वीपीको प्रेरणाबाट समालोचक बनेको स्रष्टा

  • by


केही वर्षअघि निजीक्षेत्रको एक ‘प्लस टु कलेज’ ले ठूलै उत्साहका साथ उहाँलाई प्रमुखको रूपमा भित्र्याएथ्यो तर सम्झौता अवधिभित्रै ‘सेतो हात्तीलाई पाल्नै गाह्रो भयो’ भन्दै हटाएपछि त्यो अन्यायपूर्ण कार्यको विरुद्धमा यहाँ हुँदा मात्रै नभई अमेरिका पुगेर पनि उहाँले धेरै पत्रपत्रिकाहरूमा लेखहरू लेख्नुभयो । उहाँको चित्त दुखाई हेर्दा लाग्थ्यो उक्त कलेजसँग मात्रै होइन, सिङ्गो देशसँगकै चित्त दुखाई हो यो । त्यसैले अब यता फर्किने सम्भावना कमै छ उहाँको, सम्म पनि भनेको सुनिएथ्यो तर वर्ष दिन पनि नबित्दै उहाँ फर्किनुभयो र आउने-जानेक्रम चलिरहेकै छ भन्दा हुन्छ । तर यतिबेला चाहिँ उहाँ एउटा शैक्षिक विज्ञापनमा छाउनुभएको छ । हँसिलो मुद्रामा भित्तामा लेखिरहेको चित्र सञ्चारमाध्यमहरूमा देख्नेहरूले भन्छन्- ओहो, तारानाथ शर्माले पनि विज्ञापनमा खेलेको ?

हो, कुरा वरिष्ठ साहित्यकार, समालोचक एवं भाषाविद् डा तारानाथ शर्माकै हो । उहाँ भन्नुहुन्छ- मलाई प्रयोग गर्दैछन् भन्ने थाहा भयो तर पनि राम्रो र सेवामुखी कामका लागि हो भनेर चित्त बुझाएको छु । यो पनि एक किसिमको सहयोग नै हो । कलेजले उन्नति गर्छ भने गरोस्, मलाई देखेर विद्यार्थीहरू आउँछन् भने आउन् तर पढ्न चाहिँ पढुन् । ‘मीतले एउटा हलो सित्तैँ, मीतलाई चार पाथी धान सित्तैँ’ भनेजस्तै हो भन्दा पनि हुन्छ । उहाँहरूको अनुरोधमा मैले आफ्नो फाइदा हेरेँ । त्यसै बस्नुभन्दा सक्रिय भएकै राम्रो हो र दोहोरो फाइदामा सेवाभाव पनि जोडिएको छ । कहिले काहीँ यस्तै हुँदोरहेछ, एउटा राष्ट्रिय गीतमा देशको चिन्ता व्यक्त गर्दै गीत गाए जसरी मुख चलाएको पनि आउँदै होला ।

विसं १९९१ असार ९ गते इलाम जिल्लाको वरबोटे, बिब्ल्याटेँमा पिता प्रजापति उपाध्याय भण्डारी र माता देवकीबाट जन्मिनुभएका तारानाथ उपाध्याय भण्डारीले आफैँले शर्माकरण गर्नुभएथ्यो । यसका लागि उहाँको पिताजीसँग ठाकठुक पनि परेछ- भारतमा पढ्दाताक हिन्दीमा भण्डारीले लेखेका कितावहरू धेरै थिए । पहिले त उपाध्याय नै लेख्दै आएको थिएँ र भण्डारी चाहिँ इण्डियनजस्तो लाग्थ्यो । गुरुले भनेर शर्मा लेख्न थालेँ तर घर आउँदा पिताजीले गाली गर्नुभयो । यसो हेर्दै जाँदा उहाँले नै -‘इदं पुस्तकम् प्रजापति शर्मणस्य’ लेखेको पाएँ र उहाँलाई भनेँ । त्यसपछि उहाँले पनि केही भन्ने बाटो रहेन र लेख्न थालेँ ।

उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन दार्जिलिङबाट र स्नातक चाहिँ वनारसबाट गर्नुभएको थियो । त्यसपछि स्नातकोत्तर छात्रवृत्तिमा पटना विश्वविद्यालयबाट र विद्यावारिधि अमेरिकाबाट गर्नुभएको हो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेर आउँदा पनि उहाँलाई जागिर पाउन हम्मेहम्मे परेको र तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले भनेर जागिर पाएको प्रसङ्ग उहाँले भनिरहँदा मैले अहिलेको वेरोजगारी समस्यालाई सम्झिएँ । उहाँले वीपीसँगको सम्बन्धका बारेमा कुरा अघि बढाउनुभयो- बनारसमा रहँदा केही काम गरियो । झर्रोवादी अभियान, पत्रिका प्रकाशन, छात्रसंघहरूका आन्दोलन आदिका कारण नामबाट चिनिने विद्यार्थीमै पर्थें म । पटनाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेर आएपछि जागिरको खोजीमा लागेँ तर बाहिरबाट आएको भनेर पढाउन पनि कतै छिर्नै दिएनन् । पुष्पलालले विद्यार्थीहरू खोजिदिएर ट्युसन पनि पढाएँ । पद्मकन्या कलेजमा गरिएको विज्ञापनमा दोस्रोपल्ट पनि महिलालाई नै छानेर मलाई पाखा लगाए । यो सबै मन नपराएर जनकविकेशरी धर्मराज थापाले तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाकहाँ लिएर जानुभयो । वीपीले हामीलाई सम्मानका साथ राखेर सबै बेलीबिस्तार सुन्नुभयो र शिक्षामन्त्री पर्शुराम चौधरीलाई बोलाएर हप्काउनुभयो । उसै दिन प्रधानमन्त्री कार्यालयमा शिक्षा मन्त्रालयबाट मेरो नियुक्तिको पत्र बनेर आयो र म पद्मकन्यामा पढाउन थालेँ । त्यसपछि वीपीले नै भनेर शैलजा आचार्य, विजया वराल, गौरी राणाहरूलाई एकएक सय मासिक शुल्क लिएर ट्युसन पढाएँ । ट्युसन प्रधानमन्त्री निवासमै पढाउँथेँ । गाडीले ल्याउने-पुर्याउने गर्थ्यो । वेलुकाको खाना प्रायः वीपीसँगै उहीँ खान्थेँ । उहाँले छोड्नै नचाहने र ट्युसन सकिनासाथ साहित्यका, लेखनका कुरा चल्थे । मेरो योक्रम आठ महिनासम्म चल्यो र २०१७ साल काण्डले टुटायो ।

तारानाथ शर्मा पनि झर्रोवादी अभियानका अग्रणीमध्येमै पर्नुहुन्छ । वनारसमा बस्दा २०१३ सालमा यो आन्दोलन चलाइएथ्यो । ‘हामीले महानन्द सापकोटाको आदर्शलाई पछ्याएका हौँ । वालकृष्ण पोखरेल, कोषराज रेग्मी, वल्लभमणि दाहाल, चुडामणि रेग्मी र म लगायत पाँच-छ जना थियौँ हामी । झर्रोवादका विषयमा ‘नौलो पाइलो,’ छहारी, छात्रदूत, छात्रवाणी, उदय, रूपरेखा, फूलपातीलगायतका पत्रपत्रिकाहरूमा प्रशस्तै लेखियो । वनारसबाट फर्किएपछि साथीहरू छुट्टयिौँ र पनि आफ्नो तर्फबाट गर्नुपर्ने गरिरहिएकै छ । यहाँ भाषाका नाममा फुटाउने काम भइरहेको छ । नेपाली भाषालाई धेरैले बिगारेर विकृत बनाइरहेका छन् । यो सबै हिन्दीवादीहरूबाट भइरहेको छ । हामीले हाम्रो आफ्नोपन छोड्नु हुँदैन । पाणिनी हाम्रा गुरु हुन् । उनी जत्तिको ठूलो व्याकरणकार अर्को छैन । नेपाली भनेको संस्कृतको छोरो हो । हिन्दीमा विभक्तिहरू छुट्याइन्छ, नेपालीमा पनि त्यस्तै गर्नुपर्छ भन्छन् र घोष ध्वनि र अघोष ध्वनि छुट्याउन छोडेका छन् । केही प्राडाहरूले बिगार्न खोजे पनि सबै हाम्रै पक्षमा छन् । हाम्रो पक्षमा भन्नु नै झर्रोको पक्षमा हो । केहीले बिगार्न खोजेर सक्दैनन् ।’

उहाँको लेखन अद्वितीय नै मान्नुपर्छ । सिर्जना, समालोचना, पाठ्यपुस्तक लेखन गरी जम्मा दुई सय २६ कृतिहरू उहाँका प्रकाशित भइसकेका छन् । ९० को सङ्ख्यामा त साहित्यिक कृतिहरू नै प्रकाशित छन् र उहाँले सम्पादन गर्नुभएका कृतिहरूको त यसमा गणना नै गरिएको छैन । पछिल्लो कृतिकारूपमा आएको छ-चरी भरर निबन्धसङ्ग्रह । ‘नियात्रा’ साहित्यमा त उहाँ संस्थापक नै हो भन्दा पनि अत्युक्ति हुँदैन । विसं २०२५ मा प्रकाशित यात्रासंस्मरण कृति ‘वेलाइततिर बरालिँदा’को भूमिका लेख्नेक्रममा भाषाशास्त्री वालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दको उल्लेख गर्नुभएको थियो । पछिल्लो समयमा आएर ‘नियात्रा’ निक्कै लोकप्रिय बनेको छ । लोकप्रियताकै कारण नियात्राकार बन्न चाहनेहरू पनि धेरै छन् । घरबाट पाइलो उचाल्नासाथै लेखिहालिन्छ तर के ती सबै नियात्रा हुन् त ?

‘लेखनमा आत्मपरकता तथा निजत्व छैन भने त्यो नियात्रा होइन । नियात्रा शब्द धेरैलाई मन पर्यो तर लेखाईमा ढङ्ग नपुगेर यात्रावर्णन मात्रै भएका छन् । स्वानुभूति नभई नियात्रा हुँदैन । पाठकले पढ्दै गर्दा आफू पनि सँगसँगै हिँडेको-बगेको अनुभव गर्न सक्नुपर्छ । यसका लागि यात्रामा गतिमयता हुनुपर्छ ।’

उहाँको कलम बहुविधामा चलेको छ । निबन्ध, नियात्रा, समालोचना त उहाँका प्रिय विधा हुँदै हुन् । भन्नुहुन्छ- म सिर्जनामै रमाउँछु । समालोचना त आफूले पढेका कुरा लेखौँ न त भनेर मात्रै हो । यो कार्य आत्म समर्पण होइन । म समालोचक हुनमा वीपी कोइरालाको पनि ठूलो हात छ । उहाँसँग साहित्यिक छलफलहरू भइरहने भएकाले नयाँनयाँ किताबहरूका बारेमा कुरा भइरहन्थ्यो । एकदिन वीपीले भन्नुभयो- शर्माजी, मलाई अचेल फुर्सद नै भएन, कुनै किताव पनि पूरा पढ्न भ्याउँदिन । नेपालमा एकजना यस्तो मान्छे छ, जो किताव पढ्न भनेपछि मरिहत्ते गर्छ र जसरी पनि मगाइहाल्छ । उसको निजी पुस्तकालयमा ज्यादै महत्त्वपूर्ण पुस्तकहरू छन् । हिँड्नुस् परिचय गराइदिन्छु र कितावहरू लिएर तपाईंले पढ्दै त्यसको भाव मलाई बताइदिदै गर्नुस् । नत्र त म विश्वसाहित्यमा ‘अपडेट’ हुन नै नसक्ने भएँ । उहाँले यसो भनेर मलाई सूर्यप्रसाद उपाध्यायकोमा लिएर जानुभयो । सूर्यप्रसादको पुस्तक प्रेम देखेर तीनछक्क परेको म त ! धेरै किताव पढ्ने मौका पाएथेँ मैले पनि । यी सबै कुराबाट विसं२०१७ पछि वञ्चित हुनुपर्यो ।

उहाँको पहिलो रचनाका रूपमा विसं२००८ मा दार्जिलिङबाट प्रकाशित ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकको लेख रहेको थियो । त्यसका सम्पादक टीमनेन थिए । आफ्ना सङ्ग्रहहरूका बारेमा भन्नुहुन्छ- पहिलो मौलिक कृति चाहिँ विसं २०१८ मा रत्नपुस्तक भण्डारबाट प्रकाशित नमस्ते निबन्धसङ्ग्रह हो । त्यसपछि विसं२०२१ मा घोत्ल्याइँहरू र यसै साल सम्पादनकृति बल्दो दीयो पनि आयो । लेखन र प्रकाशनको यात्रा निरन्तर चलिरहेकै छ ।

डा तारानाथ शर्मासँग जोडिएको ज्यादै महत्त्वपूर्ण पाटो भनेको सम्पादनको पनि हो । उहाँको सम्पादनमा धेरै लेखकका कृतिहरू, सङ्ग्रहहरू प्रकाशित छन् तर ज्यादै महत्त्वपूर्ण दुई कृति चाहिँ विसं २०२० मा प्रकाशित गोपालप्रसाद रिमालको कवितासङ्ग्रह ‘आमाको सपना’ र २०२१ मा प्रकाशित गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रह नै हुन् । यो ऐतिहासिक कार्यको नालीबेली फुकाउनै पर्छ- मैनालीका कथाको त अति प्रशंसक-गहिरो पाठक भएकाले श्रद्धाले हो तर रिमालको चाहिँ अचम्मकै संयोग छ । उनीसँग पहिलो भेट भूगोलपार्क, न्यूरोडमा भएको हो । कसैले गोपालप्रसाद रिमाल भनेर चिनाएपछि नमस्कार गरेथेँ । पहिलो भेटमै उनले ‘जोडा संघ’ खोलेको छु मैले, यसको सदस्य बन्न ५ रुपियाँ लेऊ भने । त्यसपछि चिया खुवाउँछौँ भने । त्यो पनि हुन्छ भनेँ र पसलमा छिर्यौँ । अब उनले कविता सुन्छौ भने, त्यो पनि हुन्छ भनेँ र लामो कविता सुनाए-हामीले लेनिन, स्टालिन, गान्धी जन्माउनुछ भन्ने । त्यसपछि उनीसँगको सम्बन्ध बाक्लिदै गयो । छाप्न दिनुस् भन्दा मान्दै नमान्ने । जतिबेला पनि सामन्ती संस्कारका भनेर सबैलाई गाली मात्रै गरिरहने । उनका कविता कसरी जम्मा गर्ने र सङ्ग्रह निकाल्ने भन्ने सोचाइमा निरन्तर डुबिरहेँ । एकदिन कमल दीक्षितलाई भनेँ – तपाई रिमालको सङ्ग्रहलाई मदन पुरस्कार

दिनुहुन्छ ? उनले छक्क पर्दै- बुझाए पो पुरस्कार दिनु भने । त्यसपछि पुराना मूर्ति, थाङ्का आदि बेच्ने निबन्धकार शङ्कर लामिछानेको न्यूरोडको पसलमा भूपी, म र शङ्कर बसेर यसै विषयमा लामो छलफल गर्यौँ । शङ्कर लामिछानेले रिमालकोमा लिएर गए हामीलाई । रिमाल सुतेका रहेछन् । श्रीमतीसँग कविताका बारेमा सोध्यौँ । कविता जति सबै ब्यागमा हालेर तकियाले थिचेर पो सुत्तारहेछन् उनी त ! साथैमा खुकुरी पनि राख्दारहेछन् र कसैले कविता माग्यो भने खुकुरी उझ्याउँदा

रहेछन् ! परेन के त फसाद ! अब के गर्ने ? माग्दा दिँदैनन्, चोर्न पनि सकिएन । उनकी श्रीमतीसँग सल्लाह गरेर निद्रा धेरै लाग्ने गोली खुवाएर शङ्कर, म र उनकी श्रीमती भएर १२/१५ दिनमा कविताहरू सारिसक्यौँ । अब ब्यूझने बेला हुन आँट्यो भनेपछि जसरी राखेका थिए, उसैगरी राखिदिएर हामी फरार हुन्थ्यौँ । यता मदन पुरस्कारको नियममा पुस्तकलाई सिधै र पाण्डुलिपिलाई चाहिँ तीन प्रति बनाएर पुस्तकालयमा राखेर ‘यस्तो छ पढ्नु’ भन्ने व्यहोराको सूचना गोरखापत्रमा दिनुपर्ने नियम थियो । निवेदन पनि कीर्ते नै लेखियो । उनको छेउ परेर कविता र पुरस्कारको कुरा गर्न डरले कोही नसक्ने, खुकुरी नै झिकिहाल्थे । पुरस्कार घोषणा भएको सूचना पनि मैले डराईडराई दिएको र यथार्थ बताएपछि नगर्ने काम गरेछौ, भैगो भनेका र औपचारिक कार्यक्रम नै नगरी दिइएको थियो । त्यति नगरेको भए, कुन झ्वाँकमा सबै कविता च्यातिन वा डढेर नष्ट हुन पनि सक्थे । यसैले राम्रै गरेँ भन्ने लागेको छ । यता गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रह चाहिँ भनिहालेँ नि श्रद्धापूर्वक हो । उनकी छोरी र म पद्मकन्यामा सँगै पढाउँथ्यौँ । मैनालीलाई भेट्टाएर भनेपछि उनले खुसी भएर कथाहरू दिइहाले । मैले नै भूमिका लेखेर छपाईमा दिएँ । यसमा मेरो धेरै मेहनत परेन तर सन्तुष्टि धेरै छ । अङ्ग्रेजीमा पनि अनुवाद गरेथेँ र जापानमा छाप्न भनेर एक व्यक्तिले लगेका थिए । त्यसको कुनै अत्तोपत्तो छैन ।

उहाँ प्रगतिशील लेखक संघको संस्थापकमध्ये एक हुनुहुन्छ । यता वीपीले ठाडो आदेशले जागिर खुवाएका व्यक्ति । पुष्पलालले पनि उत्तिकै माया गर्ने र केही समय रानी ऐश्वर्या र दरबारसँग ज्यादै निकटको सम्बन्ध पनि रहेको थियो । एक व्यक्ति अनेक मोड के थियो त ? उहाँको जीवनमा आएका तीतामीठा जोडघटाउहरू मेरो जिज्ञासामा क्रमशः फुक्तै गए-मैले राजनीतिमा लागेर कसैको सदस्यता लिइनँ । वनारसमा पढेकोले त्यहाँ छात्रसंघहरूका गतिविधिहरू भइरहन्थे । मलाई पनि साथीहरूले प्रलेसमा राखे र नाइँ भन्न सकिनँ । विसं२०१४ सालमा यहाँ काठमाडौँमा भएको सम्मेलनमा भाग लिन मलाई प्रतिनिधि र वल्लभमणि दाहाललाई पर्यवेक्षकमा छाने । स्नातकको जाँच दिइसकेकाले घर आउनुपर्ने पनि थियो । घरमा यो सबै भन्ने कुरै थिएन, काठमाडौँ जान्छु भन्दा बुबाले म अब खर्च दिन सक्तिन, यहीँ स्कुलमा हेडमाष्टर खाली छ बस भन्नुभयो । तर स्नातकोत्तर पढ्न छात्रवृत्ति पाइन्छ, अहिले केवल काठमाडौँ जाने खर्चका लागि ७० रुपियाँ मात्र भए पुग्छ भनेँ र पाएँ पनि । इलामबाट भारतीय भूमि हुँदै रेल चढेर अमलेखगञ्जसम्म आएँ र काठमाडौँ आइपुगेँ । कम्युनिष्टहरूको सम्मेलनमा भाग लिएको त्यो नै पहिलो थियो । पुष्पलाल, शम्भुराम, डिपी अधिकारी, मनमोहन अधिकारीहरू मञ्चमा थिए । सम्मेलनमा भाग लिन जिल्लाबाट आएकाहरूलाई बस्नेखाने व्यवस्था ज्यादै दुःखको भएको र त्यो कुरा उनीहरूले उठाउँदा उल्टै नेताहरूले -सर्वहारावर्गका हामीले त्यस्तो कुरा गर्न सुहाउँदैन भनेर गाली गरे । उता उनीहरू चाहिँ सुविधासम्पन्न होटेलहरूमा रवाफले बसेका थिए भने उता कार्यकर्तालाई बोल्ने अवसर पनि नदिने सामन्ती संस्कारका नेताहरू अनि कुरा चाहिँ सर्वहारावर्गको समानताको गर्ने ? मैले उठेर विरोधमा बोलेँ र बस्तिन भन्दै उठेर हिँडे । सबैले फकाए तर फकिइनँ । त्यसपछि कहिल्यै कम्युनिष्ट रहिनँ म ।

यता दरबार र चाँदनी शाहको कुरा पनि रोचकै छ । म पद्मकन्यामा पढाउँदा चाँदनी त्यहीँ पढ्ने भएकीले चार वर्ष पढाएथेँ । उनले नै भनेर तीन वर्षसम्म उनको संस्था सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा काम गरेँ । त्यहाँबाट ‘उपकार’ भन्ने पत्रिका निस्किन्थ्यो । त्यसमा काम गर्न साहित्यकार नरेन्द्रराज प्रसाईलाई २९ सय तलव दिनेगरी मेरै सिफारिशमा लगाइदिएको थिएँ । चादनी शाहका कविताहरूको सम्पादन-अनुवाद मैले गरेँ । त्यसवापत एक लाख रुपियाँ मैले पाएथेँ । राजाका बारेमा, रानीका बारेमा, पञ्चायतका बारेमा तत्कालीन समयमा मैले लेखेको छु । पञ्चायत दर्शन समितिका सदस्य पासाङ गोपर्मा मेरा हितैषी साथी भएकाले उनको आग्रहमा हो । यो मेरो अप्रत्यक्ष संलग्नता मात्रै हो । म कहिल्यै राजाको पछि लागिनँ र खुलेर विरोध पनि गरिनँ ।

तारानाथ शर्माले विद्यावारिधि अमेरिकाबाट गर्नुभएको हो । आठ वर्ष बस्दा त्यहाँका कलेजहरूमा उहाँको राम्रो सम्बन्ध बनेका कारण भिजिटर प्रोफेसरका रूपमा उहाँलाई निमन्त्रणा आइरहन्थ्यो । योक्रम सन् २००७ सम्म चलिरहेकै थियो । यता अग्रजहरूसँगको सान्निध्य, आफ्नो मेहनत र विद्वत्ताले तारानाथ बन्न सकेको स्वीकार्दै उहाँ भन्नुहुन्छ- देवकोटा, लेखनाथ र समबाट मैले आशीर्वाद पाएको छु । लेखनाथ र देवकोटासँग भन्दा समसँग अझ राम्रो सम्बन्ध भएकाले ‘सम र समका कृति’ लेख्न सकेको हुँ । सिद्धिचरण, व्यथितसँग पनि राम्रो थियो । उता दार्जिलिङतिरका साहित्यकारहरूसँग त मेरो झनै राम्रो सम्बन्ध स्थापित थियो । उमेरमा हाराहारीकैहरूसँग त हुने नै भयो ।

उहाँ आफूलाई सुखी मान्छे भन्नुभन्दा खुसी मान्छे भन्न रुचाउनुहुन्छ । पञ्चायतीकालमा मवीवी शाहको ‘उसैको लागि’ कृतिमाथि लामो समालोचनात्मक लेख लेखेवापत तीन महिना जेल बस्नुपरेको क्षणलाई झन् ‘खुसीको क्षण’ मान्नुहुन्छ । यसको भाषा राम्रो भएन, हिन्दी गीतको अनुवादजस्तो भयो भनेर गरिएको टिप्पणीले उहाँलाई जेल पुर्यायो । जेल पर्नुको फाइदा उहाँ केलाउनुहुन्छ- तीन महिनामा दुई उपन्यास तयार पार्न सकेँ । यो कार्य महेन्द्रले भनेर गरिएको नभई चम्चेहरूले गरेका थिए । राजाले थाहा पाएपछि त छुटिहालेँ नि ।

यता वीपी, गिरिजा, पुष्पलाल, मनमोहनहरूसँगको सम्बन्ध पनि राम्रो रह्यो । प्रजातन्त्रको पुनर्वहालीपश्चात् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर बोलाउनु भयो । कारण गोरखापत्र संस्थानको अङ्ग्रेजी दैनिक ‘राइजिङ नेपाल’ को सम्पादक बनाउनका लागि रहेछ । उनले भने- यो पत्रिका बिग्रियो अरे, दरबारमा पनि चर्चा भयो । रानी ऐश्वर्याले तपाईँलाई सम्पादक बनाए राम्रो हुन्छ भनेकाले पनि तपाईँलाई आग्रह गर्छु भने । काँग्रेसको सरकारमा म आफू काँग्रेस नभएकोले हुँदैन, म खान्न भनेँ तर मानेनन् र नियुक्ति बुझेँ । दुई वर्ष काम गरेँ । त्यसपछि काँग्रेसी अध्यक्ष पुरुषोत्तम बस्नेतसँग राम्रो नभएपछि छोडिदिएँ ।

डा शर्माले नयाँपुस्तालाई मिहिनरूपमा अध्ययन गर्दै आउनुभएको छ । पछिल्लो समयको लेखनमा उहाँका मनपर्दा पनि केही आएका छन्, यसले सिङ्गो नेपाली साहित्यको विकास र विस्तारमा सहयोग पुर्याएको छ-ज्ञान-शिक्षा बढ्दो छ । छन्दमा पनि राम्रा सिर्जना आइरहेका छन् उहाँको अध्ययनमा । उहाँलाई मन नपर्दाे लेखन चाहिँ ‘उत्तरआधुनिक’ खोलको हो । उहाँ उत्तरआधुनिक वर्ग हौँ भन्नेहरूलाई ‘भुइँफुट्टा’ को सङ्ज्ञा दिँदै भन्नुहुन्छ-आधुनिक भनेको ‘आधुनिक’ नै हो, जो तत्कालीन हुन्छ । यो कुनै किसिमको उत्तर-दक्षिणको दिशा भ्रमित हुँदैन । अनावश्यक सिद्धान्त भित्र्याएर लेखनलाई बिगार्ने प्रयास भइरहेको छ । अहिले जेमा पनि विचलन छ । हामी लेख्छौँ, रचना गछौँ । यो निर्माण हो, विनिर्माण (डिकन्स्ट्रक्सन) ध्वंश होइन ।

उहाँले बुढेसकालमा पनि शरीर र मस्तिष्कलाई शिथिलताको अनुभव हुनै दिनुभएको छैन । कलेजको काम, अध्ययन, भूमिका लेखिदिने आग्रह, आफ्नो लेखन, एक किसिमले असारको चटारोेजस्तै छ उहाँलाई । कार्यक्रमहरूको भित्र-बाहिरको निम्तो पनि टार्नुहुन्न । पुस्तक विक्रेतासंघले अस्ति भर्खरै चितवनको नारायणगढमा गरेको सम्मान उहाँको जीवनमा महत्त्वपूर्ण बनेको छ । भन्नुहुन्छ- जीवनमा धेरै पुरस्कार-सम्मान पाइयो तर आफैँले राजनीतिक नेतृत्वरूपी हातबाट कुनै किसिमको सम्मान लिन्न भनेपछि मदनमणि दीक्षितसहित गाडीमा नगरपरिक्रमा गराएर देवी सरस्वतीको कृतिम अवताररूपी युवतीबाट लिएको सम्मानलाई मैले ऐतिहासिक मानेको छु ।

सम्भवतः उहाँ सबैभन्दा धेरै कृति प्रकाशित गर्ने नेपाली साहित्यकारमा पनि पर्नुहोला । अझै पनि उपन्यास प्रकाशनको क्रममा छ । ‘नियात्रा’लेखन पनि जारी नै छ तर दरबार हत्याकाण्डका बारेमा लेख्न मस्तिष्कमा धेरै कुरा पाकिरहेका र निकास दिन सोचिरहेको उहाँको भनाईमा चाहिँ पुनः आफैँले ठेस लगाउनुभयो-‘यो लेखेर प्रकाशित गरेँ भने बुढेसकालको यो तारानाथलाई जेलमा कोच्ने पक्का छ । त्यसैले लेखिसिध्याएँ भने पनि जीवनकालमा पाण्डुलिपिमै रहला सायद । तत्काल चाहिँ आफूलाई सबैभन्दा प्रिय लागेको निबन्धकृति ‘आँसु छचल्किदै जान्छ’को दोस्रो संस्करण आउन लागेकोमा धेरै खुसी छु । यसको प्रथम प्रकाशन बगर फाउण्डेसनले पाण्डुलिपि पुरस्कारसमेत दिएर गरेको थियो ।’

बिट मार्दामार्दै लागेको कुतकुती मेट्न चाहेँ- डा तारानाथ शर्मा निडर र हक्की स्वभावको विद्वान हो भन्ने छापका विरुद्ध बुढेसकालमा आएर जेल पर्नसक्ने अनुमानित हाउगुजी किन जन्मियो र कलमले अल्छी देखायो भन्दा छोटोमा टुङ्ग्याउनु भयो- यो डर होइन, कारणभित्र पनि कहिले काहीँ अर्को गम्भीर कारण लुकेको हुन्छ ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *