ऊ ‘सम्झना’को सम्झनामा अझै रुमलिइरहेको छ ।

‘…पैँतालिस पनि सक्कियो सम्झना अर्थात् अर्धाङ्गिनीको । अझै गाढा छ याद । अब चोला फेरिएपछि बल्ल मेटिएला । नत्र सम्झना हट्दिनन् मनबाट…’।

‘ए रामु दाइ ।’

हर्कबहादुरको सम्बोधनले झस्कियो रामु । बिलायो क्षण अघिको सम्झना ।

‘भाउजूलाई सम्झेर टोलाको हो कि क्या हो ?’

‘हो । यो जुनीमा नसक्ने भएँ बिर्सन ।’

अब त भुल्नुपर्छ दाइ । मर्दका चारवटी भन्छन् । भित्र्याउनु पर्छ अर्की । बरु मै खोजौँला ।’

‘भो बाह्रसत्ताइसका कुरा नगर । विशेष केही थियो कि ?’

‘अरू त के हुन्थ्यो । पर थापा बूढाको घराँ जानेकी ? ‘

‘किन र ?’

‘श्रीमद्भागवत पुराण सुन्न ।’

‘ए साँची भुसुक्क बिर्सेको हुन्छ जाम ।’

‘त्यसो भए हिँडौँ न त दाइ ।’

हर्कबहादुर अघि लाग्यो । उसलाई पछ्याउँदै रामुले पनि पाइला बढायो । ‘भक्तपुरको राधेराधे श्यामधामबाट आएका पण्डित । बडो विद्वान् रहेछन् । शास्त्रका कुरा त फरर भन्छन् । विद्वान् हैनन् उनी, हँ रामुदाइ ?’

‘त्यो त हो ।’

थापा बूढाको घरको दूरी घट्दै थियो । केही क्षणको गन्थनमै यी दुई पुगे टुङ्गोमा । अनि भागवत पुराण वाचन स्थलमा बिसाए शरीर ।

पुराणमा गीता वाचन जारी थियो । श्रीमद्भागवत गीता यथारूपेको १४ औँ अध्यायको वाचन हुँदै थियो । प्रकृतिको तीन गुण । यसैको व्याख्या गर्दैै थिए हर्के र रामुका विद्वान् –

‘भगवान श्रीकृष्णले कुन्तिपुत्रलाई भन्नु भएको छ ः

सत्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाह्रो देहे हेहिनमव्ययम् ।।५।।

अर्थात् हे महाबाहु अर्जुन । भौतिक प्रकृति सत्व, रज र तम यी तीन गुणले युक्त छ । जब जीवात्माहरू यस प्रकृतिका सम्पर्कमा आउँछन् ती गुणहरूले तिनलाई जीबबद्ध बनाइदिन्छ ।’

रामले हर्कबहादुरलाई प्रश्न तेस्यायो

‘भाइ यो तीन गुण भन्या के होला ?’

‘म पनि उही ड्याङको मुला त हुँ नि । विद्वान्ले गर्लान् नि ब्याख्ये ।’

त्यतिबेला पण्डितले छैटौँ श्लोक सुरू गरे ः

‘सत्र सत्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चायघ ।।६।।

हे निष्पाप अर्जुन । सतो गुण अरू गुणहरूभन्दा पवित्रतम् हुने हुनाले, यो प्रकाशमय छ र यसले समस्त पापकर्महरूबाट मानिसलाई मुक्त गराउँछ । अनि यस गुणमा अवस्थित व्यक्ति सुख र ज्ञानभावद्वारा बद्ध हुन्छ ।’

रामुले हर्कबहादुरसामु प्रश्न तेस्र्याउनै लागेको थियो । विद्वान्ले बाँकी दुई गुणको पनि व्याख्या गरे ः

‘हे कौन्तेय । असीम आकाङ्क्षा तथा तृष्णाद्वारा रजो गुणको जन्म हुन्छ । यसै कारणले देहधारी जीवात्मा सांसारिक कर्मका बन्धनमा बाँधिन्छन् ।’

विद्वान्ले तमो गुणको पनि संस्कृत श्लोकपछि यसरी व्याख्या गरे ः-‘हे भरत । अज्ञानबाट उत्पन्न तमो गुण नै जीवात्माको मोह हो । पागलपन, आलस्य र नीद यसका प्रतिफल हुन् । यिनले जीवात्मालाई बाँध्दछन् ।’

विद्वान्को प्रवचन जारी थियो । आफ्नो गुणको बारेमा गन्थन गर्न थाले भक्तजन् ।

यही मौकामा विद्वान्ले नयाँ प्रवचन थपे ।

‘सम्भोग, सन्तान, सम्पत्ति, सम्मान । मानिस यी चारवटा -स)को पछि लाग्छन् । यही कुराको लोभ, मोह, मायाँमा हराउँछन् । उसले सत्कर्म गर्दैन । रजो गुण र तमोगुणमा श्रद्धा गरेर सम्पन्न गरिएको कर्मबाट उसले केबल अस्थायी भौतिक फल मात्र पाउँछ तर शास्त्रीय आदेशको अनुसरण गर्दै सतो गुणमा रहेर कर्म सम्पन्न गर्छ । सो कर्मले उसको हृदयलाई शुद्ध बनाउँछ र भगवान् श्री कृष्णप्रति शुद्ध र भक्ति उत्पन्न गराउँछ ।’

एवंएवं रूपले दिनभर जारी रह्यो प्रवचन ।

पश्चिम डाँडामाथि सूर्य धमिलिँदै थियो । दिन पनि बास बस्ने तरखारमा थियो । सबैलाई स्वागत गर्दै थियो बेलुकीले । विद्वान्ले प्रवचनलाई विश्राम दिए । क्षणभरमै क्षितिजको गर्भमा पस्यो सूर्य पनि । अनि सुरू भयो आरती ।

‘आरतीकी जय राजा रामजी कि जय…’

रामु र हर्कबहादुरले आरतीमा हात सेकाए । पञ्चामृत पिए । अपुङ्गो चाखे । प्रसाद रूपी सेल र तरकारी बजाए । अनि लागे आफ्नै खोपीतिर ।

‘रामुदाइ । जसले जे भने नि मैले बुझेको त १६ सय गोपिनीका स्वामी हुन् श्रीकृष्ण । आहा, कृष्णले जस्तै धेरै गोपिनी पाए त । कत्ति रमाइलो हुन्थ्यो होला जिन्दगी ।’

‘हे मूर्ख । तँ त भँगेरै रैछस् । जति जोडी फेरे पनि न अघाउनेे । भगवान श्रीकृष्ण १६ सय गोपिनीका पति हैन । उहाँ त ती सबैका भगवान थिए । स्वामी भनेको पति मात्र हैन । गुरु र भगवान् पनि हो । पटमूर्ख कुरो बुझ् ।’

‘तर दाइ जे भन्नुस् । तपाईंले बिहे गर्नैपर्छ अब । एउटी बिधुवा छिन् त्यही ३५/३६ बर्खकी । मैले हेरिसकेको छु । एउटा छोरो पनि छ । बिहेको लागि कुरो चलाएको थिएँ । उनका दाइले हुन्छ भनेका छन् ।’

‘जाँतोलाई भन्दा हातोलाई खस्खस् । भोलि घरमा आइज । त्यतिबेला जवाफ दिम्ला ।’

घर पुग्दा झम्के साँझ छिप्पिन लागेको थियो । उसले टुकी सल्काएन । सोझै ओछ्यानमा पुग्यो । ढल्कियो । केही क्षणअघि गोडा तीनेक सेलरोटी खाएकोले भोक थिएन । त्यसैले आगो फुक्क चाहेन उसले ।

बिस्तारै तन्द्रामा डुबुल्की मार्न थाल्यो । दिउँसोको प्रवचन सम्झँदै गयो- ‘सम्भोग, सन्तान, सम्पत्ति, सम्मान । मानिस यी चारवटा ‘स’को पछि लाग्छ ।’ विद्वान्को यो भनाइले उसलाई दिउँसै उकुसमुकुस भएको थियो । बल्ल उसले यसबारे सोच्ने मौका पायो । त्यो पनि पालै-पालो ।

सम्भोग ः उसले विगतलाई पूरै नियाल्यो । भोगमा उसले समानता कहिल्यै पाएन । स्पष्ट भन्दा कर्म नै खोटो थियो उसको । त्यसैले त श्रीमतीसँग सम्भोग सम्भव भएन ।

त्यो दिन उसलाई अझै याद छ । सम्झनालाई भित्र्याएको रात । १८ वर्षको पठ्ठो थियो ऊ । अनि सम्झना १६ कि । जतिबेला उसले नवदुलहीको लाजका गहना नियालो । ऊ त्यत्तिबेला छाँगाबाट खसे सरह भयो । ती गहनाहरू अपूरा थिए । अर्थात् अविकसित थिए । ती गहना कहिल्यै पूरा भएनन् । उसले त्यो रहस्य न त साथी भाइसामु न त आफन्तसँग भन्यो ।

भनोस् पनि कसरी । सम्झनाले क्रिया कसम खुवाएकी थिई । उनको नपुङ्सकताको रहस्य कहिल्यै नखोल्ने गरी ।

त्यो रहस्य खोलेमा आत्महत्या गर्ने कसम खाएकी थिई सम्झनाले । त्यसैले जीवन भर उसले आफैँंमा दवाएर राख्यो यो रहस्य । अरूको नजरमा श्रीमती थिई उसकी तर हुनुको कुनै अर्थ रहेन । उसले अर्को विवाह गर्न पनि सकेन । चाहेर पनि उसका लागि सम्भोग ‘अकासको फल आँखा तरी मर’ झैँ भयो ।

सन्तान ः रामुलाई सन्तानको चाहना नभएको हैन तर जन्मियोस कसरी । सुरुमा अर्की विवाह गर्न खोज्यो तर सम्झनाले मानिनन् । पछि सम्झनाले विवाह गर्न उसलाई सल्लाह नदिएकी हैन । रामु आफैँंले मानेन । उसले धर्मपुत्र पनि अँगाल्न चाहेन । पत्नी सम्झनालाई चोट पर्ला कि भन्ने डर थियो उसलाई । त्यसैले उसले प्राप्त गर्न सकेन सन्तान पनि ।

सम्पत्ति ः विद्वान्ले भनेको तेस्रो विषय थियो सम्पत्ति । रामुसँग केबल एउटा थोत्रो घर थियो । त्यो पनि बाउको पालाको । सम्पत्ति भन्नु मात्रको । आफैँले दैनिक हाड घोटेर मजदुरी नगरेसम्म । उसको चुलोमा खाना पाक्दैन थियो ।

सम्मान ः गरिब रामु । उसलाई कसले गर्ने सम्मान । ठूलादेखि सानासम्म सबैले ज्यामीकै रूपमा हेर्थे । उसले थाहा पाएदेखि अहिलेसम्म सोच्यो तर आफूले सम्मान पाएको क्षण स्मरण गर्न सकेन । सधैँ अपमान झेलेको थियो रामुले । त्यो पनि गरिबीको, निःसन्तानको । यस्ता थुप्रै विडम्बनाको । फलत आफूले सम्मान पाएको सम्झन सकेन उसले । नसम्झनु स्वभाविकै थियो । नपाएको सम्मान सम्झनु पनि कहाँबाट ?

यसपछि भने आफ्नो जीवनलाई व्यर्थ ठान्यो रामुले । जीवनमा कुनै पनि चिज पाउन नसकेको महसुस गर्यो उसले र मनमनै भन्यो, ‘अब शुद्ध हृदयले भगवान् श्रीकृष्णको नाम जप्दै बैकुन्ठ जानु नै बेश होला । यो बुढेसकामा श्रीमती, सन्तान, सम्पत्ति र सम्मानका लागि किन दुखाउनु टाउको । त्यो त नदुखेकै ठीक छ नि ।’

सोच्दासोच्दै कतिबेला निदाएछ, थाहै भएन उसलाई । बिहान पो घामले पोल्दा ब्यूँझियो ऊ । नित्यकर्म सकेर लाग्यो ठूला घरतिर । हतारहतार गोरुलाई भुस्सा र घाँस खुवाएर ऊ खेत जोत्नतर्फ लाग्यो ।

वैशाखको खुर्री । टन्टलापुर घाम । कहिले पानी पर्ला र मकै उम्रेला ? यही चिन्ता थियो गाउँलेलाई । अनि रामुलाई पनि ।

गोरु फुकाएर ठूला घरमै गाँस च्याप्यो । केहीबेर थकाई मार्न आयो आफ्नै घरमा ।

घरअगाडि सालको एउटा बूढो रूख थियो । जसको टुप्पो सुक्नेक्रम जारी थियो । फेदतर्फ भने हरियो बचेको थियो । रामु लक्काजवान हुँदा कलकलाउँदो थियो रूख । आज रूख र उसमा केही फरक छैन । दुवै मक्किरहेका छन् दिनदिनै बृद्ध हुने नाममा । त्यही रूखलाई हेरेर टोलाइरहेको थियो रामु । थाहै नपाई टुप्लुक्क त्यहाँ आइपुग्यो हर्कबहादुर ।

‘बिहे गर्ने निर्क्योलमा पुग्यौ त दाइ’

हर्कबहादुरको प्रश्नको उत्तर आएन । लामो समयसम्म मौनता साँची रह्यो रामुले ।

‘हैन किन नबोल्या दाइ ?’

‘मेरो एउटा काम गरिदेउ न त । त्यसपछि बिहेबारे सोचौँला ।’ रामुको यो कुरालाई हषिर्लो भावमै स्वीकार्यो हर्कबहादुरले । रामुको आदेशमा पाँच घैला पानी पनि आफैँले पटकपटक बोकेर ल्यायो ।

रामुले त्यो सबै पानी त्यो बुढो रूखको फेदामा खन्याउन लगायो र भन्यो-‘१० दिनपछि आऊ । म जवाफ दिनेछु ।’

हर्कबहादुर त जिज्ञासाविहीन भयो । ९ दिन निकै तनावमा बितायो हर्कले किनकि १० औँ दिनको प्रतीक्षामा थियो ऊ ।

जब भाकाको दिन आयो । फेरि विवाहकै प्रस्ताव लिएर रामुको आँगनमा झुल्कियो हर्कबहादुर ।

हर्कबहादुरलाई देखेर रामुले कुटील मुस्कान पोख्यो । अनि उसमाथि प्रश्नबाँड हान्यो, ‘यो रूखमा पाँच घैला पानी त हालिस् के यो रूख फेरि तन्नेरी भयो ? यसको बैँस फर्कियो ?’

‘भएन’ यति मात्र भन्न सक्यो हर्कबहादुरले ।

रामुले फेरि तर्क राख्यो, ‘म पनि त्यो बूढो रूखजस्तै भैसकेको छु ।’ चारधाम जाने उमेरमा पनि कहीँ बिहे गर्छन् त ?’

जवाफविहीन भयो हर्कबहादुर, अनि लज्जित पनि । चुपचाप ऊ आफ्नो बाटो लाग्यो ।

हर्कबहादुरलाई उसले पर पुगुन्जेल हेर्यो र मुसुक्क हाँस्यो । मनमनै एउटा प्रतीज्ञा गर्यो- ‘अब म आफूलाई भगवान् श्रीकृष्णको पाउमा अर्पण गर्नेछु । विद्वान्ले भनेझैँं धर्म कमाएर परलोक जान्छु सदासदाका लागि । मुक्ति पाउन ।’

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *