आकाश ड्याम्म थियो । माघेसङ्क्रान्तिको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैतझैँ भैसकेको थियो काठमाडाँैको मौसम । बढ्दो जलवायु परिवर्तनको असर हो भन्थे विज्ञहरू यसलाई । हुन पनि सरकारी जम्बो टोलीले कालापत्थरदेखि कोपनहेगनसम्म्ाको यात्रा यसअघि नै तय गरिसकेको थियो । जलवायु परिवर्तनको असरले नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यान खिच्न भनेर ।

बिहान पत्रिका हेर्दै थिएँ । हाँसो उठ्ने प्रकारका खबरहरू आइरहछन् । पत्रिकामा आजकल नियमितजसो । यस अर्थमा पत्रिका पढ्नुको मजा बेग्लै हुन्थ्यो खबर कम हाँस्य बढी पाइने हुँदा । पत्रिकाको सबै प्रमुख खबर नेताहरूको भाषण नै हुन्थ्यो र नेताहरूको भाषण चटकेको बोलीजस्तो ।

देशमा नयाँ संविधान बन्ने र देशले नयाँ काँचुली फेर्ने कुराको मात्र चर्चा हुन्थ्यो जताततै । सबैजना आ-आफ्ना माग र अधिकारका लागि उठ्दै गरेको बेला स्वास्थ्य, शिक्षा, रोजगारी जस्तै व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको अधिकारजस्ता शब्दहरूले व्यापकता पाइरहेका थिए । भलै ती शब्दहरूको अर्थ सबैले थाहा पाउन् वा नपाउन् । हरेक मानिसले आफू अनुकूल व्याख्या गर्ने छुट भने नपाएका हैनन् ।

“नमस्कार ”

एकाएक नमस्कारको आवाजले झस्कायो र हेरेँ । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ ।

बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधेँ “बस, किन आयौ एकाबिहानै ?”

भनी “एउटा लडाइँ लड्नुपर्यो ।”

“कस्तो लडाइँ ?”

“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”

ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकी हो, थाहा थिएन मलाई ।

अनुमान लगाएँ – माओवादी रैछ र आन्दोलनको कुरा गर्दैछे ।

“त म के गरुँ ?”

“सहयोग ।”

आजभोलि माओवादीहरू प्ानि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन् राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पूरापूर मिलेको ठानेँ ।

अब अलि सतर्क भएँ र जिज्ञासा राखेँ “के सहयोग खोज्दैछ्यौ मसँग ?”

“एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा” उ एकै सासमा बोली-“मेरै लोग्नेको विरुद्धमा ।”

अन्योलमा परेँ म मैले सोचेभन्दा बिल्कुलै फरक उसको अपेक्षाको कुरा सुन्दा ।

एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी-प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले तर खुसी हुन सकिनँ म । घोर अचम्ममा परें बरु । अचम्म्ामा पनि किन नपर्नु र ? प्रेम विवाह गरेको ३/४ वर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनेँ- “मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छ्यौ ?”

“हैन आइसक्यो” उसले बताई- “एक महिना भो र्फकेको ।”

“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरूको सम्बन्ध सुधार्ने मनसायमा बोलेँ । पछि भेट्ने सर्तमा ऊ फर्किई ।

हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्दा नलडी मिलापत्र गर्न खोज्दैछु । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनुँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १,२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि पनि । त्यसैले मेरा अरू साथीहरू समयसमयमा जिस्काउँथे -“तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनुस् यो वकालत गर्ने पेसा ।”

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । कुनै टी.भी. च्यानलमा आइरहेको संविधानसभासम्बन्धी बहस हेर्दै थिएँ । ऊ विस्तारै बिरालोको गतिमा भित्र छिर्यो र टुसुक्क छेउमा बस्यो । आधा घण्टाको बहस नसकुन्जेल मैले उसलाई खास केही रेस्पोन्स गरिनँ । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौँ त्यो आधा घण्टा हैन आधी महिनाको समय हो । एकपटक पुलुक्क उसको अनुहार हेरेँ पहिरोले खाएको वस्तीजस्तै उजाड थियो उसको मुहार । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टी.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फेर्यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् ऊ । टी.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरेँ । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधेँ कैले “आयौ विदेशबाट ?”

“एक महिना भो ।”

“बिहे गरेको तीन वर्ष भो । दुइवर्ष त विदेशमै बितायौ, अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढङ्गले प्रस्तुत भएँ म ।

“हैन म डिभोर्स चाहन्न ।”

“तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ, किन चाहन्थ्यौ त ?” कागती निचोरेको जस्तै भयो उसको अनुहार र मलिन स्वरमा भन्यो- “मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न र एक्लो बाँच्न पनि सक्दिन म ।”

म वास्तविकता जान्न उत्सुक भएँ । किन पुगिन् उसकी श्रीमती डिभोर्स गर्ने निर्णयमा ? जो ऊ चाहँदैन ।

“के कारणले विग्रह आयो तिमीहरूमा ?”

“बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो । यति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दाेरहेछ ।” फेरि मुख फोर्यो -“मेरो माया अलि बढी नै भएछ सायद ।”

“बढि मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”

“हावादारी हैन, कुरा त्यस्तै छ ।”

“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”

“हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पुर्यायो ।”

“अचम्म । के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ?”

“सेक्सटोयज ।” उत्तरमा बोल्यो ऊ ।

“हृवाट ?”

“एस सेक्सटोयज । म अघिल्लो पटक नेपाल आउँदा ल्याइदिएको थें मेरी श्रीमतीका लागि । म नहुँदा मेरो अनुपस्थितिले नपिरलोस् भनेर ।” अब धारावाहिक रूपमा प्रस्तुत भयो ऊ-

“३/४ वर्षअघि देखिको प्रेमलाई विवाहमा बदल्यौँ । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुई वटा भइसकेको थियो । सहरको महँगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । १/२ वर्षपछि त छोराछोरी पनि होलान् झन् कसरी गर्जाे टार्ने हो ? यस्तै सोचाईले सताइरहन्थ्यो । घरपरिवारबाट कति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पर्यो हाम्रो । त्यसैले विवाह गरेको एक वर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविष्यको खुसीका लागि भनेर ।” ऊ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुङ्गा खसालेजस्तै भासिँदै गयो । “एकसाँझ दुईजना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । ” ऊ फेरि अगाडि बढ्यो-“यसरी कमजोर नबन अमन । अभावसँग/समस्यासँग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केही समय दुःख गरौँ, नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केही न केही उपाय चलिहाल्ला नि । बरु साथीभाइहरूसँग सरसापट गरेरै भए पनि १/२ वर्ष विदेशतिर जाउ केही कमाइ गरेर र्फकेपछि बसौँला नि सुखले । म त तयार छु तिम्रो खुसीका लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकान्ाी गर्नु ?” उनको यस्तो सल्लाहले पनि ऊर्जा थप्यो ममा र त मनमुटु यतै छोडेर शरीर लिएर गएको हुँ त्यो पराई ठाउँमा ।

अनि ? अनायासै फुत्कियो मेरो मुखबाट यो शब्द । समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अबस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस् भनेर त्यतिबेला नै ल्याइदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरू आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पेँ तर यौेटा चिज चाहिँ ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखेँ । जाने अघिल्लो रात ‘जुनु तिम्रोलागि मैले विदेशबाट स्पेसल गिफ्ट ल्याइदिएको छु । लौ लिउ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयज दिएँ । सुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘ आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु पर्यो । सब ठीक हुन्छ कि कसो ?’ यसरी बिदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’

‘मैले अघि नै भनेँ नि’ फेरि प्रसङ्ग जोड्यो उसले ।

-‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध बिगार्ने कारण ।’

‘बिदा सकिएर गएपछि दैनिकजसो भएको फोनको कुराकानीमा खुब खुसी पाउथेँ म उनलाई । झन् बढेको थियो प्रेम, विश्वास र समर्पण एक-अर्काप्रति ।’

म तिनछक्क परेँ-‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ।’

भनेँ- ‘तिमीले भनेको प्रेम, विश्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्ने चाहना झुट ?’

‘त्यही त हजुर भन्दै छु नि’ थप प्रस्ट्याउन थाल्यो- ‘पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौँला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाँच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आधीँवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरू । चट्याङ्ले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरू ………..।

-‘के भो र चारपाँच दिनमै त्यस्तो ?’

कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि किन लुकाउनु ? कलह सुरू भो आएकै भोलिपल्टबाटै । दुई/चार दिनपछि उग्ररूप नै लियो । आएको रात व्यापार, व्यवसाय, सन्तान आदि लगायतका विषयमा भविष्यको योजना बनाइयो । एक वर्षपछि आफ्नो प्रिय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अँगालोमा बेरिदा आफैँलाई भुलेर हराइयो एक-अर्काभित्र । भोलिपल्ट बिहानै मैले एउटा नमिठो कुरा सुन्नु पर्यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्- ‘अब त जुन प्लेजर मैले भाइब्रेइटरबाट पाएकी थिएँ, त्यो तिमीबाट पाउन सकिनँ ।’ अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अँध्यारोले मात्र ढाकेजस्तो भयो । मलाई उनको कुराले अनकन्टार ठाउँको भीरको टुप्पाबाट खसेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाईरहेको थिएँ, के गरुँ, कसो गरुँ ? भैरहँदा एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फुर्यो र तत्कालै केन्द्रीय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरेँ ।

‘सेक्सटोयज विगारीदिनु नेपालमा मर्मत गर्ने ठाउँ छैन’ भन्ने परामर्श पाएपछि त्यसै गरेँ ।

‘ए………।’

‘त्यसपछि समस्या समाधान होला भनेको त समस्याको सुरुआत बल्ल पो भयो त हजुर ।’

‘कसरी नि ?’

‘सेक्सटोयज विगारीदिए पछि खुब रिसाइन् उनी मसँग । मैले उनको स्वतन्त्रता लुटेँ रे । इच्छा र चाहना मार्नु पर्यो रे । भनिन्-‘तिम्रो खुसीका लागि आफ्नो स्वतन्त्रता र खुसीको बली चढाउन सक्दिनँ अमन ।’

यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । छोडपत्रको कागजसम्म तयार भयो तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जिउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’

‘हुन्छ केही उपाय गरुँला, तर दुई/चार दिन समय देउ मलाई ।’ मैले आश्वासनको भाषा बोलेँ । ऊ मसँग ठूलो आशा राखेर फक्र्यो ।

केही दिनपछिको एक दिउँसो न्युरोड खिचापोखरीतिर हिँड्दै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउती फर्केर हेरंेँ । बोलाउने व्यक्ति उही थिई जुनु । ‘दि कन्डम हाउस’ को मूलगेटतिरबाट हात हल्लाउदै बोलाउँदै रहिछ ।

‘कता गएर ?’

‘यहीँ सम्म’ दि कन्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियो र आएकी ।’

उसको हातमा झुण्डिएको सामान नियालेँ । थाहा पाएँ ऊ त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसङ्ग बदली-‘ के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिनँ । आजै फाइनल होस् यो कुरा ।’ ऊ निर्देशन दिएझैँ गरी बोली । मैले तुरुन्तै उसको श्रीमान्लाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि सँगै लिएर गएँ ।

मेरो घरमा दुबै जना आइपुगे । मैले दुबै जनालाई पालैपालो प्रश्न गरेँ ।

‘के चाहन्छौ ?’

‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।

‘तिमी नि ?’ जुनुतिर सङ्केत गरेँ ।

‘स्वतन्त्र जिन्दगी । त्यसका लागि डिभोर्स ।’

‘ऊ त डिभोर्स चाहँदैन नि । सुनिनौँ अमनको कुरा ?’

‘सुनेँ तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैैँ पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरी । मैले केही नबोल्दै फेरि बोल्न थाली ऊ ‘म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउँन चाहन्छु । हो हामीले प्रेमविवाह गरेका हौँ र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो तर त्यो बाचा कसम त्यतिबेला नै तोडियो, जतिबेला उसले मलाई केही नभनी सेक्सटोयज बिगारी दियो । उसले मेरो विश्वास त्यहीँ गुमायो । अविश्वासै अविश्वासमा एक-अर्कालाई सधैं शङ्काको नजरले हेरेर कसरी सकिन्छ सँगै बाँच्न ? कसरी बन्छ सुदृढ सम्बन्ध ? के हामी नारीको चाहिँ हरेक चाहना पुरुषको चाहना पूरा गर्न अधुरै छोड्नुपर्छ भन्ने छ ? अलिकति पढेबुझेका भनेका हामीजस्ता केही पात्रहरू त समर्पणको नाउँमा आफ्नै खुसीको हत्यारा बन्न बाध्य छौँ भने अन्य यावत् पात्रहरूको हालत के होला ?! ऊ नरोकिइकन बोली नै रही खुलामञ्चमा कार्यकर्ताको तालीले हौसिँदै भाषण गरिरहेको नेता जस्तै धारावाहिक रूपमा । “मलाई घृणा छ ती पुरुष मानसिकताप्रति । जो आफ्नै इच्छालाई सर्वाेपरि ठान्छ र आफ्ना कुरा मात्र लाद्न खोज्छ । आफू अनुकुल भए आफूप्रति समर्पित सोच्छ र अरूको भावना कुल्चेर हिँड्न नपाउँदा सशङ्कित हुनेगर्छ । झन् यो यौनको मामिलामा त हरेक पुरुष नालायक लाग्छन् मलाई । कहिल्यै कुनै पुरुषले सोध्छ यौनको मामिलामा ? यौटा पुरुष दिनभर भट्टीमा पिउँछ र राति हल्लँदै आउँछ । दिनभरको कामको थकाईले लखतरान भएकी श्रीमतीलाई बिना सोधखोज टोकिदिन्छ ठ्वास्स गन्हाउने मुखले ओठमा, गालामा र अन्य ठाउँ कुठाउँमा । उसकी श्रीमती बाध्य हुनुपर्छ उसको यौन तीर्खा मेट्नलाई । उसको भारी ज्यान चढाइदिन्छ पूरै र मच्चिरहन्छ आफूखुसी । त्यसमा पनि मरेको लासझैँ बनिदिनुपर्ने रे नारीले चुपचाप, बस् समर्पणको नाममा । तपाईंले कुनै दिन सोध्नुभएको छ आफ्नी श्रीमतीसँग मानसिक रूपमा तयार छौ कि छैनौ यौन सम्पर्कका लागि भनेर ? के नारीको चाहिँ यौन चाहना बुझ्न जरुरी छैन पुरुषले ? हाम्रो चाहिँ यौन अधिकार नहुने । म कसरी सन्तुष्ट हुन्छु ? त्यसरी सन्तुष्ट हुन पाउने कि नपाउने ? त्यसैले वकिल सा’ब, म आफ्नो अधिकारसहितको जिन्दगी जिउन चाहन्छु । अरुको दास बनेर बाँच्न मञ्जुर छैन मलाई ।” ऊ अझै आक्रोस पोख्दै थिई-“आफ्नो जिन्दगी आफूले चाहे जसरी बिताउन पाउनुपर्छ । म उसँग अब खुसी रहन सक्दिनँ । म चाहन्न उसँगको सम्झौताको जिन्दगी बिताउन । यी हेर्नुस् मेरो ब्यागमा, मैले भर्खरै सेक्सटोयोज किनेर ल्याएको छु । यसले मलाई पूर्णरूपमा यौन सन्तुष्टि दिन्छ । म सक्दिनँ रक्सीले मातेर चढाउने शरीरको बोझ थाम्न र चाहन्न बलात्कारशैलीको यौनसम्बन्ध । मैले धेरै भोगेकी छु ऊसँग यस्ता सम्बन्ध । यी दुबै पात्रको कुरा सुनिसकेपछि म घोर अन्योलमा परेँ अमन विरुद्धको उसकी श्रीमतीको स्वतन्त्रताको लडाईंमा साथ दिऊँ या नदिऊँ भनेर ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *