ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई

  • by


वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित भूमिका २०३४ सालमा द्यौराली प्रकाशन (झापा) को कविता सङ्ग्रहमा थियो । हालसम्म उहाँका भूमिका भएका कतिवटा कृति प्रकाशित भए, उहाँ नै भन्न सक्नुहुन्न । अहिले उहाँका दराजमा ८५ वटा कृति भूमिका लेखनको प्रतीक्षामा छन् ।

अहिले उहाँ आफ्नो चौथो उपन्यास सुकरातको डायरी र पाँचौ समालोचना सिद्धान्त कृति उत्तरआधुनिक आयामको तयारीमा हुनुहुन्छ । भूमिकाकार भट्टराईसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको भूमिका वार्ता ः

१. भूमिकालाई कसरी परिभाषित गर्नुहुन्छ ?

यसलाई म कृतिको अनुहार एवम् आत्मा दुवै भन्दछु ।

२. समालोचना र भूमिकामा के कसरी अन्तर छ ?

भूमिका मूलतः कृति परिचायक कुञ्जी हो । यो पनि एक प्रकारको समालोचना हो-खासगरी कृतिपरक तर समालोचकले कृतिमा बाँधिनु आवश्यक छैन, भूमिकाकार बाँधिन्छ ।

३. कृतिको चर्चाका लागि भूमिकाको कत्तिको महत्त्व हुन्छ ?

गीताञ्जलीलाई विलिम बटलर यिट्सले नचिनाएको भए नोबेल पुरस्कार प्राप्त हुने थिएन । यस्ता उदाहरण हजारौँ छन् । कृतिको आफ्नै प्रकाशले उज्यालो भेट्न समय लाग्छ । भूमिकाले प्रकाशमा ल्याएपछि सबैका दृष्टि त्यता पर्दछन् । म ठान्दछु, भूमिका अपरिहार्य छ ।

४. कृतिभित्र पाठकलाई अनेक अर्थ खोज्ने कार्यमा भूमिकाले क्षति पुर्याउँछ भन्नेहरू पनि छन् नि ?

अवश्य हो । भूमिकाकारको दृष्टिले सकेसम्म धेरै देखाउँछ तर अझै कति कुरा छेलिन्छन् । एक व्यक्तिको पठनले सदैव आंशिक सत्यहरू मात्र पत्ता लगाउँछ । त्यसैले अरू पाठकले विश्लेषकले अरू कोणबाट पनि हेर्न सिक्नुपर्दछ ।

५. पारिजातको शिरीषको फूल उपन्यासको भूमिका यति चर्चित हुने कारण के होला ? के जादू छ त्यस्मा ?

त्यो भूमिकाकारमा भएको समालोचकीय अन्तरदृष्टिको प्रकाश हो । ऊ पनि स्रष्टाको मनोजगत्मा पुग्न सक्यो भने त्यस्तो हुन्छ । समालोचक पनि उच्च कोटीको स्रष्टा-चेतनाले युक्त रहेछ भने त्यस्तो हुन्छ । एक बौद्धिकको कर्मका उचाइ अर्को बौद्धिकले मापन गर्दा अथवा एक स्रष्टालाई अर्को समस्तरीय स्रष्टाले हेर्दा त्यस्तो भएको हो । एक स्रष्टाको पूर्णशक्ति त्यता प्रयोग हुँदा पनि त्यस्तो भएको हो । यसले देखाउँछ, ठूलो स्रष्टा स्वयम् ठूलो समालोचक पनि हो ।

६) तपाईंले भूमिका लेखेका कृतिले चर्चित-प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति हुन्छ ?

त्यस्ता कृति ५० नाघे । त्यसबेला मैले कृतिमा अन्तरनिहीत अर्थको गहिराइ छुन र देखाउन सकेँछु भन्ने ढुक्क लाग्छ । कति बेला त्यो मान पुरस्कार मैले नै पाएँ कि जस्तो लाग्छ ।

७) तपाईं आफूलाई कत्तिको सेलेबल

भूमिकाकार ठान्नुहुन्छ ?

यो मेरो रुचिको क्षेत्र होइन, बाध्यताको हो । म आफूलाई त्यस्तो ‘सेलेबल’ बनाउन पनि चाहन्नँ । म अत्यन्तै गम्भीर पठनद्वारा कृतिको मर्म बोध गर्ने, सकेसम्म त्यसलाई उज्यालो पार्ने समालोचक ठान्दछु । सेलेबल हुन वा पार्न खोज्नु बृथा आडम्बर र आत्मवञ्चनाको खेला हो । साहित्यमा त्यो हुनुहुन्न ।

८) तपाईंले भूमिका लेखेका कृति पुरस्कृत हुनुमा तपाईंको भूमिकाको कत्तिको भूमिका हुन्छ ?

त्यसमा असी प्रतिशत हुन्छ । यो संजोग हो एकदशक नाघ्यो, पुरस्कृत हुनैपर्ने कृति मेरोमा आएका छन् । तिनमा लेख्न पाउनु मेरो सौभाग्य हो तर यो निश्चय छ-तिनमा भूमिका नलेख्ता अहिले पुरस्कृत हुन्थे भन्न सक्तिन । शक्ति र मूल्य त त्यहीँ हुन्छ तर यो उद्घाटित हुन वर्षौं लाग्न सक्छ । त्यो प्रतिस्पर्धात्मक बजारमा भूमिकाले तत्काल त्यो चिनाउँछ र प्रमोशनल काम पनि गर्छ ।

९) तपाईंलाई ‘अति प्रशंसा गर्ने भूमिकाकार’ भन्दछन नि ! किन अति प्रशंसा गर्नु हुन्छ ?

समालोचक भनेको त्यस्तो शीतल वषर्ा हो जसले जरा नखल्बल्याई वृक्षको गहिराइसम्म उर्बरक शक्ति पुर्याओस् भनिएको छ । यो कुरा यसपालीको समकालीन साहित्यमा पनि भनेको छु । तपाईंले ध्वंसमा विश्वास गर्नुहुन्छ भने पानी हाल्दा जरै उत्तानो पार्नोस् नत्र साहित्यप्रेम छ भने प्रत्येक बोट पुष्पित पल्लवित हुने अवसर प्रदान गर्नुहोस् । मलाई यही दर्शनले पढाउँछ, लेखाउँछ किनभने नेपाली साहित्य नयाँ छ, कलिलो छ, अझ हजार टुसा विभिन्न गरामा उम्रेका छन्, त्यसमाथि कसरी काँडे बुट लगाएर नाच्ने ?

१०) तपाईं आफूले भूमिका लेख्ने हरेक कृतिलाई उत्तरआधुनिक भनिदिनुहुन्छ भन्ने आरोप छ नि !

कृतिमा जे छ समालोचनकले त्यही देखाउँछ तर उसले यथास्थितिवादीको दृष्टिदोष सच्याउन सक्तैन रहेछ । समयले मात्र सक्ला ।

११) तपाईंले सबभन्दा बढी सन्तुष्टि कुन कृतिको भूमिका लेख्दा प्राप्त गर्नु भयो र किन ?

झमक घिमिरेको जीवन काँडा कि फूलमा । आजको प्रतिष्पर्धात्मक बजारमा कुनै चाकरी, धम्की, पुकार, प्रशस्ति बेगर राष्ट्र चिनाउने एक कृति आफैँ र अनेकपल्ट पुरस्कृत हुँदा कसलाई मन नपर्ला र !

१२) तपाईंलाई भूमिका लेखेर विदेश विदेश-यात्रा गर्ने अवसर पाउने साहित्यकार पनि भन्छन् नि ?

यस कुराको मूल्याङ्कन तपाईं स्वयम् गर्नुहोस् । सर्वप्रथम नेपाली साहित्यमा गोविन्दराज भट्टराईको योगदान पढ्नुहोस् र उसको स्थान पत्ता लगाउनुहोस् अनि अरू प्रश्नका उत्तर आफैँ आउने छन् ।

१३) आजसम्म तपाईंले कतिवटा कृतिमा भूमिका लेखेर पारिश्रमिक लिनुभयो ?

भूमिका पारिश्रमिकको लागि लेखिने कुरा होइन । यो केवल साहित्य प्रेमले, निष्ठाले त्यागले गरिने कृत्य हो । यसमा कुनै स्वार्थ प्रकट भयो भने तपाईं साहित्यमा व्यापारी हुनुहुनेछ । यो आफ्नो चेतनाको अभ्यासशाला पनि हो । यसले जुन ज्ञान, शक्ति, आधिकारिकता प्रेम ल्याउँछ त्यसको मूल्य छैन । म त्यही विश्वासले पनि यो कर्म गर्दछु । किनभने यसमा तपाईंको साहित्यकारले एक भिन्न समालोचकीय विश्वमा विचरण गर्न पाउँछ । लेखकले तपाईंमाथि गरेको विश्वास र प्रेमभन्दा ठूलो पारिश्रमिक केही छैन । बाँकी लिन केही भए समयले तिर्नेछ । म यो जगत्को यात्रा गर्न पाउँदै यति प्रशन्न छु-कृपया बाटामा कुनै पारिश्रमिकताको धराप नबिछ्याइदिनु होला ।

कसले तपाईंलाई कर लगाउँछ र भूमिका लेख्न सके गर्नु नसके नगर्नु । तर यो आयआर्जनको स्रोत होइन एउटा स्वयम्सेवा जस्तै । मोक्षान्त ः काडमान्डु फिभर वा रातोबाघ जस्ता कृतिको भूमिका लेख्न तीन महिना लाग्छ । एउटाको पाँच हजार मात्र लिए पनि अहिलेसम्ममा मेरो गोजीमा बीस लाखजति भूमिकाबाट आउथ्यो होला, तर हामीले साहित्य र यसको व्यापारमा फरक थाहा पाउनु पर्छ । मेरा बा भन्नुहुन्थ्यो गाई किनबेच गर्नु हुँदैन पाप लाग्छ । म पनि बेच्तिनँ ।

१४) कृतिमा भूमिका नहुनुलाई तपाईं के भन्नु हुन्छ ?

त्यो ता लेखकीय स्वतन्त्रता हो । तर गीतामा पनि महात्म्य हुन्छ- भूमिका त्यही हो । भूमिका भनेको कृति मार्गमा बल्ने दियो हो । भित्र पस्ने मार्गको दियो । दियो नहुँदा बाटो नदेखेर धेरै पस्तैनन्, पसेपछि पनि गन्तव्य देख्तैनन् ।

१५) भूमिकालाई छुट्टै विधा मान्न सकिन्छ या सकिँदैन ?

अघि पनि भनेँ, भूमिका पुस्तकमा जोडिने भएकोले भनिएको हो । यो समालोचनाको एक भेद हो । यो छुट्टै विधा हुनु आवश्यक छैन, मानिँदैन ।

१६) एउटा राम्रो भूमिका हुन के के हुन जरुरी छ ?

यो राम्रो हुनका लागि समालोचकको ज्ञान सामयिक र सान्दर्भिक हुनु पर्यो । उसको ज्ञान कृतिकारको भन्दा बढी नभए पनि समस्तरीय हुनुपर्यो । ऊ विश्वपरिस्थिति बुझेको अध्ययनशील हुनुपर्यो ।

उसले आफ्नो साहित्यको धरातल राम्ररी बुझेको र सकारात्मक सोच भएको वाङ्मय प्रेमी, स्रष्टा प्रेमी हुनु पर्यो । सबैभन्दा गम्भीर कुरा सम्बन्धित कृतिको गम्भीर अध्ययन गर्न सक्ने व्यक्ति चाहियो । यो सकारात्मक प्रकाशको खेल हो- यो न आत्मश्लाघा प्रस्तुत गर्ने, न मिथ्या आडम्बर देखाउने ठाउँ हो । यो स्रष्टालाई ससम्मान उठाएर अर्को कृतितिर लैजाने खेल हो । सबैभन्दा ठूलो कुरा त ऊ सफल स्रष्टा हुनु पर्यो । आफू सिर्जना गर्न नसक्नेले अरूका सिर्जनामाथि बोल्नुजस्तो हास्यास्पद कुरा अरू कुनै हुन सक्तैन ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *