जीवन र अनुभव नै मेरा लेखन हुन्- शारदा शर्मा

  • by


महिलाका आँखाले संसार हेर्दा कवयित्री शारदा शर्माले उज्यालो कमै देखेकी छिन् । ‘अग्निस्पर्श’मा उनले लेखेकी छिन्-‘योनी, पाठेघर र त्यहाँको डिम्बबाहेक स्वास्नी मान्छेलाई कसैले मान्छेको रूपमा हेरेको छ ? मान्यता प्रदान गरेको छ ? प्रेम गरेको छ उसलाई ?’ तर पछिल्लो कृति ‘भुइँफूलको देश’ लेखेपछि उनका विचार केही फेरिएका रहेछन् । हालैको संवादमा उनी भन्छिन्-‘जतिखेर मसँग कम शक्ति थियो, संसार साँगुरोजस्तो लाग्थ्यो । यतिखेर भने तुलनात्मक रूपमा संसार फराकिलो नै छ मैले हेर्दा ।’ उनका कवयित्रीताका प्रत्येक शब्दले शारदाको उकुसमुकुस व्यक्त गरेका छन् । जस्तै उनको कवयित्रीताको यो पङ्क्तिले त्यसै भन्छ-‘कुनै दिन, तिमीजस्तै म पनि मान्छे भएर हिँड्नेछु’ । यी सुन्दरी कवयित्रीलाई सानोतिनो कुराले पनि छिट्टै छुँदोरहेछ । आँसु त्यसै बगिहाल्छ रे । भन्छिन्, ‘पुस्तक पढ्दा, सिनेमा हेर्दा पनि रुन्छु ।’ असामान्य साहित्य लेख्ने अहिलेकी शक्तिशाली नारी स्रस्टा शारदा शर्मा निश्चिन्त छिन्, लेखिरहेकी छिन् र ‘अध्ययनले भन्दा जीवनले आफूलाई धेरै सिकाएको छ’ भन्छिन्-

– शारदा शर्मा, कवयित्री/लेखिका

तपाईंले कवयित्रीता लेख्न थाल्दा कति वर्षको हुनुहुन्थ्यो ?

-सात-आठ वर्ष जतिकी थिएँ होला, पोखरामा थिएँ ।

‘सीमान्त अनुभूति’, ‘युद्धोपरान्त’, ‘स्वर्णसू्त्र’ जस्ता आफ्ना सङ्ग्रहका कविताहरूको कति माया लाग्छन् ?

-मलाई माया लाग्नु स्वाभाविकै हो, तिनलाई अरूले कति माया गर्ने बनाउन सकेँ, छापिइसकेपछि भने त्यो बढी महìवपूर्ण हुन्छ ।

पहिले फुर्सदको समय कसरी बित्छ ? पति नरहरिलाई जत्तिको कुदाकुद त हुँदैन ?

-जीवनमा सक्रियता सबैभन्दा महìवपूर्ण कुरा हो । केही न केही गरिरहनुपर्छ मान्छेले । जहाँ पुगे पनि वा नपुगे पनि हिँडिरहनु पर्छ । नरहरिजी आफ्नो किसिमले सक्रिय हुनुहुन्छ, म आफ्नो किसिमले । प्रविधिले गर्दा कुदाकुद नगरेर पनि काम हुने समय हो यो, खासगरी लेखपढ गर्ने मान्छेलाई । मलाई नियमित र एउटै अफिस जाने कुदाकुद चाहिँ छैन ।

फुर्सदमा घरमै बसेका बेला के गर्नुहुन्छ ? कुन समयमा पढ्नुहुन्छ ?

-धेरै समय घरमै बित्छ मेरो अचेल, कम्प्युटरमै बित्छ । एक्लै हुन्छु प्रायः दिउसो । मलाई पढ्ने, लेख्ने एकान्त प्रायः दिउसै उपलब्ध हुन्छ बढी । त्योबाहेक मन लागेको र अनुकूल मिलेको बेला जुनसुकै समयमा पनि पढ्ने लेख्ने गर्छु ।

धेरै समय कलम रोक्नुभयो र एक्कासि लेख्न थाल्नुभयो नि ? मतलब ‘अग्निस्पर्श’ पछि रोकिएको कलम फेरि

नयाँ पुस्तक ‘भुइँफूलको देश’ मा आएर बिसाउनुभो । अब सधैँभरि लेख्ने नै योजना हो ?

-किताब नछापिए पनि लेखिरहेकै थिएँ । हुनत केही समय जागीरमा बढी व्यस्त भएँ । केही समय नेपालबाहिर पनि बसेँ । प्रकाशन नगरे पनि त्यतिखेर लेखेका सामाग्री छन् । तिनलाई अझ सम्पादन गर्नु छ, उपयुक्त समयमा छाप्नेछु । लेख्नु भनेको मैले मलाई अभिव्यक्त गर्ने तरिका हो । अभिव्यक्त हुनु मान्छेको स्वभाव र आवश्यकता दुवै हो । लेखेपछि आफूभित्रका बोझ, तनाव, छटपटीहरू शान्त भएको, हल्का भएको अनुभव हुन्छ । मैले लेखेका कुरा अरूलाई पनि उपयोगी बने भने थप खुसी लाग्छ । लेख्नु मेरा निम्ति योजना बनाएर गर्ने बाध्यात्मक काम होइन । त्यसैले पनि मन लाग्दा लेख्छु, मन नलाग्दा लेख्तिनँ तर छाप्नु र सार्वजनिक गर्नु निकै जिम्मेवारीको पनि काम हो, त्यस निम्ति थप मिहिनेत गर्नुपर्छ ।

स्याङ््जा आँधीखोलाको आठगह्रेमा जन्मिनुभएको तपाईँको बाल्यकाल कस्तो थियो ? मैले कतै पढेको सम्झना छ, तपाईंको बुबा महेश्वर शर्मा तपाईंलाई घोडामा चढाएर हिँडाउनुहुन्थ्यो रे । त्यो घोडाको विम्ब केही सम्झना छ ?

-दुई वर्षकै उमेरमा स्याङ्जाको घरबाट आमाले लिएर हिँड्नुभएको हो । नुवाकोट बस्यौँ हामी केही समय, स्याङ्जाको सदरमुकाम त्यतिखेर त्यहीँ थियो, बुबा जिल्ला निर्देशन अधिकारी हुनुहुन्थ्यो, त्यसपछि पोखरा बस्यौँ । केही सामान्य सम्झना छन् त्यतिखेरका, खास छैनन् नै । स्याङ्जामा छाप भन्ने ठाउँमा घर भएका छपाली काहिँलाबाको घोडालाई हामी ‘ज्ञानी’ घोडा भन्थ्यौं रे, त्यही चढेर म नुवाकोट गएँ- आएको कुरा गर्नुहुन्छ बुवा-आमा । पछि भने स्कुलको छुट्टी हुँदा पहाडको घर आउँथ्यौं हामी । हजुरआमा हुनुहुन्थ्यो, उहाँसँगै बस्थ्यौं । बिहेपछि त्यता जाने अनुकूल मिलेको थिएन, पछि हजुरआमा पनि बित्नुभयो । करिब ३५ वर्षर्पछि यो दसैंमा बुवासँग नरहरिजीलाई पनि साथै लिएर माइती र फापरथुमको मावली घर जाँदा बडो रमाइलो भयो । बाल्यकालमा स्याङ्जाभन्दा पोखरा बसेको बेलाका सम्झना आउँछन् ।

बुबाको हात समातेर कहाँ-कहाँ पुग्नुभयो स्कुल पढ्दाका दिनहरूमा ? सानोमा पुगेका ठाउँहरू, ती ठाउँमा घटेका साना-साना घटनाहरू सम्झनामा कत्तिको आउँछन् ?

बुबा मलाई आफू गएका सबै ठाउँमा लिएर हिँड्नुहुन्थ्यो । काठमाडौँ आउँदा पनि ल्याउनुहुन्थ्यो प्रायः उहाँको चोरी औँलो समातेर हिँड्थेँ म । घाममा आफूले ओढेको छाताको छायाँमा हिँड्न भन्नुहुन्थ्यो । एकपल्ट राष्ट्रिय पञ्चायतको भवनभित्र पसेको सम्झन्छु सिंहदवारमा, टाढैबाट उहाँले राजाको श्रीपेच देखाइदिनुभएको थियो । आफूले कपाल काट्ने पसलमा मेचमाथि एउटा फलेक राखेर त्यसमाथि मलाई बसाएर कपाल कटाउनुहुन्थ्यो । मलाई कपाल पाल्न मन लाग्थ्यो, साथीहरूले जस्तै चुल्ठी बनाउन मनलाग्थ्यो, तर बुबासँग केही भन्न सक्तैनथेँ । अक्षर राम्रा बनाउन चारधर्के कापिमा मात्रै अङ्ग्रेजी अक्षर लेख्न दिनुहुन्थ्यो, मलाई भने नेपाली कापीमा लेख्न मन लाग्थ्यो । उहाँको निकै कडा निगरानी र चासोमा हुकिर्एकी हुँ म ।

कहिल्यै आमा नभएको मौका छोपेर आमाको लालि, पाउडर वा गाजल घसेर गीत गाउँदै गाउँतिर डुल्नुभो ?

-त्यतिखेर पोखरामा लाली लगाउने चलन थिएन क्यारे । भएको भए लगाउँथेँ होला तर आमाले प्रयोग गर्ने पोन्डस क्रिम, गाजल र तेलमा अबीर मिसाएको टीका भने दिनदिनै लगाउँथेँ बिहान र घुम्न निस्कन्थेँ । मलाई लुगा जुत्ताको चाहिँ त्यति मतलब हुँदैनथ्यो, मम्मी जे लगाइदिनुहुन्थ्यो, त्यो लगाउँथेँ । अनुहार चाहिँ आफैँ नक्कल पार्थें तर म बडो शान्त स्वभावकी, लाज मान्ने केटी थिएँ, गीत गाउँदै हिँडेको सम्झना छैन ।

आमा राधाकुमारीसँग कत्तिको मिल्नुहुन्थ्यो वा कहिलेकाहीँ झगडा पो पर्‍थ्यो कि ?

-थाहा छैन किन हो, आमासँग केटाकेटीमा प्रायः झगडा गरिरहन्थेँ, बुबाले मलाई आफूसँगै लिएर हिँड्नुहुन्थ्यो ।

स्कुल पढ्दा कस्तो लुगा लगाउनुहुन्थ्यो ? कस्तो रङको ? लामो कपाल पाल्नुहुन्थ्यो कि छोटो ?

-फ्रक र पञ्जाबी सुरुवाल लगाएका तस्बिर पनि छन् । मम्मी कहिले कमिज र कट्टु लगाएर स्कुल पठाइदिनुहुन्थ्यो । बुबाको अफिस सरेपिच्छे मेरो स्कुल सर्‍थ्यो, नयाँ साथीहरू हुन्थे । एउटा नयाँ स्कुलमा भर्ना भएको पहिलो दिन साथीहरूले घेरेको सम्झना हुन्छ- तिमी केटा कि केटी भनेर सोधेका थिए, पाँच वर्ष जतिकी हुँदी हुँ । केटा र केटी बेग्लै बेन्चमा बस्नुपर्ने हुँदा केटाकेटी छुट्टिनुपर्ने रहेछ । त्यस्तो प्रश्न मलाई कसैले सोधेकै थिएन त्यसअघि । मलाई पनि ठ्याक्कै ‘म के हुँ ?’ भन्ने कन्फ्युजन भएको थियो त्यतिखेर । मेरो कमिज, कट्टु र छोटो कपाल देखेर त्यसो भनेका रहेछन् उनीहरूले ।

पहिलोपटक काठमाडौँ कोसँग आउनुभयो ?

-बुबाको जागिर काठमाडौँ सरुवा भएपछि २०२४ सालमा हामी सपरिवार डकोटा हवाईजहाज चढेर काठमाडौँ आयौँ । म आठ वर्षकी थिएँ । म त त्यसअघि पनि बुबासँग बेलाबेला आएकी थिएँ काठमाडौँ । हवाईजहाजमा बान्ता गर्ने थैलो पनि राखेको देखेर अचम्म लाग्थ्यो, जहाज बम्पिङ गर्दा सातो जान्थ्यो मेरो । हावाको पकेटमा परेर झरेको हो, डराउन पर्दैन भन्नुहुन्थ्यो बुबा ।

काठमाडौँमा हरिया सार्वजनिक बस चढेको सम्झना छ । रत्नपार्क वरपरका सालिकहरू विचित्रका लाग्थे मलाई । काठमाडौँमा आउँदा आँप भएको बेला पर्दो रहेछ क्यारे, यहाँ सधैंभरि आँप पाइन्छ भन्ने लाग्थ्यो । पोखराबाट कोही काठमाडौँ आए भने आँप र काजु ल्याइदिनु भन्थेँ म ।

पोखरामा छ कक्षा सकिनँ लाग्दा काठमाडौँ आएकी हुँ म । महेन्द्रभवन स्कुलमा भर्ना गर्न खोज्नुभएको थियो बुबाले तर कक्षा घटाउनुपर्ने भयो । त्यसपछि कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलमा ७ कक्षामै भर्ना भएँ । जाँच दिएरै भर्ना भएकी हुँ, सजिलै भएको थियो ।

तपाईंको बुबा तपाईंलाई के बनोस् भन्ने चाहनुहुन्थ्यो ? के बन्नुभयो ?

-बुबा डाक्टर बनाउन चाहनुहुन्थ्यो, मलाई डाक्टर बन्ने इच्छा थिएन । ख्वै के बनेँ कुन्नि यतिखेर, डाक्टरचाहिँ बनिनँ ।

बिहे कहिले कति सालमा भयो ? तपाईं कति वर्षको हुनुहुन्थ्यो ?

-१९ वर्षकी थिएँ म, २०३५ सालमा ।

आफ्नै इच्छाले बिहे भएको हो कि परिवारको दबाबमा ?

-त्यस बेला मेरो कुनै राय थिएन, बीएस्सी भर्खर सकेकी थिएँ, काठमाडौँमा म एक्लै बसेर मास्टर्स पढ्ने परिस्थिति पनि भएन, बुबा जिल्लामा काम गर्नुहुन्थ्यो, सिराहामा हुनुहुन्थ्यो त्यतिखेर । बाहुनकी छोरी, छिटै विवाह गर्ने चलन पनि थियो । बिहेको निर्णय बुबाले नै गर्नुभएको हो । हामी बुबाको इच्छा विपरीत जान पनि सक्तैनथ्यौं, उहाँसँग प्रश्न गर्ने, प्रतिवाद गर्ने चलनै थिएन परिवारमा । अलि कडा स्वभावको हुनुहुन्थ्यो उहाँ । बुबालाई दिन मेरो आफ्नो छनोट पनि कोही थिएन । यो स्थितिमा बुबाले मेरा निम्ति हुनसक्ने सम्म राम्रैै निर्णय लिनुहुन्छ भन्ने नै लाग्यो मनमा । नरहरिजीलाई पनि मैले बिहेमै देखेकी हुँ । त्यो अवस्था यतिखेर कल्पना गर्दा भने बडो अचम्म लाग्छ । लाग्छ, सम्भवतः त्यो समय म जीवनमै सबैभन्दा शक्तिहीन भएको समय थियो ।

नरहरिजी त्यतिबेला के गर्नुहुन्थ्यो ?

-त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा नेपाली भाषा र साहित्य पढाउनुहुन्थ्यो ।

जीवनलाई हेर्ने दृष्टिकोणमा तपाईँ र उहाँमा केही फरक थियो ?

-त्यो त सबैमा हुन्छ दीपकजी । हुर्केका मान्छेबीच विवाह हुँदा ठ्याक्कै एउटै दृष्टिकोण त हुँदैन कसैको पनि । हाम्रो समस्या के थियो भने हामी न परिचित थियौं एकअर्कासँग, न हामी हुर्केबढेको पृष्ठभूमिमा समानता नै थियो । साझा मान्यताको धरातल भेट्न अलि गाहै्र भयो हामीलाई केही समय । हामी दुवै केही अपरिपक्व पनि थियौं क्यारे । केही समय दुःख पायौँ तर पछि सबै कुरा मिले, मिलायौं ।

पहिलोपल्ट कुन उमेरमा आमा बन्नुभएको थियो ?

-बाइस वर्षकी थिएँ ।

एउटी लेखिकाका रूपमा छोरीहरूलाई कुन रूपमा हेर्नुहुन्छ ?

-मेरो जुनसुकै भूमिकामा पनि ती मेरा छोरीहरू नै हुन्, ती सधैँ सबै अवस्थामा मेरा स्नेहका पात्र हुन् ।

आमा हुनुमा कत्तिको गौरब महसुस हुँदोरहेछ ?

-हुन त म आमा बन्ने मानसिकता र तयारी नबन्दै आमा बनेकी मान्छे हुँ तर सन्तान गर्भमा धारण गरेका र जन्माएका अनुभव निःसन्देह मेरा जीवनका सबैभन्दा विशिष्ट अनुभव हुन् ।

जीवनको पहिलो जागिर के थियो ?

-सिद्धार्थ बनस्थली हाइस्कुलमा केटाकेटीलाई विज्ञान पढाएँ दुई वर्ष, पहिलो जागिर यही थियो ।

कत्तिको आध्यात्मिक हुनुहुन्छ ?

-आध्यात्मिक हुने भनेको देखाउन मिल्ने कुरा होइन, त्यो आचरण र व्यवहारमा प्रतिबिम्बित हुने कुरा हो, अरूले थाहा पाउने कुरा हो । आध्यात्मिक हुने चाहना चाहिँ छ । साँच्चिकै आध्यात्मिक मान्छे निर्भय हुन्छ, सुखी र बलियो पनि हुन्छ जस्तो लाग्छ, त्यस्तोचाहिँ अझै हुन सकेकी छैन कि ?

नरहरिजीसँग ओशो तपोवन पनि जानुभएको छ ?

-प्रायः जान्छु । मैले अध्यात्म पहिलोपल्ट बोध गरेको ठाउँ त्यही हो ।

‘यो पृथ्वीमा म किन आएँ’ भन्ने सोच कहिल्यै आएको छ ?

-पहिला खूब आउँथ्यो, मरेपछि कहाँ जाने होला ? भनेर पनि चिन्ता लाग्थ्यो, डर पनि लाग्थ्यो । अचेल त्यति सताउँदैनन् यस्ता कुराले । गीता, उपनिषद्हरू पढ्न थालेपछि मन यस्ता चिन्ताबाट धेरै मुक्त भएको छ ।

अहिलेचाहिँ घरमा को-को बस्नुहुन्छ ?

-म, हाम्री कान्छी छोरी अपराजिता र नरहरिजी ।

जीवन के रहेछ ?

-ख्वै, थाहै छैन । मैले मागेर पाएको पनि हैन यो जीवन, यत्तिकै प्राप्त भयो । कसले दिएको हो पनि थाहा छैन तर जे प्राप्त छ अद्भूत छ, यसलाई सकेसम्म राम्रोसँग, प्रेमपूर्वक व्यतीत गर्नुपर्छ जस्तो लाग्छ ।

नेपाली महिलाको आँखाबाट संसार चियाउँदा कत्तिको साँघुरो लाग्छ ?

-महिलाका भनिएका समस्या समाजका संरचनागत समस्या हुन्, मान्छेको दृष्टिकोणसँग सम्बन्धित छन् ती । महिलाहरूले शक्तिका स्रोतहरूसम्म आफ्नो पहुँच र नियन्त्रण बढाउन प्रयत्न गरेमा यो स्थिति विस्तारै बदल्न सकिन्छ । जतिखेर मसँग कम शक्ति थियो, संसार साँघुरो जस्तो लाग्थ्यो । यतिखेर भने तुलनात्मक रूपमा संसार फराकिलो नै छ मैले हेर्दा । सायद संसारका सबै महिलाको हालत यही होला ।

जीवन कत्तिको नियमित छ ? वा झर्कोलाग्दो छ ?

-नियमित हुनुभनेको झर्कोलाग्दो हुनु होइन । नियमित हुनु र एकरसतापूर्ण हुनुमा भिन्नता छ । नियमित भएरै पनि यति रुचिपूर्ण छ यो प्रकृति, यति विविधताले भरिएको छ । झर्कोलाग्दो भन्ने कुरा बाहिरको व्यवस्थाभन्दा पनि मनस्थितिसँग सम्बन्धित कुरा हो । जीवन झर्कोलाग्दो अनुभव हुन खोज्यो भने हामी त्यो परिवेशबाट निस्कन प्रयत्न गर्छौं अचेल । प्रायः घरबाट बाहिर निस्कन्छौं, कहिले साथै, कहिले एक्लै ।

बिहान उठ्नेबित्तिकै के गर्नुहुन्छ ?

-नियमितजसो व्यायाम गर्छु, प्रायः हिँड्छु पनि । बाँचुञ्जेल शरीर र मन ठिक अवस्थामा होस् सकेसम्म कुनै रोग नलागोस् भन्ने कुरामा सचेत छु । कहिले भने केही पनि गर्न मन लाग्दैन, निकैबेर सुत्छु र उठ्नेबित्तिकै चिया खान्छु । कहिले उठेर हार्मोनियम बजाउँछु । पहिला ध्यान पनि गर्थें, अचेल छुटेको छ । नुहाएपछि भगवान्को नाममा दुइटा धूप बालेर घण्ट बजाउँछु ।

पढ्न कत्तिको समय छुट्याउनुहुन्छ ?

-म पढ्नै भनेर पढ्ने मान्छे होइन, धेरै पढ्ने मान्छे पनि होइन । पुस्तकले तान्नुपर्छ मलाई । पढ्नलाई कुनै निश्चित समय भने छैन, एकान्त एकाग्रता भने चाहिन्छ, हल्लामा, भीडमा म लेख्न, पढ्न सक्तिनँ ।

नरहरिजीलाई तपाईंले कस्तो लुगा लगाएको मनपर्छ ?

-उसलाई त मैले रातो साडी, चोलो, चुरा लगाएर शृङ्गार गरेको खूब मनपर्छ । मलाई भने यस्तो गर्न अचेल त्यति जाँगर लाग्दैन ।

तपाई शाकाहारी कि मांसाहारी ?

-म मांसाहारी परिवारमा जन्मेकी हुँ । ओशो तपोवनमा ध्यान गर्न गएकी थिएँ एकपल्ट, त्यसपछि मासु खाने इच्छा भएन, छाडेँ । शाकाहारी भएको पनि भैसक्यो १०-१२ वर्ष ।

कहिलेकाहीँ नरहरिजीसँग झगडा पर्छ कि पर्दैन ?

-परिरहन्छ । झगडा भनेको पिटापिट गर्ने भन्ने होइन, विषयलाई हामीले हेर्ने, सोच्ने तरिकामा भिन्नता भयो भने यसमा विवाद हुन्छ, यस्तो त सबैको हुन्छ नि हैन ? समाधान पनि हुन्छ यसको । सामान्यतया लोग्नेस्वास्नीमा हुनेजस्तो पैसामा खासै विवाद हुँदैन हाम्रो, म कहिल्यै पैसा गन्दिनँ । यो हिसाबले धेरै लोग्नेहरूलाई भन्दा उसलाई सजिलो छ । मेरा डिमान्डहरू खासै हुँदैनन्, मेरा सामान्य आवश्यकता प्रायः म आफैँ पूरा गर्छु । लगाउन, खान मलाई साधारण कुराले पुग्छ तर मलाई उपेक्षा गरेजस्तो, धम्काएजस्तो, मेरो अपमान गर्न खोजेजस्तो लाग्यो भने म प्रतिवाद गर्छु ।

लेखक र पाठकको सम्बन्ध कस्तो हुनुपर्छ ?

यो सम्बन्धको निकटता वा दूरी लेखकको रचनाको प्रकृति र गुणात्मकताले निर्धारण गर्ने हो ।

तपाईँको लेखनका विषयवस्तु खास के हुन् ?

-जीवन र यसका अनुभव नै हुन् ।

जीवनमा के गुमाएँ जस्तो लाग्छ ?

एउटा अपूर्ण जीवनमा पूर्णताको खोजी गरिरहेका हुन्छौं हामी मान्छे । हामी प्रयत्न गर्छौं तर सबै कुरा हामीले चिताएजस्तै, खोजेजस्तै हुँदैन सधैँ । न सबै कुरा आफ्नो नियन्त्रणमा नै हुन्छन् । यस्तोमा के पाएँ भन्नु, के गुमाएँ भन्नु ? जीवनमा मान्छेले आफ्ना सीमा बुझ्नसक्यो भने केही गुमाएजस्तो अनुभव गर्नुपर्दैन शायद । मैले पनि केही गुमाएकी छैन ।

जे गुमाएपनि एउटी असल लेखिकाको पहिचान त गुमाउनुपरेन नि ?

-त्यो माया पनि मलाई पाठकले दिएका छन् । घरीघरी लाग्छ, म यो पृथ्वीका धेरै मान्छेभन्दा भाग्यमानी छु ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *