पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला

(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

हीरा ः- (चारैतर्फ हेर्दै) नानीहरू हो, तिमीहरू र मेरो मन मिल्छ त ? हामीहरू बीच मन फाटी हाले पनि मेरो मनले त हार्न जानेको छैन नि ।

मीरा ः- (हीरातिर हेर्दै) हैन, ए टुक्के दिदी ! के भन्नुभएको ? मन अमिलो नबनाई हामीलाई आफ्नो मनपेट दिनुस् न ।

हीरा ः- हेर, म जान्ने हुँ भनेर नाक घोक्र्याउँदिनँ । आफ्नो नाक जाला कि भनेर पनि म कुरा लुकाउँदिनँ । किनकि मलाई नाक फाल्नु पनि छैन र नाक जोगाउनु पनि छैन । कारण के हो भने मैले नाक काटिने काम नै गरेकी छैन ।

शीला ः- मजस्ती फुच्चीले मुख चलाउनु त ठीक छैन तर मनभरि जिज्ञासा छन् । मेरा जिज्ञासाको जवाफ दिएर मेरो मुखमा बुजो लगाइदिनुहोला ।

नीरा ः- टुक्के दिदीको अगाडि मुख लाग्नु पो हुन्न त तर उहाँको अगाडि मुख सिएरै बस्नुपर्छ भन्ने छैन । (सबै जना मुस्कुराउँछन् ।)

धीरज ः- ठूलाबडासँग मुख लाग्नुहुन्न तर चाहिँदो कुरामा मुख फोर्नुपर्छ भनेर हजुरबुवा भन्नुहुन्थ्यो ।

हीरा ः- ल, ल, तिमीहरूले मेरो मन जित्यौ किनकि तिमीहरूका यी कुराहरू मलाई मन परे । मन कुडिएका मान्छेसँग मन फुकायो भने उसको मन फर्कन्छ । तिमीहरूचाहिँ आफ्नो मन नपकाओ । मन लागेका प्रश्न सोध, म तिमीहरूको मन जित्ने गरी उत्तर दिने प्रयास गर्नेछु ।

शीला ः- मन मिलेपछि मन फाट्ने कुरै आउँदैन । टुक्के दिदी, हजुर आफूलाई ‘जोर्बा दि बुद्ध’ भन्नुहुन्छ । जोर्बा भनेको को हो ? कृपया टुक्काको प्रयोग नगरीकन वताइदिनुस् न ।

नीरा ः- (हाँस्दै) कृपया आफ्नो मनपेट दिएर हामीलाई मख्ख पार्नुहोला ।

हीरा ः- ठीक छ, ठीक छ । नाक नखुम्च्याईकन सुन है त । कजानजाकिस भन्ने उपन्यासकारको ‘जोर्बा दि ग्रीक’ उपन्यासमा जोर्बा एक पात्र छ । ऊ थोरै कमाउँछ तर सधैँ प्रसन्न र आनन्दित रहन्छ । ऊ स्वच्छन्द जीवन बाँच्छ । वर्तमानलाई मज्जाले भोग्छ । ऊ पलपलको आनन्द लिइरहन्छ । दुःखमा पनि र सुखमा पनि आनन्द देख्छ । उसले लिने आनन्दको कुनै सीमा छैन । उसमा उत्सवको सङ्गीत छ, प्रेमको नृत्य छ र जीवनको लालित्य छ ।

मीरा ः- थोरै कमाउने त दरिद्र नै हुन्छन् नि । जीवन धान्न गाह्रो भएपछि कसरी आनन्दित हुनसक्छ ?

हीरा ः- उसलाई भौतिक दरिद्रताले नगाँजेको हैन । बाह्यरूपमा भएको कुरूपतालाई उसले भित्र प्रवेश गर्नै दिएको हुँदैन । जे भए पनि आन्तरिक रूपले ऊ सम्पन्न छ । लोभ, लालच र अहङ्कार कुन चरीको नाम हो उसले हेक्का राख्ने गरेको छैन ।

शीला ः- खै, यसको मतलव जोर्बा भोगवादी रहेछ कि कसो, टुक्के दिदी ?

हीरा ः- यो संसार नै धेरै भोगवादी र थोरै त्यागवादी मिलेर बनेको छ । जोर्बाले भोगेको आनन्द आध्यात्मिक र मनोवैज्ञानिक पक्षसँग सम्बन्धित छ । तर, यहाँ नानाभाँती गरेर अकूत सम्पत्ति जोडेर भोग गर्नेहरू छन् । उनीहरूलाई कतिबेला विपत्ति आउला कि भन्ने डर छ । साँचो आनन्द पाउन सकेका छैनन् । अरूलाई रूवाएर आनन्द लिने यो एक पक्ष हो भने अरूलाई समेत हँसाएर आनन्द लिने जोर्बाको अलग्गै पक्ष हो ।

नीरा ः- उसो भए, दिज्यू ! भोगवादी र त्यागवादीका तर्कहरू के-के छन् त ?

हीरा ः- मनमा कुरा खेल्नु स्वभाविकै हो । स्वर्ग र नर्क कसैले देखेको छैन । तसर्थ जीवन रहेसम्म भोग गर्नुपर्छ भनेर भोगवादी भन्छन् भने यो अनित्य र भ्रमपूर्ण संसारलाई त्यागेर ईश्वरलाई खोज्नुपर्छ भनेर त्यागवादी तर्क गर्छन् ।

धीरज ः- म त अन्यौलमा पिङ खेल्न थालेँ दिज्यू ! के संसार भ्रम र दुःखपूर्ण नै छ त ?

हीरा ः- अहँ, संसार सत्य र सुखपूर्ण छ । हामी कि कलाकारलाई मान्छौँ कि कलाकृतिलाई मान्छौँ । दुवैलाई एकसाथ मान्ने हिम्मत हामीमा छैन ।

मीरा ः- कुरा बुझिएन नि, दिज्यू ।

हीरा ः- (केही खुशी हुँदै) अब हामीले नौलो सोचले काम गर्नुपर्यो भनेको । सुन्दर महल, उत्कृष्ट कलाकृति भएको मन्दिर, भाँडावर्तन, लुगाकपडा, जुत्ताचप्पल यी सबै कुरालाई हामी मन पराउँछौँ तर तिनै चिज बनाउँनेलाई मन पराउँदैनौँ । त्यस्तै गीत, सङ्गीत, नृत्य, ज्ञान, विज्ञान, साहित्यमा भुल्छौँ र अथाह आनन्द एवम् ज्ञान लिएर शक्तिशाली हुन्छौँ । तर, सर्जक एवं स्रष्टालाई भुलिदिन्छौँ ।

शीला ः- कुरा बुझियो । कान दियो भने दिज्यूले भनेका कुरा बुझ्न सिँगौरी खेल्नु नपर्ने रहेछ ।

हीरा ः- तर, उल्टो कुरा के छ भने ईश्वरलाई मान्छन् तर उनकै कलाकृति यो संसारलाई दुःखपूर्ण र भ्रम ठान्दछन् । कलाकारलाई सम्मान गर्नेले उसको कलाकृतिलाई पनि सम्मान गर्नुपर्छ र कलाकृतिलाई सम्मान गर्नेले कलाकारलाई पनि सम्मान गर्नु आवश्यक छ ।

नीरा ः- दिज्यू ! समग्रमा हामीले कस्तो मान्छे बन्नुपर्छ त ?

हीरा ः- (केही खुशी हुँदै) भोग र त्याग मिसिएको अनि राग र वैराग्य फिटिएको मान्छे हुनुपर्छ ।

धीरज ः- सरल तवरले कसरी बुझ्ने होला ?

हीरा ः- हेर नानी हो । जोर्बामा उत्सवमय आनन्द छ तर मौनको शान्ति छैन । बुद्धमा मौन साधनाको शान्ति र सौहार्दता छ तर गीत, सङ्गीत र नृत्यको उत्सवमय आनन्द छैन । यी दुबै अपूर्ण छन् ।

मीरा ः- अनि, पूर्ण मान्छेचाहिँ को हो ?

हीरा ः- (हैरान हुँदै) खै, पूर्ण मान्छेको नाम किट्न सकिनँ । दार्शनिक ओशोको कथनानुसार जोर्बा र बुद्धको एकै ठाउँमा मेल भएको ‘जोर्बा दी बुद्ध’ नै पूर्ण मान्छे हो । हेर, भौतिक समृद्धि ल्याउने विज्ञान र आन्तरिक आनन्द दिलाउने धर्म यी दुबै हाम्रो जीवनलाई आवश्यक छ । हामीले पनि त्यस्तै मान्छे बन्नुपर्छ ।

शीला ः- हात बाँधेर बस्दा केही कुरा पनि हात पर्दैन । मैले केही गर्न सकिनँ भनेर हात बाँधेर बस्ने हो भने जीवनमा कहर काट्नै पर्छ । तसर्थ पसिना चुहाउन पनि राजी हुनुपर्छ र त्यही पसिनाभित्र आनन्द पनि खोज्नुपर्छ । मैले बुझेको यत्ति हो ।

नीरा ः- जीवनको भित्री रहस्य केही हदमा बोध गर्न पाइयो ।

हीरा ः- ल, नानीहरू हो । अब जिल्लाराम नहोऔँ । आज भने समयले पनि डाँडो काट्यो । एक दिन न एक दिन जीवनमा सिल्टिमुर खानु नै छ । तसर्थ आउँने हण्डरभित्र शान्ति खोज्नुपर्छ र असली जीवन जिउनुपर्छ । अब भने कुराकानीलाई इतिश्री गरौँ । (उठ्छिन् ।)

सबै ः- हवस् त टुक्के दिज्यू । (नमस्कार गर्दै) धन्यवाद ।

(हीरा बाहिरिन्छन् । बालबालिका मुखामुख गर्छन् ।) (पर्दा विस्तारै खस्छ ।)

०६७.०७.११ बिहीबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *