानेर राख्यो तँलाई भन्यौ। त्यसो होइन आमा! यी चुच्चा घरले मलाई तान्ने होइन किन्तु घोच्छन् मेरो स्वाभिमानी छातीमा तिखा सँगीन बनेर। यी अग्ला घरले केवल मेरो सगरमाथालाई खिस्याउँछन्। मैले घर नआउनलाई ढाँटेको होइन आमा तिमी किन बुझ्दिनौ!

ओहो! कतिबेर यसरी यो निर्जीव भित्तो हेरेर बर्बराएछु आमासँग। बरा!! किक्लिक्क बाडुली लाग्यो होला आमालाई। “भुत्तेले सम्झ्यो क्यारे!” भनिहोलिन्।

…….तिम्लाई धेरै अरुकुरा ढाँटेको छु। अफिसमा झाडु लाउने मात्रै हो काम सजिलो छ भनेर सत्य लुकाएको छु। ९ तल्ला जमिनमुनीको अंध्यारो कुनोबाट बोराका बोरा सामान बोकेर माथि ल्याउनुपर्छ । ८ घण्टा भनेर १३ घण्टा काममा दलाउँछ मधिसेले । कति रात त नसुतेरै बित्छ पिँडुलाको मासु फर्केर। तर के गर्नु नगरि सुखै छैन। दिनभरि बसेर चम्चा पुछ्ने काम गरें, दिनैभरि गंगटो केलाउने काम गरेँ ओहो! त्यो बेला काम सजिलो भएपनि कस्तो घिन लागेको मेरो त आन्द्राभुंडी नै बाहिर आउँलाजस्तो उल्टी भयो र बरु यही बोरा बोक्ने काम गर्दैछु। तर तिम्लाई भन्यो भने रोएरै मर्छ्यौ । आको रिण न तिरी म कसरी फिर्नु तिमीलाई फकाउन। उसोर ढाँटनै परेको छ तर घर नआउनलाई होइन । त्यसबेलाको युरिया मलको प्लास्टिक च्यातेको सट्टा अब त्यो चुहिने छानो र पाली टिनले नै छाएर तिम्रो चाउरे अनुहार तन्किंदै हाँसेको हेर्न चाहन्छु आमा! जब यहाँ झरी पर्छ मेरो आँखा यसरी बर्सिन्छ, तिमी छेउमा हुँदिहौ त बग्थ्यौ यो भेलमा। अहँ त्यसो होइन तिमीले यो भेल बग्नै दिन्नथ्यौ । टालटुल पारेको फरियाको छेउले भएपनि यो भेललाई रोक्थ्यौ। तर, तर अहिले रोकिने नामै लिंदैन ……….।

ओहो! फेरि पो मनोबादमा लागेछु। घडीको सुइले रातको १ टेकेछ। यही ल्याप्टप पनि नहुँदो हो त के गरी बिताउँदो हुँ यो नित्तान्त एकाँकी पलहरू! पैसो आएकै छैन भन्दै आमालाई ढाँटेर यो एउटा खबटो किनेर मलाई त निकै राहत भएको छ । ती दिनमा यस्तै झरिमा बेपर्बाह भिज्दैभिज्दै आमाले पढाएलेखाएको प्रतिफल सिर्फ यही ल्याप्टपमा भावनाका दुईचार कुरा कोर्ने काम त आएको छ अहिले! के काम लाग्यो मेरो त्यो कलेजको सर्टिफिकेट जो सावाँ अक्षर नचिन्ने मेरी आमाले हजार बार छातीमा टाँस्दै म्वाइ खाएकी थिइन्। जबजब कुइन्टलका बोराले मलाई घ्याच्छ थिच्छन् मलाई त्यो सर्टिफिकेटको हलुकोपन् सँग नमिठो रिस उठ्छ। खैर त्यसको पो के गल्ती थियो र। उफ्फ्फ जिन्दगीको हिसाब किताब कहँनिर मिलेन। थर्मसमा पनि सेलाउनै लागिसकेको कालो चिया तुर्क्याउँछु ह्यान्डिल फुटेको कपमा। कति बेस्वाद हो चिया पनि! ठ्याक्कै मेरै जिन्दगी जस्तो।

झरी अलिक थामिएछ मेरो पो ध्यान जति मनोलापमा गएछ। कर्कस मेघको गर्जनले तर्सिँदा हातको कप झन्डै खसेको। एउटा लामो उच्छ्वास फ्याँक्दै झ्यालको सानो चिर्कटोबाट तल डाउनटाउन भ्याली नियाल्छु। हावाको एक राक्षसी झोँकाले मलाई भित्रै दबाउन धकेल्छ। म अटेर गर्दै झ्यालतिर ठेस्सिन्छु। रात तन्किँदैछ भोलिको उज्यालो बिहानी लिन। म घडी हेर्छु जिन्दगीको पात्रो पल्टाउन । यो रातको गन्तब्य भोलिको उज्यालो हो र त सुलुत्त चिप्लिन खोज्दैछ । म के लिन कता तन्किउँ । कता चिप्लिउँ । जान त एकैतिर मन छ त्यही मेरो छानो चुहिने कटेरोतिर तर आमाको आँखामा म अरु भेल कसरी हेरुँ फेरि यस्तै दर्किने झरिमा भिजिने सन्त्रासङ्गै!

म रातसँग असाध्यै डराउने मान्छे। कति पटक कट्टुमै सुसु छोडेको सम्झना छ रातको डरमा। अहिले मेरो रातसङको त्यो डर हराएको छ। आमा भन्ने गर्थिन” उमेर सङ्गै बुद्धि आउँछ अनि डर भाग्छ।” बुद्धि त आयो कि आएन तर डर भने भाग्यो । यती सम्मकी अहिले त मेरो प्रिय समय र साथी नै यही नीरव रात भएको छ। उमेर सङ्गै बुद्धि आएपनि नआएपनि व्यबहारले गाँजेर समस्याहरूले अर्जाप्दा अभावले स्थान लिँदोरहेछ डरको सट्टा शायद त्यसैले उमेरको छिप्पट सङ्गै डर बसाई सर्दोरहेछ। अहिले त मलाई रात सबसे प्यारो लाग्छ । ओहो! कस्तो एकतमासको समय! बतासको मनोमानी निकै भयो। अलिअली लोलाएको आँखाको निँद छिरलिसकेको छ उत्ताउलो बतासले यतिबेला। झ्यालको फक्लेटो बन्द गर्छु। र थचक्क बस्छु कुइँक्क गर्ने कुर्सिमा उही खबटो ल्यापटपको अघिल्तिर। लामो सुस्केरा उसैको अनुहारमा फ्याँक्छु। अब यही खल्बलिएको मनको टिकाटिप्पणी उतार्छु ल्यापटपको छातीमा। रात बित्दैन सजिलै। दिन उसै अनन्त लामो लाग्छ। उफ्फ! यहो मनोलाप अब लेख्छु खर्खरी र त्यसले रुप धारण् गर्नेछ एउटा अब्बल कविताको या त मन छुने कथाको। भोलि बिहानसम्म सबैलाई ट्याग गरिसक्नेछु र ब्यग्र साहित्यानुरागीहरूले पढ्नेछन् । कमेन्ट गर्नेछन् अनि दिनेछन मलाई अमुल्य उपमा एक उदाउँदो साहित्यकारको। मलाई थाहा छैन यो साहित्य नै हो? या मेरो गरीब जिन्दगीको दरिद्र दैनिकी। तर लेख्दैछु उही आत्मालाप यो झरिले रुझाएको मनको अतित सम्झना अनि उही हालसम्म पुरा नभएको वाचा, ” आमा! अबको बर्खा पहिल्यै म फिर्नेछु घर र यसपाली अवस्य छानोमा टिन लगाउनेछु। अब तिमीलाई रुझ्न दिनेछैन। म बर्खा पहिल्यै घर फिर्नेछु। ”

मेरो कथा सकिनै लागेको छ। उ! झरी फेरि दर्किन थाल्यो।

1 thought on “झरी फेरि दर्किन थाल्यो”

  1. kathale mero man chhoyo,
    kathale mero man chhoyo, katha paddha yesto lagyo ki ma nai
    tesko patra thiye. katah nikai bastabik ra marmik 6,

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *