होहल्ला मच्चिदैँ थियो नगरपालिका कार्यालयको कम्पाउन्डमा । नगरपालिका कम्पाउन्डमा रहेका पाँच सात जना सेवाग्राहीहरू कुर्लिदैँ थिए सबै भ्रष्टाचारी भए भनेर । नगरपालिकाले साधारण दस्तुर लिएर गर्ने कार्यलाई पनि त्यहाँका कर्मचारीहरूले हरिया फरियामा बाँधी दिएपछि काम गराउन आउनेहरू नकुर्लने कुरै भएन ।

करोड आउने ठाउँमा बस्नेले त्यसै हिसाबले कुम्ल्याएका छन् भने दुईचार पैसा झर्ने ठाउँमा पनि लोभले कहाँ छोडेको छ र मानिसलाई । सरकारी दस्तुर पच्चीस रुपियाँ भए पनि काम गरेवापत पचहत्तर समेत थपेर एउटा हरियो गैंडा, अँझै र्झछ भने दुई तीन वटै गैडा झार्ने मेसोमा कोही किन पछि पर्छ र ।

मेरो पनि काम गराउनु थियो । बसाइँसराइँ नगरी अर्को ठाउँबाट कतिपय काममा हुने बाधा मैले व्यहोरी सकेकोले जसरी भए पनि त्यो नगरबाट मैले बसाइँसराइँको कागज लिनै थियो । यदी त्यहाँ केही बोल्ने हो भने कुरो बटारिएर अन्तै मोडिने निश्चित थियो । जसले गर्दा त्यो गरम प्रदेशमा दिनमा चर्को घाम मात्रै होइन, लामखुट्टेहरूसँग रातभरि युद्ध गर्नुपर्ने अवस्था भोग्नै पर्ने हुन्थ्यो । मेरो लागि त्यहाँ बस्नुभन्दा केही हरिया गैँडा देखाएर पन्छिनु श्रेयस्कर हुन्थ्यो । त्यसैले मैले हरियो झण्डा देखाएँ कारिन्दालाई ।

म ती कारिन्दाको काम हेर्दै गए । केहीबेर अगाडिसम्म मलाई यो कागज र त्यो कागज पुगेन, तपाईंको काम कागज नआई हुँदैन भन्नेले फाइलमा आवश्यक सारा कागज मिलाई सकेका थिए । केही समयपछि नेपाली कागजमा “यस ठाउँबाट अमुक गाउँठाउँमा बसाइँसराइँ गर्न लागेको” व्यहोरा उल्लेखित पत्र ती कारिन्दाले मलाई देखाए । कारिन्दा पत्र बोकेर अगाडि लागे ।

म पनि कारिन्दासँगै अलिक अगाडि सडकमा रहेको होटलमा प्रवेश गरेँ बसाइँसराइँको पत्र बुझ्न ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *