धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।
मध्ये युगमा राधा कृष्णले होली खेलेको दृष्य राजपूत, मुगल, मिनियेचर शैलिका चित्रहरु काँगडा कलमको मूख्य कथ्य र प्रेरणा श्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग, वीतशोक, वीतमोह हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले जोगिरा सरर गरेर त कसैले होली खेलेँ रधुवीरा अवधमें, किनके हाथ कनक पिचकारी, किनके हाथ अविरा भनेर आनन्द र उमङ्गको यो धमाका फाग, फगुवा, होली, वारमासा गीतका साथ प्रेम बाँडिरहेका हुन्छन् ।
होली रङ्गैरङ्गमा खेलिने भएको हुनाले रङ्गको महत्वलाई पनि यहाँ जान्ने कोशिस गरिएको छ । हरेक सभ्यताले रङ्गलाई आफ्नो हेराइले हेरेका छन्, परिभाषित गरेका छन् । तर कसैले पनि रङ्गको नामाकरण गर्नमा रुची देखाएनन् या रङ्गलाई मूलभूत रङ्गसँग मात्र जोडेर हेरे । धेरै सभ्यताहरुले रङ्गलाई दुइ किसिमले मात्रै विभाजन गरे । पहिलो सेतो अर्थात हल्का, अर्को कालो अर्थात गाढा । अरस्तुले इशापूर्व चौथो शताब्दीमा नीलो र पहेँलो रङ्गलाई पनि प्राथमिकता रङ्गमा राखे । यी रङ्गहरुलाई प्रकृतिको मूल तत्वसँग दाँज्न थाले, जस्तो सूर्य-चन्द्र, पुरुष-स्त्री, फैलिनु-सँकुचन हुनु, दिन-रात आदि । यसले लगभग २ हजार वर्षम्म मान्यता पाए । १७ औं र १८औं शताब्दीमा न्यूटनको सिद्धान्तले यी रङ्गहरुलाई सामान्य रङ्गहरुमा बदलिदिए । इ.सं.१६७२ मा न्युटनले रङ्गका निम्ति आफ्नो पहिलो सोध प्रस्तुत गरे जुन विवादमै रहृयो । गोथेले न्युटनको सिद्धान्तलाई पूरै नकारेर ” थ्यौरी अफ कलर्स ” भन्ने पुस्तक लेखे । गोथेले भनेकी गहिरो अँध्यारोमा सबभन्दा पहिले नीलो रङ्ग निक्लन्छ र यसले गहिरोपन दर्शाउँदछ । त्यहीँ उदाएको सूर्यमा सबभन्दा पहिले पहेँलो रङ्ग निक्लन्छ । जुन रङ्गले हल्का रङ्गको प्रतिनीधित्व गर्दछ । १९ औं शताब्दीमा कलर थेरापीको प्रभाव कम भयो बरु २० औं शताब्दीमा आएर यो नयाँ रुपमा उत्पन्न भयो ।
रङ्गले मानव जीवनमा व्यापक प्रभाव पारेको हुन्छ । प्राचीनकालदेखि यो विश्वास रही आएको छ कि रङ्गद्वारा रोगबाट मुक्त हुनका लागि धेरै ठूलो भूमिका खेलेको हुन्छ । रङ्गले मानवको मनोविज्ञान र मनस्थितिमा व्यापक प्रभाव पारेको हुन्छ । सूर्यको किरणबाट मूख्यतः ७ प्रकारका रङ्गहरु रातो, सुन्तला, पहेँलो, हरियो, नीलो, नीर, वैजनी रङ्गहरु निस्किएको हामीले स्पष्टसँग इन्द्रेणीमा देख्न सक्छौं । यही सात रङ्गको मिश्रणबाट दशलाख सम्म रङ्गहरु बनाउन सकिन्छ । हरेक रङ्गको एउटा न एउटा असर हुन्छ जसद्वारा हामीलाई तरङ्गति पारेको हुन्छ । हरेक रङ्गले हामीलाई उत्तेजित र शान्त पारेको हुन्छ । हरियो नीलो र वैजनी रङ्गको वातावरणलाई हेर्यौं भने हामीलाई शान्त बनाइदिन्छ । त्यस्तै अर्कोतिर पहेँलो, रातो र यसको मिश्रणबाट बनेको रङ्गहरुको वातावरणले हामीलाई उत्तेजित बनाएको हुन्छ । त्यसैले पनि होलीको रङ्गसँग खेल्नाले हामीलाई यी सब किसिमका उल्लास दिलाइदिन्छ । त्यस्तै यस्तै रङ्गको सहायताले वस्तुस्थिति र प्रभावलाई पनि भ्रामक बनाइदिन्छ, हास्यरस उत्पन्न गराइदिन्छ । दुःख, पीडा र निराशाबाट छुटकारा पाउन समझदार समाजले हास्यकलालाई प्रस्तुत गरे । यसले गर्दा प्रत्येकलाई उसको हातमा ठूलो चिज आएको भान हुनगयो जस्तो उसलाई जीवन जिउने सूत्र प्राप्त भएको छ । होलीको रङ्गले रङ्गिएर हास्य झलकमा तरङ्गति भएर उमङ्गति हुनु पनि यस्कै एउटा साकार रुप हो ।
कलर थेरापीको उपचार पद्धतिमा यी यस्तै कुराहरुलाई जोड दिइएको हुन्छ । यस उपचार पद्धतिमा मूल आधार चक्रबाट उब्जिएको लक्षणलाई ध्यान दिइन्छ । शारिरीक सन्तुलनमा केही अनियमितता भएमा चक्रको विकार देखापर्दछ । यसमा हाम्रो शरीरमा सात चक्र भएको कुरालाई आधार मानेर शरीरलाई हेरिएको हुन्छ । व्यक्ति स्वस्थ्य हुनका लागि यी सात चक्रहरु घडीजस्तै सुचारु रुपमा चलेको हुन्छ । यसमा केही विकार भयो भने केही गडबड छ भनेर जान्नुपर्ने हुन्छ । त्यस्तै रङ्गलाई आयुर्वेदिक किसिमले हर्ेदा वात, पित्त र कफ गरेर यी ३ विकारलाई सही किसिमले ठम्याएर असन्तुलन हटाउनलाई अलग-अलग किसिमले रङ्गको प्रयाग गरिएको हुन्छ । त्यस्तै रङ्गलाई शक्तिको हिसाबले पाँच मूलभूत तत्व अर्थात वायु, जल, अग्नी, पृथ्वी – माटो ), आकाश लाई आधार मानेर यस किसिमको उपचार पद्धतिमा ध्यान दिइएको हुन्छ ।
रङ्गको प्रभाव र महत्वलाई जानेर प्रकाश-विज्ञान, दृष्टि-विज्ञान र रङ्ग-विज्ञानको उचित सोध र प्रयोगद्वारा मानव हितका लागि अनेकौं फाइदाजनक कार्यहरु गर्न सकिन्छ । रङ्गको मायाले सारा व्रम्हाण्ड फैलिएको छ, यसको प्रभावले तपाइँलाई कहीँ न कहीँबाट पछ्याइनै रहेको हुन्छ । तपाइँले मात्र यो तय गर्नु आवश्यक छ कि कुन रङ्ग तपाइँको व्यक्तित्व, जीवनशैलि र रुचि अनुकूलको छ या कुन रङ्ग तपाइँको शारिरीक र मानसिक रुपमा ज्यादा उपयुक्त लाग्दछ । त्यसैले राम्रोसँग विचार गरेर मन परेको रङ्ग चयन गर्नुस् र त्यही रङ्गको होलीमा आफूलाई रङ्गाउनुस् । तर्सथ तपाइँले जान्नुभयो भने तपाइँले, हरेक दिन, हरेक समय, प्रत्येक पल आफूलाई होलीको रङ्गमा रङ्गिएर उमङ्गसँग जिउन सक्नुहुन्छ ।
मौसमप्रति हाम्रो सित्तल समवेदना सकारण छ । मौसमले अद्भूत रङ्गमा आफ्नो कूची चलाउँदछ । वियोग र दुःखको असमञ्जस्य रातमा प्रभातको लालिमा बर्साएर नयाँ उत्साह र असिम आनन्दको बाटो आलोकित गर्दछ । हाम्रो मनमा एक्दम बोझ भएर रहेको घृणा र अवसादलाई समाप्त पार्न चार्डपर्वहरुलाई सृजना गर्दछ । जिन्दगीलाई उर्वरा बनाइराख्नका लागि निरन्तर मनलाई प्रफूल्लित पारेर पल्टाउन आव्हान गर्दछ । त्यसैले हामी कसरी यसबाट अछुत रहन सक्दछौं कि मानिस आखिर प्रकृतिको बीज हो ।
पानी परिरहेको छ र इन्द्रेणी देखिन्छ भने त अचानक तपाइँको दृष्टि त्यतातिर पुग्छ र खुशिले उमङ्गले ताजगि ल्याइदिन्छ । हरेक रङ्गमा तरङ्ग र उर्जा हुन्छ । रङ्गको तरङ्गको आवृत्तिमा निर्भर गर्दछ कि यसले हाम्रो शरिरलाई कत्ति धेरै असर पारेको हुन्छ । रङ्गको असरले हाम्रो तनमनका साथै बुद्धि र भावनामा पनि प्रभावित गरेको हुन्छ । विभिन्न रङ्गले अलग-अलग भाव र प्रभाव पारेको हुन्छ । जस्तो रातो रङ्गमा प्रशन्नता, उल्लास, उत्तेजना, क्रोध, उष्णता आदि । हामी सोच्दछौं कि एउटै रङ्गले प्रशन्नता र त्यही रङ्गले क्रोधको भाव कसरी पार्दछ । यसको मूख्य कारण रङ्गको रङ्ग, मान र सघनतामा निर्भर हुन्छ र साथै वैयक्तिक ग्रहण शक्तिका अनुसार रङ्गहरुको तीव्रताको सूक्ष्म भेदको आँकण गराइमा अन्तर पर्दछ । प्रकाशको मात्रा, बस्तुको आकार, रङ्गको शुद्धता र आफ्नो दृष्टिको दूरीमा पनि निर्भर हुन्छ । रङ्गहरुद्वारा मानवीय भावनाहरुमा पर्ने प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ । वैज्ञानीक सोधका अनुसार मानवीय आँखाले ७ करोड प्रकारका रङ्गहरुलाई छुट्याउन र्समर्थ हुन्छ र हरेक रङ्गले भिन्नाभिन्नै असर पारेको हुन्छ । जुन रङ्गलाई हामी नियाल्छौं, जुन रङ्गमा हामी रहन्छौं सबैले हामीलाई प्रभाव पारेकै हुन्छ ।
धार्मिक आस्थादेखि लिएर वैज्ञानीक आधारले पनि यही भन्दछ कि रङ्गको धारणा बनाएर हामीले प्रकृतिसँग सम्बन्ध जोडेका हुन्छौं । वसन्तको रङ्गले हामीलाई वसन्तको फूलहरुबाट तारतम्य बनाउनमा मद्दत गर्दछ भने, हरियो रङ्गले पातसँग । नीलो रङ्ग आकाशको ऐना हो भने रातो रङ्ग विहान साँझको लालीमा हो । यसरी रङ्गसँग हाम्रो भावना जोडिएको हुन्छ र हामी फेरि प्रकृतिको फूल, पात, रुख, जन्तुहरुसँग आफ्नो सम्बन्ध बनाउन लालायित हुन्छौं । त्यसैले रङ्गले हाम्रो सँस्कृतिलाई प्रकृतिसँग जोडिएको हुन्छ । जहाँ प्रकृतिको रङ्ग पर्याप्त हुँदैन त्यहाँ रङ्गद्वारा त्यसको पूर्ति गर्न सकिन्छ । होली यसको उदाहरण हो । त्यस्तै कुनै ठाउँको साँस्कृतिक भेषभुषाले पनि त्यहाँको दुनियाँलाई रङ्गनि बनाइदिएको हुन्छ ।
कलाकारहरुले पनि चित्रकला, पेन्टिङ्गकला, नाट्यकला प्रस्तुत गर्दा केवल रङ्गलाई मात्र प्रयोग गरेर यी सम्पूर्ण रङ्गका विशेषता अनुसार यसको महत्व अनुसार मानवीय भावनाहरुलाई प्रस्तुत गर्नेकुरामा जोड दिन्छन् । भारतवर्षा आचार्य भरतमुनिको नाट्यशास्त्रमा प्रमुखरङ्ग रातो, पहेँलो र कालो मानिएको छ । वर्णहरुको विवेचना गर्दा भरतमुनिले श्रृङ्गारलाई गाढा हरियो, हास्यलाई हल्का सेतो, करुणलाई खरानी, रौद्रलाई रगतको जस्तो रातो, वीरलाई गाढा सेतो, भयानकलाई कालो, वीभत्सलाई नीलो र अद्भूतलाई पहेँलो रङ्ग मानेका छन् ।
जीवनमा ज्ञान, प्रेम, राम्रो काम गर्ने उत्साह, शक्ति, त्यागर् इश्वरभक्ति आदि सबैका लागि रङ्ग अपरिहार्य छ । रङ्गको यो दुनियाँले हामीलाई यसको मनोविज्ञान जान्नलाई आवश्यकता महसूस गराउँदछ । मानिस तथा जनावरहरुमा इन्द्रियहरुद्वारा सम्वेदना र धारणालाई मनोविज्ञानमा ज्ञान प्राप्त गर्ने मूख्य चरण मानिएको छ । हामा्रो जीवनलाई यो रङ्गले कुन प्रकारले प्रभाव पार्दछ –
विज्ञानले सेतोलाई रङ्ग मान्दैन । सेतो रङ्ग परावर्तकको रुपमा मानिन्छ जसमा सबै रङ्ग समाहित भएको हुन्छ । यो शुद्धता, उज्वलता, सहयोग, विश्ववन्धुत्व, शान्ति, एकता, सत्यता र निष्ठाको प्रतीक मानिन्छ । धार्मिक प्रकृति र शान्तिपूर्वक जीवन यापन गर्ने व्यक्ति सेतो वस्त्र धारण गर्न मन पराउँछन् ताकि मन निर्मल र शान्त रहोस् । सेतो रङ्ग शुद्धता र आशावादीको प्रतीक मानिन्छ र यसैलाई ध्यानमा राखेर सेतो वस्त्र धारण गरिन्छ ।
विज्ञानका अनुसार कालो रङ्ग नभएर अवशोषकको रुपमा लिइन्छ । जसले प्रकृतिमा भएका सबै रङ्गहरुलाई अवशोषण गरेको हुन्छ । अधिकाँश कालो रङ्ग अन्धकार, निन्द्रा, भय, अज्ञान, राक्षशी र हिँसात्मक प्रवृत्तिको सूचक हो । पश्चिमीहरु कालो रङ्गलाई गम्भिरताका साथै उदासीको प्रतीकको रुपले हेर्दछन् र यिनीहरु साजसज्जा गर्दा कालो रङ्गलाई परहेज गर्दछन् ।
मूल रुपमा रातो, नीलो र हरियो रङ्ग आधार रङ्ग हो । बाँकी रङ्गहरु यी ३ वटै रङ्गको मिश्रण हो । साहित्यिक दृष्टिबाट हेर्ने हो भने रातो रङ्ग प्रेमको प्रतीक हो । हृदयको धड्कन रातो रङ्गले बढाउने काम गरेका हुन्छ । यो रङ्ग उत्साह, साहश र गतिशीलता दर्शाउने किसिमको हुन्छ । रातो रङ्गले उत्तेजना उत्पन्न गर्दछ र भावनालाई उभार्दछ । क्रोध र खतरा व्यक्त गर्नका लागि पनि रातो रङ्गनै प्रयोग गरिएको हुन्छ । नीलो रङ्गले आँखालाई आराम दिने काम गरेको हुन्छ । यसको साथै मनलाई शीत्तल गर्ने र क्रोधलाई समाप्त पार्नका लागि उपयोगि हुन्छ । वैज्ञानीकहरुले आफ्नो प्रयोगका आधारमा यो सावित गरिसके कि नीलो रङ्गले ताजगी र स्फूर्ति प्रदान गर्दछ । हरियो रङ्ग शीतलता, स्फूर्ति र पूनर्जीवन उत्पन्न गर्ने किसिमको मान्न सकिन्छ यो रङ्गले मनलाई एकाग्र र विश्वास प्राप्त गर्न सहयोग गर्दछ । पहेँलो रङ्ग प्रकाश, ज्योति र प्रशन्नताको सूचक हो । यो रङ्गले खुशि र उमङ्ग उत्पन्न गर्दछ । यसले भावलाई प्रेरित गर्दछ र बुद्धिलाई तीक्ष्ण बनाइदिन्छ । त्यसैले त पूजा-पाठमा पहेँलो रङ्गलाई शुभ मानिन्छ । गुलाफी रङ्ग कोमलता र भावुकताको प्रतीक हो । वैजनी रङ्ग शान, महत्व र राजसी प्रभावलाई व्यक्त गर्ने किसिमको हुन्छ । यो रङ्ग जति कलात्मक हुन्छ त्यत्तिनै भावनात्मक हुन्छ । सुन्तला रङ्ग जीवनको शक्तिको सञ्चार र वलबुद्धिको सुचक हो । पहेँलो भावको रातो रङ्ग दृढताको प्रतीक हो । यस्तो रङ्ग मन पराउने व्यक्ति मित्र र हितैषी स्वभावको हुन्छ ।
धनी होस् या गरिब उँच होस् या नीच सबै मिलेर उल्लासपूर्वक छुवाछुत, जातिय विभेद नराखी मनाइने अत्यन्तै महत्वपूर्ण पर्व भनेको एक मात्र होली पर्वनै हो । त्यसैले होली सबैलाई मिलाउने महोत्सव हो । सबै, जाती, वर्ण, लिङ्गलाई होलीले मिलाइदिएको हुन्छ । अझ होलीको रङ्गको रङ्गनि दुनियाँले त सबैलाई घुलमिल गराइदिएको हुन्छ । रङ्गको भाषामा शब्द हुँदैन । नाद हुन्छ । साह्रै मसिनो आवरणबाट आरपार जाने एउटा ध्वनी हुन्छ । कस्तो राम्रो हुन्छ भाषाको सङ्गीत कस्तो मधुर हुन्छ सङ्गतिको शब्द । त्यो भन्दा पनि होलीको रङ्ग अझ प्रभावकारी हुन्छ ।
होलीको रङ्गमा पनि सक्कली र नक्कलीको सङ्घर्ष हुन्छ । रङ्ग महङ्गो भइसकेको छ । तर हाम्रो मुहार सस्तो भइरहेको छ । जिन्दगी जिउनका लागि अनेकौं दुःख, कष्ट गर्नु परिरहेको हुन्छ । आजको युगमा कार्य व्यस्तताले सबैलाई यन्त्रवत वनाइदिएको छ । सारा दुःखको अँध्यारोपनमा पनि फागू पर्वले हामीलाई एकदम नजिकबाट छोएको हुन्छ । यो सबै रङ्गकै देन हो भन्न अत्युक्ति हुन्छ । त्यसैले यो एउटा सबैलाई खुशियालीको उमङ्ग ल्याउने महत्वपूर्ण पर्व हो र यसले सबैको दुःखको रोग हटाएर सुखिपनले सदा खुशियालीको बहार ल्याइदिन्छ । हामी प्रार्थना त गर्छौं तर पूरै मनबाट गरिएको प्रार्थना कहिल्यै खेर जाँदैन । होली यो एकमात्र रङ्ग हो जुन पूरै रङ्गबाट, पूरै मनबाट गरिने प्रार्थना हो भन्दा दुइ मत नहोला । मलाई विश्वास छ यो फागूले उसलाई पनि रङ्गाइ दिनेछ जसले सधैँभरि केले गरौं नाना-चाचा, केले गरौं नून तेल भनेर सास्ती खपिरहेका छन् । जहाँ गरिबहरुलाई खेतको माटो पनि अबिर भइदिन्छ । अनि सपना सबै रातो भइदिन्छ । यसरी निधारमा सजिएको यस दिनको अनुराग चिन्हलाई जता-जता उनीहरु लिएर जान्छन् एउटा महोत्सवमात्र होइन सबैका लागि एउटा ठूलो महामहोत्सव साकार भइदिन्छ ।

धन्यवाद
धन्यवाद होलीको सान्दर्भिक समीक्षा